काठमाडौं । झन्डै ३ दशकदेखि ट्रान्सफर्मर उत्पादनमा सक्रिय ‘नेपाल एकरात इन्जिनियरिङ कम्पनी (निक) ले वातावरणमैत्री तथा बढी लोड थेग्न सक्ने नयाँ ट्रान्सफर्मर उत्पादन सुरु गरेको छ । आफ्नो २८औं वर्ष प्रवेशको उपलक्ष्यमा नयाँ काम सुरु गरेको हो ।

२८ वर्षअघि ट्रान्सफर्मर उत्पादनमा प्रवेश गरेको कम्पनीले एकपछि अर्को नयाँ–नयाँ प्रविधिमा आधारित ट्रान्सफर्मर उत्पादन गर्दै आएको छ । निकले अब उत्पादन गर्ने ट्रान्सफर्मरको नाम ‘एफआर–३ फ्लुड फिल्ड ट्रन्सफर्मर’ दिइएको छ ।

यस्ता ट्रान्सफर्मर वातावरणमैत्री, आगालागीबाट सुरक्षित, हाल प्रयोगमा रहेका भन्दा आकारमा सानो र ३०औं वर्षसम्म मर्मत/सम्भार गर्न नपर्ने विशेषताका हुनेछन् । सामान्य वा हाल प्रयोगमा आइरहेका भन्दा यी ट्रान्सफर्मरले विद्युत् चुहावट समेत नियन्त्रण गर्ने निकका प्रबन्ध सञ्चालक कुशकुमार जोशीले बताए ।

हामीले हरेक वर्ष नयाँ र आधुनिक प्रविधियुक्त ट्रान्सफर्मर निर्माण गर्दै आएका छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘यो वर्ष पनि केही नयाँ काम गर्ने योजना अनुसार वातावरणमैत्री ट्रान्सफर्मर निर्माण सुरु गरिएको छ ।’

निकले उत्पादन गर्न लागेको ट्रान्सफर्मर सुरुमा ५ सय केभीए भन्दा बढी क्षमताका हुनेछन् । निकको हेटौंडा कारखानामा अहिले ३ हजार केभिएको ट्रान्सफर्मरको काम भइरहेको छ । यो देउराली जनता प्रालिले बुकिङ गरिसकेको निकले जानकारी दिएको छ ।

निकले विस्तारै सानोदेखि अर्थात् ५० केभिएदेखिका ट्रान्सफर्मर उत्पादन थाल्ने जोशीले बताए । निकले उत्पादन गरेका ट्रान्सफर्मर देशभित्र खपत हुनुका साथै भुटान, बंगलादेश र पाकिस्तानसम्म निर्यात हुने गरेका छन् ।

ट्रान्सफर्मरका विशेषता

आगलागीबाट सुरक्षित : नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा अहिले दिनहुँजसो ट्रान्सफर्मर पड्किने, आगलागी हुने र जल्ने समस्या दोहोरिरहेको छ । निकले उत्पादन गर्न लागेको ट्रान्सफर्मरमा यो समस्या ज्यादै न्यून हुनेछ । ‘मिनिरल वायल’ प्रयोग गरेर बनाइने ट्रान्सफर्मरमा खराबी आए पनि भित्रको तेल जल्ने तर वाहिर ठूलो क्षति नहुने जनाइएको छ ।

यस्तो ट्रान्सफर्मरले ३५० डिग्री सेल्सियससम्मको तापक्रम व्यवस्थापन गर्छ । विश्वभरि नै बढी प्रयोगमा ल्याइएको यस्तो ट्रान्सफर्मरको पछिल्लो २५ वर्षको अवस्था विश्लेषण गर्दा आगलागीका दृष्टिले शतप्रतिशत नै सुरक्षित रहेको दाबी छ ।

वातावरणमैत्री : वातावरणमैत्री अर्थात् सजिलै डिस्पोज सकिने हुँदा यसले वातावरणमा कुनै असर नगर्ने निकको दाबी छ । यही विशेषताका कारण पछिल्लो समय यस्तो ट्रान्सफर्मरको प्रयोग विश्वव्यापि रूपमा बढिरहेको छ । यस्ता ट्रान्सफर्मर शतप्रतिशत नै वातावरणमैत्री रहेको पनि निकको दाबी छ ।

आकारमा सानो तर लोड बढाउन सक्ने : आकारमा सानो भए पनि यस्तो ट्रान्सफर्मरले अन्यको तुलनामा बढी लोड लिन सक्नेछ । अहिले प्रयोग भइरहेका ट्रान्सफर्मरले क्षमताभन्दा बढी लोड भार थेग्न नसक्दा पड्किने वा जल्ने गरेका छन् । तर, यस्ता ट्रान्सफर्मरले १५–२० प्रतिशतसम्म बढी लोड लिन सक्छन् ।

निशुल्क मर्मत/सम्भार : निशुल्क मर्मतको अर्थ यस खालको ट्रान्सफर्मर मर्मत÷सम्भार नै गर्न नपर्ने निकको दाबी छ । करिब २५–३० वर्षसम्म टिक्ने यी ट्रान्सफर्मरको जीवनभर मर्मत गर्न पर्दैन । मिनिरल वायल (तेल) कै कारण यी ट्रान्सफर्मरको मर्मत गर्नुपर्ने उल्लेख गरिएको छ ।


Your Views
Related News