पहिलो बच्चा जन्मिँदै छ भने तपाईंको मनमा खुलदुली हुन्छ- नयाँ मान्छे कस्तो होला? अलिअलि डर पनि हुन्छ बच्चाको आमालाई केही गाह्रो हुने हो कि! त्यो डरलाई पन्छाएर धेरै जना आफ्नो दुनियाँमा आउने नयाँ मान्छेको अनुहार हेर्ने आतुर हुन्छन्।

सिन्धुलीको गोलन्जर गाउँपालिका-२ का ३० वर्षीय उत्तम घिमिरेलाई पनि आफ्नो पहिलो बच्चाको अनुहार हेर्ने आतुरी नभएको होइन तर उनको जीवन सोचेझैं भइदिएन! असोज ४ गते राति २ बजे थापाथलीस्थित प्रसूति गृहको बेड नम्बर ४१ मा उनकी श्रीमती पल्टिरहेकी थिइन्। उनको शरीरबाट र-गत बगिरहेको थियो। डाक्टर र नर्सले उनको बच्चा खेर जान लागेको अडकल काटेका थिए।

‘म त बाहिर बसेको थिएँ। भित्र साली थिइन्। र-गत बग्न थालेपछि बोलाइन्। मेरा अरू साथीहरू पनि थिए। हामी सबै भित्र गयौं। त्यही नर्मल बेडमा बच्चा जन्मियो,’ उत्तमले मंगलबार सेतोपाटीसँग भने,‘बच्चा ६ सय ग्राम पनि थिएन। डाक्टर-नर्सले बाँच्दैन। एकछिनमा सास जान्छ भनेर बाटामा हालेर लगे।’ उनले भने बच्चाको अनुहारमा पनि हेरेनन्। जन्मिसकेको बच्चा बचाउन नसकेकोमा पीडा भयो।

उत्तम सात वर्षअघि दुबई गएका थिए। ६ वर्ष उनी दुबईमा बसे। अलिअलि पैसा कमाए। एक वर्षअघि नेपाल फर्किए। जोगाएर ल्याएको पैसाले काठमाडौंको चाबहिलमा कपडा पसल खोले। धादिङकी मन्जु थापासँग उनको मनमुटु जोडिएको थियो। उमेर पनि पुगिसकेकाले उत्तमले गत फागुनमा परिवारसँग सल्लाह गरेरै प्रेमलाई विवाहमा बदले। विवाह गरेको महिना दिन नपुग्दै लकडाउन भयो।

लकडाउन भएको केही दिनमै उनकी श्रीमती दुई जिउकी भइन्। लकडाउनका बेला उनीहरू घरमै बसे। बेलाबेला प्रसूति गृहमै मन्जुको जाँच गर्न दुबै जना आउँथे। भिडिओ रिपोर्ट र अरू जाँच गरेर डाक्टरहरू भन्थे-सबै नर्मल छ।

उनीहरू पनि ढुक्कै थिए। साउन पहिलो साता लकडाउन खुल्यो। काठमाडौंमा कोरोना भाइरसका संक्रमण ह्वात्तै बढ्यो। गर्भवती श्रीमतीलाई गाह्रो हुने हो कि ठानेर भदौ दोस्रो सातातिर उनले मन्जुलाई माइती पठाइदिए।

‘यहाँ कोरोना बढेको बढ्यै भएपछि उनलाई धादिङ पठाएको थिएँ। १५ दिनजति भएको थियो। ब्लिडिङ हुन थालेपछि असोज १ गते काठमाडौं ल्याएर अस्पताल भर्ना गरेका थियौं,’ उत्तमले भने,‘डाक्टरहरूले औषधी दिनुभयो। सात महिना पनि नपुगेको बच्चा खेर जान्छ भन्नुहुन्थ्यो।’

उनकी श्रीमती दुई जिउको भएको असोज १९ गते सात महिना पुग्दैछ। अस्पताल भर्ना भएको चार दिनसम्म बच्चा खेर गएन। बरू सी सेक्सनमा नलिइकनै नर्मल डेलिभरी भएजस्तै बच्चा धरतीमा आयो। बच्चाको शरीरमा सबै अंगहरू ठिकठिक ठाउँमा थिए तर तौल ६०० ग्रामभन्दा पनि कम थियो। सामान्यतया नर्मल बच्चाको तौल साढे दुई केजीदेखि माथि हुन्छ।

‍’डाक्टरहरूले नै बाँच्दैन भनेपछि मैले त अनुहार पनि हेरिनँ। छोराछोरी के रैछ भन्ने मलाई मतलब भएन,’ उत्तमले भने,‘उहाँहरूले केहीबेरमा सास जान्छ होला, अनि लैजानु भनेर एउटा पेपरमा साइन गराउनुभयो। मैले केही नपढी साइन गरिदिएँ।’

भर्खरै जन्मिएको बच्चा धेरैबेर बाँच्दैन भनेपछि उनले साथीहरूलाई उनको अन्तिम संस्कार गर्नेबारे सल्लाह गरे।

उनीहरूले पो नयाँ मान्छेलाई बिदाइ गर्ने सोचिरहेका थिए तर भगवानको योजना त अर्कै रहेछ! अर्को दिन बिहान ९ बजेतिर डाक्टरको टोली राउन्डमा आयो। उत्तमले डाक्टरलाई आफ्नो बच्चाबारे सोधे।

नर्सले भनिन्-त्यो बच्चा त अझै बाँचिरहेको छ। डाक्टर बच्चा हेर्न गए। उत्तम पनि डाक्टरको पछिपछि लागे।

‘मैले त्यतिबेलै उसको अनुहार हेरें। छोरी रैछ,’ उत्तमले भने,‘डाक्टर साबले अहिलेसम्म बाँचेको रै’छ। अब माथि आइसियूमा राखौं न भन्नुभयो।’ आइसियूमा राख्नलाई कुराकानी भयो। झन्डै साढे ९ बजेतिर सानी मान्छेलाई आइसियूमा राखियो।

‘त्यसपछि त उहाँहरूले पनि छिटोछिटो काम गर्नुभयो एकछिन गर्न सास रहुन्जेल आश भनेजस्तै मलाई त छोरी बाँचि पो हाल्छ कि भन्ने लाग्यो,’ उनले भने। तलका डाक्टरहरूले ७-८ घन्टा वेवास्ता गरे पनि आइसियूका डाक्टरले भने उनको मनोबल बढाएका छन्।

‘माथिका डाक्टर साबले पोजेटिभ कुरा गर्नुभएको छ। छोरीहरूले धेरै फाइट गर्न सक्छन्, बाँच्न पनि सक्छ भन्नुभएको छ,’ उत्तमले भने।

मंगलबार दिउँसो पनि उनलाई छोरीलाई हेर्न आइसियूमा बोलाइएको थियो। उनी भित्र गए। आइसियूमा राखेको ३० घन्टापछि उनकी छोरीलाई केही भएको थिएन। उनले टाढैबाट मोबाइलले छोरीका दुई-चार तस्बिर खिचे। भिडिओ पनि बनाए।

‘आइसियूमा भएका अरू बच्चाभन्दा त मेरी छोरी बलियी देखिन्छ। हातखुट्टा चलाइरहेकी र रोइरहेकी थिई,’ उत्तमले भने,‘अरू बच्चालाई र-गत चाहिएको छ अरू पनि धेरै औषधी ल्याउन भनेका छन् तर मेरी छोरीलाई केही भनेका छैनन्। मलाई त अब ऊ बाँच्छे भन्ने आश बढेको छ।’

अहिले मन्जुको अवस्था पनि सामान्य छ। जन्मिनासाथ डाक्टरहरूले आफ्नो बच्चालाई बाटामा हालेर राखिदिएको कुराले भने उनलाई ननिको लाग्छ। यो केसलाई अहिले हेरिरहेकी प्रसूति गृहकी बाल रोग विशेषज्ञ डाक्टर कल्पना सुवेदीले भने उक्त बच्चा एक किसिमले गर्भप-तन नै भएको बताइन्।

‘२८ हप्ताभन्दा कम समयमा बच्चा निस्किए त्यसलाई हामी ए-बोर्सन नै मान्छौं। तर त्यो बच्चा जीवितै थियो। ५४० ग्राम तौल भएको बच्चा बाँच्ने सम्भावना एकदमै कम हुन्छ,’ सुवेदीले भनिन्,‘यो कुरा त्यो बेला ड्युटीमा रहेका डाक्टरले परिवारलाई राम्ररी भन्नुभएको थियो। उहाँहरूले पेपरमा साइन पनि गर्नु भएको थियो।

आफ्नो बच्चालाई सुरूमै त्यसरी नराखेको भनेर उत्तमले गरेको गुनासो स्वभाविक भएको सुवेदीले बताइन्।

‘केही समय बाँचेपछि उहाँहरूलाई सुरूमै भेन्टिलेटरमा लैजान पाएको भए हुन्थ्यो भन्ने लाग्नु स्वभाविक हो। तर त्यतिबेला हामीसँग भएका चार वटै भेन्टिलेटर प्याक थिए,’ डाक्टर सुवेदीले भनिन्,‘बाँच्ने सम्भावना बढी भएको बच्चालाई निकालेर झिनो सम्भावना भएको बच्चालाई राख्न मिलेन।’ त्यसो भए ती सानी मान्छे अहिलेसम्म बाँच्नु चमत्कार हो त? डाक्टर सुवेदी यसरी जन्मिएका बच्चा केही घन्टासम्म बाँच्ने बताइन् तर उनी अहिलेसम्म बाँच्नु चमत्कार भने होइन।

‘विदेशमा ५०० ग्रामभन्दा मुनिको बच्चालाई पनि बचाउन खोज्छन् तर हामीसँग त्यसका लागि प्रविधि र स्रोत छैन,’ सुवेदीले भनिन्,‘आइसियूमा राखेपछि केही घन्टा बढी बाँच्नु स्वभाविक हो। यदि उनी बाँचेर अस्पतालबाट डिस्चार्ज भइन् भनेचाहिँ त्यो मिराकलै हुन्छ।’


Your Views
Related News