काठमाडौँ – परा पूर्वकालदेखि नै मृत शरीरलाई छोराले मात्रै दागबत्ती दिँदै आएको हाम्रो समाजमा पछिल्लो समय छोरीले पनि दागबत्ती दिने गरेको र छोरासरह क्रियापुत्री बस्ने गरेको उदाहरणहरु आइरहेका छन्।

म्याग्दीकी १८ वर्षीया सपना रोका मगर पनि मृत शरीरलाई दागबत्ती दिन्छिन्। उनको अवस्था भने अरुको भन्दा फरक छ। वेवारिसे अवस्थामा भेटिएका श-वहरुलाई दागबत्ती दिएर अन्तिम संस्कार गर्छिन् सपना।

परिचय नै नभएका वेवारिसे श-वको व्यवस्थापन गर्न पाउँदा उनलाई सन्तुष्टि मिल्छ। उनले हालसम्म ४५ वटाभन्दा बढी वेवारिसे श-वको व्यवस्थापन गरिसकेकी छन्। सायद, परिस्थिति अनुकूल हुन्थ्यो त उनी यतिबेला आफ्नै संसारमा रमाइरहेकी हुन्थिन्। तर कोरोना भाइरसको महामारीले गर्दा उनको काम अहिलेका लागि रोकिएको छ।

खेती किसानी गरेर जीविकोपार्जन गर्ने भएपनि सम्पन्न नै थियो सपनाको परिवार। दाइ पहिले देखि नै विदेशमा र दिदीको पनि बिहे भइसकेकोले गर्दा घरकी कान्छी छोरी सपना पुल्पुलिएकी थिइन्। उनले भनेका हरेक कुरा आमाबुवाले पुर्‍याइदिन्थे।

पढाइमा अब्बल सपनाले २०७३ सालमा म्याग्दीकै महेन्द्ररत्न उच्च माध्यामिक विद्यालयबाट एसईई दिइन्। त्यसपछि आफ्ना अनगिन्ती लक्ष्य र बाबुआमाको सपना बोकेर गाउँ छाडेर सदरमुकाम बेनीमा आएर कक्षा ११ मा भर्ना भइन्।

घर छाडेपछि उनको दैनिकी र साथी संगत दुबै फेरियो। जोकोहीसँग पनि एकदमै छिटो घुलमिल हुन सक्ने र अरुको दुख देख्न नसक्ने उनकाे बानी थियो।

साथीहरुले दुःखसुख पोख्थे, उनले सकेको सहयोग गर्थिन्। तीनै साथीहरुको संगतले उनले बाटो बिराइन्।

‘मैले त्यतिबेला सामाजिक सञ्जालको पनि धेरै नै दुरुपयोग गरेँ। जसरी एउटा डमीलाई पसलमा लुगा लागाएर चिटिक्क बनाएर राखेको हुन्छ, फेसबुक पनि मलाइ आजभोलि त्यस्तै लाग्छ। मान्छेको वास्तविक जीवन फेसबुक जतिको रमाइलो हुँदैन’, उनले आफ्नो विगत सुनाइन्, ‘फेसबुकको दुनियाँमा एउटा कोही केटा साथीसँग मेरो कुराकानी भयो। झट्ट हेर्दा फोटोमा राम्रै देखिने, अनि त्यस्तै खालको कुराकानी गर्ने, म पनि रुमल्लिएँ।’

एक दुई महिना त्यसरी कुराकानी हुन थालेपछि उनी त्यही केटासँग बेनीबाट बुटवल आइन्। उनले थपिन्, ‘त्यस्तै परिबन्धले गर्दा म त्यो सम्बन्धमा फसेँ र त्यो सम्बन्धलाई टिकाई राख्न नसकेर पछि सडकको जीवन बिताउन बाध्य भएँ।’

सडकको जीवन बिताइरहँदा कसैले एकवचन बोलिदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो सपनालाई। उनी नितान्त एक्लो थिइन्। उनको मन पश्चातापले भरिएको थियो। न त उनी आफ्नो घर फर्केर जान सक्थिन् न त सम्बन्धलाई जोगाउन नै।

सडकमा खुला आकाशमुनि बास थियो, आफ्ना लागि सबै बाटो बन्द भएको जस्तो लाग्थ्यो उनलाई।

सपना भन्छिन, ‘त्यो बेलामा सडकको छेउमा कोही आउँछ की, मसँग बालिदिन्छ कि भनेर कुनामा झोक्राएर बस्थेँ, कोही आउँदैनथ्यो। सबैजना आफ्नै दुनियाँमा रमाएर हिँडेका हुन्थे।’

कुनैबेला आ-त्मह-त्याको प्रयाससमेत गरिन् उनले।

सपना भन्छिन, ‘कति रात त रोएर बिताएँ। कति रात आँसु पिएर अघाएँ। सबैतिर प्रश्नवाचक चिह्न खडा भएको थियो मेरा लागि’, ममी बाबा र आफन्तको विश्वास यतिसम्म तोडेको थिएँ की अहिले सम्झिँदा पनि मलाई एकदमै लाज लाग्छ। उहाँहरुले मेरो लागि राम्रोको भन्नुभएको थियो तर क्षणिक खुसीमा रमाउँदै गर्दा मैले उहाँहरुको कुरा बेवास्ता गरेँ।’

विगत सम्झिँदै सपनाले थपिन्, ‘दिदीले मेरो लागि राम्रो सोच्दा रिस, डाहा गरेको जस्तो लाग्थ्यो मलाई। नानी यस्तो नगर भनेर सम्झाउँदा कति समय त म दिदीसँग बोलिनँ।’

तर यही दुःख र पीडाले उनलाई बलियो बनायो, दुःखसँग हार खान्न भन्ने विश्वास जुट्यो र फर्केर गइन् आफ्नै गाउँ म्याग्दी। जीवनदेखि हार खाएकी सपना घरमा बुवाआमाले स्वीकार नगर्लान् कि भनेर डराएकी थिइन्। तर आमाबाबुको मन न हो, आफ्नै छोरीलाई कसरी तिरस्कार गर्न सक्थे?

दिदी विदेशमा भएकाले उनलाई पनि विदेश जान मन लाग्यो। जापानी भाषा पढ्न थालिन्। तर समयले उनलाई अर्कै मोडमा लग्यो। घर परिवारको सल्लाहमा उनी ८ महिनाअघि काठमाडौँ आइन्।

काठमाडौँ आएपछि उनको विनयजंग बस्नेतसँग भेट भयो। सपनाले विनयलाई बुवा मान्छिन्। विनयको छोरी सलिना जंग बस्नेत, जोसँग सपनाको जापान जाने क्रममा कनसलटेन्सीमा भेट भएको थियो, त्यही क्रममा विनयसँग पनि भेट भएको थियो।

विनयले बेवारिसे श-वको दाहसंस्कार गर्ने काम गर्छन्। उनले हालसम्म २७२ वेवारिसे श-वहरु दाहसंस्कार गरिसकेका छन्। सपना पनि विनयबाट प्रेरित भइन्। र जिद्धी गरिन् आफूले पनि त्यही काम गर्छु भनेर।

सपना भन्छिन, ‘बुवाले सानो छस्, अहिले नगर भन्नुहुन्थ्यो, मैले धेरै नै जिद्धी गरेँ।’

एकदिन विनयले टिचिङ अस्पतालको श-व गृहमा सपनालाई लिएर गए। उनी जुन स्पीडमा उत्साहित भएर त्यहाँ गएकी थिइन्, त्यही स्पीडमा बाहिर आएर धुरुधुरु रोइन्।

उनले थपिन्,‘लास जताततै थियो, कतै खुट्टा, कतै हात, शरीर मिलाउन खोज्यो चुँडिएर सबै तल झर्छ। त्यति धेरै लासहरुलाई देखेर पनि होला अहिले त माया लाग्छ लासहरुको।’

पहिलो श-व जलाउँदा उनी १७ वर्षकी थिइन्। दागबत्ती दिने क्रममा एकदमै भावुक भएकी थिइन् सपना। उक्त श-व एक युवतीको थियो, जसको सपनाले पहिलो पटक दाहसंस्कार गरिन्।

सपना भन्छिन्, ‘वरिपरि भएका अरु श-वका अगाडी आफन्तहरु रोइरहेका थिए तर यो श-व भने एक्लै थियो।’

सपनालाई लाग्यो कुनै समय त उसको पनि परिवार थियो होला, तर परिस्थितिले गर्दा यसरी वेवारिसे हुनुपर्‍यो। श-व जलाउँदै गर्दा उनी त्यही छेउमा बसेर धेरै बेर रोएर आफ्नो विगत सम्झिइन्।

छोरा मान्छेले मात्र दागबत्ती दिनुपर्ने हाम्रो नेपाली समाजको परम्परा सपनालाई आफूले तोडेको जस्तो लाग्छ। उनको घरमा पनि आफूले वेवारिसे श-वलाई दागबत्ती दिन्छु भन्दा खुसी भएका थिए।

सपना भन्छिन्, ‘सबैजनाले सपना कस्तो स्ट्रोङ, कहिले रुँदैन भन्छ, तर म जति सायद यो संसारमा कोही रुँदैन होला। कुनै समय आफ्नै इगोले गर्दा वेवारिसे जिन्दगी बिताएर पनि होला, सडकमा त्यस्ता मान्छे देखेँ भने दुःख लाग्छ।’

विगतका दिन सम्झिँदै गर्दा अहिले उनलाई आफैप्रति गर्व छ। ‘बल्ल सबैजनाको विश्वास जित्दै छु’, उनले थपिन्, ‘हिजोको सपना जो सडकमा आफै वेसाहरा भएर कसैको साहरा खोजिरहेको थिई आज त्यही सपना वेवारिसेहरुको साहरा बनेकी छ।’

कति दिनदेखि अन्तिम संस्कार नगरिएका श-वहरु जलाएर मुक्ति दिए जस्तो लाग्छ सपनालाई आजभोलि। एकपटक उनले एकमुस्ट रुपमा पाँचवटा श-वलाई दागबत्ती दिनु परेको थियो। चार वटा नवजात शिशुहरुको एकैपटक अन्तिम संस्कार गर्दा उनी भक्कानिएकी थिइन् जन्मेर आँखा खोल्न नपाइ उनीहरुले ज्यान गुमाएका थिए।

सपनाका अनुसार ९५ प्रतिशत वेवारिसे श-वहरु लागुऔषध दुर्व्यसन गर्दा हुन्छ। त्यसैले उनीहरुले हाल लागुऔषध सुधारगृह पनि खोलेका छन् र यसको थप विस्तार गर्ने योजना बनाइरहेका छन्।

सपना थप्छिन्, ‘राम्रो काम गर्ने मान्छेलाई खुट्टा तान्ने त पक्कै पनि हरेक ठाउँमा हुन्छन्। छोरी मान्छेले दागबत्ती दियो भने, आत्माले शान्ति पाउँदैन जस्ता कुराहरु त बारम्बार आइ नै राख्छन्।’

सपनाको टिम अब यो कामलाई विस्तार गर्न चाहन्छ। हालसम्म २४ जिल्लामा उनीहरुले एक्सन फर सोसियल चेन्ज, वेवारिसे श-व व्यवस्थापन तथा पुनर्जीवन केन्द्रको शाखा खोलिसकेका छन्। अबको उनीहरुको योजना ७७ वटै जिल्लामा वेवारिसे श-वहरुलाई राम्रोसँग व्यवस्थापन कसरी गर्ने भनेर सिकाउनु छ।

सपना थप्छिन, ‘कतिपय ठाउँमा नगरपालिकाले श-व लिएर जान्छ तर व्यवस्थापन गर्ने ठाउँ नभएर श-वहरु फिर्ता आएको क्षणहरु पनि छ।’

सपनाका अनुसार यो काममा चुनौतिहरु छन्।

‘आर्थिक अवस्था कमजोर भएको छ हाम्रो, जग्गा बन्धकी राखेर मेरो बुवा काम गरिराख्नु भएको छ। कतिपय समयमा लास पशुपतिघाटमा आइसकेको हुन्छ तर हामीसँग पैसा हुँदैन। एउटा श-व जलाउन १० देखि ११ हजारसम्म लाग्छ। पैसा नभएको बेलामा कहिले मोबाइल त कहिले बाइक बन्धकी राखेर बुवा र म काम गरिरहेका छौँ’, उनले भनिन्।

सपनाका अनुसार वेवारिसे श-व व्यवस्थापनमा सरकारको ध्यान गएको छैन। आर्थिक सहयोग नगरेपनि सरकारले स्यावासी मात्र दिए पनि काम गर्न झन् बढी हौसला अनि उर्जा आउने सपना बताउँछिन्।

सपनाका अनुसार पछिल्लो समय भने प्रहरी प्रशासनबाट केही सहकार्य अनि सहयोग मिलिरहेको छ। वेवारिसे श-वहरु भेटिएपछि पहिला प्रहरी प्रशासनलाई खबर गरिन्छ। पोस्टमार्टम गरिसकेपछि ३५–४५ दिनसम्म आफन्तहरुलाई खोजिन्छ।

श-व वेवारिसे नै हो भनेर पुष्टि भएपछि कानुनी प्रक्रिया पूरा गरिन्छ र वेवारिसे व्यवस्थापनको संस्थालाई श-व व्यवस्थापन गरिदिनुपर्यो भनेर पत्र लेखिन्छ। त्यसपछि वेवारिसे श-वको अन्त्यष्टिको काम सुरु हुन्छ।


Your Views
Related News