वीरगंज: भारतीय नागरिक अवैध रुपमा प्रवेश गरी वीरगंजमा पीसीआर परीक्षण गराउन थालेका छन्। पर्सा-बाराका ग्रामीण नाकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई झुक्याउँदै वीरगंज पुगेर उनीहरुले पीसीआर परीक्षण गर्ने गरेको खुलेको हो।

नारायणी अस्पताल पीसीआर प्रयोगशालाले गएराति सार्वजनिक गरेको नतिजा अनुसार पर्साबाट १७७ जनाको र बाराबाट १५ जनाको स्वाब संकलन गरी कुल १९२ जनाको पीसीआर परीक्षण भएको छ। जसमा ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा पर्साका ३८ वर्षीय, बाराका ५९ वर्षीय, सर्लाहीका ४४ वर्षीय गरी तीन जना पुरुष छन्। सर्लाहीका युवक वीरगंजमै बसोबास गर्ने गरेका छन्।

५ जनामध्ये २ जना भारतीय नागरिकमा पनि कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी गराए। उनीहरु कहाँका हुन् र कसरी पीसीआर परीक्षण गराएका हुन् भन्नेबारेमा नारायणी अस्पतालले स्पष्ट विवरण खुलाएको छैन। दुई भारतीय नागरिकहरुको उमेर ४१ वर्ष र ५८ वर्ष रहेको छ।

अहिले नारायणी अस्पतालमा दैनिक ८० देखि सय जनाको सशुल्क पीसीआर परीक्षण भइरहेको छ। दुई हजार शुल्क तिरेर गराइने पीसीआरमा दैनिक ३० जना जति भारतीय नागरिक हुने गरेको नारायणी अस्पताल स्रोतको दाबी छ।

‘केही दिनदेखि भारतीयहरुको नेपाली आफन्तको नागरिकताको फोटोकापी र कन्ट्याक्ट ट्रेसिङको ठेगाना उपलब्ध गराएपछि मात्र पीसीआर गरिरहेका छौँ’, नारायणी अस्पताल पीसीआर प्रयोगशालाकी प्रमुख डा. नीरा पाठकले भनिन्।

उक्त कुरा कानुनसंगत हो या कानुन विपरीत उनले खुलाउन चाहिनन्। सीमामा नियमन नगरे परीक्षणका लागि भारतीयहरुको लर्को लाग्ने चिकित्सकहरुकै अनुमान छ।

‘भारतीय वीरगंजका आफन्तजनको नागरिकता, ठेगाना र घर उपयोग गरी पीसीआर परीक्षण गराइरहेका छन्। उनीहरु भारतबाट अवैध रुपमा प्रवेश गरेर यहाँको स्वास्थ्य सेवाको लाभ लिइरहेका छन्,’ एक चिकित्सकले भने, ‘भोलि अवस्था भयावह हुन सक्छ, भारतमा अहिले महामारी तीव्र रुपमा अघि बढेको छ। सीमा नाकामा अवैध घुसपैठलाई रोक्नुपर्छ। अर्को कुरा यदि कोही भारतीयमा संक्रमण देखियो र उ भाग्यो भने उसको जिम्मा कसले लिने?’

पर्सा, बारामा एकातर्फ परीक्षण घटाएर ग्रीन जोन बनाउने हतार छ अर्को तर्फ भारतीयहरु धमाधम पीसीआर परीक्षण गर्न नेपाल भित्रिरहेका छन्। यस्तो गलत कामलाई रोक्नु पर्ने चिकित्सकहरुको भनाइ छ।

यस विषयमा सशस्त्र प्रहरी बल १३ नम्बर गण (पर्सा सशस्त्र कार्यालय) का प्रमुख एसपी राजेन्द्र खड्कासँग बुझ्दा उनले आफूले पनि भारतीय गोप्य रुपमा प्रवेश गरेको सुनेको र त्यसलाई मध्यनजर गर्दै आफू मातहतका सबै बीओपीलाई निर्देशन दिइसकेको बताए।

‘अहिले पनि अलौमा २ जना भारतीय सीमा पारी रोकिएका छन्। मैले हिजै सबै बीओपीलाई कडाइ गर्न भनिसकेको छु,’ उनले भने, ‘तापनि फेरि बुझछु।’

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले भारतीयहरुको गैरकानुनी प्रवेशलाई अंकुश लगाउन आज बस्ने जिल्ला सुरक्षा समितिको बैठकमा यस बारे छलफल गर्ने बताए। उनले विगतमा कडाइ गर्दै आए तापनि कुनै नाकाको गोप्य बाटोबाट प्रवेश गर्ने गरिएको सूचना आएको बताए।

किन आउँदैछन् भारतीय?

लकडाउनको कारण भारतका मजदुर नेपाल आउन सकिरहेका छैनन्। बिहार र उत्तर प्रदेशका मजदुर पर्सा, बाराको नाकाबाट वीरगंज पुग्छन्। कुनै आफन्तजनको कागजातमार्फत पीसीआर परीक्षण गराउँछन्। नेगेटिभ आयो भने वीरगंजबाट बसमा चढेर काठमाडौं, पोखरा, भरतपुर, हैटौँडालगायतका शहरमा पुगिरहेका छन्। पोजिटिभ आयो भने उपचार गराउने उनीहरुको सोच छ।

यसमा पर्साका सिडिओ तामाङले भारतीय नागरिकको हकमा नेपाली नागरिक वा निकायले कन्ट्याक्ट ट्रेसिङको जिम्मा लियो र कागजात पेस गरी पीसीआर परीक्षण गराउन जानकारी गराएर परीक्षण गर्ने नियम छ। तर, अवैध प्रवेश र प्रयोजन छ भने गर्न नमिल्ने तामाङले प्रतिक्रिया दिए।

READ MORE

फ्लाई दुबईले ‘ओभरसुट’ गर्यो, धेरै विमान काठमाडौँको आकाशमै होल्ड !

काठमाडौँ – भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ ।

मध्याह्देखि जारी वर्षाका कारण विमानस्थलको आन्तरिक तथा अन्तरराष्ट्रिय उडानमा असर पुगेको हो । निरन्तरको वर्षाले विमानस्थलको ‘भिजिबिलिटी’ पनि कम भएकाले कतिपय अन्तरराष्ट्रिय उडान आकाशमै फन्को लगाउने ‘होल्ड’ भए भने केही उडान डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार विमानस्थलमा अवतरण गर्नै लागेको फ्लाई दुबईले ‘ओभरसुट’ गरेको छ । यो एयरलाइन्स लखनउ डाइभर्ट भएको छ । नेपाल एयरलाइन्सको जहाज पनि होल्डमा परेको जनाइएको छ ।

निरन्तर वर्षा भइरहेकाले अझै पनि विमानस्थलको उडान सामान्य हुन सकेको छैन । अन्तरराष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् ।

सांकेतिक तस्विर

पाँच दिन लगातार देशभर पानी पर्ने

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी पाँच दिन देशभर बदलीसहित वर्षाको सम्भावना रहेको छ । ।

उत्तरपूर्व बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र उत्तरपश्चिम तर्फ सर्ने क्रममा पाँच दिन नेपालको धेरै स्थानमा वर्षा हुनाका साथै तराई भूभागमा हावाहुरीको समेत सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले भने, “मनसुन अन्य हुने औसत समय सेप्टेम्बर २३ अर्थात् बुधबार भए पनि उक्त प्रणालीको प्रभावले अबको केही समय पुनः मनसुन सक्रिय हुने भएको छ ।”

वर्षा र बदली गराउने न्यूनचापीय प्रणाली नेपालमा अझै चारपाँच दिन रहने भएकाले मनसुन पनि ढिलो बाहिरिने मौसमविद्को अनुमान छ । त्यस्तै बढी पूर्वानुमान महाशाखाले आगामी पाँच दिन असोज १० गतेसम्म देशभरका नदीमा बहाव उच्च हुने पूर्वानुमान गरेको छ । पानीको सतह सतर्कताको चिह्नभन्दा तलै हुने भए पनि सामान्यावस्थाबाट एक्कासि बढ्ने सम्भावना रहेकाले सम्भावित क्षतिबाट जोगिन असोज ११ गतेसम्म नदी तटीय क्षेत्रका क्रियाकलाप नगर्न वा गर्नुपरेमा उच्च सतर्कतासाथ गर्न बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

हाल देशका प्रदेश नं १, २ र वाग्मती प्रदेशमा पूर्ण बदली र अन्य प्रदेशमा सामान्य बदली रहेको छ । साथै वाग्मती र प्रदेश नं ५ का केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा र गण्डकी प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव शून्य र अधिकतम तापक्रम ३१ दशमलव ८ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव २ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३८ दशमलव ३ डिग्री सेल्सियस छ ।

मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको तीन दिनको मौसम पूर्वानुमान निम्न छ –

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र पश्चिम-उत्तरपश्चिम सर्दैछ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा भईरहेको छ भने अन्य प्रदेशहरूमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज ६ गते (मंगलबार)

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ भने बाग्मती प्रदेश , प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा धेरै भारी वर्षाको समत संभावना रहेको छ ।

असोज ७ गते (बुधबार)

दिउँसो : देशभर सामान्य देखि पुर्णतया बदली रही देशका घेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १-२ स्थानहरुमा धेरै भारी वर्षाको समेत संभावना रहेको छ ।

राती : देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने बाग्मती प्रदेश,गण्डकी प्रदेश,प्रदेश नं ५ र सुदुरपश्चिम प्रदेशका १-२ स्थानहरुमा धेरै भारी वर्षाको समेत संभावना रहेको छ।

असोज ८ गते (बिहिबार)

दिउँसो : देशभर सामान्य देखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने बाग्मती प्रदेश,गण्डकी प्रदेश,प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका १-२ स्थानहरुमा धेरै भारी वर्षाको समेत संभावना रहेको छ।

राती : देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने बाग्मती प्रदेश,गण्डकी प्रदेश,प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा धेरै भारी वर्षाको समेत संभावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षा साथै प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश , प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।


Your Views
Related News