काठमाडौं : हालसम्म नेपालमा कोभिड-१९ संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ। संक्रमण पुष्टि भएका मध्ये हालसम्म १७ हजार ६११ जना सक्रिय संक्रमित छन्। संक्रमण पुष्टि भएका मध्ये हाल ८ हजार ६९० जना संक्रमित होम आइसोलेसनमा छन् भने ८ हजार ९२१ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

हालसम्म कोभिड-१९ को उपचारका लागि कुनै प्रभावकारी औषधि तयार भई सकेको छैन। यस्तो अवस्थामा संक्रमितहरुको शारीरिक प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनुको विकल्प छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ संक्रमित व्यक्तिहरुको लागि पोषणस सम्बन्धी अन्तरिम निर्देशिका सार्वजनिक गरेको छ। मन्त्रितरीय निर्णयबाट भदौ २९ गते स्वीकृत निर्देशिकामा संक्रमणको दर, संक्रमणको जोखिम र मृत्युमा व्यक्तिको पोषण अवस्थाले प्रत्यक्ष प्रभाव पारिरहेको भन्दै कोभिड १९ बाट संक्रमित व्यक्तिहरुको जीवन रक्षाका लागि उपयुक्त पोषण अत्यावश्यक भएको उल्लेख छ।

‘उचित पोषणले रोग प्रतिरक्षा प्रणाली बढाउँनुका साथै संक्रमणको जटिलता र अस्पताल बस्ने दिन समेत घटाउदछ,’ निर्देशिकामा अगाडि भनिएको छ, ‘हरेक संक्रमित व्यक्तिहरुको पोषण अवस्था विश्लेषण गरी पोषण अवस्थाको आधारमा उचित आहार तथा पोषण व्यवस्थापनको रणनीति र लक्ष्य तय गर्नु पर्दछ। साधारण खानामा आवश्यकता अनुसार परिमार्जन गरी (नर्मल मोडिफाइड डाइट) संक्रमित व्यक्तिको पोषण व्यवस्थापन गर्न सकिन्छ।’

कोभिड १९ को संक्रमण भई घर मै आइसोलेसनमा बसेका, लक्षण देखिएका नदेखिएका, अस्पतालमा भर्ना भएका, जटिलता बढि भएका देखि विभिन्न दीर्घ रोग भएका संक्रमितहरु समेतको पोषण व्यवस्थापनका लागि यस निर्देशिका उपयोगी हुने निर्देशिकामा उल्लेख छ।

त्यस्तै संक्रमण नभएका व्यक्तिहरुका लागि पनि निर्देशिकामा पोषणसम्बन्धी सिफारिस गरिएका व्यवहारहरु सहयोगी हुने उल्लेख छ।

निर्देशिकामा उमेर समूह, दीगरोगको अवस्थालाई आधार मानि विभिन्न ‘मेनु’ तयार भएका छन्।

कोभिड-१९ संक्रमित ६० वर्ष माथिका व्यक्तिहरुका लागि पोषण ६० बर्षभन्दा माथिको उमेरमा मानसिक, शारीरिक परिवर्तन तथा मेटाबोलिज्ममा आएको परिवर्तनका कारणले खानामा रुचि कम भई कुपोषित हुने जोखिमका साथै रोग प्रतिरोधात्मक क्षमतामा कमि आइरहेको हुन्छ। विभिन्न खालका दिर्घ रोगका कारणले यस उमेर समूहमा कोभिड १९ को संक्रमण र मृत्युको जोखिम पनि अन्य उमेर समुहको तुलनामा उच्च रहेको पाईएकाले उचित खानपान र जीवनशैलीमा विशेष ध्यान दिन जरुरी रहेको निर्देशिकामा उल्लेख छ।

कोभिड १९ संक्रमित, अन्य दीर्घ रोग नभएका ६० बर्ष माथिका व्यक्तिहरुका लागि सिफारिस गरिएको आहार:

१. खानामा दैनिक रुपमा कार्बोहाईड्रेटका स्रोतहरु जस्तैः आटा, कोदो, फापर, चामल, तरुल जस्ता खानेकुराहरु ठिक्क मात्रामा खानु पर्दछ,

२. प्रोटिनजन्य खानेकुराहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउनका साथै शरिरमा मांसपेशिहरु निमार्ण गर्ने लगायतका कार्य गर्ने भएकोले खानामा प्रोटिनका स्रोतहरु जस्तैः अण्डा, माछा, मासु, दाल, गेडागुडी, पनिर, तोफू जस्ता खानेकुरा दैनिक रुपमा खाने,

३. टुसा उम्रेका गेडागुडीमा आईरन, भिटामिन सि जस्ता सूक्ष्म पोषक तत्व, रेसादार (फाइबर) तथा अन्य फाइदाकर तत्वहरु पाइनुका साथै पाचन प्रणालीलाई समेत स्वस्थ राख्ने हुनाले टुसा उमारिएको गेडागुडी नियमित खाने,

३. फर्मेन्टेड  खानेकुराहरु जस्तैः दहि, मोहि, गुन्द्रुक, सिन्की, मसौरा, किनेमा, तामा (मेसो) आदिमा क्याल्सियम, आइरन, म्याग्नेसियम, जिंक जस्ता शुक्ष्म पोषक तत्व, प्रोबायोटिक्स, एन्टिअक्सिडेन्ट आदि प्रशस्त पाइनुका साथै पाचन प्रणालीलाई सुदृढ गर्ने भएकाले दैनिक रुपमा खाने,

४. दैनिक रुपमा मौसम अनुसारको हरियो सागसब्जी तथा फलफूलहरु प्रशस्त मात्रामा खाने,

५. कम्तिमा २ लिटर पानी दैनिक पिउने,

६. बिहान, बेलुका बेसार पानी वा दूधमा बेसार राखेर पिउने,

७. चपाउन समस्या भएको खण्डमा खिचडी, लिटो, गिलो खाना खाने

८. यस उमेरमा खानामा रुचि कम हुन सक्ने भएकाले पटक पटक (दैनिक ४-६ पटक) थोरै-थोरै मात्रामा खाने

९. ६० बर्षमाथिको उमेरमा हड्डी कमजोर हुन सक्ने भएकोले क्याल्सियम बढि पाईने खानेकुराहरु जस्तैः दूध, दहि, मोहि, दूधबाट बनेका परिकारहरु जस्तैः पनिर, केफिर, छेना जस्ता परिकारहरु नियमित खाने

१०. रोग प्रतिरोधी क्षमता बढाउने पोषक तत्व पाइने खानेकुराहरु प्रशस्त मात्रामा खाने । भिटामिन ए, भिटामिन सि,  भिटामिन इ, जिलजस्ता पोषक तत्वहरुलाई रोगप्रतिरोधी क्षमता बढाउने पोषक का रुपमा लिइन्छ। जसका स्रोतहरु निम्न बमोजिम छन् : –

भिटामिन ए का स्रोतहरु : मासु, कलेजो, अण्डाको पहेलो भाग, माछा, घिउ, दुध, पाकेको मेवा, सुन्तला रंगको सखरखण्ड, गाँजर, हरिया सागपात तथा पहेला फलफूलहरु आदि

भिटामिन सि का स्रोतहरु : अमिला फलफूल जस्तैः अमला, कागती, सुन्तला, मौसम आदि फलफुल तथा पालकजस्ता हरिया सागपात आदि।

भिटामिन इ का स्रोतहरु : काजु, बदाम, ओखर, घिउ, एभोकाडो, आलस जस्ता तैलिय दानाहरु, माछा, हरिया सागसब्जीहरु आदि।

जिंकका स्रोतहरु : गेडागुडी, बोक्रासहितका अन्नहरु, काजु, बदाम, ओखर, दुधका परिकारहरु, रातो मासु आदि। ११. दैनिक रुपमा कम्तिमा ३० मिनेट योगाभ्यास, शारीरिक व्यायाम गर्ने, चिन्तामुक्त रहने, दैनिक रुपमा नाचगानजस्ता मनोरन्जन गर्ने

१२. धेरै नुन वा चिनि भएका बजारिया खानेकुरा नखाने

१३. बट्टा (क्यान) मा लामो समय राखेका परिकारहरु नखाने।

१४. कार्बोनेटेड पेय पदार्थहरु नखाने

१५. चिल्लो, तारेको खानेकुराहरु नखाने

१६. धुम्रपान तथा मद्यपान नगर्ने।

निर्देशिकामा कोभिड १९ संक्रमणका विभिन्न लक्षणहरु देखिएमा गर्नुपर्ने पोषण ब्यवस्थापनका बारेमा पनि उल्लेख छ। त्यस्तै आइसियु वा भेन्टिलेटरमा राख्नु पर्ने अवस्थाका बिरामीका लागि व्यक्तिगत लेखाजोखा र डाइटिसियनको परामर्श लिनुपर्ने भनिएको छ।

निर्देशिकामा २० वर्ष देखि ६० वर्ष उमेर समूहका फरक फरक प्रकृतिका संक्रमितहरुका लागि पनि छुट्टै मेनु तयार छन्। त्यस्तै महिला तथा गर्भवती महिला तथा बालबालिकाका लागि पनि छुट्टै मेनु तयार छन्।


Your Views
Related News