कोरोनाभाइरस महामारीमा डेरावाल र घरबेटीको द्वन्द्वले चरम रुप लिएको छ। घरभाडा तिर्न नसक्दा घरबेटीले निकाल्ने, कुटपिट गर्ने मात्र होइन ज्यानसमेत लिएको घटना बाहिर आएका छन्।

कीर्तिपुर नगरपालिका–७ काठमाडौँका घरबेटी ६६ वर्षीय प्रेमलाल महर्जनको कुटपिटबाट गएको २६ भदौमा ४८ वर्षीय शम्भु चौधरीको मृत्यु भयो। बाराको कलैया घर भएका चौधरी महर्जनकै घरमा भाडामा बस्थे।

घटनाको खास कारण कोठाभाडाका लागि घरबेटीले गरेको कचकच नै भएको डेरावाल तथा उपभोक्ता मञ्चका अध्यक्ष भुवन थापा बताउँछन्। सार्वजनिक यातायातका सहचालक चौधरीलाई हरेक महिना भाडाका लागि घरबेटीले गाली गर्न थालेपछि उनले अन्तै डेरा खोजेका थिए। थापा भन्छन्, “कोठा सर्न लाग्दा जारको पानी लग्ने कि छोड्ने भनेर श्रीमतीसँग छलफल गर्दागर्दै घरबेटीसँग भनाभन भयो। त्यही निहुँमा उनको हत्या गरियो।”

उनका अनुसार डेरावालको मुख्य अहिले समस्या भाडा तिर्न नसक्नु, सिकिस्त नभएसम्म कोरोना संक्रमितलाई अस्पतालमा भर्ना नलिनु र घरबेटीले बस्न नदिनु नै हुन्। अस्पतालमा उपचारपछि संक्रमणमुक्त भएर आए पनि घरमा पस्न नदिँदा बस्ने ठेगानसमेत हुन छाडेको उनी बताउँछन्।

“मेरो घरबेटी एउटा स्थापित गैरसरकारी संस्थामा काम गर्नुहुन्छ। मैले समयमा भाडा नदिँदा पनि खान गाह्रो हुने अवस्था छैन। तर, मागेपछि ऋण खोजेर पनि दिने गरेकी छु।”
काठमाडौंको सोह्रखुट्टेमा बसिरहेकी कमला शर्मा (नाम परिवर्तन) सँग घरबेटीले मासिकरुपमा अग्रिम भाडा लिने गरेकी छिन्। उनको पसल बन्द भएको छ महिना भयो। उनी भन्छिन् “मेरो घरबेटी एउटा स्थापित गैरसरकारी संस्थामा काम गर्नुहुन्छ। मैले समयमा भाडा नदिँदा पनि खान गाह्रो हुने अवस्था छैन। तर, मागेपछि ऋण खोजेर पनि दिने गरेकी छु।”

साना व्यवसायी र दैनिक ज्याला मजदुरी गरेर खानेहरु सबैभन्दा धेरै समस्यामा परेका छन्। उनीहरुको आम्दानीको स्रोत बन्द हुँदा दैनिकी चलाउनसमेत मुस्किल परिरहेको छ। मञ्चका अध्यक्ष थापा भन्छन्, “डेरामा बस्नेहरुको आम्दानीको स्रोत बन्द भएपछि कोठाभाडा तिर्न सकिरहेका छैनन्। त्यही कारण कोठाबाट निकालिनेहरु धेरै छन्।”

डेरामा बसेर मजदुरी गर्ने र साना व्यवसायी गर्नेको आम्दानी बन्द भएकाले केही समय घरभाडा ‘होल्ड’ गर्न निर्देशन दिन सरकारसँग माग गरेको अध्यक्ष थापा बताउँछन्। घरभाडा उठाएर खानुपर्ने घरबेटीलाई राहत दिनुपर्ने र व्याङ्कको ऋण भएकाको हकमा ऋण ‘होल्ड’ गर्नुपर्ने मन्चको माग छ।

अहिले डेरावालमाथि दुव्र्यवहार र कुटपिट गर्नेहरु पनि भाडा उठाएर खानुपर्ने अवस्थाका नभएको थापाको दाबी छ। “प्रहरीको असई, सरकारी जागिरे अथवा स्थापित व्यवसायीहरुबाट डेरावालामाथि ज्यादती भइरहेको छ”, उनी भन्छन्।

संक्रमितलाई घरबाटै निकालियो

ललितपुरमा कोठाभाडा बस्ने सुवास (नाम परिवर्तन) लाई बन्दाबन्दीकै वेला कोरोना संक्रमण भयो। उनकी श्रीमतीको जाँचको नतिजा भने नेगेटिभ आयो। सुवास अस्पतालमा र श्रीमती कोठामा बसे। तर, कोठामा बसेकी श्रीमतीलाई घरबेटीले डेरा सर्न दबाब दिए।

उनले अस्पतालमा बसेका श्रीमानलाई समस्या सुनाइन्। सुवासले आफ्ना साथीलाई कोठा खोजिदिन आग्रह गरे। तर, कोठा पाइएन। उनी भन्छन् “त्यस वेला म साह्रै लाचार अनुभूति गरेँ। मेरो डिस्चार्जसम्म पर्खिदिन अनुरोध गर्नुको विकल्प थिएन। मैले अनुरोध गर्दा कुनै प्रतिकृया नजनाइ फोन काट्नु भयो।”

फोन कोटेको दुई दिनपछि डिस्चार्ज भएर आफ्नो घरमा नआउन घरबेटीले मेसेज पठाए। त्यसपछि फेरि सुवासले साथीलाई कोठा खोजिदिन अनुरोध गरे। उनको साथीले आफ्नै घरको एउटा कोठा केही समयलाई भनेर खाली गरिदिए।

बन्दाबन्दी खुकुलो भएपछि कोठा खोजेर सरेको उनी बताउँछन्। सुवासलाई साथीले घरबेटीविरुद्ध प्रहरीमा उजुरी दिन सुझाव दिए। तर, उनले उजुरी दिएनन्। “पढेर पनि बुद्धि नफिरेकासँग व्यवहार गर्न गाह्रो हुने रहेछ भनेर उजुरी दिन मानिनँ।” उनी भन्छन्।

कोरोना संक्रमण भएपछि घरमा बस्न नदिने समस्याबाट भाडावालहरु पीडित छन्। अर्की डेरावाला शान्ता (नाम परिवर्तन) लाई गत असारमा संक्रमण पुष्टि भयो। घरबेटीले जसरी पनि अस्पताल नै गएर बस्न दबाब दिए।

तर, अस्पतालले राख्न नमानेपछि उनले वडा कार्यलयलाई गुहारिन्। वडा कार्यलयले घरबेटीलाई कोठामा बस्दा समस्या नहुने भनेर सम्झायो। तर, नमानेपछि उनलाई वडाको आइसोलेसनमा राखियो। “संक्रमण भएपछि ममाथि घरबेटीले जुन व्यवहार गरे, त्यसको त मैले कल्पना पनि गरेकी थिईनँ”, उनी भन्छिन्, “वडाले सम्झाउँदा पनि नसकेपछि पुनः जाँच गर्दा नेगेटिभ आएपछि कोठामा नै आएर बस्न दिनुपर्ने सम्झौता गरेर आईसोलेसनमा गएको थिएँ।”

तेस्रो पटकको जाँचमा नेगेटिभ आएपछि उनी कोठा फर्किन्। तर, अझै घरबेटीले सामान्य व्यवहार नदेखाएको बताउँछिन्। उनी भन्छिन् “कोरोनाभाइरसले भन्दा घरबेटीले देखाएको व्यवहारले गाह्रो बनायो।”

महामारीकै बीच घरबेटीले दुव्र्यवहार गरेका डेरावाला प्रशस्तै भेटिन्छन्। कुमार थापा (नाम परिवर्तन) चैत पहिलो साता काठमाडौं आएर साथीले खोजिदिएको फ्ल्याटमा परिवारसहित बसे। एक नीजि कम्पनीमा कार्यरत थापाले बन्दाबन्दीको केही समय घरबाटै काम गरे। घरबाट काम गर्न समस्या भएपछि कार्यलय नै जान थाले। तर, साँझ फर्केपछि घरबेटीले बाहिर निस्कने भए डेरा सर्न भने।

‘अफिस जाने आउने गर्ने हो भने कोठा सर्नुहोला। तपाईंको कारण हामीलाई संक्रमण भयो भने के गर्ने?’ घरबेटीको भनाइ उनले सुनाए। घरबेटीलाई सम्झाउँदा पनि नसकेपछि उनी अप्ठ्यारोबीच कोठाबाटै काम गर्न बाध्य भए। उनी भन्छन्, “यस्तो अवस्थामा कोठा खोज्न जान सक्ने अवस्था पनि भएन। अप्ठ्यारै भए पनि घरबाट काम गरिरहेको छु।”

घरबेटीलाई प्रहरीको साथ!

रामेछापका ललितबहादुर सुनुवार (५७) ललिपुरमा डेरा गरी बसेको १७ वर्षभन्दा बढी भयो। उनी इमाडोल–रत्नपार्कको टेम्पु चलाउँछन्। उनी इमाडोलमा पर्ने कमल पोखरीस्थित सितल हाइटमा घरको एउटा सटर लिएर बस्छन्। उनी मासिक रु.१० हजार भाडा तिर्छन्। घरबेटी अर्कै घरमा छन्।

गत वैशाखमा घरबेटी भाडा उठाउन आए। उनले कमाइ नभएकाले पछि दिने बताए। तर, घरबेटीले अग्रिम भाडा बुझाउन भन्दै अर्को दिनसम्मको समय दिए। भोलिपल्ट भाडा उठाउन प्रहरी नै लिएर आए।

घरेबेटीसँगै आएको प्रहरीले घरमा बसेपछि भाडा जसरी पनि दिनुपर्ने दबाब दिए। सुनुवार भन्छन्, “मैले भाडा दिन्न भनेकै थिएन। अहिले कमाइ छैन कमाइ भएपछि दिन्छु भनेकै छु। पुलिसलाई पनि त्यहिँ भनें।”

टेम्पु चालक साथीहरुले चिया, खाना नियमित खुवाउन उनकी श्रीमतीलाई आग्रह गरे। श्रीमतीले पनि त्यही सटरमा चिया, नास्ता र खाना खुवाउन सानो होटल शुरु गरिन्। त्यसो हुँदा अतिरिक्त आम्दानी हुन थाल्यो। तर, बन्दाबन्दी भएपछि त्यो पनि बन्द भयो। घरबेटीले भने “होटल चलाउनेले भाडा तिर्न सक्दैन ?” भनेर झपारे।

उनलाई समस्या परेको थाह भएपछि एक संस्थाले १० हजार नगद र खाद्यन्न उपलब्ध गरायो। त्यही रकमबाट ग्यास किनेर रु.९ हजार भाडा तिरे। घरभाडा बुझाउँदा उनले घरबेटीलाई पैसा हुँदा प्रहरी नल्याए पनि भाडा तिर्ने बताए। घरबेटीले भने, “तैंले ल्याउँछस भनेर मैले पहिला ल्याएको हो।”

बीचमा बन्दाबन्दी खुकुलो भएपछि टेम्पु निकाले। तर, साहुले टेम्पुको पैसा कम बुझाएको भनेर अर्को दिनदेखि निकाल्न दिएनन्। अनि फेरि कोठामा बस्न बाध्य भए। उनी भन्छन्, “त्यत्रो खर्च गरेर गाडी बनाउनुभएको छ। भने जस्तो पैसा उठ्दा साहुले निकाल्न नदिनु ठीकै हो।”

निषेधाज्ञाकै बेला घरबेटी फेरि भाडा माग्न आए। त्यस वेला सापट खोजेर रु.८ हजार तिरे। घरबेटीको कचकचले अर्को सटर लिएका व्यक्ति छोडेर गईसकेका छन्। भाडा उठाउन प्रहरी ल्याएको कुरा समाचारहरुमा आएपछि आफूसँग पनि इगो राखेको उनी बताउँछन्।
उनका दुःख यतिमै सीमित भएनन्। निषेधाज्ञाकै बेला घरबेटी फेरि भाडा माग्न आए। त्यस वेला सापट खोजेर रु.८ हजार तिरे। घरबेटीको कचकचले अर्को सटर लिएका व्यक्ति छोडेर गईसकेका छन्। भाडा उठाउन प्रहरी ल्याएको कुरा समाचारहरुमा आएपछि आफूसँग पनि इगो राखेको उनी बताउँछन्।

सुनुवारलाई समस्या परेको जानकारी पाएपछि डेरावाल तथा उपभोक्ता मन्च अवस्था बुझ्न गएको थियो। घरभाडा दिन्छु भन्दाभन्दै घरबेटीले प्रहरी ल्याएर अनावश्यक दबाव दिएको पाइएको मञ्चका अध्यक्ष थापा बताउँछन्।

 


Your Views
Related News