युक्त राष्ट्रसंघको साधारणसभालाई मंगलवार सम्बोधन गर्दै चीनका राष्ट्रपति सी चिनफिङले शान्ति, विकास, समता, न्याय, लोकतन्त्र तथा स्वतन्त्रताका मूल्यमान्यतालाई कायम राख्न संसारलाई हातेमालो गर्न आह्वान गरेका छन् ।

चीनले कोरोनाभाइरस महामारीको व्यवस्थापन गरेकोमा प्रशंसा गर्दै सीले बेइजिङ वैश्विक शान्तिको निर्माता, वैश्विक विकासको योगदानकर्ता तथा अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षकका रूपमा काम गरिरहन इच्छुक रहेको बताए ।
सीले उच्चस्तरीय अन्तर्राष्ट्रिय बैठकहरूमा खुला व्यापार र बहुपक्षीयताको प्रतिरक्षा गर्ने गरेका छन् भने यसको ठीक विपरीत राष्ट्रपति डोनल्ड ट्रम्पको नेतृत्वमा अमेरिकाले एकलकाँटे दृष्टिकोण अपनाइरहेको छ ।

राष्ट्रसंघको बैठकमा ट्रम्पले चीनमाथि आक्रमण गर्दै यो महामारी उसैले संसारभरि फैलाएको बताए ।

ट्रम्पले अमेरिका पहिले नीति ल्याएकोमा सीले त्यसबाट फाइदा उठाउँदै राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय निकायमा चीनको प्रभुत्वलाई स्थापित गर्ने गरेका छन् ।

तर सीको बोलाइ र गराइमा भिन्नता छ । सीले जतिसुकै खुला व्यापारको कुरा गरे पनि विदेशी कम्पनीहरूले चीनको बजारमा प्रवेश पाउन असाध्यै गाह्रो छ । अनि उनले विश्व शान्तिको राग अलापे पनि चीनले दक्षिण चीन सागरमा सैन्य विस्तार गरिरहेको र ताइवान जलसन्धि तथा भारतसँगको सीमामा निकै आक्रामक कदमहरू चालिरहेको छ ।

यसका साथै सीले राष्ट्रसंघमा सर्वसम्मतिको कुरा झिके पनि चीनमा उनले आफूप्रति पूर्ण बफादारिताबाहेक अरू केही पनि नसहने इच्छा देखाएका छन् ।

ट्रम्प राष्ट्रपति बनेदेखि सीले कम्युनिस्ट पार्टीको नियन्त्रण झनै कसिलो बनाएका छन्, आफ्नो शासन सदाका लागि सुरक्षित पारेका छन् र सबै किसिमका विरोधको दमन गरेका छन् ।

यसै साता मात्र उनले आफ्ना कट्टर आलोचक रेन झिचियाङलाई १८ वर्षको कारावास सजाय दिलाए । ती ६९ वर्षीय घरजग्गा व्यवसायी तथा पार्टीका पूर्व वरिष्ठ सदस्यलाई भ्रष्टाचारका विभिन्न अभियोग लगाइएको थियो ।

रेनले एउटा निबन्ध लेखेर सीको आलोचना गर्दै उनलाई विदूषक भनेपछि भ्रष्टाचारको अभियोग लगाइएको हो ।

यस्तो कठोर सजाय दिएर उनले चिनियाँ सम्भ्रान्तका अन्य सदस्यलाई सन्देश पठाउन खोजेका छन् : कि त मैले भनेको टेर कि त परिणाम भोग्न तयार होऊ ।

उता ट्रम्प पुनर्निर्वाचित हुने कठिन बाटोमा हिँडिरहेका छन् र विगत चार वर्ष उनले अनुसन्धान, महाभियोग र संसदीय विपक्षको सामना गरेरै बिताएका छन् । तर ट्रम्पले आफ्नो कार्यकालमा अमेरिकी प्रणालीका जतिसुकै कमजोरीहरू उजागर गरेको भए पनि लोकतान्त्रिक विधिले निर्वाचित राष्ट्रपतिले निरंकुश राष्ट्रपतिको जस्तो शक्तिप्रदर्शन गर्न सक्दैनन् । आफूलाई अपमान गर्ने विपक्षीहरूलाई जेलमा कोच्न ट्रम्पलाई इच्छा लाग्दो हो तर उनलाई प्रणालीले त्यसो गर्न दिँदैन ।

त्यसैले पनि होला सीले राष्ट्रसंघमा राजनेताको जस्तो व्यवहार देखाउन पाए भने ट्रम्पले आक्रमणको बाटो रोज्नुपर्‍यो ।

ट्रम्प र सीले एकअर्काको नाम लिएनन् तर उनीहरूको दिमागमा एकअर्काको छवि थियो ।

मंगलवारको सम्बोधनमा ट्रम्पले चीनलाई उनीहरूको कार्यका लागि राष्ट्रसंघले जिम्मेवार ठहर गर्नुपर्ने बताए अनि बेइजिङले गरेका अपराधहरूको फेहरिस्त प्रस्तुत गरे ।

उनको सम्बोधनप्रति क्रुद्ध प्रतिक्रिया दिँदै राष्ट्रसंघका लागि चीनका राजदूत झाङ जुनले अमेरिकी राजनीतिकर्मीहरू आफैंले बनाएको भ्रमबाट मुक्त हुनुपर्ने बताए । वाशिङटनले गरेको कोरोना व्यवस्थापन पूर्णतः असफल भएको उनले बताए । ‘अमेरिकाले महान् बन्न खोजेको होला तर महान् हुनका लागि नेताको जस्तो व्यवहार गर्नुपर्छ,’ उनले भने ।

तर चीनसँग तिक्तता वाशिङटनलाई मात्र छैन अनि सीले बहुपक्षीयता तथा शान्तिका लागि अपील गर्दै अन्तर्राष्ट्रिय समुदायलाई फकाउन गरेको प्रयास कमजोर बन्दै गएको छ ।
सिनजियाङमा भएका भनिएका मानवअधिकार उल्लंघनका विषयमा युरोपेली मुलुकहरूले चीनको आलोचना गरेका छन् । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले साधारणसभालाई सम्बोधन गर्दै सिनजियाङमा राष्ट्रसंघीय मिसन पठाउनुपर्ने बताए । त्यहाँ वर्षौंदेखि हजारौं उइगुरहरूलाई बेइजिङले बन्दी बनाएर राखेको बताइएको छ ।

चीनले संयुक्त राष्ट्रसंघमा सिनजियाङमाथिको कारवाही रोक्न सफल होला तर म्याक्रोंको सुझावले बेइजिङलाई ट्रम्पको ठूलो कुराले भन्दा बढी झस्काउँछ ।

शक्ति हासिल गरेको यत्तिका वर्ष भइसक्दा सीले चीनमा निरंकुशता बढाउँदै लगेको भए पनि अन्तर्राष्ट्रिय मञ्चमा सबै कुरा सामान्य रहेको देखाउन सकेको थियो । तर त्यो पर्दा बिस्तारै च्यातिँदै गएको देखिन्छ ।

READ MORE

चीनले वास्तविक नियन्त्रण रेखामा विगत तीन वर्षमा बनायो नयाँ संरचनाहरू, भारत हेरेको हेर्‍यै

नले सन् २०१७ को दोक्लम सैन्य गतिरोधपछि भारतसँगको वास्तविक नियन्त्रण रेखानजिक कम्तीमा १३ वटा नयाँ सैन्य अड्डा बनाएको छ । लद्दाखमा हालैको तनावपछि उसले चारवटा हेलीपोर्ट बनाइसकेको छ ।

यी सैन्य अड्डाहरूको विवरण मंगलवार स्ट्राटफोर नामक अग्रणी सुरक्षा तथा गुप्तचरी परामर्शदाता संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ । नयाँ संरचनामा तीनवटा एयरबेस, पाँचवटा स्थायी एयर डिफेन्स पोजिसन र पाँचवटा हेलीपोर्ट छन् ।

‘गत मे महिनामा लद्दाख संकट शुरू भएपछि मात्र पनि चीनले चारवटा नयाँ हेलीपोर्ट बनाइसकेको छ,’ सिम ट्याक नामक बेल्जियन विश्लेषकले लेखेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘सन् २०१७ को दोक्लम गतिरोधले चीनको रणनीतिक अभीष्टमा परिवर्तन ल्याएको देखिएको छ । चीनले विगत तीन वर्षमा आफ्ना सैन्य संरचनाहरू दोब्बर बनाएको छ,’ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

चिनियाँ सेनाले हाल विद्यमान एयरबेसमा चारवटा एयर डिफेन्स पोजिसन तथा थप धावनमार्ग र शेल्टरहरू बनाएको छ । शेल्टरहरूले शत्रुको लडाकू विमानलाई निगरानी गर्न दिँदैनन् । अहिलेका संरचनामा उसले थप एयर डिफेन्स सिस्टम र लडाकू विमान राखेको प्रतिवेदनले उल्लेख गरेको छ ।

ओपन सोर्स भूउपग्रहीय तस्वीरहरूमा चीनले मानसरोवर तालको किनारमा जमीनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र राखेको देखिन्छ । यस्तै किसिमका संरचना उसले दोक्लम र सिक्किमका विभिन्न सेक्टरमा रहेका संवेदनशील इलाकामा पनि बनाइरहेको छ ।

भारतले भने यस अवधिमा नयाँ सैन्य संरचनाहरु खासै बनाउन सकेको छैन ।


Your Views
Related News