कोरोना महामारीका समयमा अस्पतालहरु खालि राख्नकै लागि भनेर कतिपय देशहरुले मदिरामाथि प्रतिबन्ध लगाएका थिए ।

कोभिड–१९ का कारण महिनौँ कोठाभित्र बन्द भएर बस्नुपर्दा प्रायः मानिसहरुलाई जागिर गुम्ने र स्वास्थ्य सम्बन्धी अधिक चिन्ता बढ्न थाल्यो । र तनावबाट राहत पाउने बाहानामा धेरैले मदिरा सेवनको बाटो अपनाए । गत अप्रिलमा गरिएको सर्वेक्षण अनुसार बेलायतमा मात्र लकडाउन र क्वारेन्टिनमा रहँदा २१ प्रतिशत नागरिकहरुले सामान्य बेलाको भन्दा धेरै बढी मदिरा उपाभोग गर्न थालेका हुन् । क्यानडा, अमेरिका लगायतका मुलुकमा पनि यसको दर बढ्दो रहेको तथ्याङ्कले देखाएको छ ।

 

तर अर्कोतर्फ दक्षिण अफ्रिकामा भने मदिराको कारोबार र ओसारपसारलाई पूर्ण रुपमा निषेध गर्ने नयाँ नियम लागू गरिएको हो । मदिरासँग सम्बन्धित समस्या अनि दृुर्घटना कम गराएर अस्पतालका बेडलाई केबल कोभिडका बिरामीका लागि उपलब्ध गराउने उद्देश्यले त्यहाँ यस्तो नीति अपनाइएको थियो । तर यही कारण मदिरा बन्द गर्ने दक्षिण अफ्रिका एक्लो मुलुक भने होइन, थाइल्यान्ड र भारतले पनि कोरोना संकटका बेला मदिरामाथि प्रतिबन्ध लगाएका हुन् भने केन्याले चाहिँ रेस्टुरेन्टहरुमा यसको विक्री गर्न नपाइने नियम जारी गरेको थियो ।

 

अफ्रिकामा मदिरामाथि लगाइएको सो बन्देज चार महिनापछि अगस्ट १५ मा मात्र खुलाइएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार दक्षिण अफ्रिकाको विश्कै सबैभन्दा बढी मदिरा सेवन गर्ने रेकर्ड रहेको छ जसकारण महिनौँ पश्चात् मदिराको कारोबारले अनुमति पाउँदा पूरै देशले सो कदमको खुलेर स्वागत गरेको पाइएको थियो । यसैको उत्सव मनाउँदै क्यासल लेजर किन्न हिँडेका एक नागरिकले भनेका छन्, “यो नियम हट्नुले अहिले मलाई लाखौँको लोटरी जिते जत्तिकै खुसी दिलाएको छ । ”

 

उसो भए महिनौँ लागू गरिएको मदिरा विरुद्धको प्रतिबन्धको यी देशहरुमा केकस्तो असर पर्यो त रु यो विषयमा अहिले धेरैले के तर्क गरिरहेका छन् भने मदिरा बन्द गराएपनि दक्षिण अफ्रिकामा बढ्दो संक्रमण रोकिएन । अस्पतालमा दिनदिनै बेडको माग बढ्दै जाँदा स्वास्थ्य प्रणाली आखिरमा सम्हाल्न नसक्ने स्थितिमा पुगेरै छाड्यो ।

 

बरु अस्थाइ रुपमा मदिराको कारोबारमाथि रोक लगाउनाले जागिर गुमाउनु परेका धेरैले अझै नयाँ काम पाउन सकेका छैनन् । बारटेन्डरको काम गर्दै आएका जोहनेस रामात्सी भन्छन्, “मलाई यतिखेर एकदमै नराम्रो लागिरहेको छ । मलाई फेरि काममा जान मन छ । किनकी मैले छोराछोरीलाई जसरी भएपनि खुवाउनै पर्छ । मेरा चार बच्चा छन् । ”

 

यसले के स्पष्ट पार्दछ भने सरकारको निर्णयले पूरै मदिरा उद्योगमा वास्तवमै ठूलो क्षति पुर्यायो । मदिरा व्यवसायिक संघका प्रमुख लकी टिमेन भन्छन्, “म केमा जोड दिन चाहान्छु भने यो देशको अर्थतन्त्रमा मदिरा उद्योगको पनि उत्तिकै ठूलो योगदान छ । मुलुककको तीन प्रतिशत कुल घरेलु आय यसैबाट प्राप्त हुने गरेको छ । र मदिराको कारोबार निषेध गर्नुको अर्को एकदमै नराम्रो असर भनेको कालोबजारी गरि गैरकानुनी रुपमा यसको विक्री पनि अत्याधिक बढेको छ । ”

 

मदिरा प्रतिबन्ध सम्बन्धी अन्य ऐतिहासिक घटनाहरुलाई हेर्दा पनि यसले निम्त्याउने सबैभन्दा ठूलो समस्या अवैध तस्करी नै रहेको पाइएको छ । अहिले पनि अवस्थामा कुनै परिवर्तन आएको देखिँदैन । जस्तै मेक्सिकोका केही स्टेटमा महामारीका समयमा मदिरा निषेध गरिँदा कालोबजारी मार्फत खरिद गरेको ‘मेथानोल’ युक्त विषाक्त मदिरा सेवन गर्दा धेरैको मृत्यु भएको थियो । भारतमा पनि विषालु पेय पदार्थकै कारण दर्जनौँको मृत्यु भएको धेरै खबर आइसकेका छन् ।

 

तर अर्कोतर्फ सो कदमका केही सकारात्मक प्रभाव पनि देखिएको अनुसन्धानकर्ता बोङगिवे नदोदो बताउँछन् । महामारीका समयमा मदिरा प्रतिबन्धित भएकै कारण धेरै समुदायमा महिलाहरुले आफूलाई पहिलोपटक सुरक्षित महसुस गरेको र पारिवारिक सुख शान्ति अनुभव गर्न पाएको बताएका छन् । सामाजिक हिंसा घटाएकाले पनि धेरै मानिसहरु सो निर्णयप्रति खुसी पनि भएको उनले बताए ।


Your Views
Related News