घरको आइसोलेसनबाटै जिते १०६ वर्षका ज्येष्ठ नागरिकले कोरोना


कपाल र दाह्री हिउँ जस्तै सेतै, पातलो शरीर मुखमा खिइएका केही दात बाँकी छन् । उठ्न बस्न वरपर हिँड्न लौरो सहारा विना हुँदैन । कपाल दाह्री फुलेर सेतै भए झैँ सँधै सेतो सफा बस्त्र पहिरने गर्नुहुन्छ । अधिकांश समय अहिले कोठामा सुतेर नै बित्न थालेको छ । अहिले उहाँको उमेर १०६ बर्ष ६ महिना नाघिसक्नु भएको छ । यस्तो अवस्थामा पनि उहाँले कारोना भाइरसको माहामारीलाई पराजित गरेर अनुभव भोग्नुभयो ।

 

भारतको पुर्णिया जिल्लामा घर भई हाल झापाको दमक नपा ९ मा बस्दै आउनुभएका सन्त सुकदेव साहेवले कारोना संक्रमण जिल्नुभएको हो । कन्ट्याक ट्रेसिङको आधारमा गत भदौ २३ गते उहाँको स्वाब संकलन गरिएको थियो । दुई दिनपछि २५ गते उहाँमा कोरोना भाइरस पोजेटिभ देखिएको दमक नपाको स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक बद्री बरालले बताउनुभयो । यसरी पोजेटिभ देखिएपछि सन्त पहिला आफु बस्दै आएको कोठामा नै १४ दिनसम्म आइसुलेशनमा राख्ने व्यवस्था गरियो ।

 

असोज ५ गते १४ दिनपछि पुन परीक्षण नेगेटिभ आएको निरीक्षक बरालले बताउनुभयो । उहाले कारोना भइरस पोजेटिभ देखापरेपछि नियमित तातोपानी, झोलिलो पदार्थ, दुध, गिलो जाउलो खाएको उहाले बताउनुभयो । यो अवस्थामा शरीरको सबैभाग दुख्ने, पोल्ने, अत्यन्तै धेरै पीडा भयो । सामान्य ज्वरो आयो । खान मन नलाग्ने भयो । यो बीचमा कुनै औषधि पनि खानुपरेन भने अन्य अस्पतालको शैयामा आइसोलेशनमा समेत जानुपरेन ।

 

सानो उमेरदेखि नै सात्विक खाना खाने सन्तले दूध तरकारीको रसबरी खाने गरेको बताउनुभयो । म ठूलो खड्गो कालबाट बचे अब अझँै धेरै बर्ष बाच्ने भए उहाँले हास्दै भन्नुभयो । मलाई अब कोरोना त जिते अब यसको आधिकारीक प्रमाणपत्र लिने मन छ । उहाँलाई कोरोना भइरस पोजेटिभ देखिएपछि आफ्नो सधै बसिरहरेको घर कोठा ओछ्यान समेत सोही भएकाले अनौठो महशुुुस नभएको दमक नगरपालिकाको कोरोना भइरस क्वारेन्टनइन ब्यवस्थापन समितिका सचिव कुबेर भट्टराईले बताउनुभयो । यसले गर्दा उहाँमा मानसिक ठूलो पीडा भएन । घरमा नै भएकाले बढी हेरचाह गर्ने मौका पनि मिल्यो त्यसकारण पनि कारोना जित्न सहज भएको उहाँको अनुभव छ ।

 

विश्व कोरोना भइरसको माहामारीसँग जुधिरहेको अवस्थामा १ सय ६ बर्ष पार गर्नुभएका बृद्धले कोभिड जित्नुले सबैको मनोबल उच्च भएको छ । खासगरि यो भाइरसबाट वालबालिका र बृद्धबृद्धालाई बढी असर गर्छ भनिरहेको अवस्थामा उहाँले कोरोना जित्नुलाई सबैका लागि उदाहरण नै बनेको छ । क्वारेन्टानइन ब्यवस्थापन समितिका सचिव भट्टराईका अनुसार दमक नगरपालिकाको वाड्न ९ मा लक्ष्मीप्रसाद सिमखडालाई कोरोना पोजेटिभ देखिएको थियो ।

 

उहाँकै घरमा बस्दै आउनुभएका सन्तको कन्ट्याक ट्रेसिङको आधारमा परीक्षण गरिएको थियो । सन्त बिगत एक वर्षदेखि सिमखडाको घरमा नै बस्दै आउनुभएको थियो । यो एकै परिवारमा ७ जनालाई कोरोना भइरस पोजेटिभ देखिएको थियो । दमकको वाड्न ९ को यो बस्तीमा एक सातामा मात्र १० जना सर्बसाधारणमा कोरोना भाइरस पोजेटिभ देखिएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

READ MORE

छठलगत्तै त्रिविका सबै परीक्षा सञ्चालन गर्ने तयारी

त्रिभुवन विश्वविद्यालय त्रिविले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

 

त्रिविले विद्यार्थीलाई पायक पर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्थासहित छठलगत्तै परीक्षाको तयारी थाल्न निर्देशन दिइएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । त्रिविले कोभिड–१९ का कारणले सबै रोकिएका परीक्षा छठलगत्तै गर्ने गरी दशँै अगाडि नै परीक्षाको कार्यतालिका सार्वजनिक गर्न सम्बन्धित डिन कार्यालयलाई पत्रचार गरिसकेको छ । त्रिविले विद्यार्थी थोरै भएका परीक्षा भने दशैँ र तिहारको बीचमा गर्ने जनाएको छ ।

 

“यही अहिलेको स्थितिमा हामी छठपछि परीक्षा लिने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “स्थिति अहिलेको भन्दा जटिल भयो भने फेरि पनि के गर्ने भन्ने हुन्छ, होइन भने छठपछि सबै परीक्षा हुन्छन् ।” पनिकाले आजै नै सबै डिन कार्यालयलाई परीक्षाको तयारी थाल्नका लागि परिपत्र गर्ने उहाँले जानकारी दिनुभयो ।

 

त्रिविले भौतिक दूरी र स्वास्थ्यको मापदण्ड तोकेर परीक्षा लिने व्यवस्था गर्नेछ । पनिकाले वार्षिक परीक्षा र सम्बन्धित डिन कार्यालयले सेमेष्टर परीक्षा लिनेछन् । त्रिविका रजिष्ट्रार प्रा. डा. पेशल दाहालले स्थगित भएका सबै परीक्षा सञ्चालन गर्नका लागि तयार गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो ।

 

“हामीले सबै सम्बन्धित कार्यालयलाई छठलगत्तै परीक्षा सञ्चालनका लागि आवश्यक तयारी गर्न निर्देशन दिइसकेका छौ”, उहाँले भन्नुभयो, “अब चाँडै नै परीक्षाको सञ्चालनको तयारीमा ती कार्यालय जुट्नेछन् । भौतिकरुपमा विद्यार्थीलाई उपस्थित गराएर परीक्षा लिन भनेको छौँ ।” त्रिविले अहिले पनि न्यूनसङ्ख्या भएका परीक्षा सञ्चालन गरिरहेको छ । उहाँले फाराम भरेकाको परीक्षा पहिले गर्ने र त्यसपछि अन्य परीक्षा सञ्चालन गरिने बताउनुभयो ।

 

यसैगरी त्रिविले सेमेष्टरको भर्चुअल परीक्षा गर्नेबारे छलफल गरे पनि अब नगर्ने भएको छ । परीक्षा नियन्त्रक जोशीले केही डिन कार्यालयले सेमेष्टर प्रणाली परीक्षा भर्चुअल गर्ने भने पनि अब विद्यार्थीलाई भौतिक उपस्थिति गराएर परीक्षा गर्ने भएको जानकारी दिनुभयो । कोभिड–१९ का कारणले केही विश्वविद्यालयले खुला किताब ओपन बुक गरेर भर्चुअल विधिबाट परीक्षा लिएका छन् ।

 

रजिष्ट्रार प्रा डा दाहालले माघसम्म सबै परीक्षा सकेर आगामी फागुन÷चैतदेखि पढाइ सञ्चालन गर्ने तयारी रहेको जानकारी दिनुभयो । कोभिड–१९ का कारणले त्रिविका चैतदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित भएका छन् । अत्यन्तै न्यून भएका परीक्षा भने त्रिविले अहिले पनि भौतिक दूरी कायम राखेर सञ्चालन गरिरहेको छ ।


Your Views
Related News
POPULAR
Recently
           

About Us

Powered by " Naya Nepal Media Pvt. Ltd. "

Reg No : In Progress..

Director and editor

Aaditya Nepal : 9810040243