प्रविधिको क्षेत्रमा महिला सहभागिता बढाउने उद्देश्यले शुरु भएको कोड रसलाई अहिले पाँच जना महिलाले नेतृत्व गरिरहेका छन्।

इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन इन्जिनियरिङबाट स्नातकको पढाइ पूरा गरेपछि आस्था शर्माले केही समय एउटा आईटी कम्पनीमा काम गरिन्। काम गदै जाँदा यो क्षेत्रमा महिलाहरुको संलग्नता कम देखिन्। जागिरका लागि आह्वान हुँदा पनि महिलाको आवेदन पर्दैन थिए।

उनी सूचना प्रविधि पढेका महिलाहरुको समूह ‘गल्स इन टेक्नोलोजी’ मा जोडिइन्। त्यहाँ पनि उनले महिला सहभागिता कम देखिन्। आफ्नै सक्रियतामा विभिन्न कार्यक्रम गर्न थालेपछि सैद्धान्तिक अध्ययनले मात्र सूचना प्रविधिको काममा दक्षता हासिल नहुने महसुस गरिन्। सैद्धान्तिक पढाइले मात्र प्रयोगात्मक रुपमा काम गर्न सहयोग नपुग्दा जागिर खान सहज नभएको निष्कर्ष निकालिन्।

गल्स इन टेक्नोलोजीकै विभिन्न कार्यक्रममा सहभागी हुँदा उनको रोजिना बज्राचार्यसँग भेट भयो। दुवै जनाको विचार मिलेपछि उनीहरुले प्रविधिमा महिलाहरुलाई अघि बढाउन ‘कोड रस’ शुरु गरे।

‘कोड रस’ का प्रमुख कार्यकारी अधिकृत आस्था शर्मा  ।
संस्था स्थापनाका क्रममा अरु तीन महिला पनि यसमा जोडिए। अहिले पाँच जनाको समूहले सूचना प्रविधि र डिजिटलको क्षेत्रमा कोड रसले काम गरिरहेको छ। प्रमुख कार्यकारी अधिकृत भने आस्था नै छिन्। यो संस्थाले डिजिटल मार्केटिङ र वेब डेभलभमेन्ट गरिरहेको आस्था बताउँछिन्। उनीहरुले यो क्षेत्रमा लाग्न चाहने महिलालाई तालिमका माध्यमबाट दक्ष जनशक्ति उत्पादनमा पनि प्रयास गरिरहेका छन्।

आस्था भन्छिन्, “सूचना तथा प्रविधि पढेका महिला नभएका होइनन्। तर, कम छन्। त्यसमा पनि आवश्यक प्रयोगात्मक ज्ञान नहुँदा कार्यक्षेत्रर्म त झनै कम छन्। अब हामी प्रविधि क्षेत्रमा क्रियाशील महिला तयार गर्छौं।”

उनका अनुसार डिजिटल मार्केटिङ र वेब डेभलभमेन्टमा महिला जनशक्ति बढाउन कोड रसले काम गरिरहेको छ। यसको भएको करीब एक वर्ष भयो। पूर्णरुपमा काम शुरु गरेको भने नौ महिना भयो। कोड रसले अहिले वेब डेभलभमेन्टको लागि १५ जनालाई निशुल्क तालिम दिइरहेको छ।

 

प्रविधिको विकाससँगै विश्वमा विज्ञापनको माध्याम फेरिइरहेको छ। टेलिभिजिन, रेडियो र पत्रिकाका विज्ञापनबाहेक ठाउँ ठाउँमा ठूल्ठूला होर्डिङ बोर्ड राख्ने प्रचलन हराउँदै गएको छ। बरु अन्य डिजिटल माध्यम लक्षित विज्ञापनहरु बनिरहेका छन्।

कोड रसले नेपालमा डिजिटल मार्केटिङलाई अगाडि बढाइरहेको छ। फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालका विज्ञापन बनाउने, कन्टेन्ट लेख्ने, गुगलमा ‘बुस्ट’ गर्ने लगायत काम गर्छ। डिजिटल माध्यमलाई गुगलको ‘¥याङ्कििङ’मा अगाडी ल्याउन पनि काम गर्छ।

कोरोनाभाइरस महामारीले डिजिटल मार्केटिङको संभावना झनै बढाएको छ। नेपालमा पनि बन्दाबन्दीपछि ई–कमर्शहरु बढ्दै गएका छन्। यसले डिजिटल मार्केटिङको दायरा पनि फराकिलो बनाउने आस्थाको अपेक्षा छ। उनी भन्छिन्, “कोरोनाभाइरसको कारण नेपालमा पनि डिजिटल बिजनेसहरुको नयाँ नयाँ आइडियाहरु आईरहेका छन्। त्यसले गर्दा डिजिटल मार्केटिङको दायरा बढ्छ भन्ने लागेको छ।”

पहिलो चरणमा १५ जनालाई अनलाइन तालिम दिईरहेको कोड रसले आगामी दिनमा पनि थप तालिम दिने योजना बनाएको छ। कोड रसको यो प्रयासले प्रविधिको क्षेत्रमा महिला जनशक्ति बढ्ने उनको दाबी छ।

 

आफ्ना उत्पादनलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन अहिले अनलाइन माध्याममा जानै पर्छ। समयअनुसार आफ्ना उत्पादनहरु बजारीकरण गर्न सक्यो भने मात्रै स्थापित हुन सकिने उनको भनाइ छ। “अहिले अधिकांश पत्रपत्रिकाको अनलाइन संस्करण पनि छ। हिजो प्रिन्टमार्फत सीमित वर्ग र क्षेत्रमा मात्रै पुग्ने समाचार अनलाइनमा गएपछि पहुँच र प्रभावकारिता फराकिलो भएको छ। त्यसैले वेबसाइट डेभलेभमेन्ट र डिजिटल मार्केटिङ आजको आवश्यकता हो।”

अनलाइन व्यवसाय बढेपछि कम्पनीहरुले स्वभाविक रुपमा वेबसाइट निर्माण र डिजिटल मार्केटिङमा लगानी गर्छन्। तर, आममान्छेमा प्रविधिको ज्ञान, पहुँच नहुँदा अझै केही समय संघर्ष गर्नुपर्ने आस्थाको भनाइ छ।

बन्दाबन्दीले गर्दा आवश्यक पूर्वाधारहरु जस्तो, इन्टरनेट, स्मार्ट फोन, ल्यापटपहरु जम्मा भइरहेको छ। अब विस्तारै यसको प्रयोग र उपयोग पनि बृहत हुँदै जाने उनले बताइन्। “डिजिटल लिट्रेसी हाम्रो मुख्य चुनौती हो। समय अनुसार प्रविधिको विकास भए पनि यससम्बन्धी ज्ञान नहुँदा उपयोग तुरुन्तै बढ्दैन”, उनी भन्छिन्।


Your Views
Related News