अभिनेत्री पायल घोषमाथि बलात्कार गरेको आरोपमा बलिउड निर्देशक अनुराग कश्यप विरूद्ध एफआईआर दर्ता भएको छ।
मुम्बई प्रहरीले घोषको उजुरीका आधारमा निर्देशक कश्यपविरूद्ध एफआईआर दर्ता गरेको हो।
पायलले निर्देशक कश्यपले सन् २०१३ मा आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छिन्।
कश्यपले भने आफूमाथि लगाइएको आरोपलाई अस्वीकार गर्दै ‘आधारहीन’ भएको बताएका छन्।
कश्यपमाथि भारतीय दंण्ड संहिताका धारा ३७६(बलात्कार), ३५४ (महिलाको गरिमा भंग गर्ने उदेश्यले गरिएको आक्रमण), ३४१ (गलत तरिकाले नियन्त्रणमा लिएको) र ३४२ (गलत तरिकाले बन्दी बनाएको) अन्तरगत एफआईआर दर्ता गरिएको छ।
प्रहरीले घटनाको जाँच सुरू भएको र सोधपुछ गर्न कश्यपलाई बोलाइने जानकारी दिएको छ।
पायल सोमबार आफ्ना वकिलसँग उजुरीका लागि ओशिवारा प्रहरी कार्यालय पुगेकी थिइन् तर प्रहरीले उनलाई घटना वर्सोवा प्रहरीको क्षेत्र भित्र भएको भन्दै त्यहाँ जान सुझाएको थियो।
अनुरागको कार्यालय ओशिवारामा पर्ने भएकाले पायल उजुरीका लागि सुरूमा त्यहाँ गएकी हुन्।
शनिबार ट्विट गर्दै अभिनेत्री पायलले कश्यपले आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी थिइन्।
READ MORE
लागुऔषध खरिद प्रकरणमा दीपिकासहित चार अभिनेत्रीलाई बयानका लागि उपस्थित हुने आदेश
सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा बलिउड-लागुऔषध खरिदको कोण जोडिएपछि सोको अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसिबी)ले बुधबार चार जना बलिउड अभिनेत्रीलाई बयानका लागि उपस्थित हुने आदेश दिएको छ।
भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इण्डिया (पिटिआई)का अनुसार एनसिबीका वरिष्ठ अधिकारीले अभिनेत्री दीपिका पादुकोणलाई सोधपुछका लागि शुक्रबार बोलाइएको छ।
एनसिबीका वरिष्ठ अधिकारीले यस प्रकरणमा ट्यालेन्ट म्यानेजर जय साहले केही महत्वपूर्ण सूचना दिएको बताएका छन्।
यसअघि दीपका पादुकोणकी व्यवस्थापक करिश्मा प्रकाशलाई पनि जाँचका लागि बोलाइएको थियो। तर प्रकाशले आफ्नो स्वास्थ्य अवस्था ठीक नभएकाले यसका लागि केही समय मागेकी छन्।
लागु पदार्थ खरिद प्रकरणमा हालसम्म कयौं बलिउड स्टारहरूको नाम सार्वजनिक भइसकेको छ।
यसअघि एनसिबीले सेप्टम्बर ८ मा लागुपदार्थ प्रयोग गरेको भन्दै अभिनेत्री रिया चक्रवर्तीलाई पक्राउ गरेको थियो।
मिडिया रिपोर्टहरूमा अभिनेत्री दीया मिर्जाको नामसमेत यस प्रकरणमा मुछिएको थियो तर यसलाई दीयाले अस्वीकार गरेकी छन्।
उनले आफूले कहिले लागुऔषध सेवन नगरेको बताएकी छन्। योसँगै यस प्रकरणमा आफ्नो नाम जोडिएकोमा उनले कानुनी बाटो अपनाउने पनि जनाएकी छन्।