अहिले (बिहीबार दिउँसो) देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले दिउँसो साढे १२ बजेतिर ट्विटरमार्फत दिएको जानकारीअनुसार प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १/२ स्थानमा भने अति भारी वर्षा भइरहेको छ।
यस्तै राति पनि देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
साथै सबै प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १/२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।
अति भारी वर्षा भोलिसम्मै
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा मनसुन बाहिरिने (वर्षा याम सकिने) औसत मिति सेप्टेम्बर २३ (बुधबारै) भए पनि यस वर्ष अहिलेसम्मै मनसुन सक्रिय छ।
बुधबारसम्मको विश्लेषणअनुसार हाल भारतको मध्य प्रदेशमा रहेको न्यून चापीय क्षेत्र पश्चिम-उत्तर-पश्चिम तर्फ सर्ने क्रममा रहेकाले सेप्टेम्बर २५ सम्म नेपालका धेरै स्थानमा बदली भई मेघगर्जन/चट्टयाङ हावाहुरीसहितको वर्षा तथा केही स्थानमा भारीदेखि अति भारीसम्म वर्षाको समेत सम्भावना छ।
विभागले बुधबार साँझ जारी गरेको विशेष बुलेटिनमा भनिएको छ : यसको प्रभावले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।