काठमाडौं । केही दिनदेखिको अविरल वर्षा र बाढीका कारण प्रसारण तथा वितरण प्रणालीमा आएको समस्याले विद्युत खपत घटेपछि अधिकांश जलविद्युतगृह कम क्षमतामा चलेका छन् । वर्षा र बाढीले विद्युतीय संरचनामा पुर्याएको क्षतिका कारण लोड नलिँदा जलविद्युतगृहको क्षमता घटाएर सञ्चालन गरिएको हो ।
देशभर नै भारी वर्षा भइरहेकाले प्रसारण तथा वितरण लाइनमा आइरहेको समस्याका कारण कालीगण्डकी ‘ए’, मस्र्याङ्दी, मध्यमस्र्याङ्दी, त्रिशूली–३ ‘ए’, चमेलिया लगायत सबै जलविद्युत केन्द्र कम क्षमतामा चलाइएको नेपाल विद्युत प्राधिकरण उत्पादन निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक मदन तिम्सिनाले बताए । उनले प्रसारण तथा वितरण लाइनको लोड क्षमता अनुसारमात्रै विद्युतगृहका मेसिन चलाइएको बताए ।
‘मंगलबारदेखि अविरल वर्षा भइरहेको छ, देशभर नै प्रसारण तथा वितरण प्रणालीमा समस्या देखिएको छ । यो समस्याले जलविद्युतगृहले उत्पादन गर्ने विद्युतको पूर्ण लोड प्रणालीले लिन सकिरहेको छैन । यही कारण कम क्षमतामा विद्युतगृह चलाउनु परेको छ ।’ उनले वर्षाका कारण एसी, पंखा, कुलरलगायत विद्युतीय उपकरण नचलेकाले विद्युत मागमा कमी आएकाले पनि जलविद्युतगृहको उत्पादन क्षमता घटाउनु परेको बताए ।
प्रसारण तथा वितरण प्रणालीमा देखिएको समस्याका कारण निजी क्षेत्रका जलविद्युतगृहसमेत पूर्ण क्षमतामा चल्न पाएका छैनन् । लाइनले लोड नलिएकाले कम क्षमतामा चलाउनु भन्ने प्राधिकरणको मौखिम सूचनाका आधारमा उत्पादन घटाउनु परेको निजी ऊर्जा उत्पादकहरू बताउँछन् ।
विद्युत खपत घटेपछि कुलेखानी जलाशय चलाइएको छैन । कुलेखानी चलाउनु नपरेपछि जलाशयमा पानीको सतह बढ्दै गएको छ । बिहीबार दिउँसो २ बजेसम्म जलाशयमा पानीको सतह १५ सय २२ मिटर पुगेको तिम्सिनाले बताए ।
वर्षाका कारण गर्मी हटेपछि विद्युतको माग ह्वात्तै घटेको छ । आइतबार १३ सय ८५ मेगावाट पुगेको विद्युतको उच्च माग अहिले १ हजार मेगावाटमा झरेको प्राधिकरण भार प्रेषण केन्द्रले जनाएको छ ।
READ MORE
काठमाडाैं । कहिलेकाहिँ लाग्छ, गलत समयमा निर्माण सुरु हुन पुगेको उत्तम आयोजना हो- “माथिल्लो तामाकोसी” । कहिले डिजाइन परिवर्तन त कहिले महाभूकम्प र नाकाबन्दीको महापीडा अनि त्यसमाथि एक साह्रै खराब ठेकेदारको कारणले तड्पिरहेको अवस्थामा एकाएक कोरोना कहरले नराम्रोसँग जाकिन पुग्दा यो आयोजना धेरै अघि नै सुरु गरी पहिल्यै सक्नुपर्ने वा अलिक ढिलो गरी नै सुरु गर्नुपर्ने थियो वा हो कि भन्ने जस्ता प्रश्नहरू मनमा आइरहन्छन् ।
अब २/३ महिनाभित्रै बत्ति बाल्न सुरु हुने कुरा आउँदा भने मनमा केही आशा, खुसी वा सन्तुष्टि आउने गर्छ । तर, केही एक दुई वटा जटिल चुनौती र अड्चनहरू अझै पनि निमिट्यान्न नहुँदा बत्ति बाल्न अझै ढिलाइ नै पो हुने हो कि भन्ने आशंका हुँदा मन दुख्ने गर्छ ।
कोरोना कहरको प्रतिकूलतामा गुज्रिन परिरहेको र सम्बन्धित ठेकेदारको चरम लापरबाहीका कारणले हाइड्रो मेकानिकलका केही बाँकी साना-तिना उपकरणहरू आइपुग्न अझै हप्तौं लाग्ने देखिएको छ । आएपछि तिनलाई जडान गरी परीक्षण गर्न समय लाग्ने देखिँदा ठ्याक्कै यही दिन, घडी र पलामा बत्ति बाल्न सुरु हुने भन्ने कुरामा ठोकुवा गर्न सकिने अवस्था अझै बनेको छैन ।
यस्तो अवस्थाको बाबजुद सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय प्रधानमन्त्रीज्यूको सल्लाहकार समूह, ऊर्जा मन्त्रालय, प्राधिकरण, सञ्चालक समिति, कम्पनी/आयोजना आयोजनाको काम फत्ते गर्न लागिपरेको छ । आयोजनामा कार्यरत सयौं/हजारौं कर्मचारीहरू र कामदारहरू कोरोना महाकहरमा पनि आ-आफ्ना घरपरिवारसँग लामो समयसम्म टाढा रहेर पनि अहोरात्र खटिरहेका छन् ।
यही कारण आयोजना लकडाउन/निषेधाज्ञा हुँदा पनि निरन्तर अघि बढेको छ । यसरी अघि बढिरहँदा बिगु गाउँपालिका, वडा कार्यालय, दोलखा जिल्लाका माननीयज्यूहरू र मन्त्रीज्यू, दोलखा जिल्ला समन्वय समिति, दोलखा जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बललगायत सबै निकायहरूको अनवरत टेवा, समन्वय, सहयोग, आडभरोसा, प्रोत्साहन अनि स्थानीय बासिन्दाबाट सरसहयोग र माया सधैं पाइरहेको अवस्था छ ।
बत्ति बाल्न सुरु गर्ने यही र सही मिति भन्न गाह्रो भए पनि गत चैतमा राष्ट्रिय/अन्तर्राष्ट्रिय लकडाउनका बीच काम राेकिएन । काम अगाडि बढाइराख्न राज्यको उपल्लो निकायबाट गाँठो फुकाइदिने निर्णय भयो । यदि त्यसो हुन नसकेको भए यो आयोजना अहिलेसम्म पनि बन्द रहने र कामदारहरू नहुँदा अथवा घर जान बाध्य भएका कामदारहरू काममा फर्केर आउन नपाउँदा कम्तीमा पनि थप १.५ देखि २ वर्ष धकेलिने अवस्था सिर्जना हुने थियो ।
तर, २०७६ चैत ११ गते लकडाउन सुरु भएपछि यस आयोजनाको २०७६ चैत १७ गतेको अनुरोध पत्रका आधारमा श्रीमान् ऊर्जा सचिवज्यू र नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशकज्यूको प्रयास तथा ऊर्जा मन्त्रीज्यू, भौतिक योजना मन्त्रीज्यू र सम्माननीय प्रधानमन्त्रीज्यूको प्राविधिक सल्लाहकार (विकास विज्ञ) ई. गजेन्द्र थपलियाज्यूबाट भएको अनवरत पहलकदमी र उच्चतम सहजीकरणको परिणामस्वरुप माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीज्यू संयोजक रहनु भएको “नोभेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति” बाट मिति २०७६ चैत २० गते आयोजनाको कामलाई सञ्चालन गर्न दिने निर्णय भएको थियो ।
जसअनुसार आजका दिनसम्म पनि आयोजनाको कामलाई निरन्तर अघि बढाउन सकिएको छ । यदि, त्यो निर्णय नभएको भए वा निर्णय हुन थप २/४ दिन ढिलाइ भएको भए आयोजनामा कार्यरत करिब १,००० कामदार आ-आफ्ना घर गइसक्ने थिए । अनि, आयोजनाको सम्पूर्ण कार्यलाई पूर्ण विराम लगाउनुबाहेक हामीसँग अन्य कुनै विकल्प हुने थिएन ।
तसर्थ, यस आयोजनाको सन्दर्भमा उपर्युक्त उच्चस्तरीय समिति, माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीज्यू, ऊर्जा मन्त्रीज्यू, भौतिक योजना मन्त्रीज्यू र सम्माननीय प्रधानमन्त्रीज्यूको प्राविधिक सल्लाहकार (विकास विज्ञ) ई. श्री गजेन्द्र थपलियाज्यू, ऊर्जा सचिवज्यू र प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशकज्यू सधैं धन्यवादका पात्रहरू हुनुहुनेछ ।
स्मरणीय छ, लकडाउनकै समयमा तल्लो र माथिल्लो भर्टिकल स्याफ्टहरूमा स्टील पाइप जडान गर्ने जस्तो जटिल र सबैभन्दा जोखिमयुक्त कार्य सम्पन्न भएका थिए । आयोजनाका विदेशी परामर्शदाता र ठेकेदारहरूलाई विदेशी मुद्रामा पनि भुक्तानी गर्नुपर्ने हुन्छ र त्यसरी भुक्तानी गर्दा नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्छ ।
तर, विभिन्न कारणहरूले गर्दा राष्ट्र बैंकबाट स्वीकृति हुन करिब १ वर्ष ढिलाइ भई चारतिर अनुरोध गर्दा पनि केही नलागेपछि सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालज्यूसमक्ष गत जेठ महिनामा हाम्रो समस्या अवगत गरायौं ।
वहाँले गरिदिनु भएको सहजीकरणपश्चात् १ हप्ताभित्रै हाम्रो समस्या समाधान हुन पुग्यो । त्यसपछि प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालज्यूलाई धेरै धेरै धन्यवाद प्रकट गर्यौं । अहिले हाम्रो एक जटिल समस्या भनेको भारतको कोलकोतास्थित हाइड्रो मेकानिकल कार्यको ठेकेदारको प्रधान कार्यालय/कारखानाबाट ल्याउनुपर्ने बाँकी सानातिना उपकरणहरू सकेसम्म चाँडो आयोजनास्थलसम्म ल्याइपुर्याउनु रहेको छ ।
उसले कोरोना, वर्षालगायत अन्य विभिन्न कारणहरू देखाउँदै अझै पनि उत्पादन गरिसक्न र नेपाल पठाउन चरम ढिलाइ गरिरहेको छ । सवारी आवागमन र अन्तर्राष्ट्रिय उडानमा रोकावटको कारणले गर्दा कामलाई तीब्रता दिन न त आयोजनाको कर्मचारी त्यहाँ पठाउन सकिएको छ न त ठेकेदार आफैं जिम्मेवार भएर शीघ्र पठाउने मेलोमेसो गर्छ ।
अनि बाध्य भएर माननीय परराष्ट्र मन्त्रीज्यूसमक्ष कोलकोतास्थित नेपालको महावाणिज्य कार्यालयमार्फत् सहजीकरण गरिदिन अनुरोध गर्न पुग्यौं । केही दिन अघि मात्र सम्माननीय प्रधानमन्त्रीज्यूको सल्लाहकारहरू विष्णु रिमालज्यू, डा. राजन भट्टराईज्यू र ई. गजेन्द्र थपलियाज्यूसमक्ष हाम्रो समस्या अवगत गरायौं ।
वहाँहरूले पनि तत्काल त्यहाँको महावाणिज्यदूतज्यूलाई फोन गरी आवश्यक समन्वय र सहजीकरण गरिदिनु भएपछि महावाणिज्यदूतज्यूले आफ्नो कार्यालयका कर्मचारीहरूलाई आज कोलकोतास्थित कारखानामा स्थलगत अवलोकन गराउनु भएको छ । यसबाट हामीमा केही आशा र भरोसा पलाएको छ ।
अब बाँकी रहेका सामानहरू चाँडै नेपाल ल्याउन ठूलो टेवा पुग्ने विश्वास लिएका छौं । कम्तीमा अब १.५ महिनाभित्रै सबै सामानहरू आइपुग्ने आशा राखेका छौं । यदि, त्यसो हुन सक्यो भने आगामी मंसिरभित्र पहिलो युनिटबाट बत्ति बाल्न सक्ने अवस्थामा पुग्नेछौं । परराष्ट्र मन्त्रीज्यू, सम्माननीय प्रधानमन्त्रीज्यूको सल्लाहकारहरू विष्णु रिमालज्यू, डा. राजन भट्टराईज्यू, ई. गजेन्द्र थपलियाज्यू, महावाणिज्यदूत कार्यालयका सम्बद्ध सबै कर्मचारीहरूप्रति हाम्रो धन्यवाद ।