नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेटरका लागि पहिलो पटक मासिक तलबको व्यवस्था गर्दैछ।
क्यानले महिला क्रिकेटरलाई तीन ग्रेडमा विभाजन गरेर खेलाडीसँग सम्झौता गर्दै तलब दिने निर्णय गरेको हो।
तीन ग्रेडमा १९ जना महिला क्रिकेटर समावेस छन्। जसमा ए ग्रेडका क्रिकेटरले मासिक १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। बी ग्रेडका क्रिकेटरले मासिक १२ हजार र सी ग्रेडका क्रिकेटरले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
क्यानले पहिलो पटक महिला क्रिकेटरका लागि तलब दिने निर्णय राम्रो भए पनि तलब रकम न्यून भएको भएको नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्री बताउँछिन्।
‘क्यानले राम्रो सुरुवात गरेको छ। एउटा सिस्टम बसेको छ त्यसमै खुसी छु,’ उनले भनिन्, ‘यो २० वा २५ हजारसम्म हुनसक्थ्यो।हामी काठमाडौंमा भाडामा बस्नुपर्छ। क्याम्प नभएको खण्डमा आफैले अभ्यासमा सहभागी जनाउनु पर्छ। आफ्नो खेलको स्तर बढाउनु छ भने हामीलाई काठमाडौं अथवा फरक-फरक ठाँउमा जानु पर्दा खर्च चाहिन्छ। १५ हजारमा त एउटै ब्याट मात्र आउँछ।’
‘महिला क्रिकेटमा सिस्टम सुरु भएको छ। यसैका लागि हामीले यत्रो वर्ष लडाइँ लड्यौ,’ उनले भनिन्, ‘अब यसलाई निरन्तरता दिइराख्यो भने युवा पुस्ता जोगाउन सजिलो हुन्छ। कुनै खेलाडीलाई क्रिकेटमा आउनुहोस्, अब केही छ, तपाईँ ढुक्क भएर आउनु सक्छु भन्न सक्छौं। त्यसैले म उत्साहित छु।’
उपकप्तान सीता रानामगर महिला क्रिकेटरलाई तलब दिने सुरुवात गरिए पनि रकम थोरै भएकोमा दु:खी छिन्।
‘सुरुवात गर्नु त भयो। तर यो महँगीमा पैसा कम भयो। पैसा कम हुँदा दु:खी भएको छु,’ सीताले भनिन्,’यो तलबले जीवकोपार्जन गर्न गाह्रै हुन्छ। अझै अपग्रेडिङ गर्दै लग्यो भने नयाँ पुस्ताका खेलाडीलाई क्रिकेटमै लागेर जीविकोपार्जन गर्न सहज हुनसक्छ।’
क्यानका अध्यक्ष चतुरबहादुर चन्द महिला क्रिकेटरलाई दिइने तलब थोरै भए सुरुवात गरिएको कामलाई सबैले सकारात्मक रुपमा लिनु पर्ने बताउँछन्।
‘नेपालको इतिहासमा पहिलो पटक महिला क्रिकेटरलाई केन्द्रीय सम्झौतामा ल्याइएको छ। रकम थोरै भए पनि एउटा सुरुवात त भएको छ नि,’ अध्यक्ष चन्दले भने।
उनले पुरुष क्रिकेटरलाई पनि पाँच हजार रुपैयाँबाट तलब दिन सुरुवात गरेको स्मरण गर्दै क्यानको निर्णयको बचाउ गरे।
’पुरुष क्रिकेटरलाई पाँच हजार, दश हजार हुँदै पचाँस हजारसम्म दिने अवस्थामा छौं,’ उनले भने, ‘तलब दिन सुरु गर्दा महिला क्रिकेटरलाई जोशजागरले क्रिकेटमा लाग्नका लागि प्रोत्सहान गर्छ। नयाँ अध्याय सुरु भएको छ। रकम भन्ने कुरा क्यानको अवस्था अनि समय परिस्थितले वृद्धि हुँदै जान्छ।’