सरकारले विभिन्न देशमा निर्माण भइरहेका कोरोना खोपहरूको ‘क्लिनिकल ट्रायल’ नेपालमा गर्ने कि नगर्ने भन्ने विषय विचाराधीन नै रहेको जनाएको छ ।

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बिहीवारको बैठकमा सरकारका तर्फबाट सहभागी स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोरोनाविरुद्ध निर्माणाधीन खोपहरूको क्लिनिकल ट्रायल नेपालमा गर्ने कि नगर्ने भन्नेमा छलफलमै रहेको बताएका हुन् ।

बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा स्वास्थ्य सचिव अर्यालले भने– ‘खोपको ट्रायल गर्न दिने किन नदिने भन्नेमा सम्माननीय प्रधानमन्त्रीज्यूसँग छलफलमै छौं । यत्तिकै ल्याएर प्रयोग गरिहाल्दा त्यसले समस्या निम्तिन पनि सक्छ । तर कुनै देशमा प्रयोग भइसकेको खोप भने ल्याउन सकिन्छ ।’

बेलायत, अमेरिका, चीन, रुस लगायतका देशमा बनेका खोप अहिले विभिन्न देशमा क्लिनिकल ट्रायलका क्रममा छन् । तेस्रो चरणको परीक्षणमा रहेका खोपहरू नेपालमा पनि ल्याउनुपर्ने आवाज कतिपय विज्ञहरूले उठाउने गरेका छन् ।

सचिव अर्यालले नेपालमा साउन १५ देखि संक्रमणको दर बढे पनि त्यसैका आधारमा संक्रमण कम्युनिटी गैसक्यो भन्न नसकिने पनि बताए ।

‘साउन १५ देखि संक्रमणको दर बढेको छ । कम्युनिटीमा गएको हो कि भन्ने पनि देखिन्छ, तर सेरोप्रिभिलेन्स सर्भे नगरी भन्न सकिने अवस्था छैन,’ स्वास्थ्य सचिव अर्यालले भने ।

आजको मितिसम्म आईसीयू तथा भेन्टिलेटरको अभाव नभएको दाबी उनले गरे ।

‘आईसीयू बेड १६ सयबाट २७ सय पुर्‍याइएको छ, थप ४ सय बेड तयारी हुने अवस्थामा छ,’ स्वास्थ्य सचिव अर्यालले भने, ‘भेन्टिलेटरको संख्या १ हजार जति छ ।’

बैठकमा विज्ञका रूपमा निम्त्याइएका डा. प्रभात अधिकारीले काठमाडौंमा दिनमा १०/१५ वटा जटिल केस थपिँदा आईसीयूको हाहाकार हुने दाबी गरे ।

आफूहरूको पछिल्लो केही दिन बिरामीका लागि आईसीयू बेड खोज्नमै बितिरहेको उनको भनाइ थियो ।

उनले नेपालमा कोरोनाबाट हुने मृत्युदर कम हुनुको कारण सक्रिय उमेर समूहमा बढी संक्रमण देखिनु नै भएको बताए ।

वृद्धवृद्धा तथा दीर्घरोगीसहित जोखिम वर्गमा संक्रमण पुग्दा मृत्युदर अन्य देशकै हाराहारीमा पुग्ने उनको आशंका थियो ।

‘नेपालका कोरोनाका कारण हुने मृत्युदर अहिले कम छ र पछि पनि कम हुन्छ भन्ने कुरा हास्यास्पद् हो । अहिलेदेखि नै तयारी गरिएन भने संक्रमण दीर्घरोगी र वृद्धवृद्धामा पुग्छ, अनि मृत्युदर पनि बढ्छ,’ उनले भने ।

बैठकमा समिति सभापति दिलकुमारी रावल थापा ‘पार्वती’ले कोरोना नियन्त्रण सरकारको मात्र नभएर नागरिकसहित सम्पूर्ण सरोकारवालाको साझा दायित्व भएको बताइन् ।

साथै उनले चाडबाड नजिकिएको अवस्थामा शहरबाट गाउँघर फर्किनेको संख्या बढ्ने र त्यसले जोखिम वर्गमा पर्ने वृद्धवृद्धा तथा दीर्घरोगीहरूमा कोरोना संक्रमण पुग्नसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

त्यसक्रममा सांसदहरू खिमलाल भट्टराई, कोमल वलीलगायतले कोरोना संक्रमणसम्बन्धी विभिन्न विषयमा स्वास्थ्य सचिव अर्यालमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

READ MORE

प्राधिकरण निर्देशकको दाबी : मौसम बिग्रिँदा बिजुली नियमित हुन सकेन
असोज ८, २०७७ काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक कोइरालाले खराब मौसमका कारण विद्युत् आपूर्तिमा गडबडी भएको बताएका छन्।  विद्युत् आपूर्तिमा भएको गडबडीबारे ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तसँग मन्त्रालय भएको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन्।   ‘मौसममा खराबी आउँदा विद्युत् आपूर्तिमा पनि समस्या देखिएको छ’, उनले भने, ‘मौसममा सुधार आएसँगै धेरै हदसम्म समस्या आफैं समाधान भएर जान्छ।’  कोइरालाले प्राधिकरणका कर्मचारीले रात दिन नभनी समस्या हटाउँदै विद्युत सुचारु गरिरहेको दाबी गरेका छन्।  ‘ललितपुरको खोकना र काठमाडौंको ग्राण्डी अस्पताल क्षेत्रमा हाम्रा कर्मचारीले रातभरि काम गरेर अवरुद्ध विद्युत सुचारु गराए’, कोइरालाले भने, ‘तौलिहवामा विद्युत सुचारु गराएर फर्कंदा वितरण केन्द्रका प्रमुखसहित हाम्रा चार कर्मचारी र दुई सर्वसाधारणलाई गाडीसहित खोलाले बगाउनेसम्मको दुःखद घटना भयो।’  मन्त्री पुनसँगको बैठकमा प्राधिकरणका वितरण निर्देशनालय प्रमुख हरराज न्यौपाने र प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभुषण चौधरीले लगातारको वर्षा, बाढी पहिरो, चट्याङ, रुख ढल्ने जस्ता  कारणले प्रणालीमा समस्या आएको बताए।  न्यौपाने र चौधरीले पनि वर्षा कम भएसँगै समस्या समाधान हुँदै जाने जानकारी मन्त्रीलाई दिएका छन्।


Your Views
Related News