सुर्खेतको वीरेन्द्रनगरमा प्लाष्टिकमा बेरेर फालेको अवस्थामा नवजात शिशु भेटिएको छ। खोर्के खोलामा प्लाष्टिकमा बेरेर फालिएको अवस्थामा शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार शुक्रबार बिहान ९ बजेतिर नवजात शिशु भेटिएको हो। फेला परेको शिशुको पोष्टमार्टमको तयारी भएको उनले जानकारी दिए।

‘कहिले र कसले शिशु फालेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ, अहिले प्रहरीले मृत शिशुलाई खोलाबाट निकालेको छ,’ डिएसपी घर्तीले भने।

READ MORE

युगौंदेखि विमर्शसँग भयभीत सत्ता चेत

संस्कृत साहित्यमा झन्डै पन्ध्र सय वर्षदेखि (मितिमा विवाद छँदैछ) महाकविका रूपमा परिचित कालिदास (कुमारसम्भव, रघुवंश, मेघदूतजस्ता कृतिका सर्जक) ले आफूले देखिरहेको ठूलो आकारको ‘कपुरी क’ दुब्लाएको पाएपछि रुवाबासी गरे भन्ने रोचक उक्ति प्रचलनमा छ।

उक्तिअनुसार कालिदासको राज्यका भारदार राजकुमारीका लागि विद्वान पति खोज्न हिँडेका थिए। उनीहरूले रूखमा चढेर आफू बसेको हाँगा काटिरहेका कालिदासलाई देखे र किन त्यसो गरेको भनेर सोधे।

जवाफमा कालिदासले भने, ‘रूख चढियो, झर्न सकिएन र यही हाँगा ढालेर जमिनमा पुग्न आँटेको।’

यो सुनेर भारदारहरूले राजकुमारीको विद्वताको घमण्ड तोड्न कालिदासलाई नै दरबार लिएर गए।

मौनवर्ती बनाएर दरबारमा लगिएका कालिदाससँग राजकुमारीले सांकेतिक विमर्श गरिन्। राजकुमारीको सवालमा कालिदासले दिएको जवाफलाई वाचाल भारदारहरूले अर्थ्याएपछि उनी कालिदाससँग बिहे गर्न राजी भइन्।

बिहे गरेर राति सुत्न कोठामा गएपछि कालिदासले अत्यन्तै साना आकारमा लेखिएको ‘क’ अक्षर देखेपछि रोइकराई गर्न लागे। राजकुमारीले किन रोएको भनेर सोध्दा उनले ‘कपुरी क कतिविधि दुब्लाएको’ भन्दै बिलौना गरे।

कालिदास खास पढेलेखेका व्यक्ति थिएनन्। उनले केही साँवा अक्षरसम्म छिचोल्न सिकेका थिए। जहिलेदेखि उनले अक्षर सिक्न थालेका थिए, ठूला आकारमा लेखिएका अक्षर मात्रै देखे-जानेका थिए। उनको दिमागमा अक्षरहरूको आकार ठूलो-सानो जत्रो पनि हुनसक्छ भन्ने नै थिएन।

यसरी अक्षरबारे उनको दिमागमा लिपिबद्ध चेतना त्यति बेला मुर्छा पर्‍यो, जब उनको चेतनाको मान्यतालाई चित पार्ने गरी साना, मसिना अक्षरमा लेखिएको ‘कपुरी क’ सँग साक्षात्कार भयो। आफ्नो चेतनामा अभेद्य पर्खालका रूपमा कुँदिएको मान्यता ढलेपछि स्वाभाविक रूपमा कालिदासले आफूलाई सम्हाल्न सकेनन्।

वाल्मिकी

प्रचेतसका दसौं पुत्र रत्नाकार (अग्नि शर्मा) बाल्यकालमा आफ्ना पितासँग जंगल गएको बखत उतै हराए। शिकारमा आएका निषदहरूले उनलाई भेट्टाएर लगे।

बिहेपछि परिवार चलाउन गाह्रो भएकाले उनी लुटपाटमा लागे र आफ्नो समयका एक कुख्यात डाँकुका रूपमा कहलिए।

त्यसरी लुट्ने क्रममा एकदिन उनी एक ऋषिलाई लुट्न तम्सिए।

ऋषिले उनलाई सोधे, ‘तिमिले लुटेको धनमाल र खाद्यान्न त परिवारका सबैले बाँडेर उपभोग गर्छन् होला। उनीहरूसँग सोध, यसरी चोरी, लुटपाटमार्फत् तिमीले आर्जन गर्ने अपराधको बोझ पनि तिनीहरू आपसमा बाँड्छन् कि बाँड्दैनन्?’

परिवारसँग सोध्दा जे जवाफ पाए, त्यो सुनेर उनी सत्य सामना गर्न नसकेर अत्तालिए।

उनले ऋषिकहाँ फर्किएर भने, ‘अपराधको भागीदार त म एक्लै हुनुपर्ने रहेछु।’

त्यसपछि ती ऋषिले बताएको मार्ग समातेर रत्नाकर ज्ञानको कठोर मार्गमा लागे। कालान्तरमा संस्कृत साहित्यका आदिकवि वाल्मिकीका रूपमा परिचित भए।

उनी सिर्जित ‘रामायण’ हिमाली उपमहाद्वीपमा सर्वाधिक पढिनेमध्येको प्रमुख पुस्तकमा पर्छ।

तिनै रत्नाकर वाल्मिकी बनेपछि एकदिन आफ्नो गाउँ फर्किएछन्। रत्नाकरको भयावह तस्बिर र उनको डाँकु छवि मनमा पालेर बसेका मानिसहरू उही रत्नाकर नै बदलिएको वाल्मिकी हो भन्ने स्विकार्न तयारै भएनन्।

एउटा समय एउटा स्वरूपमा उपस्थित सत्य अर्को समय अर्कै स्वरूपमा उपस्थित हुनसक्छ भनेर वाल्मिकीले अनेकन प्रसंग झिकेर बुझाउन खोजे। तै पनि गाउँले मरिगए पत्याउन तयार भएनन्। बरू गाउँ भाँड्न आएको बेकारी भन्दै ढुंगामुढा गर्न लागे।

बाध्य भएर उनले रत्नाकरकालीन आफ्नो सारा कथा बताए। त्यसपछि मात्रै गाउँलेले अलिअलि हो झैं गरे।

उनले आफूसँगै गएका चेलालाई भने, ‘मानिसहरू आफ्नो चेतनाको सत्यभन्दा पर पनि सत्यको झनै फराकिलो क्षितिज हुनसक्छ भन्ने पत्याउन त परै जावस्, सोच्नसमेत तयार हुँदैनन्। कसैले त्यो सत्य उद्घाटन गर्न मुख खोल्न मात्रै लागे पनि उसको मुखमा ताला लगाउन र सत्य उद्घाटकमाथि आरोपको वर्षा गराउन तछाडमछाड गर्छन्। मैले आफ्नै जीवनको सत्य बताउँदा देखिहाल्यौ, झन्डै हामीले रत्नाकरलाई नै अन्तिम सत्यका रूपमा चेतनामा टाँसेर बसेकाहरूले फ्याँकेको ढुंगाको रासमुनि पुरिनुपर्‍यो।’

चेतना भनेको त्यस्तै हो। मानिसको दिमागमा सयौं, हजारौं वर्षदेखि अभेद्य रूपमा खिपिएर बसेकोभन्दा इतर विचार, तर्क, धारणा आयो भने ऊ सुरूमा त्यसलाई सर्वथा अस्वीकार गर्छ। अस्वीकारोक्तिले त्यसको अस्तित्व नामेट बनाउन सकेन भने त्यसलाई लाञ्छित गर्न थाल्छ। अझै पुगेन भने सिधा हमलामा ओर्लन्छ। भौतिक हमलामा समेत। पश्चिमा क्रिश्चियन समाजले त परम्परागत क्याथोलिक मतमाथि प्रश्न उठाउनेहरूलाई लतार्दै युद्धमा घिसार्‍यो।

मार्टिन लुथर

हिमाली उपमहाद्वीपको चौध सयदेखि पच्चीस सय वर्ष हाराहारी पुराना यी दुई उक्तिपछि म तपाईंलाई यहाँबाट सुदूर भूगोलको पश्चिमी समाजको एउटा परिघटनातिर लैजान्छु, सोह्रौं शताब्दीको सन्दर्भसहित।

सन् १५१० मा पादरी जुलियस द्वितीयले क्याथोलिक मतका दुई परस्पर विपरीत शाखाहरू कट्टरवादी र उदारवादीहरूलाई गाभ्ने निर्णय गरे। त्यसपछि जर्मन युवा बौद्धिक मार्टिन लुथर रोमको भ्रमणमा गए, जो जुलियसको उक्त निणर्यप्रति असहमत थिए।

त्यहाँ उनले पादरीहरूले विचार, दर्शन र व्यवहारमा चरम भ्रष्टाचार गरिरहेको देखे। धर्ममा भ्रष्टीकरण गरिरहेका पोपहरू क्याथोलिक चर्चको अधिकारी भएर ढलिमली गरिरहेको पनि देखे।

उनले १५१७ अक्टोबरमा ‘भोगको शक्तिमाथि विमर्श (विवाद)’ शीर्षकका ९५ मत सार्वजनिक गरे।

त्यसअघि नै पादरी लिओ दसौंले उक्त एकीकरणको पक्षमा आफ्नो मत सार्वजनिक गरेपछि क्रिश्चियन मतका फरक शाखाहरूबीच चरम विवाद र संघर्षको अवस्था सिर्जना गरिसकेको थियो।

त्यसले युरोपमा सन् १६१८ देखि १६४८ सम्म तीन दशक लामो धार्मिक युद्धको बाटो समात्यो। उक्त युद्धमा असी लाखभन्दा बढी मानिस मारिए। जर्मनीको त कुल जनसंख्याको एकतिहाइ मानिस मारिए।

यसरी परम्परागत क्याथोलिक मतका अनुयायीहरूले त्यसउपर उठेका प्रश्नमाथि विमर्श गर्नुको सट्टा असहमतहरूमाथि दमनको बाटो राजे। सुधारवादी र सुधार विरोधीहरूबीच चरम ध्रुवीकरणले युरोपमा पटकपटक गरेर सय वर्षभन्दा लामो समय धार्मिक युद्धको धुवाँ पुत्पुताइरह्यो।

यो बेग्लै कुरा हो, अभ्यासमा रहेको क्याथोलिक मतविरुद्ध गरिएको प्रदर्शन, जो पछि प्रदर्शनकारी मत अर्थात् प्रोटेस्टेन्टका रूपमा परिचित हुन गयो। अर्थात्, मार्टिनपन्थीहरूको मत झनै रुढ र कट्टर थिए धेरै सवालमा, जसले पछि गएर त्यहाँ उठेका आन्दोलन र नयाँ अवधारणामाथि परम्परागत क्याथोलिकहरूले अपनाएकै बाटो पछ्याएका थिए। ग्यालिलियोमाथि नजरबन्द थोपर्नेहरूको अग्रभागमा पनि तिनै थिए।

पश्चिमा क्रिश्चियन समाजले वैकल्पिक मतमाथि विर्मशको साटो दमनलाई विकल्पका रूपमा रोज्दा इशापूर्व तेस्रो शताब्दीदेखि सत्रौं शताब्दीसम्म अनेकन धार्मिक युद्ध भए। युरोपले त पटकपटक विश्वयुद्धकै क्षतिसरहको धार्मिक युद्धको बाटो समात्यो।

फिनिक्स

एउटा मिथक छ, फिनिक्स चराको। रंगीन पखेटादार चराको, जसलाई उमेर पुगेपछि आफ्नै अनुजहरूले डोर्‍याउँदै आगोको भट्टीमा होम्छन्।

त्यही जाज्वल्यमान आगोको लप्कामा जलेर थुप्रिएको आफ्नै चिताको खरानीबाट काया फेरेर फिनिक्सले नयाँ जीवन आरम्भ गर्छ।

फिनिक्सले नयाँ जीवन आरम्भ गर्न पुरानो जीवनलाई खरानी बनाउनुपर्ने सभ्यताको यो स्मृति कथा बडो दार्शनिक छ।

युद्धले गर्ने विशालतम मानवीय क्षतिको कहालिलाग्दो सन्दर्भले सधैं मानव समाजलाई डसिरहन्छ। तर, हरेक खराब परिघटनासँगै असल परिणाम पनि जोडिएर आउने द्वन्द्वात्मक यथार्थअनुसार मानव नरसंहार गर्ने युद्धको दुन्दुभिबाट समाजले हरसमय चेतनाको नयाँ भाष्य पनि हासिल गरिरहन्छ।

युरोपियन धार्मिक युद्धले सन् १६४८ मा फरक रोजाइहरूमाथिको स्वतन्त्रता खुला गर्‍यो।

रोमन क्याथोलिक एकाधिकार अब प्रोटेस्टेन्ट मतसमेत रोज्न पाउने स्वतन्त्रता खुला गर्न विवश भयो। त्यसले युरोपमा धर्मभन्दा बाहिरसमेत फरक मत, वैकल्पिक विचार, सत्ता भाष्यमाथिको प्रश्न, मौजुद परिपाटीमाथिको विमर्शका लागि बाटो खुला गर्‍यो।

त्यही रगतको भयानक मोलमा प्राप्त विचारको स्वतन्त्रताले, विकल्पका लागि उपलब्ध विमर्शको जमिनले युरोपले बितेको चार सय वर्षमा विचार, विज्ञान, अनुसन्धान, आविष्कारमा आश्चर्यजनक प्रगति हासिल गर्‍यो।

युद्धले थोपरेका आफन्तहरूको कहालीलाग्दो चिहान र तिनको खरानीमाथि उभिएर जापानले अकल्पनीय आर्थिक, भौतिक, वैज्ञानिक छलाङ हान्यो। ऋग्वेदका ऋचाहरूमा उल्लिखित विवरणले ऋग्वेद भारतीय उपमहाद्वीपमा घटित अनेकन युद्धले दिएको चेतनाको संकथन गर्नमा समेत केन्द्रित रहेको देखाउँछ।

यही उपमहाद्वीपमा प्रख्यात ‘महाभारत’ हस्तिनापुरको भयानक युद्ध विवरणमा संकेन्द्रित छ।

त्यही युद्धका अकल्पनीय चित्कारहरूले, विनाशको यथार्थले मानिसमा संकथन गरेको आत्माबोधको दर्शनमा महाभारत मात्रै नभई भागवत् गीताको समेत भाष्य तय भएको छ।

अब त चेत्न, ज्ञानको संकथन गर्न युद्धको बाटो हिँड्नै नपर्ने गरी मानव सभ्यताले आफ्नो इतिहासको छातीमा मनग्ये युद्ध अनुभवको तक्मा झुण्ड्याएको छ। इतिहासबाट चेत्ने-नचेत्ने, सिक्ने-नसिक्ने त्यो हाम्रो योग्यताको कुरा भयो। तर, हामी सिकिरहेका छैनौं। फरक मतमाथि दमन र निषेध हाम्रो आधारभूत चरित्र भएको छ। विमर्शको परिणामसँग भयका कारण स्थापित तमाम सत्ता विमर्ष प्रश्न निषेध गर्दै समाजलाई द्वन्द्वमा घिसार्न आजै पनि दतचित्त भएर लागिरहेकै देखिन्छ।

आरम्भ

आजै पनि हेरौं न, स्थापित सामाजिक, धार्मिक, शासकीय सत्ता चेतनाभन्दा फरक विचार, तर्क कसैले अघि सार्‍यो भने त्यसलाई यसर्थ बेठिक, यसर्थ यसमा मेरो असहमति भनेर वैचारिक विमर्श गरिँदैन। समाजमा मौजुद हरेक सत्ता प्रश्न र विमर्श निषेध गर्ने या तर्कहरूलाई लाञ्छित गर्ने या वैरभावमा परिणत गर्ने प्रयत्नमा हरबखत सचेत र सक्रिय देखिन्छन्।

पारिवारिक, सामाजिक, राज्य, धार्मिक, बौद्धिक सत्ताका अधिपतिहरूमा अरूले बोलेको, लेखेको, विचार सार्वजनिक गरेको मन नपराउने परिपाटी छ। घरमा ठूलाहरू सानालाई ‘उम्रँदै दुई पात’ भनेर तर्क राख्न, प्रश्न गर्न निषेधित गरिरहेका हुन्छन्। महिलाहरू विचार सार्वजनिक गरेकै कारण ‘पोथी बासेको’ उपमाले लाञ्छित गरिन्छन्। धार्मिक सत्ता इतर धर्म एजेन्टको आरोप लगाएर ढुक्क भइबस्छ। राज्यसत्ता अर्को देशको एजेन्टको। राजनीतिक सत्ता फरक विचार बोक्नेलाई अर्को पार्टी र नेताको जमुरे बनाउँछ।

विर्मशसँग भयभीत हुनेले मात्र यसलाई निषेध गर्ने या यसमाथि हमला गर्ने काम गर्छ। कुनै पनि तत्वसँग भयभीत हुने मात्रै उक्त तत्वबाट दूर भागिरहेको हुन्छ या उक्त तत्वबाट बच्न हमलामा ओर्लिरहेको हुन्छ। सहजपूर्वक लिने त घुलमिलमा लाग्छ। आपसी सम्बन्धमा रहन्छ।

उसो त यो आजको नयाँ अभ्यास होइन नै। हिजो हामीले आफ्नो मतमा अभिसारित हुन अस्वीकार गर्नेहरूलाई कहीँ ‘दस्यु’ भन्यौं। वर्णाश्रम नमान्नेलाई ‘म्लेच्छ’ भन्यौं, ‘विधर्मी’ भन्यौं। आज ‘फलानोको एजेन्ट’ भनिदिन्छौं। हामी सुध्रिएका छैनौं। झन् झन् भासिएका छौं। यसले दर्शनलाई रचनात्मक स्वरूप दिनबाट रोक्यो। रुढीमा संकुचित गरायो। मृतज्ञानका रूपमा अवमूल्यन गराइदियो।

विमर्श निरोधक सत्ता

आरम्भमा पूर्वीय दर्शनले विमर्शमा जोड गरेकै छ। वाद, विवाद र विमर्शबाट सत्य अन्वेषण गर्न सकिने उदार र फराकिलो द्वन्द्ववादी चेतना राखेको छ पूर्वीय दर्शनले:

वृन्दे वृन्दे तत्त्वचिन्तानुवादः
वादे वादे जायते तत्त्वबोधः

तर, यताको समयमा त्यसलाई संकुचित गराइएको छ। तत्त्वबोध गर्न अपनाइने विमर्शलाई वैरभावको स्रोतका रूपमा अंगीकार गरिएको छ ‘वादे वादे वर्धते वैरवहिनः’ का रूपमा। त्यसैको उत्कर्षमा विमर्शलाई विवादको जननीका रूपमा व्याख्या गराइयो। परिणाममा विमर्श निरुत्साहित भयो।

स्थापित सत्ताले विमर्शसँग भयभीत हुँदै निषेधको बाटो अवलम्बन गर्नुको खास कारण पनि छ। प्रश्न निषेध गरेपछि या प्रश्न उठ्ने वातावरण नै खारेज गरिदिएपछि त्यसबाट प्राप्त हुने लाभ ती तमाम सत्ताको अकन्टक सञ्चालन स्वार्थसँग निहीत रहन्छ।

सत्ता भाष्यविपरीतका विचार र प्रश्न राख्न निरुत्साहित गरिदिएपछि मानिसलाई सत्ताका काम या बेकामबारे दुविधात्मक चेतना नै आउँदैन। अहिले जसरी चलिरहेको छ, यो ठिक छैन या यसको विकल्प पनि छ भन्ने नै मानिसको दिमागमा नपरेपछि सञ्चालनमा रहेको तमाम सत्ताहरू अकन्टक जारी राख्न सकिन्छ भन्ने ध्येय नै विमर्श निषेधको केन्द्रमा छ।

तर, त्यसले समाजलाई एउटै चेतना, भाष्यको दाम्लोले डामिराख्छ। वैकल्पिक विचार र विमर्शको अभावमा समाज एकल, अधिनायकवादी चेतनाको रुढीको ग्राहक भइबस्छ। विकल्पहरूले मानिसलाई दुनियाँ हेर्ने अनेकन आँखीझ्याल छनौटको सुविधा दिन्छ। जस्तो, हिजो सञ्चारको विकास नहुँदा हामीले सूचना आदानप्रदानका लागि कटुवाल प्रथा र ठूला नगराजस्ता सांगीतिक बाजा बजाएर संकेतात्मक तवरले सूचना आदानप्रदानमा भर पर्नुपर्थ्यो। या, मानिसलाई नै कुदाउनुपर्थ्यो सूचना पुर्‍याउन।

हुलाकको विकल्प आएपछि पुरानो असजिलो अलिक घटेर गयो। यताको समय टेलिफोन, इमेल, इन्टरनेटबाट गर्न सकिने संवादका अनेकन आयाम प्रयोगमा आएपछि विकल्पहरूले सूचना सम्प्रेषणलाई कति सहज बनाइदिएको छ भन्ने हामीले महशुस गर्न पाइरहेकै छौं।

विचार, व्यवस्था, अवधारणा, खोज, आविष्कार पनि त्यस्तै हो। जति–जति विकल्पहरू अघि आउँछन्, उति–उति ती समृद्ध र सहज बन्दै जान्छन्। जुन समाजसँग जति धेरै छनौट उपलब्ध हुन्छन्, उक्त समाजको स्वतन्त्रताको पंखा उही स्तरमा गतिवान हुन्छ। प्रगतिको गति तीव्रतर बन्छ।

स्वतन्त्रता भनेको, छनौट भनेको राजनीतिको नारा भट्याउने खेलो मात्रै होइन। कुनै नेताको छिँडी कुर्ने स्वतन्त्रता मात्रै होइन। समाजका तमाम आयामहरूमा यो कति लचक र उदार छ भन्नेतिर हामीले हेर्नुपर्छ।

जनताले भोट हाल्ने र नेता चुन्ने छनौट त छ, तर त्यसरी आफैंले चुनेका नेताउपर प्रश्न गर्ने र तिनका काममा निर्भीक भएर सार्वजनिक आलोचना गर्ने वातावरण छ कि छैन? कुनै पार्टी, नेताको समर्थन गर्न पाउनु बेग्लै कुरा हो।

आफूले विश्वास गरेको विचार, धर्म, विश्वासभन्दा इतर स्वरमा प्रकट विचारहरूप्रति हामी कत्तिको सहनशील छौं? प्रश्न गर्न कत्तिको भयरहित वातावरण प्राप्त गरिरहेका छौं? पारिवारिक, सामाजिक, धार्मिक, शासकीय सत्तासँग विमर्शका लागि तमाम परिपाटीले हामीलाई कत्तिको उत्प्रेरित गरिरहेका छन्?

यिनै प्रश्न नै उक्त समाज चियाउन मिल्ने आँखीझ्याल हुन्छ।

चियाएर हेरौं त्यही आँखीझ्यालबाट। हाम्रो समाज लामो समयदेखि विमर्श, प्रश्नसँग भय साँधेर त्यसलाई निरुत्साहित गर्ने अभ्यासबाट गुज्रिएको छ। परिणाममा पछौटेपन, हिनता, रुढतामा बाँधेको छ। उत्कर्षमा आजको समस्या निदानका लागि अरूमा निर्भर रहनुपर्ने अवस्था सामना गरिरहेका छौं हामी।

प्रश्नै प्रश्न

आज हामी किन कोरोना महामारी निदानका लागि या त पश्चिमा वैज्ञानिकहरूको खोज र उपचारको सफलतातिर नजर फ्याँकेर बसेका छौं?

आज हामी आफैं यस्ता रोगसँग लड्ने र मानव जातिलाई समस्या समाधानमा आश्वस्त पार्ने उपचार विधि र औषधि पत्ता लगाउन नसक्ने र अरूतिर आशामुखी भएर हेर्नुपर्ने अवस्थामा किन पुग्यौं? या, निकट आगतको होइन, हजार वर्षभन्दा अघिको ज्ञानलाई देखाएर, ‘ए त्यो त हामीसँगै छ नि’ भन्ने अवस्थामा किन छौं?

खोई बितेको हजार वर्षभन्दा यताको हाम्रो वेदको स्तरका सर्वप्रभावी ज्ञान? खोई बितेको पाँच सय वर्षको हाम्रो खोज? खोई बितेको सय वर्षमा हाम्रो समाजले गरेको आविष्कार?

दुनियाँले व्यहोरेको महामारी, संकट, दु:ख निम्ट्याउन खोई कामयाब भएको हाम्रो अथाह ज्ञान, दर्शन, विज्ञान?

किन यी सबै दु:खमा पश्चिमाहरूको भरोसाको आड लिनुपरेको हामीले?

यतिविघ्न ज्ञान र विद्वताको भण्डार भनेर छाती पिट्न पुग्ने दर्शन भएको पूर्वलाई बितेको कैयन शताब्दीमा ज्ञान, विज्ञान, आविष्कार, खोजमा पश्चिमलाई पछार्न के ले छेक्यो?

अंग प्रत्यारोपण, प्लास्टिक सर्जरी त हाम्रो जीनमै छ नि भनेर धक्कु लगाउने हामीले त्यही व्यवहारिक सीप किन आयात गर्नुपरेको अन्यन्त्रबाट?

साराका सारा सामाजिक, व्यवहारिक, वैज्ञानिक खोज, अनुसन्धानका लागि पश्चिमको भर परेर हामी किन दुई हजार, पच्चीस सय वर्षअघिको ज्ञानलाई सिरानी हालेर अमरत्व र आदर्शको बिस्कुन फिजाउन विवश छौं? किन?

हिजो केही पनि थिएन भनिएको पश्चिमले तरक्की गर्दा हामीले आफैंसँग भएको ज्ञान प्रयोगमा ल्याउन र बाँकी दुनियाँको नेतृत्व गर्न किन सकेनौं?

हाम्रो वैदिक ग्रन्थमै सारा दु:खको निदान उपलब्ध छ भन्ने आत्मगौरवको सिट्ठी फुक्ने हामीलाई ज्वरो आएपछि अरूले नै तयार गरेको सिटामोल चपाएर ‘ए रोगको निदान त हाम्रै प्राचीन गन्थमै छ नि’ भन्न किन असजिलो नलागेको?

हाम्रो यति भव्य ज्ञानलाई, ज्ञानको सत्तालाई पश्चिमा सिटामोलले किन र कसरी लडायो? हामी कहाँ चुक्यौं? हामीले कहिल्यै गम्भीरतापूर्वक यसबारे विमर्शका लागि स्थान, वातावरण, हौसला दियौं? या हामी छलफलकै लागि कहिल्यै तयार भयौं?

यसबारे विमर्शको फुकिढलै स्तरमा सही, प्रयास गर्न खोजेकाहरूलाई हामीले हिलो छ्याप्ने कोशिस गर्‍यौं कि प्रोत्साहन गर्‍यौं?

आरोपै आरोप

पश्चिमले इशापूर्व छैंठौं शताब्दीका थल्सलाई पहिलो भौतिकवादी दार्शनिक माने पनि पूर्वीय दर्शनमा वृहस्पतिलाई दुनियाँकै पहिलो द्वन्द्ववादी (भौतिकवादी) दार्शनिकका रूपमा लिइन्छ (चट्टोपाध्याय, देवीप्रसाद – लोकायतः अ स्टडी इन एन्सिएन्ट इन्डियन म्याटेरिएलिज्म, विभिन्न पृष्ठहरू)।

आरम्भिक वैदिक कालमै वैदिक देवहरूलाई नमान्ने, त्यसको निन्दा गर्ने स्वतन्त्र महर्षिहरूबारे वेदहरूमा उल्लेख भएको पाइन्छ। वृहस्पति अर्थात् लोकपुत्र त्यस्ता व्यक्तिमध्ये थिए (शास्त्री, दक्षिणारञ्जन – अ सर्ट हिस्ट्री अफ इन्डियन म्याटेरिएलिज्म, सेनसेस्नलिज्म एन्ड हेडेनिज्म, पृ ११-१२)।

पूर्वीय दर्शनमा अन्तर्निहीत लोकायत धारालाई आदर्शवादी धारले भुत्ते नबनाउन्जेल हिमाली उपमहाद्वीप विद्वान विदुषीहरूको शास्त्रार्थ स्थल थियो। उपनिषदको विरासद गुरु-शिष्य प्रश्नोत्तर र विर्मशको संकथनमा अधिनस्थ छ।

जब सनातन वैदिक दर्शनलाई हिन्दू कट्टर मतमा विघटित गराइयो, त्यसपछि यसले अन्धकार सुरुङभित्र निस्सासिने नियति सामना गर्नुपर्यो। बौद्धिक जिज्ञासामाथि धार्मिक चिन्तन, अन्धविश्वास तथा रुढीवादबाट गम्भीर व्यवधान खडा गर्ने काम हुँदै आयो (वैद्य, मोहन (किरण) – हिमाली दर्शन, पृ १०)।

यो पूर्वीय दर्शन, वैदिक परम्पराको घोर विरोधी चरित्र रुढ भएको इशापूर्व दोस्रो शताब्दीदेखि इशाको छैंठौं शताब्दीको बीचमा हो।

त्यसअघि नै लोकायत अर्थात् चार्वाक स्कुलले पूर्वीय दर्शनलाई भौतिकवादी चेतमा अभिसारित गराउन योगदान गरेको पाइन्छ। ऋग्वेदको नासदीय शुक्त, महर्षि गौतमको न्यायदर्शन र अक्षपाद गौतमका न्यायसूत्रहरू हिमाली उपमहाद्वीपमा फरक मतहरूका लागि उपलब्ध उदार भावभूमिको प्रमाण हो। यस्ता उदाहरण अनेकन थप्न सकिने अवस्था छ।

छान्दोग्योपनिषदमा उद्दालक आरुणीको व्याख्यामा भौतिकवादी चेतना भरपुर पाइन्छ। याज्ञवल्क्यको बृहदारयण्कोपनिषदमा आदर्शवादी व्याख्या अधिनस्थ भएको देखिन्छ। यसरी उद्दालक आरुणीको भौतिकवाद र याज्ञवल्क्यको आदर्शवादका बीचबाट पूर्वीय दर्शनमा दुई धाराबीचको संघर्ष व्यवस्थित रूपमा अघि बढ्यो (वैद्य, उही, पृष्ठ १७)।

पछिबाट आदर्शवादी धाराले चार्वाक धारामाथि निषेधको गजबार लगायो। तमाम इतर आवाजहरूलाई हतोत्साही बनाउन सकेको सामर्थ्य लगानी गर्‍यो।

मिथिला नरेश ‘जनक’ को सभामा विदुषी गार्गी वाचक्वनीमाथि बहसका क्रममा इतर विचारसहित प्रश्न उठाएपछि महर्षि याज्ञवल्क्यले निषेधको जुन व्यवहार गरे, आजपर्यन्त त्यो जारी छ। योजनाबद्ध चिन्तन र अभ्यासका रूपमा।

जनकको सभामा याज्ञवल्क्य, जनक वैदेह, जरत्कारव आर्तभाग, उषीस्त चक्रायण, गार्गी, विदग्ध सकल्य, जित्वाशैलिनी, उदङ्ग शौल्वायनजस्ता प्रतिस्पर्धी तथा शिष्यहरूको शास्त्रार्थ चलिरहँदा गार्गी वाचक्नवीले ‘ब्रह्मलोक कसमा ओतप्रोत छ?’ भनेर प्रश्न गरेपछि उत्तेजना र आक्रोशमा आएर याज्ञवल्क्यले गार्गीलाई हतोत्साहित पारे, ‘प्रश्नको सीमा पार नगर गार्गी, नत्र तिम्रो शिर उछिट्टिनेछ। प्रश्नको सीमा पार गरेर तिमी देवताको बारेमा अति प्रश्न गरिरहेकी छौ। गार्गी अति प्रश्न नगर।’

यसरी विश्वासमाथि उठेको प्रश्न, बहस र तर्क निषेध गर्ने र विमर्शकर्तालाई अपमानित गर्ने चिन्तन जसरी याज्ञवल्क्यले सार्वजनिक तवरले प्रदर्शन गरे, त्यसको सिको आजपर्यन्त जारी छ। मौलाएको छ तर मुर्झाएको छैन।

इशाको छैंठौं शताब्दीयताको समयमा विमर्शलाई संस्थागत स्तरमै निरुत्साहित गरियो। कट्टरताको बाटो आत्मसात गरियो। दर्शनको गतिलाई स्थिर बनाइयो। त्यसपछि कमसेकम चौध सय वर्षयता स्थिर स्वरूपमा रहेको त्यस समयको सामाजिक, आर्थिक अन्तरविरोधलाई सम्बोधन गर्न र समाजलाई दिशानिर्देश गर्न प्रणयन भएका, जारी गरिएका संहिता (नियम) हरूमा लपेटेर समाजलाई डोर्‍याउने कोशिस गरियो।

ती संहिता तत्कालीन समयका लागि अति नै उपयुक्त थिए पनि होला। तर, आजको सामाजिक यथार्थ र यसका अन्तरविरोधका आयामहरूलाई सम्बोधन गर्न कतिपय सन्दर्भमा अपर्याप्त र कतिपय सन्दर्भमा असान्दर्भिक र अनुपयुक्त रहेका प्राचीन भाष्य, प्रावधानमाथिको विमर्शलाई हामीले कसरी हेरिरहेका छौं?

हामीमा सब ठिक छ। हाम्रा प्राचीन चेतना सब ठिक छन्। जसले यसमा विमर्शको प्रयास गर्न खोजेको छ– ऊ पश्चिमा दलाल, क्रिश्चियन दलाल! यही होइन हाम्रो निष्कर्ष?

फड्को

पश्चिमले पनि बाइबलमाथि, पश्चिमा क्रिश्चियन समाजमा प्रचलित रुढी, कुप्रथा, दासता, भेदभावविरुद्धको बहसलाई आरम्भमा सकेसम्म खारेज गर्ने कोशिस गर्‍यो। आरोपित पनि गर्‍यो, लाञ्छित गर्ने कोशिस पनि गर्‍यो।

विमर्शले आकार लिन नपाओस् भनेर वैकल्पिक प्रश्न र विमर्शमाथि युद्धको ऐलानसमेत गर्‍यो। दमनको बाटो समात्यो। तर, सधैंभर होइन। सधैंभर दमन गरिराख्न, दबाइराख्न सकिँदैन भन्ने महशुस गरेपछि उसले विमर्शका लागि, वैकल्पिक बाटो छनौटका लागि मार्गप्रशस्त गर्न बाध्य भयो।

जतिन्जेल हामीले झैं प्रश्नलाई लाञ्छित गरिरह्यो, निसन्देह ऊ हामीभन्दा निकै पछाडि परिरह्यो। जब परम्परागत ‘अर्थोडक्स क्रिश्चियानिटी’ विरुद्ध विशाल प्रदर्शन (प्रोटेस्ट) गर्दै फरक मतका लागि स्थान माग्ने (प्रोटेस्टेन्ट) हरूलाई स्थान दियो, त्यसपछि त्यो समाज अभूतपूर्व विमर्श, छलफल, खोज, अनुसन्धान, अन्तर्क्रियामा अभिसारित भयो।

त्यही विचार, विमर्श, प्रश्नका लागि दिएको स्वतन्त्रता र सुविधाको परिणाम त हो, उसको आजको तरक्कीको जमिन।

शोषण, नियन्त्रण र दमनका अनेकन संयन्त्रको अकन्टक निरन्तरताका लागि आज पनि उसको कट्टरता, आक्रामकता कायमै छ। एकथान बाइबल बोकेर गरिब र हिनतरहरूको सभ्यता, संस्कृति, सम्पत्ति हत्याउने उसको कुटिल खेलो आज पनि निरन्तर छ। हामीसम्मै आइपुगेर ऊ पाल्सी आश्वासनलाई बाइबलको गाताभित्र हालेर धर्मान्तरमा सक्रिय छ।

तर, हामीले किन आफ्नो दर्शन, विचारले अभिसारित समाजलाई, मानिसहरूलाई अरूको आश्वासनसामु लत्रिनु नपर्ने अवस्थाले सम्पन्न बनाउन सकेनौं?

के कारण छ, भव्य र समृद्ध रहेको भनेर मखलेल हुने हामीले हाम्रो दर्शनका पथिकहरूलाई बाइबलका वितरकहरूको सस्ता आश्वासनसामु घुँडा दोब्राउनबाट जोगाउन नसक्नुको खास अन्तर्यमा?

हामीले सोची-हेरेका छौं यसबारे कहिल्यै गम्भीरतापूर्वक?

बिराएको बाटो

बेलायत चरम औद्योगिक पुँजीवादी (सामन्तीसमेत) मुलुक थियो। तर त्यहाँ फरक मतका लागि स्थान भएकैले समाजवादी-साम्यवादी भाष्यकार कार्ल मार्क्सले ओत पाए। एरिस्टोटल, टोलमी, कोपर्निकस, ग्यालिलियो, डार्बिन, न्युटन, आइन्सटाइनहरूले एकमा रहेको कमजोरीमाथि विमर्श गर्दै, थप अध्ययन गर्दै परिस्कृत अवधारणाहरू अघि सारे।

डार्विनको सिद्धान्त अन्तिम या न्युटनको खोज अन्तिम मानिएको भए त्यसपछि थप खोज हुने थिएनन्। ती सिद्धान्तमाथि, अवधारणामाथि थप विमर्शका लागि जुन स्थान उपलब्ध भयो, त्यसले आइन्सटाइन, हकिङहरू जन्मिए। र, त्यो क्रम निरन्तर छ। हामी कहिले विमान पण्डित अच्युतानन्द लामिछानेलाई त कहिले अनेकन महावीर पुनहरूलाई हतोत्साहित बनाउनमै राज्यको तागत लगाइरहेका छौं।

दर्शनको क्षेत्रमा त्यस्तै छ।

थल्स, पाइथागोरस, एरिस्टोटल, अर्किमिडिज, डिमोक्रिटसहरूको मतलाई अन्तिम सत्य, अनुलंघनीय दैवी सत्य मानेर बसेको भए न हेगेल अघि आउँथे न हेगेललाई अन्तिम सत्य ठानेको भए कार्ल मार्क्सहरू।

पश्चिमको मात्रै के कुरा, पूर्वीय सनातन दर्शनको चरम उदारवादी चरित्रकै कारण बौद्ध दर्शनले सनातन दर्शनको प्रणयन भूमिमै प्रज्वलित हुने अवसर पायो।

वैदिक सनातन दर्शनमा निहीत अपरिमित स्वतन्त्रताको जगमा उभिएर बौद्ध दर्शनले हिमाली उपमहाद्वीपमा अंकुराउने, फैलने र पल्लवित हुने अवसर पायो।

प्रकृतिवादी, जीवनमुखी सनातन दर्शनले आजझैं कट्टरताको या फरक मतमाथि आरोप, हमला र निषेधको बाटो समातेको भए बौद्ध दर्शनले समाजमा मौजुद हिंसा (बलि प्रथा), अतिउपभोग, सनातन दर्शनको आदर्शवादी धारामाथि जोडदार प्रश्न उठाएर विमर्शको मैदानमा भौतिकवादी चेत, अहिंसा र जीवनका कटु यथार्थहरूलाई लिएर वाद, विवाद र रूपान्तरणको दर्शन संकथन गर्ने अवसरै पाउने थिएन।

मझ्झिम मार्गीहरूको भूगोलमा विश्वचेतनाका अग्रदूतका रूपमा सिद्धार्थ गौतमले गौतम बुद्धको स्वरूपमा कायाकल्प गर्ने अवसरै पाउने थिएनन्।

जब पूर्वीय सनातन दर्शनले अभिसारित समाजमा धार्मिक, सामाजिक, शासकीय सत्ताका अतिरथीहरूले बौद्ध दर्शनको फैलँदो प्रभावबाट असुरक्षित महशुस गरे, शनै सनातन दर्शनलाई हिन्दूत्वको आरनमा पिटेर कट्टरताको पाइन घोलिदिए। इशापूर्व दोस्रो शताब्दीदेखि इशाको छैठौं-सातौं शताब्दीको बीचमा पूर्वीय सनातन दर्शनले अनेकन आवरण ओढेर कट्टर हिन्दू मतको स्वरुप धारण गर्‍यो।

कट्टरताले इतर विचारलाई, प्रश्नलाई, विमर्शलाई निषेध गर्‍यो। सनातन दर्शनका उत्तराधिकारी (धार्मिक, सामाजिक, शासकीय सत्ताका उत्तराधिकारी) ले सनातन दर्शनका उदार संहिताहरू संशोधन, सम्पादन गरे। तिनैको बलमा समाजलाई कज्याउँदै पूर्वीय समाजलाई कट्टरताको साङ्लोले बाँधिदिए।

निःसन्देह चेतनालाई साङ्लोले बाँधेपछि त्यसले समाजलाई दिनसक्ने भनेकै निराशा, हताशा, पछौटेपन सुदूर विगतको अंहकारपूर्ण महिमामण्डन मात्रै हो। जुन समाजसँग बाँकी दुनियाँलाई देखाउन मिल्ने वर्तमान समयको कुनै धर्सोसम्म पनि मौजुद हुँदैन, त्यो समाज सुदूर विगतका पुर्खाहरूको नलीहाड देखाएर बाँकी दुनियाँ तर्साउन अभिसप्त हुन्छ। आज हामी त्यही त गरिरहेका छौं। वर्तमानको अयोग्यताको अत्यासलाग्दो हविगत छोप्न चौध सय वर्षभन्दा अघिका पुर्खाहरूको नलीहाड फुकेर कोलाहल मच्चाउनु नै हाम्रो योग्यता भएको छ।

एउटा समयको चेतनाले निकै लामो समयपछिको परिस्थितिलाई सम्बोधन गर्न नसक्नु या बदलिँदो समयको चेतनासँग मेल खान नसक्नु निसन्देह पुरानो समयको चेतनाको समस्या होइन। बरू पुरानो संहितामा निर्भर रहेर त्यसैको बलमा समाजलाई बाँधेर राख्ने र नयाँ चेतना, संहिताको विकासको आवश्यकतासमेत महशुस नगर्ने नयाँ समयका सिर्जनशीलता मरेका मानिसहरूको टाटपल्ट्याइँ हो।

विचार रेखा

जब मानव समाजले फिरन्ते शिकारी युगबाट कृषि युगमा फड्को हान्यो, पुरानो शिकारी युगको अभ्यासले कृषि कर्ममा अभिसारित नयाँ समाजको समन्वय र व्यवस्थापन थेग्न सकेन। नयाँ समाज सञ्चालन र व्यवस्थापनका लागि एउटा– एउटा गर्दै नयाँ–नयाँ संहिताहरूको प्रणयन भयो।

त्यो प्रक्रियाले एउटा लामो समयलाई थेग्दै, झेल्दै ल्याए पनि जब समाजमा चलायमान बसाइसराइ र पराजितहरूमाथि (जो अन्तबाट आएर पराजित गरेकाहरूको संहितासँग अभ्यस्त थिएनन्) कजाई चलाउन अब थुप्रै हजार वर्ष लगाएर थपिँदै थपिँदै जम्मा गरेका संहिताहरू एकत्रित गरिनुपर्ने अवस्था आयो।

सिद्धान्त ज्योतिष र भौतिकवादको अथाह ज्ञानलाई आफ्नो योग्यताको उत्कृष्टतामा नियमबद्ध गर्दै त्यसैका आधारमा पृथ्वीको आयुको भव्यतम व्याख्या र आफ्नो समयको आविष्कार, खोज, शोधसमेत उल्लिखित भएका प्राचीन वैदिक संहिताहरूमा आदर्शवादी सामाजिक चेत पनि उत्तिकै जब्बर तवरले उपस्थित थियो। समाजमा विद्यमान अन्तरविरोध र यथार्थता त्यस्ता संहितामा प्रतिविम्बित हुनु स्वाभाविक थियो। उसै पनि सामाजिक, धार्मिक, राजकीय संहिताहरू सामाजिक चेतना, योग्यता र अवस्थाको प्रतिविम्ब हुँदै हो।

त्यसरी सामाजिक संक्रमण र नयाँ अन्तरविरोध व्यवस्थित गर्ने, समाजमा मौजुद ज्ञान र चेतना सुत्रबद्ध गर्ने क्रममै ऋग्वेदका शुक्तहरूको प्रणयन भयो। त्यो एकैपटक, एउटै समयमा भएन। निकै लामो समयकालको अन्तरालमा एकपछि अर्को गर्दै थपिँदै, परिमार्जित हुँदै, संश्लेषित हुँदै भिन्न भिन्न व्यक्तिहरूबाट प्रणयन भयो।

हामी हिँडेको बाटो

नेपाली समाजमा स्वतन्त्र र सिर्जनशील मानिने लेखन विधासमेत दैवी, शासकीय आराधना र विरुदावलीको घेराबाट बाहिर निस्कन सकेन, निकै लामो समयसम्म।

नेपालको नाम उल्लिखित प्रयागको शिलास्तम्भदेखि लिच्छवि, मल्ल, शाहकालीन अभिलेखहरूको बृहत्तर अंश प्रशस्तिमा समर्पित छ। त्यसो हुनु अन्यथा पनि छैन। ती तमाम अभिलेख आ-आफ्ना पुर्खा, शासक, भूगोल, आस्थाको यश फैलाउने स्वाभाविक उद्देश्यले नै राखिएका थिए। आफ्नो समयको चेतनाको तुलोमा ती प्रगतिशील, मानव कल्याणकारी, सामाजिक कर्महरू थिए पनि।

चाहे आरम्भिकमध्ये पर्ने पशुपति, चाँगुनारायणका अभिलेख होऊन् या प्रज्ञापारमिता, वंशावलीहरू सबै दैवी, शासकीय प्रशस्तिमा समर्पित छन्। त्यसबाट बलै निस्किए समृद्ध या शक्तिशाली व्यक्तिहरूको महिमा वर्णनमा। उसो त त्यसैमा तत्कालीन सामाजिक चेतनामा अधिनस्थ दर्शनको प्रकटीकरण पनि छ।

हाम्रो सिर्जनशील मानिएको लेखन परम्पराको आरम्भिक प्रवृत्ति हेर्दा विद्यारण्यकेशरी, वसन्त शर्मा, यदुनाथ पोखर्‍याल, भानुभक्त आचार्य, पतञ्जली गजुर्‍यालहरूको लेखनी (आचार्य, बाबुराम– पुराना कवि र कविता) पनि दैवी वन्दना, सत्ता प्रशस्ति, मिथकीय कथ्यहरूको स्थानीयकरणमा ज्यादा र अलिअलि स्वतन्त्र विचार प्रवाह गर्ने प्रयाससम्ममा विघटित छ।

दैवी-धार्मिक, शासकीय प्रधानताको चेतनाले कज्याएको समाजमा उभिएका ती स्रष्टाहरूमा आफ्नो समयको चेतना प्रतिविम्बित हुनु स्वाभाविक पनि छ। तिनको रचनामा आजको समयको चेतनाको निलडाम छामी हेर्न खोज्नु उपयुक्त छैन। तर, हाम्रो विद्वत परम्परा हेर्दा आराधना, प्रशस्ति, मिथकीय कथ्यहरूको बढाइचढाइँबाट निस्किएर स्वतन्त्र चिन्तन, मनन र विमर्शमा अभिसारित हुन सकेको पाइन्न।

राजीवलोचन जोशी, शिखरनाथ सुवेदी, मोतीराम भट्ट, चक्रपाणि चालिसे, सोमनाथ सिग्द्यालजस्ता नेपाली साहित्यका माध्यामिक कालीन मानिने समयसम्मका लेखकहरूलाई (सं भट्टराई, घटराज– माध्यामिक कालीन कवि र कविता) पनि परम्परागत लेखन चेतनाको प्रशस्ति कक्षाबाट माथि उक्लिन निकै सकस परेको देखिन्छ। यो परम्पराले मौजुद चेतनामाथि प्रश्न गर्न सिकाएन। भक्तिभाव प्रदर्शन गर्न, बफादारिता प्रदर्शन गर्न सिकायो।

कृष्णलाल अधिकारीको रचनाकालको वरिपरिबाट सत्तासीनहरूबाट वितरित चेतनाको भाष्यसँग नेपाली विद्वत चेतनाले टकराउन आरम्भ गरेको देखिन्छ, परोक्ष तवरमै सही। परम्परागत लेखन अभ्याससँग तथ्य र सत्यको आलोकमा उभिएर बाबुराम आचार्य, नयराज पन्त, लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमालहरू टकराउन आरम्भ गरेको पाइन्छ। ती पनि एउटा शासकीय सत्तासँग टकराए पनि अर्को शासकीय सत्तासामु लत्रेको देखिन्छ।

यसले यहाँको चेतनालाई वफादारिता, स्तुति र प्रशस्तिको भाष्यले डामिदियो। चाकरी र प्रशस्तिको चेतमा उभिएको मानिसले आफूभन्दा माथिकाको चाकरी गर्ने भयो र आफूभन्दा तलकालाई चाकरी गराउने भयो। आरती र चाकरी बाहिरबाट स्वतन्त्र अस्तित्वका साथ उभिन खोज्नेहरूलाई अपमानित र हतोत्साही गराउने अभ्यास रुढ भयो। प्रश्न मन नपराउने र विमर्शलाई हियाउने चेतना आनुवंशिक उत्तराधिकारका रूपमा हस्तान्तरण भएर आयो।

बिसौनी

यसो पनि होइन कि बितेको डेढ हजार वर्ष आसपास पूर्वीय दर्शनको क्षेत्रमा केही पनि काम भएन। जति भए ती इशाको छैठौं शताब्दी आसपासभन्दा पहिल्यै प्रणयन भएका विचार, दर्शन, ज्ञानको व्याख्या, अपव्याख्या र संशोधनमा सीमित देखिन्छ। पूर्वीय सनातन दर्शनलाई सामन्तवाद र ब्राह्मणवादी धर्म चेतनाका रूपमा चरम भ्रष्टीकरण गर्नमा केन्द्रित रहेको देखिन्छ।

त्यही स्वार्थ पूरा गर्न पहिले श्रवण ज्ञानका रूपमा अभ्यासमा रहेका वेदहरूमा यही पछिल्लो समय विकसित चेतना क्षेपक गराइयो। साराका सारा वैदिक दर्शनमा नयाँ मान्यता प्रक्षिप्त गराइयो। सारमा, सनातन दर्शनलाई रुढीका रूपमा, भौतिकवादी धारा कमजोर पारेर आदर्शवादी धारामा भ्रष्टीकरण गरियो। प्रश्न, विमर्शमाथि निषेधको तरबार उज्याइयो।

त्यही निषेधित विषालु चेतनामा अभ्यस्त भएकाहरूको समाजको रूपमा स्खलित भयो हाम्रो समाज पनि। किनभने, पारिवारिक, सामाजिक, धार्मिक, शासकीय सबैखाले सत्ता सञ्चालनको स्रोत तिनै धार्मिक चेतनामा आश्रित थिए । सारा सामाजिक परिपाटी आश्रित रहेको चेतना नै विमर्शलाई हेय दृष्टिले हेर्ने, निरुत्साहित गर्ने स्तरमा विघटित भएपछि त्यसले आश्रितहरूलाई सम्पन्नतामा जान बन्देज गर्‍यो।

हरक्षेत्रको विकास, उन्नति, प्रगति वाद, विवाद र रूपान्तरणको प्रक्रियाबाट अघि बढ्ने हुँदा त्यो प्रक्रिया नै निरुत्साहित भएपछि समाजको गति जमेको पानीझैं हलचल नगरी एकै अवस्थामा रहने भयो।

बग्न पाए न हो कहीँ पुग्न सक्ने पानीले पनि। नत्र त कुवामै जमिरहन्छ र एउटा अवस्थापछि सुकिजान्छ। हामी त्यस्तै भयौं।

पहिले कचौरामा जमिबस्यौं र विस्तारै सुकिजान लाग्यौं।


Your Views
Related News