नेपालमा जातीयताका आधारमा गरिने विभेदलाई कानूनी रुपमा निषेध गरिएको छ । यस्तो विभेदलाई संविधानले नै दण्डनीय बनाएको छ । तैपनि व्यवहारमा विभेदको अन्त्य हुन सकिरहेको छैन ।

जाति तथा उत्पत्ति, पेसा, वर्ण, लिङ्ग र क्षेत्रको आधारमा गरिने भेदभावपूर्ण घटनाहरु दिन प्रतिदिन घट्दै गइरहेका छन् । जातीयताका आधारमा सार्वजनिक स्थान, मठमन्दिर, पूजाआजा, भोजभतेर, पार्टी पौवा, सेवा प्रवाहमा प्रवेश गर्न निषेध गरिएको छ । अन्तरजातीय बिहे गर्दा समाजबाट बहिष्कृत भई दुव्र्यवहार खेप्नु परेका घटनाहरु पनि ताजै छन् । दलितसँग बिहे गरेकै कारण छोरीलाई आफ्नो बाबुको दाहसंस्कार गर्नबाट वञ्चित गरिएको छ ।

पौराणिककालतर्फ फर्किँदा जातीय विभेदलाई कसरी लिइयो ? जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी अपराध के साच्चिकै पौराणिककालदेखि नै प्रचलनमा थियो ? कसरी यसको सुरुवात भयो ? अध्ययनको विषय बनाउँदा पौराणिक कालखण्डमा आ–आफ्नै तरिकाले व्याख्या–विश्लेषण गरिएको पाइन्छ ।

हिन्दु धर्मशास्त्रका अनुसार ब्रहामाजीले प्राणीको श्रृष्टि गर्ने क्रममा मनुष्यको श्रृष्टि गरेको पाइन्छ । यसरी श्रृष्टि गरेर कामको विभाजन पनि गरेको विषय उल्लेख छ । मुखबाट जन्मेकाहरुलाई पूजापाठमा सरिक हुने भनी ब्राहमण नाम दिए । बाहुबलबाट जन्मेकाहरुलाई बहादुरताको संज्ञा दिइयो र देशको रक्षा गर्ने क्षत्री कहलाए । त्यस्तै पेटबाट जन्मिएकाहरुलाई व्यापार–व्यवसायमा संलग्न रहने भनी वैश्य नाम दिइयो । पाइतलाबाट जन्मिएकाहरुलाई सबैको सेवा गर्ने भनी शुद्र नामाकरण गरिएको भेटिन्छ । त्यहाँ कुनै जातीय विभेद, छुवाछूतको विषय थिएन । केवल कामको लागि मात्र नामाकरण गरी छुट्टाइएको पाइन्छ ।

महाभारतकालमा वर्ण विभाजनलाई पूर्णरुपमा बंशाणुगत नभइकन श्रम विभाजनको रुपमा हेरेको पाइन्छ । दुर्योधनले कर्णलाई दासपुत्रको रुपमा नहेरेर वीर योद्धाको सम्मान दिएर स्वीकार गरेको देखिन्छ । यसैगरी कर्णलाई भीष्म, द्रोण र परशुरामसरह सम्मान दिएको भने देखिँदैन । क्रृवेदको पुरुषसुक्तमा हरेक मानिसको मुख र मस्तिष्कमा ज्ञान र बुद्धिलाई बुझाउने अङ्ग भएकोले ब्राहमणको संज्ञा दिइएको पाइन्छ । त्यसैगरी पाखुरालाई वीरता प्रदान गर्ने साहसी मानी क्षत्री संज्ञा दिएको पाइन्छ । जाघले कृषिजन्य वा व्यापार, व्यावसायिक कामको अगुवाई गर्ने हुँदा बैश्य नाम दिएको र पाइतालाहरु हिडडुल गर्दा फोहोरसँग लसपस हुने भएकोेले शुद्र नाम दिएको छ । एउटै शरीरका विभिन्न अङ्गका भिन्न–भिन्न काम अनुसार दिइएका यी नामले प्रत्येक व्यक्तिमा ब्राहमण, क्षत्री, वैश्य र शुद्र भन्ने कुरा बताएको छ । त्यहाँ कुनै छूत–अछूत, तल्लो जात, माथिल्लो जात भनी विभेदको संज्ञा दिइएको पाइँदैन । केवल एउटै शरीरका अङ्गको मात्र काम फरक थियो ।

मनुस्मृतिबाट शुरु भएको सामाजिक वर्र्गीकरण हिन्दू धर्मका सबै ठाउँमा मिल्दोजुल्दो तरिकाले व्याख्या गरिएको देखिन्छ । ईशाको चौथो शताब्दीतिर मल्ल वंशजका तत्कालीन राजा जयस्थिति मल्लले सामाजिक सुधारको नाममा समग्र मानवलाई चार वर्ण छत्तीस जातमा विभाजन गरेर नियम बसालेका थिए । त्यसपछाडि मनुका विभाजनले समाजमा निरन्तरता नपाएको देखिन्छ । त्यसैगरी जयस्थिती मल्लले शुरु गरेको वर्ण विभाजन मुलुकी ऐन, १९१० ले (जङ्गबहादुर राणाको पालामा) जातीय भेदभाव तथा छुवाछूतलाई मानेको छ ।

मलामी जान, बिहे भोजभतेर, पूजाआजामा सबै वर्ग सहभागी हुन नपाउनेजस्ता कुरुतिलाई प्रश्रय दिएको देखिन्छ । त्यस्तै हाम्रो समाजमा जातिगत मात्रै नभएर दलित, दलितबीच पनि विभेद त्यत्तिकै पाइन्छ ।

मुलुकी ऐनको महल, १६२ मा छोइछिटो हाल्नु पर्ने, नपर्ने, पानी चल्ने, नचल्ने भनी उल्लेख गरिएको छ । जयपृथ्वीबहादुर सिंह र चन्द्रशम्शेरको पालामा तल्लोजात, अछूत जात, डुम जस्ता शब्दहरु प्रयोग गरिएको पाइन्छ । विसं २००७ पछि दलितवर्र्ग, पिछडिएको वर्र्ग, उत्पीडित, निमुखा, सुविधावञ्चित, सीमान्तकृत, बहिष्कृत समुदाय, शोषित पीडित, पछाडि पारिएका समुदाय भनी शब्दहरु प्रयोग गरिएको पाइन्छ । नयाँ मुलुकी ऐन, २०२० सम्म आईपुग्दा अदालती बन्दोबस्तीको महलले कसैलाई जातिपाति धर्म, वर्ण वा कामको आधारमा छुवाछूत भेदभावको ब्यवहार गरी बहिस्कार र वञ्चितीकरण गरेमा तीन महिनादेखि ३ वर्षसम्म कैद वा एक हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरेको पाइन्छ ।

त्यसैगरी नेपालको संविधानको धारा २४ बमोजिमको छुवाछूत तथा भेदभावविरुद्धको हक, धारा १८ बमोजिमको समानताको हक, धारा १६ बमोजिमको सम्मानपूर्वक बाँच्न पाउँने हक तथा धारा ४० दलितको हकविपरीत रहेको छ । त्यसैगरी त्यस्तो कार्य मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को धारा १ समेतको प्रतिकूल छ । त्यस्तै नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र १९६६ को धारा २६ मा सबै व्यक्तिलाई समान र प्रभावकारी संरक्षणको प्रत्याभूति प्रदान गरिने ब्यवस्था रहेको छ । सबै किसिमका जातीय भेदभाव उन्मूलन गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६५, र जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ को धारा ३ (१) ले समेत जातीय भेदभाव र छुवाछूतलाई वर्जित गरेको छ । नेपालले नागरिक तथा राजनीतिक अनुबन्ध, महिलाविरुद्ध हुने भेदभावविरुद्धको अधिकार, यातनाविरुद्धको महासन्धि, बाल अधिकार, अपाङ्ग भएका ब्यक्तिको अधिकार लगायतका महासन्धिको पक्ष राष्ट्र भएर समानता, जीवन मर्यादा, स्वतन्त्रता, अविभेदलाई स्वीकार गरेको छ ।

यसरी कर्मका आधारमा विभाजन गरिँदैआएको वर्र्गलाई समाजका गलत किसिमका व्याख्या र शासन गर्ने शैलीले गलत मान्दै आएको देखिन्छ । समाजमा नकारात्मक सन्देश फैलाई जातिपाति छुवाछूत अगाँल्दै आएको पाइन्छ । परिणामस्वरुप समस्या थपिँदै गएको छ । जातीय भेदभाव तथा छुवाछूतजस्तो सामाजिक अपराध समाजमा यथावत रहेको छ । हिन्दू धर्मलाई नकारात्मक तरिकाबाट गलत व्याख्या गरी गरिबीमाथि आर्थिक प्रलोभनको फाइदा उठाई किस्चियन धर्म परिवर्तन गर्न बाध्य बनाइएको तथ्यहरु पनि प्रशस्तै भेटिन्छन् ।.सरोकारवाला निकायका अधिकारका कुरा गर्ने पदाधिकारीहरुले जिम्मेवारी र दायित्व बिर्सिएको देखिन्छ ।

मलामी जान, बिहे भोजभतेर, पूजाआजामा सबै वर्ग सहभागी हुन नपाउनेजस्ता कुरुतिलाई प्रश्रय दिएको देखिन्छ । त्यस्तै हाम्रो समाजमा जातिगत मात्रै नभएर दलित, दलितबीच पनि विभेद त्यत्तिकै पाइन्छ । जस्तै कामीले छोएको सार्कीले नखाने । मन्दिर बनाउँदा दलितलाई प्रयोग गरिन्छ । तर, मन्दिर बनी सकेपछि पूजा गर्न मन्दिर प्रवेशमा रोक लगाउने प्रथा, परम्परा ज्यूँकात्यूँ भेटिन्छन् । बिनाआधार जातीय भेदभाव तथा छुवाछूत हाम्रो धर्म, संस्कारको रुपमा जरा गाडी सांस्कृतिक रुपमा जकडिएर रहेको छ । सार्वजनिक स्थल, समारोह, धारा, कुवा, इनार, मजदुरी गर्ने ठाउँ आदिमा छुवाछूत तथा विभेद रहेको छ । अधिकार खोजेमा सामाजिक विखण्डन आउँछ ।

आफ्नो विषयमा पछि बोली दिने कोही हँुदैनन् भनेर जातीय विभेद तथा छुवाछूतको घटनालाई धेरैले बाहिर ल्याउन नसकेको देखिन्छ । मानवअधिकारकर्मी, दलित अधिकारकर्मी र राजनीतिक दलविच पनि विभेद रहेको छ । समाजमा गरिबी र अशिक्षाको कारण जातीय भेदभावले प्रश्रय पाउँदैआएको हो । केही समाजका प्रतिनिधि घटनामा २०७५ साल साउन १४ मा दैलेख नारायण–१०, भवानीकी ३५ वर्षीया लछिमा सुनारलाई धारामा गाग्रो छोएको निहुँमा स्थानीय राजकुमारी न्यौपानेले निर्घात कुटपीट गरिन् । त्यस्तै दैलेखका एक बृद्ध आचार्य बुवालाई कार्यक्रममा दलित नानीको हातबाट खाएको निहुँमा परिवार, समाजले बहिस्कार गरेको समाचार प्रकाशित भएको थियो । दलित र गैरदलित बिहे गर्दा समाजले नस्वीकारेकाले सम्बन्ध विच्छेद, आत्महत्या जस्ता घटना घटेका छन् । रुकुमको घटना प्रेममा दलित भएकै कारण नवराज बिक लगायतका युवाहरुले ज्यान गुमाउनु प-यो । रौतहटको गरुड, सप्तरी, कालिकोट, कैलाली, सिराह र इलाम लगायत जिल्लामा समेत दलित समुदाय माथि हत्या हिंसाका घटनाहरु भइरहेको छ । संघीय व्यवस्थापिका सांसददेखि स्थानीय तहका जनप्रतिनिधिहरु समेत जातीय भेदभाव र छुवाछूतको मारमा पर्नु परेको घटनाहरु पनि पत्रपत्रिकामा देखिन्छ । मानवअधिकार वर्षपुस्तक इन्सेक–२०२० का अनुसार ३ वर्षमा जातीय विभेदका घटनाहरु हेर्दा सन् २०१७ मा ४५ वटा, २०१८ मा ६२ र २०१९ मा ६२ वटा घटनाहरु अभिलेख भएको छ ।

दलित, गैरदलित, ज्येष्ठ नागरिक र अविभावकबीच बुझाइमा एकरुपता नहुनु पनि समस्याको विषय बनेको छ । बुढापाका उमेरका व्यक्तिहरुमा दलितहरुमाथि भेदभाव तथा छुवाछूत गर्नु हँुदैन भन्ने सोच सकारात्मक रुपमा परिवर्तन गर्न नसकेको प्रशस्तै उदाहरणहरु भेटिन्छ । के गर्दा भेदभाव र छुवाछूत हुन्छ ? उजुरी कहाँ गर्नेँ ? भेदभाव भएमा उपचारको व्यवस्था के ? लगायत सामान्य जानकारी समेत विकासका मुल धारमा पछाडि परेका वर्गहरुलाई थाहा छैन । नचिनेको ठाउँमा सार्वजनिक रुपमा छुवाछूतको खासै प्रभाव देखिँदैन । तर, चिनेजानेको ठाउँमा बुढापाकाहरुले छोइछिटोलाई जोड दिएका हुन्छन् । परम्परारुपमा चली आएको प्रथालाई धर्मसँग जोडिएर हेरिएको उदाहरण दूरदराजमा प्रशस्तै छन् । कूल देवता रिसाउँछन् भनी जातीय विभेद गरेको समेत पाइन्छ ।

यस्ता अमावीय र आपराधिक घटना हुनु भनेको समाजलाई बिखण्डनतर्फ धकेल्नु हो । यसकारण समयमै भए गरेका राष्ट्रिय–अन्तर्राष्ट्रिय नीतिहरुको पूर्ण कार्यान्वयनमा जोड दिनुपर्दछ । विद्यालयस्तरमा नै सकारात्मक तरिकाबाट जनचेतना जगाउने काम गर्नु पर्दछ । समाजमा सबैलाई समान ब्यवहार गरेर एकाकार हुनका लागि जनप्रतिनिधि र सरोकारवाला निकायले अन्तरघुलनजस्ता कार्यक्रममा जोड दिनु पर्नेछ । जातीयता र धार्मिकताबीच खाडल आउन सक्ने सम्भावना हुन्छ । यस्तो समस्या आउन नदिनका लागि धार्मिक बहस हुन अति जरुरी देखिन्छ । हाम्रा धार्मिकगुरुहरुबाट नै छुवाछूत भन्ने कुरा कुनै पनि धर्म ग्रन्थहरुमा छैन । सृष्टिकालमा कार्य विभाजन गर्दा प्रयोग गर्दे आएकोे विषयलाई गलत संस्कारको रुपमा प्रयोग भयो भन्ने बुझाउन स्थानीय तहबाट नै प्रचार प्रसारमा जोड दिनु पर्ने देखिन्छ । सरोकारवालाहरु सबैले उच्च मनोबलका साथ परिवर्तनको संवाहक बनी देखाउनुपर्दछ । जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी विषय हेर्ने प्रत्येक सरकारी कार्यालयमा फोकल अफिसरको व्यवस्था हुनु पर्ने साथै मिडियाले पनि जातीय विभेद तथा छुवाछूतविरुद्ध प्रचारप्रसारमा जोड दिनु पर्ने आवश्यक हुन्छ । जातीय भेदभाव तथा छुवाछूतजन्य व्यवहारको न्यूनीकरणका लागि सरोकारवाला निकायलाई जिम्मेवार र जवाफदेही बनाउनु पर्दछ । सरोकारवाला निकायसँग समन्वय, सहकार्यमा जोड दिई जनचेतनामूलक कार्यमा जोड दिनु पर्ने देखिन्छ । जातीय भेदभाव तथा छुवाछूतजन्य व्यवहार स्थानीय तहबाट नै प्रभावकारी रुपमा सूक्ष्म, निष्पक्ष अनुगमन, अनुसन्धान गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउनु पर्दछ ।

धार्मिक क्षेत्रमा काम गर्ने पण्डितहरुलाई छुवाछूतजन्य व्यवहार सामाजिक कुसंस्कार, समाजको जघन्य अपराध, हो । मानिस सबै एउटै ईश्वरका सन्तान हौँ । मानव–मानवबीचमा कुनै पनि फरक छैन भनी बुझाउन प्रचारप्रसार गर्न लगाई जनचेतना जगाउनु आजको आवश्यकता हो । मानव–मानव भएर बाँच्न पाउनु नै विभेदको अन्त्य हुनु हो । सम्मानित र मर्यादित जीवन जीउन पाउनु नै मानवअधिकारको सुनिश्चितता प्रदान गर्नु हो ।

आचार्य मानवअधिकार अधिकृत हुन् ।


Your Views
Related News