काठमाडौं : कोरोना संक्रमणको दर कम भए सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष प्याकेज ल्याउने भएको छ। ६ महिनादेखि ठप्प पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संक्रमणको अवस्था कम हुने वित्तिकै संगठित क्षेत्रका व्यक्तिहरुलाई संगठित रुपमा देश दर्शन गराउने बताए। राजधानीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले संस्थान, वित्तीय क्षेत्र, शिक्षा क्षेत्रका व्यक्तिहरु, शिक्षक र कर्मचारी सबैलाई संगठित रुपमा देश दर्शन गराउने तयारी सरकारले गरेको बताए। उनले यो अभियानमा साथ दिन नीति क्षेत्रहरुलाई समेत आग्रह गरेका छन्। विश्‍वका जुनसुकै मुलुकले पनि आगामी दुई वर्ष आन्तरिक पर्यटनलाई जोड दिने नीति लिएको उल्लेख गर्दै उनले नेपालको सन्दर्भमा पनि आन्तरिक पर्यटनले नै धरासायी बनेको पर्यटन क्षेत्रलाई माथि उकास्‍न सहयोग पुग्‍ने बताए। मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नै हप्तामा दुई दिन सार्वजनिक बिदाको अवधारणा अघि सारेको उनले बताए।  हप्तामा दुई दिन विदाको व्यवस्था मिलाउन विभिन्‍न मन्त्रालयसँग अन्तरमन्त्रालय छलफल भइरहेको उनले बताए। पर्यटन सम्वद्ध सेवा प्रदायक संस्था तथा कम्पनीले समेत आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विशेष योजना सार्वजनिक गरिरहेका छन्।
READ MORE
विपद्‌ग्रस्त सिन्धुपाल्चोकलाई सामान्य अवस्थामा फर्काउन सक्रियता देखाउँदै सभामुख
असोज १०, २०७७ काठमाडौँ : सिन्धुपाल्चोक जिल्लालाई निरन्तर प्राकृतिक प्रकोपले लपेटिरहेको छ। जनधनको क्षति बढेपछि सरकारले बागलुङसहित सिन्धुपाल्चोकलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। सरकारले विपद्‌ग्रस्त क्षेत्र घोषणा गरेसँगै विश्व बैंकमार्फत नेपाललाई प्राप्त करिब ६ अर्ब रुपैयाँ लगानी गरेर संकटग्रस्त क्षेत्र घोषित जिल्लामा पुनर्निर्माणका काम थालिने सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली बताउँछन्। अब सिन्धुपाल्चोकमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत पुनर्निर्माणका काम हुनेछ। सिन्धुपाल्चोकमा २०७७ असारयता बाढी पहिरोले ठूलो जनधनको क्षति भएको छ। २०७७ साल असार, साउन र भदौ महिनामा मात्र बाढी र पहिरोका कारण सिन्धुपाल्चोकमा ७३ जनाको मृत्यु, ३९ बेपत्ता, १२७ घर पूर्णरूपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले बताए।  विपद संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक जिल्लामा विस्थापितहरूका लागि अस्थायी स्थानान्तरण र उनीहरूको स्थायी बसोबासका लागि सभामुख अग्निप्रसाद सापकोटाले पहल गर्दै आएका छन्। उद्दार, राहत, पुनःस्थापना र पुनर्निर्माण प्रकृयामा उनी सक्रिय देखिएका छन्‌।​ सिन्धुपाल्चोक सभामुख सापकोटाको गृहजिल्ला पनि हो।  राहत र उद्दारमा निरन्तर सभामुख सापकोटाले २०७७ असार २५ गते बाह्रबीसेको जम्बु, खागदल पुगेर अवस्थाबारे जानकारी लिई सोही दिन चौतारा पुगेर विपद्‌ व्यवस्थापन समितिका उपलब्ध व्यक्तिहरूसँग छलफल तथा राहत उद्दारका लागि आवश्यक निर्देशन दिएका थिए। यस्तै, २०७७ साउन ३० गते जुगलको लिदीमा पहिरो गएको केही घण्टाभित्रै सभामुख सापकोटा त्यहाँ पुगेका थिए। शुरूमा सिन्धुपाल्चोक सदरमुकाम चौतारा पुगेका उनले आफू चढेर गएको हेलिकोप्टरमा सुरक्षाकर्मी पठाएर सोही हेलीमार्फत ४ घाइतेको उद्दार, पहिरोस्थल पुगेर जानकारी लिने, राहत, उद्दार तथा स्थानान्तरणको विषयमा काम हुने स्थानीयलाई जानकारी गराएका थिए। उनले २०७७ साउन ३२ गते लिदी, जम्बु, जुरे पहिरो पीडितका समस्या, अस्थायी र स्थायी स्थानान्तरणबारे गृहमन्त्री राम बहादुर थापासँग सिंहदरबारमा छलफल गरेका थिए। जोखिममा परेका बस्तीहरूको भौगर्भिक अध्ययन सापकोटाले २०७७ भदौ ८ गते पहिरोमा परेकाहरूको खोज तथा उद्दार, राहत, अस्थायी स्थानान्तरण, जोखिमयुक्त बस्तीहरूको भौगर्भिक अध्ययनका लागि टोली पठाउने, स्थायी स्थानान्तरणका लागि लिइने पहल र अरनिको राजमार्ग व्यवस्थित गर्ने लगायतका विषयमा सिंहदरबारमा उच्चस्तरीय छलफल आयोजना गरे।  छलफलमा गृहमन्त्री, अर्थमन्त्री, भौतिक योजनामन्त्री, बागमती प्रदेशका मुख्यमन्त्री, सिन्धुपाल्चोक क्षेत्र नं १ का सांसद, स्थानीयतहमा जनप्रतिनिधि पनि सहभागी थिए।  सभामुख सापकोटा २०७७ भदौ १० गते जिल्लाको जुगल गाउँपालिका-१ स्थित बाँसखर्कमा पुगेर अस्थायी विस्थापितसँग छलफल गरेका थिए। सोलार र टेन्टलगायत राहत सामग्री पनि वितरण गरेका थिए। भदौ १३ गते बालुवाटारमा जोखिममा परेका बस्तीहरूको भौगर्भिक अध्ययन गर्न टोली पठाउने, विस्थापितहरूको स्थानान्तरणसहित स्थायी बसोबासका लागि एकीकृत मोडेल बनाउने, अरनिको राजमार्ग व्यवस्थित गर्ने र जुरे पहिरो पीडितका लागि जनस्तरबाट संकलित रकम निकासा लगायतका विषयहरूमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। भदौ २८ गते सभामुख सापकोटाले सिन्धुपाल्चोक जिल्लाको बाह्रबीसे नगरपालिका-७ को पहिरो स्थल नागपुजे, भीरखर्क र नेवार टोल पुगेर पहिरोले क्षति पुर्‍याएका स्थानहरूको स्थलगत रूपमा जानकारी लिए। स्थानीय पहिरो पीडित/प्रभावितहरूसँग छलफल गरे। जिल्लामा प्राकृतिक विपत्तिहरू बढिरहेको चिन्ता व्यक्त गरे। जोखिमयुक्त सूचीकृत नभएका बस्तीहरूमा समेत पहिरो जानुले थप चिन्तित तुल्याएको भनाई राख्दै तत्काल उद्दार, राहत, अस्थायी स्थानान्तरणमा ध्यान दिइने र स्थायी स्थानान्तरणका लागि विस्तृत भौगर्भिक अध्ययन गरिने, पहिरो पीडित/प्रभावितहरूलाई सुरक्षित बसोबास प्रबन्ध गर्न आफ्नो तर्फबाट सबै पहल गर्ने प्रतिवद्धता जनाए। अरनिको राजमार्ग व्यवस्थित गर्ने बाढी पहिरोले क्षतिग्रस्त अरनिको राजमार्गको बाह्रबीसे देखि चीनसँगको सीमानाका मितेरी पुलसम्मको स्थलगत अवलोकन गरी अरनिको राजमार्ग व्यवस्थित गर्ने र तातोपानी नाका खोल्ने विषयमा पनि सभामुख सापकोटाले पहल गर्ने जनाएका छन्। असोज २ गते राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलसँग सिंहदरबारमा भेट गरी विपत्तिमा परेको सिन्धुपाल्चोक लागि प्राधिकरणले गरिरहेको तयारीबारे जानकारी लिएका थिए।


Your Views
Related News