नेपालमा स्याउ टिप्ने सिजन सुरु भएसँगै हरेक वर्ष स्याउले बजार नपाएको, स्याउ गाईबस्तुलाई खुवाएको, न्यून मूल्यमा बिक्री भएको, ढुवानीमा कठिनाइ भएको जस्ता समाचार आइरहन्छन्। अर्कोतिर नेपाली उपभोक्ताले अमेरिका, चीन, भारत, इन्डोनेसियामा फलेका स्याउ उपभोग गरिरहेका छन्। फितलो सरकारी तयारीले नेपाली स्याउको ढुवानी र बजार सुनिश्चित नहुँदा उपभोक्ता विदेशी स्याउ खान बाध्य छन्।

सरकारले स्याउसहितका फलफूलजन्य वस्तुको उत्पादन बढाएर बजार व्यवस्थापन गरी आयात प्रतिस्थापन गर्ने बताउँदै आए पनि एक वर्षमै साढे चार अर्ब रुपैयाँको विदेशी स्याउ आयात भएको छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष ०७६÷७७ मा चार अर्ब ६० करोड ८४ लाख २९ हजार रुपैयाँको ६ करोड ५२ लाख ५० हजार किलो स्याउ आयात भएको छ। चालु आर्थिक वर्ष ०७७÷७८ को पहिलो दुई महिना साउन र भदौमा मात्र चीन, भारत र इन्डोनेसियाबाट ८१ करोड ५७ लाख ६४ हजार रुपैयाँको स्याउ आयात भएको छ।

मुलुकमा वार्षिक करिब ८४ हजार मेट्रिक टन स्याउ खपत हुन्छ। गत वर्ष छिमेकी मुलुक चीन र भारतबाट मात्र नभएर अमेरिकाबाट एक करोड १७ लाख ३५ हजार रुपैयाँको ६० हजार ६० किलो स्याउ आयात गरिएको थियो।

अहिले जुम्लामा फुजी स्याउ किलोको ८० रुपैयाँमा बिक्री भएको छ। कालिमाटी फलफूल तथा तरकारी बजारमा शनिबार फुजी स्याउको होलसेल मूल्य प्रतिकिलो दुई सय ९५ रुपैयाँ छ। झोलेको स्याउको मूल्य किलोको एक सय ४५ रुपैयाँ छ।

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरले स्वदेशी स्याउको उत्पादन वृद्धि र बजार व्यवस्थापन गर्न नसक्दा विदेशी स्याउको वर्चस्व रहेको बताए। ‘नेपाली अर्गानिक स्याउको ब्रान्डिङ हुन नसक्दा विदेशी स्याउले बजार लिइरहेको छ,’ घिमिरेले भने, ‘सरकारले स्याउका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्छ।’ विदेशी स्याउ एकनासको, देख्दा आकर्षक हुने भएकाले पनि उपभोक्ताको रोजाइमा परेको उनले बताए। ‘हुम्ला, जुम्लामा फलेको स्याउको राम्रो ग्रेडिङ हुन सकेको छैन,’ उनले भने, ‘सम्बन्धित जिल्लाबाट ढुवानी गरेर ल्याउन पनि कठिनाइ छ।’ डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, रुकुम, मनाङ र मुस्ताङ जिल्लामा स्याउखेती हुन्छ। ती जिल्लामा उत्पादित स्याउ ढुवानी गरेर काठमाडौंलगायत प्रमुख सहरमा पु¥याउन नसक्दा बजारको कठिनाइ भएको हो।

डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, रुकुम, मनाङ र मुस्ताङ जिल्लामा स्याउखेती हुन्छ। ती जिल्लामा उत्पादित स्याउ ढुवानी गरेर काठमाडौंलगायत सहरमा पु-याउन नसक्दा समस्या भएको छ।

पछिल्लो १० वर्षको तथ्यांक हेर्दा स्याउखेती हुने क्षेत्रफल बढे पनि उत्पादन र उत्पादकत्व घटेको छ। आर्थिक वर्ष ०६५÷६६ मा नौ हजार चार सय २२ हेक्टर क्षेत्रफलमा खेती हुँदा ३९ हजार एक सय १४ मेट्रिक टन स्याउ उत्पादन भएको थियो। अहिले क्षेत्रफल विस्तार भएर ११ हजार एक सय ८६ हेक्टर पुगेको छ तर उत्पादन घटेको छ। राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार आर्थिक वर्ष ०७५÷७६ मा स्याउ उत्पादन ३१ हजार तीन सय ८६ मेट्रिक टन रहेको छ। १० वर्षमा उत्पादकत्व प्रतिहेक्टर ९.२३ मेट्रिक टनबाट ७.२२ मेट्रिक टनमा झरेको छ। पछिल्लो एक दशकमा उत्पादनमा १९.७६ प्रतिशत र उत्पादकत्वमा २१.७८ प्रतिशते गिरावट आाएको केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।

स्याउको उत्पादन वृद्धि गरेर बजार व्यवस्थापनमा सघाउने प्रयास भइरहेको केन्द्रकी सूचना अधिकारी यमकुमारी श्रेष्ठ बताउँछिन्। संघ, प्रदेश र स्थानीय सरकारले स्याउका बिरुवा, ढुवानी र प्याकेजिङमा अनुदान दिएका छन्। सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाअन्तर्गत स्याउको जोन, सुपरजोन, पकेट क्षेत्र बनाएर सघाएको छ। थोरै समयमा उत्पादन दिने जातको स्याउको बीउ विदेशबाट ल्याएर विस्तार भइरहेको श्रेष्ठले बताइन्।

विगतमा संघीय सरकारले स्याउखेती विस्तार गर्न विशेष कार्यक्रम सञ्चालन गरेको भए पनि अहिले सम्बन्धित जिल्लाका स्थानीय तह, कृषि ज्ञान केन्द्र, प्रदेश सरकार र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट स्याउ खेतीमा सघाउने काम भइरहेको छ।

उत्पादन भएको स्याउका लागि बजारको समस्या नभएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन जुम्लाका प्रमुख नवराज भण्डारी बताउँछन्। ‘जुम्लाको स्याउ प्याकेजिङ गरेर काठमाडौंसम्म पठाउछौं,’ भण्डारीले भने, ‘गुणस्तरीय स्याउ बजारसम्म पु¥याउन प्याकेजिङ गर्ने कार्टुनमा अनुदान दिएका छौं।’ भण्डारीका अनुसार भदौको दोस्रो साताबाट स्याउ टिप्न सुरु भएको छ।

विगतमा स्याउका लागि उपयुक्त हावापानी र व्यावसायिक खेतीको सम्भावना रहेका जिल्लामा ‘स्याउ मिसन कार्यक्रम’ सञ्चालन गरे पनि परिणाम आउन सकेको छैन। नेपालको समुद्री सतहदेखि करिब एक हजार आठ सय मिटरदेखि तीन हजार मिटरसम्मको उचाइमा स्याउ खेती हुन्छ। यहाँ गोल्डेन डेलिसियस, रेड डेलिसियस, रिचा रेडलगायतका प्रजातिको स्याउ उत्पादन हुन्छ।

स्याउ उत्पादन बढाएर बजार व्यवस्थापन गर्न सके स्वदेशमा रोजगारी सिर्जना, आयआर्जन वृद्धि, आयात प्रतिस्थापनले मुलुकको अर्थतन्त्रमा पनि टेवा पुग्छ।  स्याउ आयात गर्न बिदेसिने अर्बौं रूपैयाँ रोकिन्छ। स्वदेशमै किसानको आयस्तरमा सुधार आउँछ।

बक्स नहुँदा बगैंचामै

मुस्ताङमा स्याउ पाकिसकेको छ। तर ‘प्याकिङ बक्स’ अभावले टिपिएको छैन। प्याकिङ बक्स अभावमा किसानका स्याउ रूखमै छन्। विगतमा असोजको दोस्रो साताभित्र मुस्ताङको स्याउ विभिन्न जिल्लामा पु¥याइसकिन्थ्यो। स्याउ बजारसम्म पठाउन स्थलगत मार्ग अवरुद्ध छ। हवाई सेवा पनि सञ्चालनमा आउन सकेको छैन।

स्याउ किसान सुमन थकालीका अनुसार रस नपस्दैका स्याउ तीजको समयमा केही मात्रामा पोखरा ल्याइएको थियो। त्यसपछि सोह्र श्राद्धको समयमा अलिकति ल्याइयो। अब धेरैजसो स्याउ दसैंको मेसोमा झार्ने आशामा किसानहरू छन्। ‘तीज र स्रोह्र श्राद्धमा केही झारियो। बाँकी दसैंअघि झार्ने तयारी छ,’ थकाली भन्छन्, ‘यो वर्ष उत्पादन कम छ। २५ प्रतिशतजति बजार पु¥याइसकियो होला।’

उनका अनुसार प्याकिङ बक्स नपाउँदा किसानले स्याउ टिप्न पाएका छैनन्। एउटा प्याकिङ बक्समा २० केजी स्याउ अटाउँछ।

लगातार परेको पानीले बेनी–जोमसोम सडकखण्डको रुप्से झरनानजिकै पहिरो गएपछि १५ दिनयता बाटो अवरुद्ध छ। आवातजावत पूर्ण रूपमा ठप्प छ। असार २८ गते पनि मोटरेबल पुलमा क्षति पु¥याएपछि झन्डै एक महिना बेनी–जोमसोम सडक अवरुद्ध भएको थियो। एक महिनापछि खुले पनि काभ्रे भिर र रुप्से छहरानजिकै पहिरो खस्दा पुनः बाटो अवरुद्ध हुन पुगेको छ। चैत, वैशाखमा पानी परेका कारणले पनि स्याउ त्यति राम्रो उत्पादन हुन नसकेको किसानहरू बताउँछन्।

‘स्याउ गत वर्षभन्दा आधा कम उत्पादन भएको छ। उत्पादित स्याउ पनि दागी देखिएको छ,’ मुस्ताङको टुकुचेस्थित स्याउ उत्पादक किसान विष्णु थकालीले भने, ‘एकातिर बाटो अवरुद्ध छ, अर्कोतिर प्याकिङ बक्स छैन। त्यसैले स्याउ पोखरा झरिसकेको छैन।’ झरी परेर स्याउमा देखिएको दागीको उपचारसमेत राम्रो हुन नसकेको उनको भनाइ छ। उनले मुस्ताङमै स्याउ प्रतिकेजी ९० रुपैयाँ पर्ने अनुमान गरिएको बताए। उनका अनुसार यस वर्ष उत्पादनमा झन्डै ५० प्रतिशत ह्रास आएको छ।

मुस्ताङमा उत्पादित स्याउको बजारीकरण टुकुचेस्थित स्यालुम बहुउद्देश्ीय सहकारी संस्थाले गर्दै आएको छ। थकालीका अनुसार स्याउ प्याकिङ गर्न झन्डै १७ हजार थान प्याकिङ बक्स छाप्न अर्डर गरिएको छ। केही वर्षअघिसम्म स्याउ ढुवानीका लागि अनुदान आउँथ्यो, अहिले रोकिएको छ। अनुदान केवल औषधिजन्य वस्तुमा किसानलाई उपलब्ध गराइएको छ।

शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका अनुसार यो वर्ष स्याउको उत्पादन कम छ। टुकुचे, झोङ, पुरानो मार्फालगायत ठाउँमा दादे रोग देखिएकाले उत्पादन कम छ। मुस्ताङको टुकुचे, मार्फा, ठिनी, मुक्तिनाथ, झोङ, ताङ, फलेक, चैले, कागबेनीलगायत क्षेत्रमा स्याउ उत्पादन हुँदै आएको छ। बागवानीकै चारवटा ब्लकमा समेत यो वर्ष उत्पादन कम रहेको बागवानी केन्द्रले जनाएको छ। गत वर्ष मुस्ताङमा ६ हजार टन स्याउ उत्पादन भएको राष्ट्रिय फलफूल विकास केन्द्र (स्याउ जोन क्षेत्र) को तथ्यांकले देखाएको छ ।


Your Views
Related News