बेइजिङ- सीमित व्यक्तिहरूमा आपत्कालीन रूपमा कोरोना भ्याक्सिनको प्रयोग गरेको कामलाई विश्व स्वास्थ्य संगठनले पनि समर्थन गरेको चीनले दाबी गरेको छ। गत जुलाइमा भ्याक्सिनको क्लिनिकल परीक्षण जारी रहेकै बेला चीनले सीमित व्यक्तिहरूलाई आपत्कालीन प्रयोग भन्दै भ्याक्सिन दिएको थियो।

चीनको सो कदमलाई डब्लुएचओले समर्थन गरेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी झेङ झोङग्वेइले बताएका हुन्। तर क्लिनिकल परीक्षणका क्रममा नै रहेका बेला भ्याक्सिनको प्रयोग गरिएको भन्दै केही विज्ञहरूले चासो व्यक्त गरेका थिए।

झोङग्वेइका अनुसार जुनमा डब्लुएचओसँगको सम्पर्क गरी जुलाइमा चीनले भ्याक्सिनको आपत्कालीन प्रयोग गर्न सकिने कार्यक्रम लन्च गरेको थियो।

चीनमा अत्यावश्यक काममा खटिने हजारौं कामदार र संभावित जोखिम समूहका अन्य मानिसलाई पनि भ्याक्सिन दिइएको बताइएको छ। तर तेस्रो चरणको परीक्षण चलिरहेको अवस्थामा सुरक्षाका विषय टुंगो नलाग्दै विज्ञहरूले चासो व्यक्त गरेका थिए।

‘जुनको अन्त्यमा चीनको स्टेट काउन्सिले कोभिड-१९ भ्याक्सिनको आपत्कालीन प्रयोग गर्न स्वीकृति दिएको छ,’ झेङले पत्रकारहरूसँग भनेका छन्।

‘चीनमा भ्याक्सिनको आपत्कालीन प्रयोग स्वीकृति भएपछि जुन २९ मा हामीले चीनमास्थित डब्लुएचओका प्रतिनिधिलाई सम्पर्क गरेका थियौं। हामीले डब्लुएचओ समर्थन रहेको पाएका छौं,’ झेङको भनाइ छ।

यता डब्लुएचओले कुनै पनि देश स्वास्थ्य सामग्रीको प्रयोग गर्न स्वतन्त्र हुने प्रतिक्रिया दिएको छ। ‘सम्बन्धित देशका राष्ट्रिय नियम र कानुनबमोजिम कुनै स्वास्थ्य सामग्रीको आपत्कालीन प्रयोग गर्न सबै देशहरू स्वतन्त्र हुन्छन्,’ डब्ल्यूएचओका सहायक महानिर्देशक डा मारियान्गेला सिमोनोले शुक्रबार जेनेभाको पत्रकार सम्मेलनमा भनेका छन्।

केही समयअघि डब्लुएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथले पनि कोरोना भ्याक्सिनको आपत्कालीन प्रयोग ‘अस्थायी समाधान’ मात्र हुने उल्लेख गरेकी थिइन्। उनका अनुसार दीर्घकालीन समाधान हुने गरी भ्याक्सिन विकासको काम भने तेस्रो चरणको परीक्षण पूरा हुने क्रममा छ।

तर चीनले आपत्कालीन भ्याक्सिन प्रयोग गरेको बताएपनि पूर्ण विवरण भने सार्वजनिक गरेको छैन।

READ MORE

इएचआर : स्वास्थ्य सूचना प्रणालीको कोसेढुंगा

हरेक तथ्यलाई अंकमार्फत प्रतिविम्बित गराउने औजार तथ्यांक हो। त्यसैगरी कुनै पनि विषयको जानकारी गराउने साधन सूचना हो। तथ्यांकले सजिलोसँग सूचनालाई प्रस्तुत गर्ने गर्दछ भने सहज रुपमा विश्लेषण गर्न मद्दत गर्छ। तसर्थ, तथ्यहरुको जानकारी प्राप्त गर्न अर्थात् सूचना प्राप्त गर्न र त्यसको विश्लेषण गरी छिरलिएका स–साना सूचनाबाट नीति–योजना निर्माणको लागि मार्ग निर्देशन गर्ने मुख्य सूचना उत्पादन गर्ने प्रणाली नै सूचना प्रणाली हो।

प्रमाणमा आधारित योजना निर्माण गरी योजनाबद्ध रुपमा विभिन्न स्वास्थ्य सूचकहरुमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ सम्बन्धित सम्पूर्ण सूचनाको सही व्यवस्थापन गर्नको लागि बनाइएको मुख्य प्रणाली नै स्वास्थ्य सूचना प्रणाली हो। आवश्यक योजना मार्गदर्शन गर्नको लागि चाहिने सूचना एवं सूचकहरु उत्पादन गरी सोही अनुसार स्वस्थ देश निर्माण गर्ने आधारशीला नै व्यवस्थित स्वास्थ्य सूचना प्रणाली हो।

स्वास्थ्य तथ्यांकको उत्पादन, संग्रह, विश्लेषण गर्नु, स्वास्थ्योपचारको मूल्य घटाउनु र नकारात्मक असर न्यूनीकरण गर्नु एवं समग्र स्वास्थ्यको गुणस्तर बढाउनु आदि स्वास्थ्य सूचना प्रणालीका मुख्य क्रियाकलाप हुन्। स्वास्थ्य सूचनाको वैज्ञानिक अभिलेख गर्ने प्रणाली नै इएचआर (इलेक्ट्रोनीक हेल्थ रेकर्ड) अर्थात् विद्युतीय स्वास्थ्य अभिलेख हो। यसले हरेक बिरामीको स्वास्थ्य उपचारको अभिलेखलाई सफ्टवेयर प्रणालीमा सुरक्षित गर्ने र विश्लेषण गर्ने गर्छ।

इएमआर
इएमआरको पूरा रुप इलेक्ट्रोनिक मेडिकल रेकर्ड अर्थात् विद्युतीय चिकित्सा अभिलेख हो। यो प्रणालीले बिरामीको स्वास्थ्य उपचारको अभिलेखलाई सफ्टवेयर प्रणालीमा सुरक्षित गर्ने गर्दछ। सामान्य रुपमा बुभ्mदा चिकित्सा अभिलेखलाई कम्प्युटरले बुभ्mने भाषामा रुपान्तरण गरी सञ्चय गरेर राख्ने प्रणाली हो। यसले बिरामीको उपचारको लागि गरिएका सबै परीक्षण तथा क्रियाकलाप, औषधिको प्रयोग जस्ता सम्पूर्ण विवरणहरु एकै ठाउँमा सञ्चित गर्ने गर्दछ। यो कागजी चिकित्सा अभिलेखको भरपर्दो, छिटोछरितो अभिलेखीकरण गर्ने वैकल्पिक वैज्ञानिक प्रणाली हो।

इएचआर
इएचआर भनेको इलेक्ट्रोनिक हेल्थ रेकर्ड अर्थात् विद्युतीय स्वास्थ्य अभिलेख हो। बिरामीको स्वास्थ्यसँग सम्बन्धित सम्पूर्ण विवरणहरुको विद्युतीय संग्रह र विश्लेषण गर्नु नै विद्युतीय स्वास्थ्य अभिलेख हो। विद्युतीय चिकित्सा अभिलेखमा जस्तै यसमा पनि बिरामीको उपचारको लागि गरिएका सबै परीक्षण तथा क्रियाकलाप, औषधिको प्रयोग जस्ता सम्पूर्ण विवरण एकै ठाउँमा सञ्चित गर्ने गरिन्छ। सञ्चित विवरणलाई अन्य आधिकारिक संस्था वा व्यक्तिले फरक ठाउँबाट पनि हेर्न सक्छन्। यसमा बिरामीले विभिन्न समयमा विभिन्न स्वास्थ्य संस्थामा गरेको उपचारको विस्तृत विवरण सञ्चय भएको हुन्छ। जसले गर्दा कुनै बिरामीको सम्पूर्ण स्वास्थ्य इतिहास सजिलै थाहा पाउन सकिन्छ। यो इएमआरको परिस्कृत प्रणाली हो। इएमआरले कुनै निश्चित स्वास्थ्य संस्थासँग सम्बन्धित बिरामीको मात्र अभिलेख व्यवस्थित गर्नसक्छ भने इएचआर प्रणालीले बिरामीको समग्र स्वास्थ्य सूचनालाई व्यवस्थित गर्छ।

चिकित्सा अभिलेखीकरणका मुख्य चरणहरु
कागजी अभ्यासबाट सुरु भएको चिकित्सा अभिलेख आज प्रविधिको विकाससँगै लेस पेपर हुँदै पेपरलेस प्रणालीमा विकसित भएको छ। पेपरलेस प्रणालीको सुरुवात इएमआरबाट भयो भने अहिले इएचआर प्रणाली संसारभरि विकसित र परिस्कृत हुँदै लागू भइरहेको छ। इएचआरको प्रयोग हुँदै गर्दा अहिले व्यक्ति स्वयंले आफ्नो स्वास्थ्य अभिलेख सञ्चय गर्ने प्रणाली पिएचआर समेत विकसित भइरहेको छ।

इएमआर/इएचआर प्रणालीका फाइदा 
    अभिलेखीकरण सहज हुने
    विस्तृत अभिलेख रहने।
    कार्यभार घटी कार्यक्षमता वृद्धि हुने।
    पुरानो अभिलेख खोज्न सहज हुने।
    अनावश्यक परीक्षण कम गराउने।
    निर्णय क्षमतामा अभिवृद्धि गर्ने।
    चिकित्सकीय त्रुटिहरु कम गराउने।
    अनुसन्धान कार्यमा सहजता आउने।
    बिरामीको स्वास्थ्य सुरक्षालाई सहयोग गर्ने।
    बिरामीको उपचार गुणस्तर बढाउने आदि।

विश्वका विकसित भनिएका देशहरुमा आज विद्युतीय चिकित्सा अभिलेखको अनुभव लिई विद्युतीय स्वास्थ्य अभिलेख देशव्यापी प्रयोग भइरहेको छ। कुनै पनि देशको विकास वा प्रगति त्यो देशको स्वास्थ्य क्षेत्र, आर्थिक–सामाजिक क्षेत्र, प्राविधिक क्षेत्र र भौतिक प्रगतिसँग सिधै जोडिएको हुन्छ। स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति नगरी कुनै पनि देशको स्वास्थ्य सूचकांक, आर्थिक सूचकांक लगायत समग्र मानव विकास सूचकांकहरुमा सफलता प्राप्त गर्न सकिँदैन। स्वास्थ्यका मुख्य सूचकांकहरु हेर्दा कोरा मृत्युदर, नवजात शिशु मृत्युदर, बाल मृत्युदर, मातृ मृत्युदर, औसत आयु लगायत प्रतिकारात्मक सेवा, उपचारात्मक सेवा तथा समग्र स्वास्थ्य सेवामा जनताको पहुँच र त्यसको गुणस्तरका सूचक आदि पर्दछन्।

यी सबै सूचकहरुलाई र समग्र स्वास्थ्य सेवाको गुणस्तरलाई ती सेवाहरु अभिलेखीकरण गर्ने प्रणालीले ठूलो भूमिका खेलेको हुन्छ। समग्र चिकित्सा प्रणालीको साथसाथै चिकित्सा अभिलेखलाई वैज्ञानिक प्रणाली अनुसार अभिलेखीकरण गर्ने प्रणाली अवलम्बन नगर्दासम्म स्वास्थ्य क्षेत्रको गुणस्तर कायम गर्न सकिँदैन।

विकसित देशहरु त्यसै विकसित भएका पक्कै होइनन्। त्यहाँको शिक्षा स्वास्थ्य, रोजगारी आदिमा भएको नागरिकहरुको सहज पहुँच र त्यसको गुणस्तर, समग्र विकासका कारकहरु हुन्। केही प्रतिनिधिमुलक तथ्यांकलाई एकै ठाउँमा राखेर अध्ययन गर्दा आज विश्वमा जुनजुन देशमा स्वास्थ्य सूचना प्रणाली राम्रो छ, ती देशको स्वास्थ्य प्रणाली सूचकांक पनि राम्रो छ जसले गर्दा औसत आयु उच्च छ भने ती देशहरुको मानव विकास सूचकांक पनि उत्कृष्ट नै रहेको देखिन्छ।

यसरी हेर्दा इएमआर वा इएचआर प्रणाली प्रभावकारी रुपमा लागू भएका मुलुकमा समग्र स्वास्थ्य प्रणाली र स्वास्थ्योपचारको गुणस्तर राम्रो भई स्वास्थ्यका सूचकहरुमा उल्लेखनीय रुपमा सकारात्मक सुधार आएको देखियो। जसले अन्ततोगत्वा मानव विकास सूचकांकलाई समेत वृद्धि गर्नको लागि योगदान गरेको स्पष्ट देखियो।

विश्व स्वास्थ्य संगठनले विश्वका १९१ देशमा गरेको समग्र स्वास्थ्य प्रणाली अध्ययनको आधारमा तयार गरेको प्रतिवेदन अनुसारको स्वास्थ्य प्रणाली सूचकांक, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका अनुसारको मानव विकास सूचकांक र वल्डोमिटरका अनुसारको औसत आयु समेतको तथ्यांकीय तुलना यस प्रकार रहेको छ।

स्वास्थ्य प्रणाली राम्रो भएका देश
No description available.

सार्क मुलुकको अवस्था
तथ्यांक अनुसार सार्क राष्ट्रहरुमा श्रीलंकाको स्वास्थ्य प्रणाली सूचकांक र मानव विकास सूचकांक उत्कृष्ट रहेको छ भने अफगानिस्तानको दुवै सूचकांक कमजोर देखीएको छ। नेपालको सन्दर्भमा स्वास्थ्य प्रणाली सूचकांकका अनुसार सातौं नम्बरमा रहेको छ भने मानव विकास सूचकांकमा छैठौं स्थानमा रहेको अवस्था छ।
No description available.

इएचआर प्रयोगको अवस्था
सन् १९७० को दशकबाट सुरु गरिएको इएचआर प्रणाली २०औं शताब्दीको अन्त्यतिर मौलाउँदै २१औं शताब्दीको सुरुबाट झन्डै पूर्ण रुपमा विश्वका विकसित देशहरुमा लागू भइरहेको छ भने विकासशील देशहरु पनि सोही पथमा नै अघि बढिरहेको देखिन्छ। अहिले युरोपियन मुलुक लगायतका विकसित देशहरुले स्वास्थ्य क्षेत्रमा व्यापक प्रगति गरिरहेका छन्। तिनीहरुको समग्र मानव विकास सूचकांक राम्रो छ भने त्यहाँको स्वास्थ्य प्रणाली समेत उत्तिकै राम्रो छ।

स्वास्थ्य प्रणाली राम्रो हुनुका पछाडि ती सबै देशहरुमा इएचआर प्रणाली पूर्ण रुपमा लागू हुने अवस्थामा छ। युरोपियन युनियनको २०११÷२४ निर्देशिका अनुसार सन् २०२० भित्र सबै युरोपियन मुलुकहरुमा अनलाइन मेडिकल रेकर्डसको पहुँच कायम गर्ने भनिएको छ भने बेलायतले सन् २०१० बाटै झन्डै सबै बिरामीहरुको केन्द्रीकृत इलेक्ट्रोनिक्स हेल्थ रेकर्डस राख्न सफल भइरहेको छ। ब्लुमवर्ग प्रतिवेदनका अनुसार विश्वमा इएचआर प्रयोग गर्ने मुख्य १० देशको सूची यसप्रकार छः
नर्वे: ९८ प्रतिशत
नेदरल्यान्ड: ९८ प्रतिशत
संयुक्त अधिराज्य: ९७ प्रतिशत
न्युजिल्यान्ड: ९७ प्रतिशत
अष्ट्रेलिया: ९२ प्रतिशत
जर्मनी: ८२ प्रतिशत
अमेरिका: ६९ प्रतिशत
फ्रान्स: ६७ प्रतिशत
क्यानडा: ५६ प्रतिशत
स्वीजरल्यान्ड: ४१ प्रतिशत

ती देशहरु जहाँ इएचआर प्रणालीको राम्रो प्रयोग भएको छ, त्यहाँका स्वास्थ्य सूचकांकहरु र मानव विकास सूचकांक पनि राम्रो देखिन्छ।

नेपालमा इएचआर प्रणाली लागू गर्ने आधार
स्वास्थ्य सूचना प्रणालीलाई वैज्ञानिक बनाउन एकातिर यसका फाइदाहरु उपभोग गरी देशको समग्र स्वास्थ्य प्रणालीमा सकारात्मक योगदान गर्नको लागि र अर्कोतिर देशले गरेका अन्तर्राष्ट्रिय प्रतिवद्धता एवं संविधान तथा आधिकारिक कार्ययोजनाहरु पूरा गराउनको लागि पनि इएचआर प्रणाली अवलम्बन गर्नुृपर्ने अवस्था देखिन्छ। सो सम्बन्धमा मुख्य प्रतिवद्धता, संवैधानिक व्यवस्था एवं निर्देशित मापदण्डहरु यसप्रकार छन्ः

दिगो विकास लक्ष्य हासिल गर्न
सन् २०३० भित्र विश्वभरि मुख्यगरी गरिबी उल्मुलन र दिगो विकास लक्ष्य हासिल गर्ने मुख्य उद्देश्यका साथ संयुक्त राष्ट्रसंघले १७ वटा दिगो विकास लक्ष्यहरु निर्माण गर्‍यो। दिगो विकास लक्ष्य हासिल गर्नको लागि सन् २०३० भित्र मातृ मृत्युदर ७० प्रति लाख कायम गर्नुपर्ने छ। शिशु मृत्युदर १२ प्रतिहजार जीवित जन्ममा र ५ वर्ष मुनिका बच्चाको मृत्युदर २५ प्रतिहजार जीवित जन्म वा सोभन्दा कम कायम गर्नुपर्ने छ।

त्यस्तै सन् २०३० भित्र सर्वव्यापी स्वास्थ्यको पहुँच कायम गर्नुपर्ने छ। नसर्ने रोगको मृत्युदर एक तिहाइ घटाउनु पर्नेछ भने सर्ने तथा नसर्ने सबै रोगहरुको नियन्त्रण तथा रोकथामको लागि अध्ययन–अनुसन्धान कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउनु पर्नेछ। समग्र स्वास्थ्यको सूचना प्रणाली राम्रो भएन भने यी सबै लक्ष्य र सो अन्तर्गतका सूचकहरु हासिल गर्न सक्ने छैनौं। तसर्थ स्वास्थ्यसँग सम्बन्धित दिगो विकास लक्ष्य हासिल गर्नको लागि पनि स्वास्थ्य सूचना प्रणाली राम्रो बनाउनु पर्नेछ। तसर्थ यसका लागि पनि इएचआर प्रणाली लागू गर्नुको विकल्प छैन।

संवैधानिक व्यवस्था कार्यान्वयन गर्न
नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३५ मा राखिएको स्वास्थ्य सम्बन्धी हक त्यसैको उपधारा २ मा उल्लेख गरिएको प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ, उल्लेख गरिएको छ। यसको वास्तविक रुपमा कार्यन्वयन गर्न गराउनको लागि पनि स्वास्थ्यको सूचना प्रणाली एकदमै राम्रो हुनुपर्छ। यसको लागि पनि इएचआर देशभरि लागू गर्नुको कुनै विकल्प छैन।

न्यूनतम सेवा मापदण्ड कार्यान्वयन गर्न
जनस्वास्थ्य सेवा ऐन २०७५ मा उल्लेख भएअनुरुप नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्ड बनाई लागू गर्न कार्यक्रमहरु अघि सारेको छ। उक्त मापदन्ड अनुसार पनि सबै स्वास्थ्य संस्थामा अनिवार्य रुपमा इएचआर लागू भएको हुनुपर्ने भनिएको छ। उक्त मापदन्डमा धेरै कुराहरु उल्लेख गरिएको छ। जसमध्ये सेवा गुणस्तरको कुरा, अस्पतालबाट हुने संक्रमण पहिचान र नियन्त्रण, प्रत्येक मृत्युको समीक्षा गर्ने तथा समग्र सेवा सम्बन्धी अभिलेखीकरण र प्रतिवेदन कार्यलाई व्यवस्थित गर्नको लागि पनि अस्पताल तथा स्वास्थ्य संस्थाको समग्र स्वास्थ्य सूचना प्रणालीलाई व्यवस्थित गर्नुपर्ने छ। यसरी मन्त्रालय स्तरबाट नै स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदन्डमा उल्लेख गरिएको इएचआर प्रणाली लागू गर्नुपर्ने अवस्था छ।

निष्कर्ष    
विभिन्न तथ्य र तथ्यांकहरुको आधारमा विश्लेषण गर्दा स्वास्थ्य सूचना प्रणाली वैज्ञानिक एवं मजबुत हुँदा स्वास्थ्यका सूचकहरुमा सुधार आउँदोरहेछ भने स्वास्थ्य प्रणाली सूचकांकमा पनि सुधार आउँदोरहेछ। त्यस्तैगरी स्वास्थ्य प्रणाली सूचकांकमा सुधार आउँदा समग्र मानव विकास सूचकांकमा पनि उल्लेख्य सुधार आउँदो रहेछ।

वैज्ञानिक सूचना प्रणालीको सदुपयोग गरी स्वास्थ्य सूचकहरुको स्थितिको आधारमा मात्र भावी योजनाको लागि सही लक्ष्य, सही दृष्टिकोण र सही कार्ययोजना निर्माण गर्न सकिन्छ भने समग्र मानव विकास सूचकांकमा सुधार आउँदा आम जनताले गुणस्तरीय जीवनयापन गर्नसक्ने अवस्था सिर्जना हुने रहेछ।

स्वास्थ्य क्षेत्रमा अध्ययन–अनुसन्धान गर्दै समग्र स्वास्थ्य सेवाको गुणस्तर बढाउँदै हरेक जनताको गुणस्तरीय जीवनको अपेक्षा पूरा गर्न इएचआर प्रणाली स्वास्थ्य सूचना क्षेत्रको कोसेढुंगा सावित हुनेछ।

विकशित देशहरुको सिको गर्दै इएचआर सहितको वैज्ञानिक स्वास्थ्य सूचना प्रणाली अवलम्बन गर्नु नै समयको माग र आजको टड्कारो आवश्यकता हो भने यस कार्यमा चिकित्सक, स्वास्थ्यकर्मी, तथ्यांककर्मी र स्वास्थ्य संस्थालाई समेत विश्वासमा लिई सँगै हातेमालो गर्दै अगाडि बढ्नु स्वास्थ्यका नीति–निर्माता सहित सम्बन्धित सरोकारवालाको कर्तव्य हुनेछ।


Your Views
Related News