नदी पृथ्वीको गतिशील, रोमाञ्चक अनि सुन्दर परिदृश्य त हुँदै हो; त्यति नै खतरनाक र अनिश्चित शक्ति पनि हो। नदीप्रतिको हाम्रो व्यवहारले यसबाट लाभ या जोखिम हुने निर्धारण गर्छ।

सरोज कार्की र सूचना आचार्य
प्राचीनकालमा मानव सभ्यताको विकास नदी आसपास हुनुले मानव जीवनमा नदीको भूमिका दर्शाउँछ। धेरै देशका राजधानी तथा व्यापारिक केन्द्र नदी किनारमै अवस्थित छन्। नदी तथा तिनका जलाधार क्षेत्र ऐतिहासिक हिसाबले देशका आन्तरिक तथा अन्तर्राष्ट्रिय सिमानाका रूपमा स्थापित छन्। हाम्रै नेपालको पूर्वमा मेची तथा पश्चिममा महाकाली नदी सिमाना भएर बगेका छन्।

नदीले केवल जलप्रवाह मात्र गर्दैन, समग्र मानव जातिको आशा बोकेको हुन्छ। नदीबाट प्रवाहित जलस्रोतलाई समानुपातिक र व्यवस्थित उपयोगमार्फत राष्ट्रिय सम्पत्तिमा रूपान्तरित नगरेसम्म नेपाल र नेपाली आत्मनिर्भर हुन सक्दैनन्। चाहे स्रोतको रूपमा होस् वा जोखिमका रूपमा, नदीको राजनीतिक, सामाजिक तथा आर्थिक अन्तरसम्बन्ध रहेको हुन्छ।

मानव अस्तित्व र पृथ्वीको वातावरणका लागि समेत नदी एक अभिन्न पक्ष हो। अझ पूर्वीय दर्शनमा नदी र मानव जीवनबीच गहिरो आध्यात्मिक सम्बन्ध छ। भारतका गङ्गा, यमुना, नेपालको वागमती जस्ता धार्मिक महत्व बोकेका नदीहरूमा एक डुबुल्की मार्नाले पाप पखालिन्छ भन्ने जनविश्वास छ।

यिनै बहुपक्षीय आयामले गर्दा विश्वका केही नदीलाई जिउँदो एकाइका रूपमा कानूनी मान्यता दिइएको उदाहरणहरू समेत छन्। तर, जबदेखि मानव जाति विकासको वेगमा अघि बढ्यो, नदी र मानव समुदायबीच वर्षौंदेखिको सम्बन्ध भत्किन थाल्यो।

विकास र समृद्धिको दौडमा हामीले नदी र मानव बीचको सद्भाव भंग गरी पुर्खाले छोडेर गएको विरासत बर्बाद गरेको ज्वलन्त उदाहरण काठमाडौंको वागमती नदी नै हो। हिजो नदी आसपासमा विकसित मानव सभ्यता आज नदीदेखि तर्सिंदै टाढा भाग्नुपर्ने अवस्था छ। के यो पुस्ताले नदीलाई फेरि पुरानै विरासतमा फर्काउने साहस राख्दछ ?

नेपालकाे नदी प्रणाली र तिनका जलाधार क्षेत्र ।

 

नेपालका नदी कस्ता ?
प्रकृतिले नेपाललाई अनेकौं नदीनालाले सम्पन्न गरेको छ। तर, वर्षौंदेखि हामीले सुन्दै आएको ‘नेपाल जलस्रोतको दोस्रो धनी देश’ भन्ने कथन चाहिं केवल एक मिथक मात्र हो। नेपालभित्र साना–ठूला गरी लगभग ६ हजार नदीनाला छन्। तिनको लम्बाइ करीब ४० हजार किलोमिटर छ। यी नदीबाट वर्षेनि दुई अर्ब घनमिटरभन्दा बढी जलप्रवाह हुन्छ।

हाम्रो देशमा प्रत्येक एक वर्ग किलोमिटर क्षेत्रफलमा करीब ३०० मिटर नदीनाला छन्। सन् २०१४ को तथ्यांक अनुसार नेपालको वार्षिक जल उपलब्धता हाराहारी प्रति व्यक्ति ७ हजार ४०० घनमिटर छ, जुन मानव आवश्यकताका हिसाबले औसत (वार्षिक २५–३० घनमिटर, दैनिक ७०–८० लिटरको हिसाबले) भन्दा बढी हो। यो तथ्यांकका आधारमा नेपाल जलस्रोतको लगभग ७६औं धनी देशमा पर्छ।

नेपालको जलस्रोतको मुख्य समस्या असमानुपातिक जल उपलब्धता र जनसंख्याको गलत वितरण हो। जनघनत्व बढी भएको तराईमा जलस्रोतको उपलब्धता कम छ। जनघनत्व कम भएको हिमाल तथा पहाडमा तुलनात्मक रूपमा उपलब्धता बढी छ। अत्यधिक जनसंख्या र सीमित जल उपलब्धताले काठमाडौंलगायत अन्य केही स्थानलाई पिरोलेको छ नै, भविष्यमा अझै विकराल अवस्था हुनसक्ने विभिन्न अध्ययनले देखाएको छ।

नेपालको भू–बनोटले पनि जल उपयोग (सिंचाइ, खानेपानी, इत्यादि) मा चुनौती थपेको छ। नदीनालाहरू प्रायः पहाडको फेदी भएर बग्छन्। तर गाउँबस्ती भने प्रायः सिरानमा छन्।

नेपालमा हुनेमध्ये ८० प्रतिशत वर्षा जूनदेखि सेप्टेम्बरसम्मको चार महीनामा हुन्छ। नेपालमा कुनै भागमा तीन हजारभन्दा अधिक र कुनै भागमा ५०० मिलिमिटरभन्दा कम वर्षा हुन्छ। यस किसिमको अत्यधिक विभिन्नताले नदीनालाको बहावलाई प्रत्यक्ष प्रभाव पार्छ।

नेपालका नदीहरूको औसत अधिकतम र न्यूनतम मासिक बहावबीचको भिन्नता उच्च छ। उदाहरणका लागि कर्णाली नदीको औसत अधिकतम मासिक बहाव न्यूनतमभन्दा १४ गुणा बढी छ। त्यस्तै नारायणीको १७ गुणा र सप्तकोशीको १३ गुणा बढी छ।

लेखकद्वारा जीआईएसबाट तयार पारिएको तस्वीर नं. १ मा नेपालका सम्पूर्ण नदी प्रणाली भिन्नाभिन्नै रङमा देख्न सकिन्छ। प्रत्येक भिन्नै रङले एउटा नदी प्रणाली र त्यसको जलाधार क्षेत्र दर्शाउँछ। पहेंलो रंगको रेखाले सरकारद्वारा हालै जारी गरिएको नेपालको नक्शा चित्रण गर्छ। कोशी, नारायणी, कर्णाली र महाकालीलाई चार प्रणाली मान्दा नेपालमा पाँच वर्ग किलोमिटरभन्दा बढी जलाधार क्षेत्र भएका जम्मा १८७ नदी पर्छन्।

उद्गमका हिसाबले नेपालका नदीनालालाई मोटामोटी रूपमा तीन वर्गमा विभाजित गर्ने प्रचलन छ। पहिलो वर्गमा हिमालयबाट उत्पत्ति हुने चार प्रमुख नदी प्रणालीः पूर्वमा कोशी, मध्यमा गण्डकी वा नारायणी, पश्चिममा कर्णाली र सुदूरपश्चिममा महाकाली हुन्। बाह्रैमास बहाव हुने यी नदीहरूको मुख्य स्रोत हिउँ र वर्षा हुन्। देशको कुल भूभागको दुई तिहाइ यिनै चार नदी प्रणालीका जलाधार क्षेत्रले ओगटेका छन्।

कोशीको भने कुल जलाधारको ४५ प्रतिशत मात्र नेपालमा र बाँकी  ५५ प्रतिशत भूभाग चीन प्रशासित तिब्बतमा पर्छ। तस्वीर नं. २ मा मुख्य चार नदी प्रणालीका सहायक नदीहरूसहितको रेखांकन प्रस्तुत गरिएको छ।

सप्तकोशीको मुख्य तीन सहायक नदीमध्ये तिब्बतमा मुख्य गरी अरुण नदीको जलाधार छ। सुनकोशीको थोरै भाग उता पर्छ। तमोरको सम्पूर्ण भाग नेपालमै पर्छ। यी नदी प्रणालीको बहावमा मौसमी विभिन्नता उच्च भए पनि समग्रमा पानीको उपलब्धता पर्याप्त छ। किनभने धेरै जसो जलाधार क्षेत्र हिमाल तथा पहाडी भागमा पर्नाले पानीको माग तुलनात्मक हिसाबले कम छ।

नारायणी र कर्णालीको पनि थोरै जलाधार क्षेत्र चीनतर्फ पर्छ। महाकाली नदीको दुईतिहाइ भाग भारतमा पर्छ। तस्वीरमा भारतसँगको सीमा विवाद भएको स्थान लिम्पियाधुराबाट महाकाली नदी उद्गम भएको स्पष्ट देख्न सकिन्छ। नेपालको समग्र जलस्रोत उपलब्धताको मुख्य आधार नै यी चार नदी प्रणाली हुन्।

दोस्रो वर्गमा महाभारत शृंखलाबाट उद्गम हुने मेची, कन्काई, कमला, वागमती, पश्चिम राप्ती, बबईलगायत नदी पर्छन्। यो वर्गका नदीहरूको उच्च बहाव वर्षाको पानीमा भर पर्छ। सुक्खायामको न्यूनतम बहाव भूमिगत जलसतहका आधारमा घट्ने बढ्ने गर्छ। जहाँ भूमिगत जलसतह नदीको सतहभन्दा धेरै तल हुन्छ, त्यहाँ सुक्खायाममा पानी नै हुँदैन। तराई तथा मध्यपहाडी क्षेत्रमा सिंचाइका हिसाबले यी नदीहरू अत्यावश्यक मानिन्छन्। वर्षा र सुक्खायामबीचको भिन्नता यस किसिमका नदीमा पनि उच्च हुन्छ।

तेस्रो वर्गले चुरे शृंखला भई उत्पत्ति भएका खोलानालालाई समेट्छन्। जसमध्ये धेरै जसो नदीहरू खहरे (अस्थायी बहाव) प्रकृतिका छन्। ती नदी वर्षा भए बहाव हुने र अरू वेला पूर्णदेखि आंशिक रूपमा सुक्खा हुन्छन्। विरिङ्ग, बक्राहा, खाँडो, लोथर, तिनाउ, मनुस्मारा, हर्दिनाथ आदि नदी यो वर्गमा पर्छन्।

जलाधार क्षेत्र साना भए पनि यिनको संख्या धेरै भएकाले प्रमुख नदीका तुलनामा तराईका उर्वर फाँट छुँदै बग्ने चुरेका खोलाहरूको कुल लम्बाइ बढी छ। दुवै तस्वीरको दक्षिणी भागमा रेसा रेसा जस्ता देखिने सबै चुरे क्षेत्र भई उत्पन्न हुने खोला हुन्।

भूमिगत जल पुनर्भरण र भण्डारणका हिसाबले चुरे भावर क्षेत्र अत्यन्तै महत्वपूर्ण छन्। नेपालको अन्न भण्डारका रूपमा परिचित तराईको दिगोपनका लागि चुरे क्षेत्रको संरक्षण अत्यावश्यक छ। किनभने यो क्षेत्रमा भण्डारण भएको भूमिगत जल चुहिएर तल्लो क्षेत्र अर्थात् तराईलाई ओसिलो बनाउन मद्दत गर्छ। चुरे क्षेत्रको अवसर, चुनौती र संरक्षण आफैंमा एउटा भेग विषय भएकाले त्यसबारे छुट्टै टिप्पणी आवश्यक हुन्छ।

जहाँ उद्गम भए पनि नेपालका सम्पूर्ण नदी तराई हुँदै भारतको गंगा नदीमा मिसिन्छन्। नेपालको सम्पूर्ण भू–भाग गंगा नदीको जलाधार क्षेत्रमा पर्छ। गंगा नदीको वार्षिक बहावको करीब ४० प्रतिशत तथा सुक्खायामको करीब ७० प्रतिशत बहावमा नेपालका नदीहरूको योगदान छ।

प्रमुख नदी प्रणालीका मुख्य सहायक नदीको रेखांकन सहितको नक्सा ।
थिग्रेनीः प्राकृतिक स्रोत, तर क्षतिको कारक पनि
नदीको बहावसँगै हामीले अक्सर नदी प्रणालीको एउटा महत्वपूर्ण घटकलाई भने किनारा लगाइरहेका हुन्छौं। त्यो हो थिग्रेनी अर्थात् ढुंगा, गिट्टी, बालुवा। पानी जस्तै थिग्रेनी पनि  नदी प्रणालीको एउटा अभिन्न अंग हो। वास्तवमा नदी भनेको पानी, थिग्रेनी, जलचर र अन्य जल वनस्पतिको गतिशील मिश्रण हो, जो उद्गमस्थलदेखि समुद्रमा नमिसिउन्जेल एउटा जटिल प्रक्रियाबाट प्रवाह हुन्छ।

नदीको आकार, यसको चौडाइ, गहिराइ आदि विशेषता धेरै हदसम्म यही थिग्रेनीको आकार र मात्रामा भर पर्छ। नदीले ल्याउने थिग्रेनीको मुख्य स्रोत उसको जलाधार क्षेत्र नै हो। वर्षासँगै जलाधारको भू–सतहबाट उप्क्याएर ल्याएको र पहिरो, भूक्षय र किनार कटानबाट नदीको मार्गमा थपिएको थिग्रेनी नै बहावसँगै बगेर जाने हो। नदीले पानीको बहाव, भुइँ सतहको भिरालोपन र थिग्रेनीको आकार र मात्राबीच गतिशील सन्तुलन कायम राखेको हुन्छ। नदीको भुइँ सतहको भिरालोपन र त्यसले प्रवाह गर्ने बहावको मात्राले कति थिग्रेनी पानीको बहावसँगै बग्छ, या नदीको भुइँ सतहमै थुप्रिन्छ वा उल्टै भुइँ सतहमा भएको थिग्रेनी उप्काएर लान्छ भन्ने निर्धारण हुन्छ।

थिग्रेनी उपयोगी स्रोत हो र प्रकोपको एउटा कारक समेत बन्न सक्छ। सन् २००८ मा सप्तकोशीको तटबन्ध भत्केर सुनसरीको जमुवा र कुसाहा गाउँतर्फ पसेको पानीको बहावले ठूलो मात्रामा बलौटे थिग्रेनी थुपारेको अहिले पनि देख्न सकिन्छ। यसले गर्दा धेरै खेतीयोग्य जमीन लामो समयसम्म खेतीका लागि अयोग्य भएका थिए।

नेपालको कमजोर भू–वनावट, भू–सतहको अत्यन्तै भिरालोपन, अत्यधिक वर्षालगायत अवैज्ञानिक भू–उपयोगले गर्दा यहाँका जलाधार क्षेत्रबाट अत्यधिक मात्रामा थिग्रेनी उत्पादन हुन्छ। यसले जलस्रोतको उपयोगमा अर्को चुनौती थपेको छ।

ढुंगा, गिट्टी, बालुवाको वैज्ञानिक उत्खनन् राज्यका लागि एउटा महत्वपूर्ण स्रोत हुनसक्छ। तर, अवैज्ञानिक र  विना मापदण्ड उत्खनन् गर्दा नदी कटान, धार परिवर्तन, तटबन्ध भत्किने तथा डुवानको जोखिम हुन्छ। कमजोर भू–वनावटका कारण चुरे क्षेत्रबाट उद्गम हुने खोलाहरूमा अत्यधिक गेग्रान आउने गर्छ। राजमार्गबाट नजिक रहेकाले उत्खनन्को चपेटामा समेत यिनै क्षेत्रका खोलाहरू परेका छन्।

जलाधारको माथिल्लो क्षेत्र भिरालो भएकाले पानीको बहावमा थिग्रेनी बगाउने क्षमता अत्यधिक हुन्छ। तर, जब नदी पहाडको फेदीबाट तराईको समथर भागमा प्रवेश गर्छ तब नदीको भिरालोपन एकैपटक ठूलो अन्तरले घट्छ। थिग्रेनी बगाउने क्षमता पनि त्यै अनुपातमा कम हुन्छ। यसै कारणले चुरेबाट बग्ने तराईका खोलाहरूमा अत्यधिक थिग्रेनी थुप्रिएर नदीको भुइँ सतह वर्षेनि बढ्ने क्रममा छ। जसका कारण गाउँमा बाढी पस्ने जोखिम बढेको छ।

थिग्रेनीको उचित व्यवस्थापन विना हाम्रा नदी उपयोगका लागि बनाइएका संरचना जस्तै बाँध, इन्टेक, नहर आदिले आफ्नो कार्य पूर्ण क्षमतामा गर्न सक्दैनन्। तसर्थ नदी व्यवस्थापन र संरक्षणका दृष्टिले थिग्रेनीको व्यवस्थापन तथा जलाधारको संरक्षण पहिलो प्राथमिकता हुनुपर्छ।

कालीगण्डकी किनारमा म्याग्दीकाे बेनी बजार । तस्वीर: @RONBupdates
यसरी हुनसक्छ प्रभावकारी उपयोग
नदीले प्रवाह गर्ने जलस्रोतको बहुआयामिक उपयोग जस्तै, जलविद्युत्, सिंचाइ, खानेपानी, आदिबाट प्रशस्तै लाभ लिन सकिन्छ। यस्तो लाभ समुदायस्तर या राष्ट्रियस्तरबाट उपयोग हुनसक्छ। सिंचाइको अन्तिम लक्ष्य भनेको कृषि उत्पादनमा टेवा पुर्‍याउनु हो। तसर्थ कृषि क्षेत्रमा पनि सँगसँगै सुधार नल्याएसम्म सिंचाइबाट लक्षित प्रतिफल प्राप्त हुँदैन।

त्यस्तै जलविद्युत्मा लगानी र त्यसको विकाससँगै त्यसले प्रत्यक्ष प्रभाव पार्ने उद्योग कलकारखानालगायत क्षेत्रलाई प्रोत्साहित हुने नीतिलाई प्राथमिकताका साथ हेरिनुपर्छ। हामीसँग उपलब्ध जलस्रोतको योजनाबद्ध, व्यवस्थित र रणनीतिक उपयोग नै देशको समग्र सामाजिक र आर्थिक समस्याको ओखती बन्न सक्ने सम्भावना छ। एकपछि अर्को नीति तथा नियम बनाउँदै जाने तर, अघिल्लोका गल्तीबाट पाठ नसिक्ने प्रवृत्तिले हरेक पटक हामीलाई गिज्याइरहेको छ।

संस्थागत क्षमता अभिवृद्धि र कार्यान्वयन दक्षतामा सुधार नगरुन्जेल जतिसुकै र जस्तोसुकै नीतिनियम बनाए पनि ठोस परिवर्तन आउने सम्भावना न्यून छ। विगतका तुलनामा पछिल्ला वर्षमा केही सुधारका संकेत देखिए पनि सन्तुष्ट हुने अवस्था छैन। परम्परागत जल–समस्या समाधान भएका छैनन् भने नयाँ समस्या देखापर्न थालेका छन्।

नदीको उपयोगितासँगै त्यसबाट उत्पन्न हुनसक्ने प्रकोप व्यवस्थापन तथा न्यूनीकरणलाई पनि एकीकृत योजनाका साथ कार्यान्वयन गर्न जरूरी छ। बाढीपहिरो लगायत प्रकोप व्यवस्थापनमा बेवास्ता गरे जनधनको क्षति त हुन्छ नै जलस्रोत उपयोगमा लागेको लगानी समेत गुम्ने खतरा हुन्छ।

जलस्रोतको विकासका हिसाबले अन्य वा छिमेकी राष्ट्रको तुलनामा हामी त्यसै पछि परिसकेका छौं। तसर्थ हालको परिवेशमा ठूला र बहुउद्देश्यीय महत्वका आयोजनाले मात्र राष्ट्रिय रूपमा प्रभाव पार्न सक्छन्। साना र मध्यमस्तरका आयोजना क्षेत्रीय वा स्थानीय तहलाई लक्षित गरी संचालन गर्दा उचित हुनसक्छ।

उपलब्ध पानीको असमान वितरणलाई जनसंख्या तथा माग र आवश्यकताका आधारमा समानुपातिक व्यवस्थापन गर्नु अहिलेको टड्कारो चुनौतीका रूपमा देखापरेको छ। त्यसका लागि पर्याप्त पानी भएका नदीबाट कम भएका नदीमा अन्तर जलाधार स्थानान्तरण गर्ने योजनालाई प्राथमिकता दिनुपर्छ। साथै तराईमा भूमिगत जलस्रोतको व्यवस्थित उपयोग र संरक्षणले कृषिमा दिगो परिवर्तन ल्याउन सक्छ।


Your Views
Related News