कपिलवस्तु : शाक्यमुनि बुद्धले ज्ञानको खोजीका लागि २६१५ औं वर्ष अघि दरबार त्याग गरी निस्केको स्मरण गर्दै शनिबार राती कपिलवस्तु दरवारमा महाअभिनिष्कर्मण उत्सव मनाइएको छ ।

 

मध्य रात्री १२ बजेको समयमा मनाइएको महाअभिनिष्कर्मण उत्सवमा राजकुमार सिद्धार्थलाई मनपर्ने कन्थक घोडाको स्मरण गर्दै सेतो घोडामा राजकुमार सिद्धार्थको भेषमा कपिलवस्तु नगरपालिका १ का स्थानीय युवा सिद्धार्थ शाक्यले राजकुमार सिद्धार्थको अभिनयमा दरवार त्याग गरेका थिए ।

बुद्धको जीवनका ४ महत्वपूर्ण घटनाहरु जस्तै दरबार त्यागले उनको जीवनमा महत्वपूर्ण स्थान ओगटेको छ । यो घटना नै बुद्धत्व प्राप्तिको पहिलो खुड्किलो र सत्यको खोजीको शुरुवात थियो ।

यो उत्सव अषाढ पूर्णिमामा मनाउने गरिएको भएपनि लकडाउनका कारण संभव नभएपछि विश्व पर्यटन दिवसको अवसरमा शनिबार मध्य रातमा मनाइएको हो । कार्यक्रमले बुद्धको जीवनमा महान त्यागको महत्वलाई उजागर गर्नु, बौद्ध सर्किटको नयाँ गन्तव्यको रुपमा प्रचारप्रसार गर्नु, विश्व पर्यटन दिवस मनाउनु र प्राचीन कपिलवस्तु क्षेत्रको महत्व दर्शाउनु नै कार्यक्रमको उद्देश्य रहेको लुम्बिनी विकास कोष तौलिहवा सम्पर्क कार्यालयका प्रमुख माधव आचार्यले बताए ।

यो कार्यक्रममले कपिलवस्तु क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा प्रचारप्रसार गर्न सघाउ पुग्ने लुम्बिनी विकास कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले बताए । लुम्विनी विकास कोषको वार्षिक कार्यक्रममा समेत महाअभिनिष्कर्मणको दिनलाई एउटा उत्सवको रुपमा राखी यस दिनको महत्वलाई उजागर गरिने कोषका सदस्य ज्ञवालीले बताए ।

यस्ता कार्यक्रमहरुले प्राचीक कपिलवस्तु दरवारलाई पनि एउटा उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

READ MORE NEWS

आज विश्व पर्यटन दिवस

आज आइतवार ‘पर्यटन र ग्रामीण विकास’को नारासहित पर्यटन दिवस मनाइँदै छ । कोरोना महामारीका कारण विश्वभरि नै सीमित खालका कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

 

आर्थिक विकासमा उल्लेख्य भूमिका र योगदान रहेको पर्यटन क्षेत्रले नेपालमा पनि सामान्य कार्यक्रम आयोजना गरि मनाउँदै छ । विश्व पर्यटन परिषद्को सन् २०१९ को तथ्यांकअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६ दशमलव ७ प्रतिशत रहेको छ भने करीब ११ लाख रोजगारी सृजना गरेको सरकारको दाबी छ ।

 

नेपालमा विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा सरकार तथा निजीक्षेत्रको साझेदारीमा पर्यटनलाई चलायमान बनाउने अभिप्रायले टास्क फोर्स गठन गरी शनिवार पर्यटन पुनरुत्थान अभियान आरम्भ गरिएको छ । कोभिड–१९ महामारीका सन्दर्भमा नेपालको पर्यटन पुनरुत्थानका लागि सकारात्मक, सक्रिय र परिणाममुखी भूमिका खेल्न सार्वजनिक निजी साझेदारीको अवधारणाबमोजिम पर्यटन पुनरुत्थान कार्यदल नेपालको औपचारिक आरम्भ गरिएको छ ।

 

सरकारले बजेटमा घोषणा गरेको ‘देश दर्शन कार्यक्रम’ कार्यान्वयनका लागि पर्यटन क्षेत्रका सरोकारवाला संस्थाको समन्वय तथा सहकार्यमा अभियान शुरू गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको पर्यटन पुनरुत्थान कार्यदलले आन्तरिक पर्यटनलाई चलायमान बनाउने पर्यटकीय गतिविधि सार्वजनिक गरेको हो ।

 

‘पर्यटनका लागि हाम्रो देश, घुमौं देश, चिनौं परिवेश’ भन्ने मूल नाराका साथ अभियानको लोगो, सन्देशमूलक भिडियोलगायत सामग्री समेत सार्वजनिक गरिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।


Your Views
Related News