अष्ट्रेलियाको एडिलेडमा रहेको चर्चित औषधी निर्माण कम्पनी  भ्याक्सिनले बनाएको कोभाक्स-१९ खोपको तेस्रो चरणको परीक्षण नेपालमा पनि गर्ने प्रकृया अगाडि बढेको छ।

नेपाल र अष्ट्रेलियाको भ्याक्सिन कम्पनीबीच सहमति भए कोभ्याक्स-१९ को तेस्रो चरणको परीक्षण सन् २०२० को अन्तसम्ममा नेपालमा गरिने कम्पनीले जनाएको छ।

अष्ट्रेलियाको संघीय सरकारले अष्ट्रेलियाली कोभिड-१९ खोपको ‘अनुसन्धान र विकास’ लाई सहयोग पुर्‍याउने प्रयासमा उक्त कम्पनीलाई १० लाख डलर अनुदान दिने भएको छ।

साउथ अष्ट्रेलियामा रहेको भ्याक्सिन कम्पनीका प्रमुख तथा अनुसन्धान निर्देशक वैज्ञानिक निकोलाई पेत्रोभस्कीले कोभ्याक्स-१९ खोप निमार्णको नेतृत्व सम्हालेका छन्।

पेत्रोभस्कीले कोरोनाको उच्चतम वृद्धि भइरहेको देशमा तेस्रो चरणको अध्ययन गर्नु जरुरी भएकाले नेपालका निकायसँग छलफल अगाडि बढाइएको बताएका छन्। उनले एसिया, मध्यपूर्व अनि मध्य तथा दक्षिणी अमेरिकी मुलुकसँग परीक्षणको सम्भाव्यताबारे छलफल पनि भइरहेको बताए।

‘त्यस्ता परीक्षण गर्न धेरै प्रयास र प्रतिवद्धता चाहिन्छ। नेपालका हाम्रा सहयोगीहरूले हाम्रो कोभाक्स १९ खोपबारे ठूलो उत्साह देखाएका छन्,’ फ्लिन्डर्स विश्वविद्यालयको मेडिसिन तथा पब्लिक हेल्थ कलेजका प्राध्यापकसमेत रहेका पेत्रोभस्कीले भने,‘हाम्रो सफल परीक्षणको महत्वपूर्ण पाटोको रूपमा रहेको तेस्रो चरणमा नेपालसँग सहकार्य गर्न हामी तयार छौं र नेपाली सम्बन्धित निकायले पनि हामीलाई आफ्नो क्षमताको विश्वस्तता देखाएका छन्।

नेपालको राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्रले समेत यस विषयमा अष्ट्रेलियाली अनुसन्धानकर्तासँग वार्ता चलिरहेको जनाएको छ।

‘उहाँहरूबाट प्रस्ताव आएको छ। हामी छलफल गरिरहेका छौं,’ केन्द्रका अनुसन्धान अधिकृत मेघनाथ धिमालले सेतोपाटीसँग भने।

पेत्रोभस्कीले खोपका लागि उनको टोलीले गरेको अनुसन्धान र विकास बजारमा चर्चा भएका अन्य उत्पादनभन्दा फरक र अलग भएको दाबी गरेका छन्।

आफ्नो उत्पादन विश्वको सबैभन्दा वञ्चित देशहरूमा उपलब्ध गराउन इच्छुक रहेको कारण पनि यसको परीक्षण महत्वपूर्ण भएको पेत्रोभस्कीले बताएका छन्।

उनले आफ्नो नयाँ एन्टी कोरोना भ्याक्सिन कोभ्याक्स प्रोटिनमा आधारित भएको कारण सुरक्षित रहेको दाबी गरेका छन्।

यसअघि बेलायतको अक्सोर्ड, रूस र चीनले पनि आफूले बनारहेको भ्याक्सिनको नेपालमा तेस्रो चरणको परीक्षण गर्न प्रस्ताव गरेका थिए। अहिलेसम्म उनीहरूमध्ये कसैलाई पनि खोपको परीक्षण गर्न स्वीकृति भने दिइनसकेको  धिमालले बताए।

READ MORE NEWS

भक्तपुरका महिलाहरूले ‘रेस्क्यू’ गरेको रानीपोखरी

रानीपोखरी काठमाडौंको मुटु हो भने, भक्तपुरका कालिगढ महिलाहरू मुटुको बाइपास सर्जरी गरेर रगत दौडाउने भगवान कोइराला र रामेश कोइरालाजस्तै डाक्टर हुन्।

तिनै महिलाको शिल्पी हातले रानीपोखरीमा चार वर्षदेखि झांगिएको झाडी–जंगल पन्छायो। माटो सम्यायो, इँटा बिछ्यायो। र, रानीपोखरीलाई नयाँ जीवन दियो।

जसरी मुटुको शल्यक्रिया गर्ने डाक्टरले नयाँ जीवन दिन्छन्, त्यसरी नै।

यो २०७५ फागुनको कुरा हो। भुइँचालोले थला परेको रानीपोखरी चार वर्षदेखि कोमामा थियो। काठमाडौं महानगरपालिकाले कंक्रिट र टायल भरेर पोखरीलाई ‘स्विमिङ पुल’ बनाउन आँटेको थियो। सर्जरी गर्नुपर्ने बिरामीको मुटु झिकेर नयाँ फेर्दिन खोजेजस्तो!

महानगरको यस्तो हरकतले होहल्ला भयो। धर्ना, जुलुस, नाराबाजी भए। सरकारले रानीपोखरीको उपचार गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा रिफर गरेर पठायो।

लगत्तै प्राधिकरण प्रमुख सुशील ज्ञवाली र उनको टोली भक्तपुरको भाजुपोखरी हेर्न गयो।

त्यो बेला भक्तपुर नगरपालिकाले स्थानीय उपभोक्ता समितिबाटै भाजुपोखरी पुनर्निर्माण गर्दै थियो। कालो माटो प्रयोग गरेर मौलिक शैलीमा पोखरी बन्दै गरेको देखेपछि ज्ञवालीले नगरप्रमुख सुनील प्रजापतिलाई भेटेर भने, ‘भक्तपुरको यही सीप प्रयोग गरेर काठमाडौंको रानीपोखरी बनाउनुपर्‍यो। तपाईंहरू मद्दत गर्नुहुन्छ?’

प्रजापति तयार भए। उनले तुरुन्तै भाजुपोखरी जीर्णोद्धार उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद दुमरुसँग प्राधिकरणको सम्पर्क गराइदिए।

त्यसपछि दुमरुले भाजुपोखरीमा काम गरिरहेका महिला–पुरुषलाई डाकेर भने, ‘काठमाडौंले सहयोग मागेको छ। हामीले रानीपोखरी बनाउन जानुछ। को–को तयार हुनुहुन्छ?

देशको संघीय राजधानीले मागेको सहयोगलाई भक्तपुरका शिल्पीहरूले चुनौतीका रूपमा लिए।

धेरैजसोले काठमाडौं जान हात उठाए। दोमनमा रहेकाहरू पनि सँगै काम गरिरहेका साथीभाइ तयार भएपछि कस्सिए।

यहीँबाट सुरू भयो, रानीपोखरी पुनर्निर्माणको नयाँ यात्रा।

‘रानीपोखरीको विवाद हामीले सुनेका थियौं। मेयर र उपमेयरबीच जुहारी नै चलेको थियो। अभियन्ताहरूले पुरानै शैलीमा बनाउनुपर्छ भनेर आवाज उठाएका थिए,’ रानीपोखरी पुनर्निर्माणमा भक्तपुरको संलग्नता सम्झँदै दुमरुले भने, ‘लामो समय विवादित भएपछि प्राधिकरणले भक्तपुरसँग सहयोग मागेको थियो। हामी पछि हट्ने कुरै थिएन।’

उनले अगाडि भने, ‘त्यो हाम्रो लागि जिम्मेवारी पनि थियो, चुनौती पनि। प्राधिकरणका सरहरू हामीले मौलिक शैलीमा भाजुपोखरी बनाएको देखेर रानीपोखरी पनि त्यस्तै बनाउनुपर्‍यो भन्दै आउनुभएको थियो। हामीले उहाँहरूको विश्वास तोड्ने कुरै आएन।’

भक्तपुरको एउटै सर्त थियो– यो काम ठेक्कामा होइन, उपभोक्ता समितिमार्फत् गर्नुपर्छ।

कुनै पनि काममा स्थानीय सहभागिता भए अपनत्वको भावना विकास हुन्छ र आर्थिक रूपले सस्तो र पारदर्शी हुन्छ भन्ने भक्तपुरको मान्यता थियो।

प्राधिकरणले यो मान्यता स्वीकार गर्‍यो, दुमरुले भने, ‘उहाँहरूले अजयरत्न स्थापितको संयोजकत्वमा सात सदस्यीय उपभोक्ता समिति गठन गर्नुभयो। हामीले समिति र प्राधिकरणसँग सहकार्य गर्दै शिवरात्रिको दिनबाट काम सुरू गर्‍यौं।’

पहिलो चरणमा ५० र त्यसपछि ९० जनासम्म कालिगढ रानीपोखरी पुनर्निर्माणमा संलग्न भए। तीमध्ये दुईतिहाइ महिला थिए– ३० देखि ५५ वर्ष उमेरका।

उनीहरूले करिब आठ महिना काम गरे। त्यो बेला रत्नपार्क वा जमलको आकाशेपुलबाट हेर्दा शिरमा टोपी, रंगीविरंगी साडी र कम्मरमा पटुका कसेका भक्तपुरे महिलाहरू दिनैभरि रानीपोखरीमा काम गरिरहेका देखिन्थे।

एउटा समूह लगातार झाडी फाँडिरहेका हुन्थे। अर्को समूह कोदालोले माटो खन्दै, बेल्चाले उठाउँदै सानो गाडामा भर्थे। अनि अर्को समूह त्यो माटो पोखरीको डिलमा लगेर थुपार्थे।

परबाट हेर्दा यस्तो देखिन्थ्यो, मानौं कर्मी माहुरीहरूको बथान बासनादार फूलमाथि भुनभुनाउँदै छ।

तिनै कर्मी माहुरीमध्ये एक थिइन्, सुभद्रा ध्वँजू।

हामीले केही दिनअघि दुमरुबाट फोन नम्बर लिएर उनीसँग सम्पर्क गरेका थियौं। सुरूमा बोल्न दकस मानेकी सुभद्रा विस्तारै खुल्दै गइन्।

‘हामी बिहानै ८ बजे घरबाट निस्कन्थ्यौं। हरेक दिन हामीलाई भक्तपुरदेखि रानीपोखरीसम्म लैजान एउटा बस रिजर्भ गरिएको थियो। दुई–तीन घन्टा त जान–आउनमै लाग्थ्यो,’ उनले आफ्नो अनुभव सुनाइन्, ‘भाजुपोखरीमा सँगै काम गरेका साथीहरू भएकाले निकै रमाइलो भयो। काम गरेजस्तै भएन, सधैं पिकनिक गएजस्तो हुन्थ्यो।’

उनीहरूलाई सबभन्दा गाह्रो झाडी पन्छाउन भएछ। चार वर्षदेखि झांगिएको झाडी सफा गर्न एक महिना लागेको उनी बताउँछिन्।

‘पहिलो दिन जाँदा त हामी अलमलिएका थियौं। पोखरी बनाउन भनेर आएका छौं, आँखा अगाडि यत्ति लामो लामो घाँस उम्रेको छ। त्यत्रो ठूलो पोखरीको घाँस कहिले पन्छाइसक्नु! कहिले माटो खन्नु, कहिले पोखरी बनाउनु! हामीलाई त सकिन्न कि क्या हो भन्ने भएको थियो। विस्तारै काम गर्दै गयौं,’ उनले आफ्नो अनुभव सुनाइन्।

अगाडि भनिन्, ‘महिना दिनमा झाडी पन्छाइसकेपछि अलि हेर्न हुने भयो। त्यसपछि चाहिँ हिम्मत बढ्यो। अनि त कोही साथीहरू कालो माटो मुछ्ने, कोही ओसार्ने, कोही सम्याउने, कोही पोखरीको डिलमा पर्खाल लगाउने– एक सुरमा धमाधम काम भयो।’

सुभद्राकै छिमेकी मैयाँ व्यँजूको पनि यस्तै अनुभव छ।

दिनभरि साथीहरूसँग गफ गर्दै, गीत गाउँदै काम गर्दा समय बितेको पनि पत्तो नभएको उनी बताउँछिन्।

‘हामी त गीत गाउँदै आउँथ्यौं, गीत गाउँदै काम गर्थ्यौं, गीत गाउँदै जान्थ्यौं। सरहरूले कहिलेकाहीँ कत्ति गफ गरेको भनेर गाली गर्नुहुन्थ्यो। जति गफ गरे पनि आफ्नो काम भ्याए त भइहाल्यो नि, होइन सर? गफ गर्‍यो भन्दैमा काम ठगेर बसेको होइन!’ उनले भनिन्।

सुभद्रा र मैयाँ रानीपोखरी छिरेको पहिलोपल्ट हो। कोही त पहिलोपल्ट रानीपोखरी देख्ने पनि थिए।

‘मैले त देखेको हो, भित्र छिरेको चाहिँ थिइनँ। यसपालि छिर्न पाइयो। हाम्रै दुई–चार जना साथीले पहिलोचोटि देख्नुभएको रहेछ,’ मैयाँले भनिन्, ‘काठमाडौं गए पनि रानीपोखरी जानुभएको रहेनछ।’

यी कालिगढले झाडी हटाइसकेपछि पोखरीको मूल स्वरूप पत्ता लागेको र काम गर्न सजिलो भएको दुमरु बताउँछन्।

उनका अनुसार, पहिले महानगरले डोजर चलाउँदा पिँधको भाग र पूर्वतर्फको पर्खाल मासिएको थियो। उत्तरी पर्खाल पनि स्वरूप नै बिग्रने गरी भत्किएको थियो। पिँधबाट ठूलो परिमाणको बालुवा झिकेर लगिएको रहेछ। कालो माटो पनि अवशेष मात्र बाँकी थियो।

‘पहिले ठेकेदारले कंक्रिट पर्खाल लगाउन डोजर चलाएका कति ठाउँमा न माःआपा (परम्परागत इँटा) बाँकी थियो न बालुवा,’ उनले भने, ‘हामीले पोखरीको पिँधमा पूरै कालो माटो भरेर त्यसमाथि माःआपाले सोलिङ गरेका छौं।’

पोखरी चुहिनबाट जोगाउन इँटाको सोलिङ जरूरी भएको उनको भनाइ छ।

सोलिङ गरिएन भने माछाले तलको हिलो खाइदिन्छ, उनले अगाडि भने, ‘यहाँ सबभन्दा तल पाँगो माटोको तह छ। त्योभन्दा माथि तीनदेखि छ फिट बालुवा छ। बालुवाभन्दा माथि डेढ फिट कालो माटोको पत्र र त्यसमाथि इँटा सोलिङ गरिएको छ।’

रानीपोखरीमा प्रयोग गरिएको कालो माटो भक्तपुरको सांंगा लगायत विभिन्न ठाउँबाट ल्याइएको थियो। कालिगढहरूले दैनिक १ हजार ५० देखि १ हजार ४ सय ५० रुपैयाँ पारिश्रमिक पाएका थिए। उनीहरू यसबाट सन्तुष्ट छन्।

एउटा कुरामा भने उनीहरूको चित्त दुखाइ रहेछ।

‘सुरूमा गाह्रो काम जति हामीले गर्‍यौं, पछि हामीलाई विदा गरेर ठेक्कामा काम लगायो,’ मैयाँले भनिन्, ‘यो पोखरी त अब बन्दै बन्दैन भनेर सबैले गाली गरेका बेला हामीलाई डाक्यो, हामीले सारा काम गरेर पोखरीजस्तो बनायौं, माटो पुछ्ने, इँटा सोलिङ गर्ने, गारो लगाउने सबै काम गर्‍यौं। लास्टमा गएर हामीलाई हटाइयो।’

‘पोखरी बनाउन भनेर लगेपछि पानी नभरिएसम्म हामीलाई नै काममा लगाएको भए के बिग्रन्थ्यो,’ उनले गुनासो सुनाइन्।

यही चित्त दुखाइले उनीहरू रानीपोखरी हेर्न पनि आएका छैनन्।

‘पानी भरिएको छ भन्ने सुनेको छु, तर हेर्न गएको छैन,’ उनले भनिन्, ‘के जानु!’

यसबारे सोध्दा दुमरुले ठेक्का प्रणालीमा लगाउनेबारे कुरा नमिलेपछि आफूहरू अलग्गिएको बताए।

‘हामीले सुरूमै भनेका थियौं, ठेक्कामा काम गर्ने भक्तपुरको मान्यता होइन। हामी उपभोक्ता समितिबाटै काम गर्नुपर्छ भन्नेमा अडिग छौं। उहाँहरूले पछि ठेक्कामा लगाउने कुरा गर्नुभयो। हामीलाई नै ठेक्कामा लिनुस् भनेर पनि भन्नुभयो। हामीले मानेनौं र फर्केर आयौं,’ उनले भने।

काम पूरा नहुँदै अलग्गिनुपरेकोमा उनलाई पछुतो भने छैन।

‘हामी त सहयोग गर्न गएका हौं। सात–आठ महिनामा आफूसँग भएको ज्ञान, सीप र शैली सबै सिकाइसकेका थियौं,’ उनले भने, ‘बाटो देखाइदिएपछि जो आएर काम गरे पनि बिग्रँदैन भन्नेमा ढुक्क थियौं।’

अहिले लबालब पानी भरिएको र मौलिक शैलीमा बनेको रानीपोखरी देख्दा गर्व लाग्ने उनले बताए।

‘पुर्खाले सिकाएर गएको सीप र शैली हामीले आफ्नो ठाउँमा त प्रयोग गरेकै थियौं, त्यसलाई बाहिर पनि प्रदर्शन गर्न पाउँदा गर्व लागेको छ,’ उनले भने।

उनले यो पनि भने, ‘रानीपोखरी बन्दै नबन्ने हो कि भनेर सबैको मनमा चिसो पसेको थियो। हामीले पुरानै स्वरूपमा बनाएर देखायौं। आज रानीपोखरी देख्दा कुन नेपालीलाई खुसी नलाग्ला? यसमा भक्तपुरको हात छ भन्ने सोच्दा कुन भक्तपुरेलाई गर्व नहोला?’

भक्तपुरका कालिगढको चित्त दुखाइबारे हामीले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीसँग पनि कुरा गर्‍यौं।

उनले ठेक्कामा काम लगाउने उद्देश्यले ती कालिगढलाई नहटाइएको बताए।

‘पोखरी निर्माणको लगभग सबै काम उहाँहरूले नै गर्नुभएको हो। अलि चाँडो होस् भनेर माटो ओसार्ने, बगैंचा सिँगार्नेजस्ता काम ठेक्कामा लगाएका हौं,’ उनले भने, ‘यसमा उपभोक्ता समिति प्रत्यक्ष संलग्न छ। भक्तपुरका कालिगढबाट सिकेको सीप र ज्ञान प्रयोग गरेर काठमाडौंको उपभोक्ता समितिले काम गर्दैछ।’

‘वर्षौंदेखि रोकिएको काममा उहाँहरूले हात हालेर पार लगाइदिनुभयो। उहाँहरूको ऊर्जाले नै हामीमा रानीपोखरी पुरानै स्वरूपमा फर्कन्छ भन्ने विश्वास पलाएको हो,’ उनले भने।

त्यति बेला व्यापक जनदबाबपछि सरकारले रानीपोखरीको जिम्मा प्राधिकरणलाई दिएकाले जनताकै अपेक्षाअनुरूप बनाउनुपर्छ भन्ने चुनौती रहेको उनले बताए।

‘हाम्रो त्यो चुनौतीमा भक्तपुरले साथ दियो,’ उनले भने।

त्यसो त रानीपोखरी बनाउने यी कालिगढहरू अनुभवी नै थिए। उनीहरूले तीन सय वर्ष पुरानो भाजुपोखरी परम्परागत शैलीमै पुनर्निर्माण गरेका थिए।

रानीपोखरीबाट प्रभावित भएर उस्तै शैलीमा बनेको भाजुपोखरी पानी नअडिने समस्याले करिब ३० वर्षअघि सुकेको थियो। यसबीच २०४८ सालतिर भक्तपुरको सिद्धपोखरी जीर्णोद्धार भयो। वर्षदिन लगाएर स्थानीयले आफ्नै बलबुतामा पोखरी ब्युँताए। तिनै स्थानीयबाट भाजुपोखरी ब्युँताउने काम भएको हो।

यति मात्र होइन, भाजुपोखरी र रानीपोखरी पुनर्निर्माणबाट प्रभावित भएर ललितपुरले लगनखेलको न्हू पुखु बनाउने जिम्मा यही टोलीलाई दिएको छ। न्हू पुखु सोह्रौं शताब्दीमा राजा सिद्धिनरसिंह मल्लको समयमा निर्माण भएको मानिन्छ।

न्हू पुखुको काम जारी रहेको दुमरु बताउँछन्।

‘अहिले हामीसँग भएका कालिगढ परम्परागत शैलीमा पोखरी बनाउन पोख्त भइसकेका छन्,’ उनले भने, ‘पुर्खाबाट सरेर आएको ज्ञान नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्छ भन्नेमा हामी सचेत छौं।’

काठमाडौं वा ललितपुरले डाक्यो भने आफ्नो टोली अन्य परम्परागत पोखरी पनि ब्युँताउन तयार रहेको उनले बताए।

भोलि अरू पोखरीमा काम गर्न त बोलाउँदै गरौंला, अहिलेलाई रानीपोखरी ‘रेस्क्यू’ गर्ने भक्तपुरलाई काठमाडौंले औपचारिक धन्यवाद दिनुपर्छ कि पर्दैन?

तपाईंहरू आफ्नो मुटु चिरेर ज्यान जोगाइदियो भने डाक्टर भगवान कोइराला वा रामेश कोइरालालाई धन्यवाद दिनुहुन्छ कि दिनुहुन्न?

‘भक्तपुर नगरपालिका र त्यहाँका कालिगढहरू धन्यवादका हकदार छन्,’ प्राधिकरण प्रमुख ज्ञवालीले भने, ‘हामी एउटा कार्यक्रम गरेर सबै कालिगढलाई रानीपोखरी हेर्न निम्ता गर्दैछौं।’


Your Views
Related News