दार्चुला, १० असोज । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छांगरुमै बस्ने भएको छ । स्थायीरुपमा संरचना निर्माण नभए पनि अहिलेलाई भाडाकै घरमा सशस्त्र प्रहरी बाह्रैमास छांगरुमै बस्ने भएको हो ।

सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरीको गुल्म नै व्यासको छांगरुमा स्थापना भइसकेकाले अब कुनै पनि हालतमा तल नझर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सशस्त्र प्रहरीलाई बाह्रैमास बस्ने व्यवस्था मिलाउँदैछौं, गएको सशस्त्र प्रहरी तल फर्किदैन ।”

शुक्रबार गृहमन्त्री रामबहादुर थापा र सशस्त्र प्रहरी प्रमुख खनालले सशस्त्र प्रहरीको भवनको शिलन्यास गर्नुभएको थियो । भवन समयमै सक्न ठेकेदारलाई निर्देशन भएको जनाउँदै उहाँले जे अवस्था रहे पनि सशस्त्र प्रहरीको व्यवस्थापन गरिने बताउनुभयो । गत वैशाख ३१ गते व्यासको छांगरु गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बसेको थियो । गत असार २८ गते बसेको मन्त्रिपरिषदको निर्णयअनुसार व्यासको छाङ्रुमा सशस्त्र प्रहरीको गुल्म स्थापना गर्ने निर्णय भएको थियो ।

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ,पुरा हेर्नुहोला ।


Your Views
Related News