एजेन्सी – स्पेनिस ला लिगामा आज (आइतबार) विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुदैछ । ला लिगाको यो तेस्रो राउन्डको खेल भएपनि क्याटलान क्लब बार्सिलोनाले नयाँ सिजनको ला लिगामा पहिलो खेल खेल्दैछ ।

बार्सिलोनाले घरेलु मैदान नोउक्याम्पमा भिल्लारियलसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गरेका बार्सिलोनाले ला लिगामा थप विश्राम पाएको थियो । भिल्लारियलले भने दुई खेल खेलिसकेको छ । घरेलु मैदानमा बार्सिलोना भिल्लारियललाई पराजित गर्दै सुखद सुरुवात लिने दाउमा हुनेछ ।

नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको प्रशिक्षणमा बार्सिलोनाले ला लिगामा पहिलो खेल खेल्न लागेको हो । कप्तान लियोनेल मेस्सी नै टोलीको लागि मुख्य हतियार हुनेछन् । यस्तै बार्सिलोनासँग एन्टोइन ग्रिजमन, फिलिपे कौटिन्हो, अन्सु फाती, फ्रान्की डि जोङ, सर्जियो बुस्क्वेट्स, जोर्डी अल्वा, क्लेमेन्ट लेङ्लेट, जेरार्ड पिके र सर्जियो रोबर्टाे रहनेछन् ।

चोटका कारण पहिलो रोजाईका गोलरक्षक मार्क आन्द्रे टेर स्टेगन टोलीमा नरहँदा बार्सिलोनाको पोस्ट नेटोले सम्हाल्न सक्ने सम्भावना छ । प्रि–सिजनमा शत प्रतिशत जित निकालेका कारण पनि बार्सिलोना आशावादी भएर मैदान उत्रनेछ ।

यता, ला लिगामा दुई खेल खेलिसकेको भिल्लारियल अपराजित यात्रालाई निरन्तरता दिने दाउमा रहँदा बार्सिलोनालाई उसकै मैदानमा स्तब्ध पार्ने सोचमा रहनेछ । ला लिगाको पहिलो खेलमा नवप्रवेशी एसडी हुएस्कासँग १–१ गोलको बराबरी खेलेको भिल्लारियलले दोस्रो खेलमा एइवरलाई २–१ ले पराजित गरेको थियो ।

भिल्लारियलसँग जेरार्ड मोरेनो, पाको अल्कासेर, मोइ गोमेज, ताकेफुसा कुवो, ड्यानियल पारेजो, पोउ टोरेस, मारियो गास्पर र गोलरक्षक सर्जियो एसेन्जो रहनेछ । यि दुई टोली २० पटक आमनेसमाने हुँदा भिल्लारियलले हालसम्म जित हात पार्न सकेको छैन ।

भिल्लारियल बार्सिलोनासँगको हारको श्रृंखला तोड्ने योजनमा हुनेछ । यस सिजन खुलेर खर्च गरेको भिल्लारियलविरुद्ध खेल्न बार्सिलोनालाई सहज हुने छैन । अझ बार्सिलोनाको चिर परिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडबाट युवा विंगर कुबो भिल्लारियलबाट खेल्दैछन् । कुबो बार्सिलोनाकै एकेडेमीमा हुर्केका कारण पनि खेलमा रोमान्च थप्ने अपेक्षा गरिएको छ ।

बार्सिलोनाले १६ खेल आफ्नो पक्षमा पार्दा ४ खेल बराबरीमा टुंगिएको छ । बार्सिलोना भिल्लारियलमाथिको अपराजित यात्रालाई निरन्तरता दिने योजनमा हुनेछ ।

अन्य खेल

ओसासुनाविरुद्ध लेभान्टे (दिउँसो ३ः४५ बजे), एइवरविरुद्ध एथलेटिको क्लब (साँझ ५ः४५ बजे), एट्लेटिको म्याड्रिडविरुद्ध ग्रानडा (राति ७ः४५ बजे), काडिजविरुद्ध सेभिया (राति १०ः१५ बजे), रियल भालाडोलिडविरुद्ध सेल्टा डि भिगो (राति १०ः१५ बजे)

READ MORE NEWS

म्यानचेस्टर सिटीलाई लेस्टरको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (आइतबार) राति साविकको उपविजेता म्यानचेस्टर सिटीले घरेलु मैदानमा लेस्टर सिटीको आतिथ्यता गर्दैछ ।

म्यानचेस्ट सिटी र लेस्टर सिटीबीचको खेल इतिहाद स्टेडियममा नेपाली समयअनुसार राति ९ः१५ बजे हुनेछ । चोटका कारण फरवार्डद्धय ग्याब्रियल जेसस र सर्जियो अगुइरोलाई गुमाएको म्यानचेस्टर सिटी घरेलु मैदानमा लेस्टरलाई पराजित गर्दै प्रिमियर लिगमा लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

सिटीसँग रहिम स्ट्रलिङ, फिल फोडेन, केभिन डि ब्रुयन, रियाद महारेज, फर्नाडिन्हो, रोड्री, बेन्जामिन मेन्डी, नाथन एके, केल वाल्कर, जोन स्टोन्स र गोलरक्षकमा इडर्सन मोराइस रहनेछन् । फरवार्ड ग्याब्रिएल जेसस र सर्जियो अगुएरो नहुँदा सिटी ठूलो संकटमा रहेको छ ।

यता, लेस्टर सिटी पनि घरेलु टोलीलाई स्तब्ध पार्दै ३ अंकको खोजीमा मैदानमा उत्रनेछ । जेमी भार्डी नै टोलीका लागि मुख्य हतियार हुनेछन् । उनलाई हार्भी बार्न्स, डेनिस प्राएट, एयोजी पेरेज, जेम्स जस्टिन, टिमोथी कास्टाग्ने, जोनी इभान्स र गोलरक्षक कास्पर स्माइकलले साथ दिनेछन् ।

लेस्टरको दुई खेलबाट ६ अंक रहेको छ । सिटीको एक खेलबाट ३ अंक छ । यि दुई टोलीको १७ भेटमा सिटीले १० खेल आफ्नो पक्षमा पारेको छ । लेस्टरले ३ खेल आफ्नो बनाउँदा ४ खेल बराबरीमा टुंगिएको छ ।

पछिल्लो तीन खेलमा सिटीले लेस्टरसँग हार बेहोरेको छैन । लेस्टरले पछिल्लोपटक २०१८ डिसेम्बरमा सिटिविरुद्ध प्रिमियर लिगमा २–१ को जित निकालेको थियो ।

जिदान ट्रान्सफरमा खेलाडी नआएपनि खुसी

एजेन्सी– नयाँ खेलाडी भित्राउने विषयमा रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले सरुवा बजार खुला रहँदासम्म जे पनि हुन सक्ने बताएका छन् । नयाँ सिजनका लागि अक्टुबर ४ सम्ममा सरुवा बजार खुला रहेको छ ।

पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट जुन ३० फ्रि एजेन्टमा अलग भएका इडिन्सन काभानीसँग रियलले सम्झौता गर्ने विषयमा चर्चा चलेपछि जिदानले प्रष्ट पार्ने प्रयास गरेका हुन् । काभानीका बारेमा प्रष्ट नबोले पनि फ्रान्सेली प्रशिक्षकले शुक्रबार प्रि म्याच कन्फ्रेन्समा भने, ‘म हाम्रा खेलाडीको समूहबाट खुसी छु । अक्टुबर ४ सम्म जे पनि हुन सक्छ ।’

कुनै खेलाडी रियलमा आबद्ध हुँदैछ भन्नेमा चासो रहेको उल्लेख गर्दै जिदानले भने, ‘तर म आफ्नो टोलीबाट खुसी छु । हामीले राम्रोका लागि प्रयास गरिरहेका छौैं । लक्ष्यमा पुग्नका लागि हामी सक्षम छौं ।’

रियल सोसिडाडविरुद्ध गत साता भएको ला लिगा खेलमा रियल गोलरहित बराबरीमा रोकिएको थियो । जसमा इडन हाजार्ड, मार्को एसेन्सियो र लुकास भाज्केज थिएनन् । जिदानले उनीहरुका लागि हतार नगरिएको पनि प्रष्ट पारे । रियलले शनिबार बेटिसविरुद्ध ३-२ को कठिन जितका साथ सिजनको पहिलो जित भने हात पार्यो ।

उनीहरु मध्ये केहि यात्रामा रहे पनि उनीहरु क्लबको अभ्यासमा फर्केको धेरै नभएकाले जनाउन्दै भने, ‘उनीहरुले धेरै अभ्यास गर्न पाएका छैनन् । मुख्य विषय शारीरिक रुपमा उनीहरु ठिक छन् । धेरै खेल खेल्नुपर्नेछ । आउने दिनमा केके हुन्छ हेर्दै जाउँ।’

रियलबाट लोनमा टोटनहम गएका ग्यारेथ बेलका विषयमा सोधिएको प्रश्नमा जिदानले भने, खासै भन्नुपर्ने केहि छैन । मैले उनलाई सुखद यात्राको कामना गरे । हामीले जे गर्यौं त्यो व्यावसायिक काम थियो ।’

बेल र हामेस रोड्रिग्वेजलाई उनले न्याय गर्न नसकेको विषयमा पनि उठ्ने गरेको छ । एकेडेमीका खेलाडीलाई महत्व दिदा उनीहरु छायाँमा परेको पनि बताइन्छ । जिदानले त्यसलाई भने स्वीकारेनन् । ‘जुनसुकै खेलाडीले यहाँ वा अन्य क्लबमा उनीहरुले जति सफलता प्राप्त गरेका छैनन् । बेल र रोड्रिग्वेजका विषयमा संकेत गर्दै भने तपाईहरुले जसका बारेमा चर्चा गर्नुभएको छ, मलाई लाग्छ उनीहरुले रियलमा सफलता प्राप्त गरेका थिए ।’

ला लिगाको आफ्नो पहिलो खेलमा गोलका लागि संघर्ष गर्नु परेको थियो । तर, सफलता मिलेन । लुका जोभिक र करिम बेन्जेमाको जाडीले आक्रामक खेलेर पनि सफलता नमिलेका विषयमा जिदानले भने, ‘उनीहरुसँगै खेल्न सक्छन् । आउने दिनमा धेरै खेल्नुपर्ने छ र उनीहरु त्यसमा सफल हुनेछन् ।’

जिदानले हरेक खेल फरक हुने बताए । ‘हरेक खेल फरक हुन्छ । उपलब्ध विकल्पबाट छान्ने हो’, उनले भने, ‘बेन्जेमा र जोभिकलेसँगै खेल्न सक्दैनन् भन्ने सोच छैन । उनीहरु खेल्न सक्छन् ।’


Your Views
Related News