कोरोना भाइरसविरूद्ध खोप विकास हुन र त्यसको पहुँच हामीसम्म आइपुग्न अझै धेरै समय लाग्ने छ। त्यसैले कोरोना महामारीबारे सर्वसाधारणमा व्याप्त भ्रम चिर्न जनचेतना फैलाउनु आजको आवश्यकता हो। त्यही भएर यसबारे उठ्ने गरेका केही महत्वपूर्ण प्रश्नबारे यहाँ चर्चा गर्ने कोशिस गरेको छु।

कोभिड-१९ लाई महामारी किन भनिएको हो?

कोभिड-१९ ले महामारी रूप लिनुको कारण यसको मृत्यु दरभन्दा संक्रमण दरले हो। पछिल्ला शताब्दीमा सबभन्दा छिटो फैलिएर पूरा संसारलाई आतंकित पारेको यो भाइरसको मृत्यु दर अहिले ४ प्रतिशत छ।

भन्नुको मतलब, ९६ प्रतिशत मानिस आफैं निको भइरहेका छन्। त्यसैले अत्तालिनुपर्ने आवश्यकता त छैन, तर त्यो ४ प्रतिशतभित्र हामी आफैं वा हाम्रा प्रियजन जो पनि पर्न सक्छन्।

केही मानिस विभिन्न तथ्यांक देखाएर कोरोनाले एक जना पनि मरेका छैनन् भन्ने दाबी गर्दै हिँडेका छन्। भाइरस संक्रमण भनेको हृदयघात, रक्तचाप वा क्यान्सरजस्तो रोग होइन। कोरोना भाइरस मात्र होइन, एचआइभी/एड्स, हेपाटाइटिसजस्ता भाइरसले पनि आफैं संक्रमित व्यक्तिलाई मार्दैन। भाइरसले संक्रमित व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता कमजोर पार्नुका साथै शरीरका विभिन्न अंग निस्क्रिय पारेर जटिलता उत्पन्न गर्छ।

भाइरस संक्रमण भएको व्यक्तिलाई अन्य रोगले सजिलै आक्रमण गरेर संक्रमितको ज्यान जान सक्छ। संक्रमित व्यक्ति पहिल्यैदेखि कुनै दीर्घरोगले ग्रसित छ भने उसको मृत्यु हुने सम्भावना उच्च रहन्छ।

कोरोना भाइरसले निम्त्याउने जटिलतामा श्वासप्रश्वासमा कठिनाइ, निमोनिया, कलेजो, फोक्सो, मुटु, मिर्गौलाजस्ता अंगमा आघात पुर्‍याउनु प्रमुख छन्। यो अवस्थामा संक्रमितको मृत्यु अन्य रोग वा अन्य जटिलताले भए पनि त्यसको कारण कोरना भाइरस नै हुन्छ।

औषधि नै नबनेको भाइरस संक्रमणबाट यतिका धेरै मान्छे कसरी निको भए? कतै यो महामारी हाउगुजी त होइन?

रुघाखोकी लगायत धेरै भाइरल रोग औषधिले निको हुने होइन। भाइरल रोग लाग्दा खाएका एन्टिबायोटिकले ठिक गरेको भन्नु भ्रम हो। भाइरल संक्रमण भएर बिरामीको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बेला अन्य रोग नलागोस् भनेर मात्र औषधि प्रयोग गर्ने हो।

अहिलेसम्म कुनै पनि भाइरल रोग पूर्ण निको पार्ने औषधि बनेका छैनन्। औषधि खाँदै नखाए पनि कतिपय भाइरल एक वा दुई सातामा स्वत: निको भएर जान्छन्। कति भने अन्य ब्याक्टेरियल वा फंगल संक्रमणले जटिल रूप लिएर संक्रमितको मृत्युसमेत हुन सक्छ।

अस्पतालमा उपचार हुने भनेको बिरामीमा देखिएको असर र प्रभाव न्यूनीकरण गर्ने र श्वासप्रश्वास लगायतका जटिलता कम गरी प्रतिकूल अवस्था आउन नदिने हो। यसले रोग बल्झन पाउँदैन र बिरामीको ज्यान बचाउन सकिन्छ।

कोरोनाविरुद्ध खोप भनेको के हो र यसले कसरी काम गर्छ?

खोप भनेको भाइरसकै निस्क्रिय भाग हो, जसलाई शरीरमा प्रवेश गराएपछि हाम्रो रोग प्रतिरोधात्मक प्रणाली सक्रिय हुन्छ। यसले उक्त भाइरस पहिचान गरी नष्ट गरिदिन्छ।

कोरोना, एचआइभी-एड्सजस्ता आरएनए भाइरसले निकै छिटो स्वरूप परिवर्तन गर्ने भएकाले यसविरुद्ध उपयोगी खोप विकास गर्न कठिन छ।

के पिसिआर प्रविधि गाई कि त्रिशुल हो? के यो परीक्षण विश्वसनीय छैन?

‘पिसिआर’ भनेको यस्तो प्रविधि हो, जसले एउटा अतिसूक्ष्म जीवांशलाई करोडौं गुणा परिमाणात्मक वृद्धि गर्दिन्छ। यसले अतिसूक्ष्म भागबाट पनि उक्त जीवांशको अध्ययन गर्न सकिन्छ।

हरेक प्राणीको डिएनए/आरएनए फरक हुन्छ। उक्त डिएनएमा त्यस जीवांशसम्बन्धी सम्पूर्ण जेनेटिक सूचना समेटिएको हुन्छ। यस्तो डिएनएको आधारभूत बनोट हरेक जीवमा भिन्न हुन्छ। त्यही भिन्नता र समानताका आधारमा जीवहरू पहिचान गरिन्छ।

कोरोना परीक्षण क्रममा घाँटी, नाक वा धेरै मात्रामा भाइरस प्राप्त गर्न सकिने स्थानबाट स्वाब नमूना संकलन गरिन्छ। यसलाई सुरक्षित तरिकाले ‘भाइरल ट्रान्सपोर्ट मिडियम’ (भिटिएम) मा राखेर प्रयोगशाला पुर्‍याइन्छ। त्यसपछि उक्त स्वाबबाट भाइरसको आरएनए निकालिन्छ, जुन सबभन्दा जटिल र समय लाग्ने प्रक्रिया हो। यसमा सानो गल्तीले पनि परीक्षणको नतिजामा ठूलो असर गर्छ। कोरोना परीक्षणका लागि ‘रियल टाइम पिसिआर’ प्रयोग गरिन्छ, जसको प्रभावकारिता ९० प्रतिशतभन्दा धेरै हुन्छ।

कीर्तिपुर नगरपालिका र त्रिभुवन विश्वविद्यालयको बायो-टेक्नोलोजी विभागले संयुक्त रूपमा बायोटेक प्रयोगशाला सञ्चालन गरेको छ। यो प्रयोगशालाबाट प्राप्त नतिजालाई जनस्वास्थ्य प्रयोगशालामा लगेर जाँच्दा शतप्रतिशत सही आएको थियो। यहाँ त्रिभुवन विश्वविद्यालयका बायो-टेक्नोलोजिस्टहरू कार्यरत छन्। यसले राम्ररी गरेको परीक्षण एउटै नमूनाबाट फेरि दोहोर्‍याउँदा समान नतिजा आउँछ भन्ने प्रमाणित हुन्छ।

फलफूल, ढल लगायतमा कसरी कोरोना देखियो?

विभिन्न अध्ययन र अनुसन्धानले कोरोना भाइरस बाहिर वातावरणमा ७२ घन्टासम्म सकुशल रहनसक्ने पाइएको छ।त्यसैले, कोरोना भाइरस त्यस्तो ठाउँमा भेटिनु आश्चर्यजनक कुरा होइन।

के हामी अब कोरोना रोकथामका लागि केही गर्न सक्दैनौं?

आजकल धेरै मान्छे कोरोनासँगै बाँच्नुपर्छ भन्न थालेका छन। खोप बन्न समय लाग्ने र बने पनि दीर्घकालीन हुन नसक्ने तर्क गर्दै कोरोनालाई सामान्य रुघाखोकीजस्तै मानेर स्विकार्नुपर्ने धारणा बनाएको पाइन्छ। विज्ञानको विद्यार्थीको आँखाले हेर्दा यो एकदम गलत लाग्छ।

हामीले यस्तै विचार लिँदा फेल भएको अमेरिकाको दुर्दशा हेरेर सिक्नुपर्छ। भाइरस उद्गम भएर पनि रोकथाम गर्न सफल भएको चीनको सफलताबाट पाठ सिक्नुपर्छ। खुला वातावरणमा लामो समय रहन नसक्ने भएकाले यसको संक्रमण फैलिन रोके कोरोना संक्रमण पनि रोक्न सकिन्छ। यसका लागि तीव्र गतिमा कोरोना संक्रमित पहिचान गरी अरूमा फैलिन नदिन आवश्यक छ।

मास्क, सेनिटाइजर र भौतिक दूरी किन आवश्यक छ?

केही मानिस मास्क, सेनिटाइजर र भौतिक दूरी अनावश्यक भन्दै भ्रम फैलाउँदै हिँडेका छन्। कोरोना श्वासप्रश्वाससम्बन्धी रोग भएकाले यो सर्ने विशेष गरेर संक्रमित व्यक्ति बोल्दा, खोक्दा वा हाच्छिउँ गर्दा हो। यसरी खोक्दा, बोल्दा वा हाच्छिउँ गर्दा थुकका कणमा रहेको भाइरस बाहिर निस्कन पाउँदैन र संक्रमणको सम्भावना कम हुन्छ।

कतिपय कोरोना संक्रमितमा लक्षण नदेखिने गरेको पाइन्छ। त्यसैले बाहिर निस्कँदा अनिवार्य रूपमा मास्क प्रयोग गर्ने र कुनै बाहिरी वस्तु छोएपछि सम्भव भएसम्म साबुनपानीले हात धुनु र नभए सेनिटाइजर प्रयोग गर्नु कोरोना रोकथामका लागि मात्र होइन, प्रदूषित वातावरणबाट बच्न र अरू प्रकारका संक्रमणबाट जोगिन पनि उपयोगी हुन्छ।

सबै नागरिक सभ्य भएर सावधानी अपनाउने हो भने लकडाउनको कुनै आवश्यकता पर्दैन र कोरोना रोकथाम गर्न पनि सकिन्छ। एक व्यक्तिबाट अर्कोमा सर्ने र विशेष गरी श्वासप्रश्वासबाट सर्ने भएकाले भौतिक दूरी र मास्कको उचित प्रयोगले संक्रमण फैलिनबाट रोक्छ।

हाम्रो हातले धेरै ठाउँ छोएको हुन सक्नाले बेलाबेला साबुनपानीले हात धुनु र नभए सेनिटाइजरको प्रयोग उपयोगी मानिन्छ।

यस्तो अवस्थामा हामी के गर्न सक्छौं?

यस्तो महामारी बेला सरकार, जनता र सम्बन्धित विज्ञहरू एक हुनु आवश्यक छ। सरकारले कोरोना परीक्षणको क्षमता बढाउन आवश्यक छ भने आमजनता र समाजले पनि संक्रमित भएका वा शंकास्पद बिरामीले खुलेर म संक्रमित हुँ भनी स्विकार्ने वातावरण सिर्जना गर्नुपर्छ।

सामाजिक बहिष्कारको डरले बिरामी भए पनि भन्न र जचाउन जान हिच्किचाउने, गम्भीर नभएसम्म जचाउन नजाने र गए पनि नाम लुकाएर जानेजस्ता घटना प्रशस्तै देखिँदै आएको छ। यसले बिरामी पहिचान गर्न गाह्रो हुनुका साथै संक्रमण रोकथाम असम्भवजस्तै हुन्छ।

कोरोनाको उच्च जोखिममा रहेका प्रहरी, सुरक्षाकर्मी, सरसफाइकर्मी लगायत स्वास्थ्यकर्मीहरूलाई पनि कोरोनाबारे पर्याप्त जानकारी दिन आवश्यक छ। अपर्याप्त जानकारीले कोरोनाको उच्च जोखिममा स्वास्थ्यकर्मीहरू नै धेरै छन्। अस्पतालमा संक्रमण फैलिएर सिल गर्नुपर्ने अवस्था आएको छ।

हरेक अस्पतालमा मलिकुलर परीक्षण गर्नसक्ने प्राविधिक र उपकरणको आवश्यकता हुन्छ। हाम्रो देशमा मलिकुलर तहको परीक्षण नगरिने भएकाले यस प्रकारको ज्ञान र जनशक्ति अस्पतालहरूमा नरहेको पाइन्छ।

कोरोना रोकथामका लागि सामाजिक दूरी कायम गर्ने भनेको असामाजिक हुनु वा अमानवीय व्यवहार गर्नु होइन। जसरी कुनै मृतकको घरमा किरिया बस्नेलाई नछोई दुरी कायम गरेर पनि उसको ख्याल राख्ने गरिन्छ, त्यसरी नै बिरामीहरूको पनि न्यूनतम सुरक्षा अपनाएर ख्याल गर्ने र उसको मनोबल बढाउने हो।

बिरामी पहिचान गरी सामान्य अवस्था छ भने उसको कोठामै आवश्यक सामग्री उपलब्ध गराइदिने हो भने समाजमा संक्रमण फैलिने सम्भावना कम हुन्छ।

आफ्नो बारेमा मात्र सोचेर कोरोनाबाट बच्न सकिँदैन। आफ्नो पिसिआर परीक्षण गरेर मेरो नेगेटिभ आयो, अब म सुरक्षित छु भन्ने सोच घातक हुनसक्छ। आज नेगेटिभ देखिए पनि भोलि कुनै संक्रमितबाट सर्न सक्छ। त्यसैले कुनै लक्षण नदेखी र संक्रमितको सम्पर्कमा नआएकाहरूले अनावश्यक रूपमा कोरोना परीक्षण गरेर खर्च गर्नुभन्दा कोरोना संक्रमितलाई सहयोग गर्दा बच्ने सम्भावना धेरै हुन्छ।

सुरक्षाकर्मी, सरसफाइकर्मी र स्वास्थ्यकर्मीहरू, जो सिधा संक्रमितको सम्पर्कमा हुनुहुन्छ, उहाँहरूलाई पनि उचित सम्मान र सहयोग गरौं। भोलि तपाईं पनि बिरामी पर्न सक्नुहुन्छ, त्यसैले सबैले आ-आफ्नो ठाउँबाट कोरनाविरुद्ध लडौं।


Your Views
Related News