बुधबारदेखि सञ्चालनमा आएको रसुवागढी नाका पुनः बन्द भएको छ। आइतबार बिहान रसुवागढी नाका भन्दा केही पर चिनियाँ भूभागमा पहिरो गएपछि नाका बन्द भएको हो। पहिरो गएको क्षेत्रको सडक पूर्ण क्षति भएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार पहिरो पन्छाउन केही दिन लाग्ने देखिएको छ। ‘चिनियाँ पक्षले कति दिनमा पहिरो पन्छाउन सकिन्छ भनेर आधिकारिक धारणा सार्वजनिक गरेको छैन’, उनले भने, ‘सडक सञ्चालनमा आउन केही दिन लाग्न सक्छ।’

कोभिड–१९ कारण पटक पटक बन्द हुँदै आएको नाकाबाट चिनियाँ पक्षले आयातमा कडाइ गरेको छ भने निर्यातका लागि अनुमति नै दिएको छैन। चिनियाँ सामग्री समयमा नै ल्याउन नसक्दा अहिले ल्हासा, सिगात्से, पाङसिङ लगायतका क्षेत्रमा रहेका गोदाममा सामग्री थन्किएको छ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण चीनबाट सामग्री आयात र व्यवस्थापनमा समस्या हुँदै आएको छ। कोरोना संक्रमणको त्रासका कारण चिनियाँ पक्षले सामग्री मितेरी पुलमा झार्दै आएका छन्।

मितेरी पुलमा सामग्री झार्दा नेपाली पक्षलाई सामग्री लोड गरेर ल्याउन समस्या हुँदै आएको छ। चीनको केरुङमा ६ महिनादेखि सामग्री गोदाममा अड्किएको भएपनि सामग्रीको आयात न्यून भएको छ। अहिले केरुङस्थित पाङसिङको गोदाममा करिब १२ सय कन्टेनरमा आयात गर्न पुग्ने सामग्री रहेको छ।

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ।

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

READ MORE NEWS

वर्तमान सरकार कुरामा भन्दा काममा विश्वास गर्छः मन्त्री ढकाल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले वर्तमान सरकार कुरामा भन्दा पनि काममा विश्वास गरेर अघि बढिरहेको बताएका छन्। सोह्रौँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस एवं बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २१ औँ वार्षिकोत्सव समारोहलाई भर्चुल माध्यमबाट सम्बोधन गर्दै उनले सरकार देश र जनताको काममा केन्द्रीत रहेको दावी गरे।

उनले कोरोना भाइरसको विरूद्धमा मन, वचन र कर्मले काम गरिरहेका सम्पूर्णको कामप्रति उच्च सम्मान प्रकट गर्दै सरकार निरोगी नेपालको अभियान साकार पार्न केन्द्रीत रहेको बताए। सरकारले नीति तथा कार्यक्रममार्फत नै सम्बोधन गरेर निरोगी नेपाल बनाउने अभियानका साथ काम गरिरहेको भन्दै स्वस्थ जीवनशैली र खानपानका विषयमा सचेतना जगाउनुपर्नेमा उनको जोड थियो।

मन्त्री ढकालले क्यान्सर रोगले सबैलाई दुःख दिइरहेको भन्दै वार्षिक रूपमा विश्वमा ९६ लाख मानिस र नेपालमा मात्रै वार्षिक २६ हजार जनाले विभिन्न प्रकारका क्यान्सरका कारण मृत्युवरण गरिरहेको जानकारी दिए। क्यान्सरबाट मृत्यु हुनेमध्ये १० प्रतिशत नागरिक नेपाल जस्तै देशका रहेको बताउँदै उनले क्यान्सरबाट मृत्यु हुनुको कारण खोजेर निदानका लागि काम गर्नुपर्ने बताए।

मन्त्री ढकालले अस्पतालले प्रकाशन गरेका विभिन्न तीन पुस्तक सार्वजनिक गरेका थिए। आजैदेखि भरतपुर अस्पतालमा इटिकेटिङको पनि शुरू भएको छ। मन्त्री ढकालले भर्चुल माध्यमबाटै अस्पताले इटिकेटिङका लागि तयार पारेको मोवाइल एप्स क्लिक गरेर सोको शुभारम्भ गरे। यसले क्यान्सर अस्पतलमा सेवा लिन आउने सेवाग्राहीलाई अब टिकटकै लागि लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गरेको छ।


Your Views
Related News