महावीर पुन अध्यक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्रले कोभिड-१९ महामारी शुरू भएपछि यसको रोकथाम र उपचारका लागि आवश्यक पर्ने अत्यावश्यक स्वास्थ्य समग्री उत्पादन गरेर ५९ जिल्लामा  पुर्‍याको छ। यसका लागि केन्द्रले महामारीकै बीचमा रू. ३ करोड संकलन गरेको छ।

राष्ट्रिय आविष्कार केन्द्रले १० असोज सम्ममा कोरोना नियन्त्रण र रोकथामका लागि चाहिने १० प्रकारका सामग्री बनाएर विभिन्न अस्पताल तथा स्वास्थ्यकर्मीलाई वितरण गरिसकेको छ। केन्द्रका अध्यक्ष पुनका अनुसार अझै थप तीन प्रकारका स्वास्थ्य सामग्री बनाइँदैछ।

केन्द्रमार्फत् विभिन्न अनुसन्धानकर्ताहरूले स्वेच्छिक रूपमा ‘पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट’ (पीपीई), फेससिल्ड, स्वाब संकलन बुथ, एरोसोल बक्स, डिस्इन्फेक्सन बक्स, औषधि वितरणका लागि रोबोट, कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव राख्ने बाकस र मास्क निर्माण गरेका छन्। यस्तै, केन्द्रले कोरोना महामारीबीच बिग्रेका भेन्टिलेटर र डायलासिस मेसिन मर्मतको काम पनि गरिरहेको छ।

अनुसन्धानकर्ताहरूले कोरोना संक्रमित बिरामीको उपचार भइरहेको वार्डमा औषधि लगायतका सामग्री पुर्‍याउन बनाएको रोबोट अहिले मुलुकका विभिन्न अस्पतालहरूमा प्रयोग भइरहेको छ।

केन्द्रले पौडीबाजले लगाउने मास्कलाई कन्भर्ट गरेर कोरोना संक्रमण रोकथामका लागि लगाउन सकिने मास्क समेत बनाएको छ। केन्द्रले शुरूआतमा कोरोना संक्रमणको महामारीमा ‘फ्रन्टलाइन’मा कार्यरत स्वास्थ्यकर्मी लगायतलाई चाहिने अत्यावश्यकीय सामग्री, पीपीई बनाउने काम गरेको थियो।

मुलुकमा पीपीईको चरम अभाव भइरहेका बेला महावीर पुनले काठमाडौंका गल्लीगल्ली चहारेर कालिगढ खोजेका थिए। र, तिनीहरूलाई उपयोग गरेर गार्मेन्ट उद्योगको सहयोगमा पुनले पीपीई बनाउने अभियान शुरू गरेका थिए। केन्द्रले अहिलेसम्म १४–१४ हजार परिमाणमा फेससिल्ड र पीपीई बनाएर विभिन्न अस्पताल तथा स्वास्थ्यकर्मीलाई वितरण गरिसकेको छ।

अहिले कोरोनाका सिकिस्त बिरामीको उपचारमा प्रयोग हुने अत्यावश्यकीय स्वास्थ्य सामग्री मानिँदै आएको भेन्टिलेटर मर्मत गरेर केन्द्रले विभिन्न अस्पताललाई वितरण गरिसकेको छ। केन्द्रले १० असोजसम्ममा २४ वटा भेन्टिलेटर मर्मत गरेर अस्पताललाई वितरण गरिसकेको छ भने थप २५ वटा बिग्रेका भेन्टिलेटरलाई  मर्मत गर्ने काम भइरहेको छ।

यस्तै, केन्द्रले स्वाब संकलन गर्ने ६० थान बुथ, ४० थान एरोसोल बक्स र दुई हजार थ्रिडी प्रिन्टेड स्वाब सामग्री विभिन्न जिल्लाका अस्पतालहरूमा वितरण गरिसकेको छ। केन्द्रले बनाउन लागेका थप नयाँ तीन थरिका साम्रगीमा भेन्टिलेटर मेसिन, पापर मास्क र बिरामी ओसार-पसार गर्न चाहिने आइसोलेसन बक्स पर्छन्।

केन्द्रका वैज्ञानिक महावीर पुनको नेतृत्वमा भइरहेको स्वाथ्य सामग्री बनाउने काममा ३२ जना अनुसन्धानकर्ताले स्वेच्छिक रूपमा काम गरिरहेका छन्। आविस्कार केन्द्रमार्फत् अनुसन्धानको काम गर्नेहरूलाई कोरोनाका सामग्री बनाउने काममा संलग्न गराइएको पुन बताउँछन्। पुनका अनुसार स्वास्थ्य सामग्री बनाउने काम २४ घण्टासम्म भइरहने तर, ‘भोलेन्टियर’हरूले पालो गरेर काम गर्ने गरेका छन्। राति तीन बजेसम्म पनि अनुसन्धानकर्ता तथा इञ्जिनियरहरूले काम गर्ने गरेको उनी बताउँछन्।

“यिनीहरू जागिरे होइनन,” पुन भन्छन्, “बिनातलब स्वेच्छाले काम गरिरहेका छन्।” तर, आविष्कार केन्द्रलाई सरकारको तर्फबाट अहिलेसम्म केही पनि सहयोग भएको छैन। सरकारी सहयोग बिना केन्द्रले कोरोना महामारीको ६ महीनाको अवधिमा १० प्रकारका स्वास्थ्य सामग्रीलाई मुलुकका ५९ जिल्लामा पुर्‍याइसकेको छ।

केन्द्रले हेल्थपोष्ट, कोरोना विशेष अस्पताल, आइसोलेसन सेन्टर र अन्य अस्पतालहरूलाई स्वास्थ्य सामग्री बनाएर वितरण गर्दै आइरहेको छ। उपत्यकाका वीर, ट्रमा सेन्टर, नर्भिक, ह्याम्स लगायतका अस्पताललाई केन्द्रले निःशुल्क स्वास्थ्य सामग्री उपलब्ध गराइसकेको छ। आविष्कार केन्द्रले बिग्रिएका पुराना सात वटा भेन्टिलेटर मर्मत गरिदिएपछि राष्ट्रिय ट्रमा सेन्टरलाई अहिले राहत मिलेको छ। सेन्टरले सातमध्ये दुई वटा भेन्टिलेटरलाई आकस्मिक कक्षमा राखेको छ।

सेन्टरमा रहेका वर्षौं पुराना महंगा भेन्टिलेटर मर्मतसम्भारको अभावमा थन्किएका थिए। सरकारी अस्पतालमा मर्मत सम्भार गर्ने बलियो निकाय नभएको अवस्थामा आविष्कार केन्द्रले बिग्रिएका उपकरण बनाइदिन थालेपछि अस्पतालहरूलाई राहत मिलेको छ।

“सामग्री बनाउन चाहिने खर्च विभिन्न ठाउँबाट जनताहरूले उठाएर पठाएका हुन्,” राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन भन्छन्, “कोरोना महामारी जहिलेसम्म रहन्छ, त्यो बेलासम्म सामग्रीहरू बनाइ नै रहन्छौँ।”
सेन्टरका मेडिकल सुपरीटेन्डेन्ट डा. सन्तोष पौडेल आविष्कार केन्द्रका इञ्जिनियरलाई सम्पर्क गरेर बिग्रिएका भेन्टिलेटरको उनीहरूमार्फत् मर्मतसम्भारको काम भएको बताउँछन्। “केन्द्रका इञ्जिनियरहरूले उपकरण मर्मतका लागि प्राविधिक सहयोग गरिरहनु भएको छ,” डा. पौडेल भन्छन्, “यसले मुलुकको स्वास्थ्यको प्राविधिक क्षेत्रमा पुनर्जागरण ल्याएको छ।”

उनी केन्द्रमार्फत् भविष्यमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता पाएको बताउँछन्। सेन्टरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आविष्कार केन्द्रले बनाएका मास्क र पीपीई समेत प्रयोग गरिरहेका छन्। पुनले सम्बन्धित अस्पताल र चिकित्सकहरूबाट आउने माग अनुसार आफूहरूले स्वास्थ्य सामग्री बनाएर वितरण गर्दै आइरहेको बताए।

“जो लिन आउँछन्, उनीहरूलाई कुनै शुल्क नलिई दिएर पठाउँछौ,” पुन भन्छन्, “कसैलाई दिने/नदिने भन्ने हुँदैन।” उनीहरूको काममा चिकित्सकहरूले पनि सहयोग गरिरहेका छन्। महावीर पुन र उनको टोलीलाई स्वास्थ्य सामग्री बनाउनका लागि विभिन्न चिकित्सकहरूले डिजाइन दिने गरेका छन्। त्यही डिजाइन अनुसार पुन र उनको टोलीले स्वास्थ्य सामग्री बनाउने काम गरिरहेका छन्।

केन्द्रका अध्यक्ष पुन डिजाइन अनुसार सामग्री बने वा नबनेकोबारे चिकित्सकहरूलाई देखाएर मात्र अन्तिम रूप दिने गरेको बताउँछन्। केन्द्रले कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक सामग्री बनाउन विभिन्न व्यक्तिहरूमार्फत् करीब रू. ३ करोड संकलन गरेर खर्च गरिसकेको छ।

“सामग्री बनाउन चाहिने खर्च विभिन्न ठाउँबाट जनताले उठाएर पठाएका हुन्,” पुन भन्छन्, “कोरोना महामारी जहिलेसम्म रहन्छ, त्यो बेलासम्म सामग्रीहरू बनाइ नै रहन्छौँ।”

READ MORE NEWS

स्वास्थ्यकर्मीका लागि स्वदेशमै सुरक्षित पोशाक (पीपीई) उत्पादन

महावीर पुन भन्छन्, “ठूलाे परिमाणमा उत्पादन गर्दै छु”

कोरोना भाइरसबाट संक्रमित र संक्रमणको आशंका गरिएका व्यक्तिको उपचारमा स्वास्थ्यकर्मीले लगाउनै पर्ने पीपीईको अभाव टार्न भेरी अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय आविष्कार केन्द्र लगायतले यसको उत्पादन शुरु गरेका छन् ।

कोभिड–१९ संक्रमित र शंकास्पद व्यक्तिको उपचारका लागि चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी लगायतले अनिवार्य रुपमा लगाउनु पर्ने ‘पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट’ (पीपीई) को अभाव भइरहेका बेला स्थानीय स्तरमै यसको उत्पादन शुरु गर्न थालिएको छ ।

उपचारमा खटिने चिकित्सक लगातको टोलीलाई संक्रमणबाट बचाउने यस्तो सुरक्षित पोशाक आवश्यक मात्रामा उपलब्ध हुन नसकेपछि अस्पतालहरुले व्यवसायीहरुसँगको सहकार्यमा पीपीईको उत्पादन थालेका हुन् । विश्व बजारमा नै पीपीईको चरम अभाव भइरहेको छ ।

सरकारबाट आवश्यक परिमाणमा पीपीई नपाएपछि नेपालगञ्जस्थित भेरी अस्पतालले उद्योग वणिज्य महासंघसँग मिलेर गएको २ चैतदेखि उत्पादन शुरु गरिएको पीपीईको प्रयोग शुरु गरिसकेको छ ।

अस्पतालका एनेस्थेसियोलोजिष्ट डा.पारस पाण्डे पहिलो चरणमा उत्पादित दुई सय थान पीपीई मध्येबाटै प्रयोग गरेर औषधि उपचार शुरु गरिएको बताउँछन् । डा. पाण्डे भन्छन्, “जताततै अभाव भएपछि स्थानीय स्तरमै पीपीई उत्पादन थालेका हौँ ।”

उनका अनुसार त्रिपाल जस्तो प्लाष्टिकबाट पीपीईको महत्वपूर्ण भाग ‘गाउन’ बनाइएको छ भने ‘डकुमेन्ट बाइन्डिङ’मा गाताका रुपमा प्रयोगमा आउने पारदर्शी प्लाष्टिकबाट चस्मा बनाइएको छ । र, जुत्ताको कभर र गाउनलाई कसिलो बनाउन इलास्टिकको प्रयोग गरिएको छ । यसरी पीपीई बनाउने काम नेपालगञ्जको एक गार्मेन्ट उद्योग मार्फत गएको २ चैतदेखि शुरु भएको हो ।

भेरी अस्पतालले निजी क्षेत्रसँग मिलेर शुरु गरेको पीपीई निर्माणको कामको अनुशरण अन्य अस्पताल र संघसंस्थाले समेत गर्न थालेको डा.पाण्डे बताउँछन् । “धेरै ठाउँबाट पीपीई बनाउने आइडिया सोध्नु भएको छ,” उनी भन्छन्, “हामीले सबैलाई हाम्रो बनाउने तरिका सिकाएका छौँ ।”

भेरी अस्पतालझैँ जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले पनि पीपीईको उत्पादन शुरु गरिसकेका छन् । यता धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पर्यटन व्यवसायी सुमन पाण्डे पनि उत्पादनको तयारीमा लागेका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्लाष्टिकको कपडालाई स्थानीय सूचीकार (टेलर) मार्फत सिलाएर ११ चैतदेखि पीपीई बनाउन थालेको हो ।

पहिलो दिनमै प्रतिष्ठानले ५० थान पीपीई उत्पादन गरिसकेको छ । प्रतिष्ठानका निर्देशक डा.मंगल रावल उत्पादित पीपीई प्रयोग गर्न थालिसकेको बताउँछन् । उनी भन्छन्, “सस्तो हुने र तत्कालको समस्या टार्नका लागि यो उपयोगी छ ।”

चिकित्सकहरुले बिरामी जाँच्ने क्रममा लगाउने यो पोशाकले उनीहरुलाई संक्रमणबाट जोगाउँछ । प्रतिष्ठानले पीपीई बाहेक स्थानीयस्तरमा स्यानिटाइजरको पनि उत्पादन गरेर प्रयोगमा ल्याएको छ ।

पर्यटन व्यवसायी सुमन पाण्डे सरकारले निर्णय मात्र गर्ने तर कार्यान्वयन नगर्ने देखिएपछि चरम अभाव भएको पीपीई चिकित्सकहरुलाई उपलब्ध गराउन परीक्षण उत्पादन थालेको बताउँछन् । उनी पीपीईको अभावमा बिरामी उपचारका लागि अस्पताल गएमा स्वास्थ्यकर्मी नै भाग्ने अवस्था रहेको र यो समस्या टार्न ठूलो संख्यामा उत्पादन गर्ने योजनामा रहेको बताउँछन् ।

“ट्रेकिङको सामान बनाउने ठमेलका एक व्यवसायीसँग सहकार्य गरेर परीक्षणका क्रममा दुई सेट पीपीई बनाएका छौँ”, उनी भन्छन्, “डाक्टरहरुसँगको सल्लाहपछि उत्पादनको संख्या बढाउने छौं ।”

महावीर पुनलाई पीपीई बनाउने कालीगढ दिलायो, फेसबुक पोष्टले

अस्पताल र चिकित्सकहरुले पीपीईको माग गरेपछि राष्ट्रिय आविष्कार केन्द्रले पनि गार्मेन्ट उद्योग र विभिन्न टेलरहरुसँगको सहकार्यमा १२ चैतदेखि ठूलो परिमाणमा उत्पादन शुरु गर्दैछ ।

कोभिड–१९ संक्रमित र शंकास्पद बिरामीको उपचारमा चिकित्सकहरुलाई नभई नहुने सुरक्षाको पोशाक भएको थाहा पाएपछि केन्द्र मार्फत उत्पादनका लागि पहल शुरु गरेको अध्यक्ष महावीर पुन बताउँछन् ।

“पीपीई उत्पादन थाल्न धेरै डाक्टरहरुले फोन गर्नुभयो । बजारबाट पीपीई बनाउन चाहिने २५ सय मिटर लामो कपडा पनि ल्यायौँ”, हिमालखबरसँग कुरा गर्दै पुनले भने, “तर बन्दका कारण कोही पनि टेलर पाएनौं ।”

कालीमाटी, पुतलीसडक लगायतका बजार चहार्दा पनि कपडा सिलाउने कालीगढ नपाएपछि पुनले सहयोग लिए, सामाजिक सञ्जाल फेसबुकको ।

११ चैतमा फेसबुक मार्फत पीपीई बनाउन कालीगढ नपाएको समस्या पोष्ट गरे ।त्यसपछि उनलाई थेगिनसक्नु टेलीफोन आए ।

पुन ११ चैतको फेसबुक पोष्ट पछि भोलिपल्ट १२ चैत बिहानसम्म टेलर र गार्मेन्ट उद्योगहरु मार्फत हजार बढी फोन आएको बताउँछन् । पुतलीसडक र बालाजुका गार्मेन्ट उद्योगहरुले पनि डिजाइन र कच्चा पदार्थ तयार भएमा सिलाइदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

“पुतली सडकको एक गार्मेन्ट उद्योगले परीक्षणका लागि आजै तीनवटा पीपीई बनाउँदैछ,” उनी भन्छन्, “डाक्टरहरुले ओके भनेपछि सकेसम्म देशैभर पुर्‍याउने गरी उत्पादन थाल्ने तयारी भइरहेको छ ।”

उनी पसलबाट सामान बिक्री गर्ने पसलेहरुले पनि सुरक्षाका लागि पीपीई माग गरेको बताउँछन् । “सिलाउने टेलर, डिजाइन सबै तयार छ”, आविष्कार केन्द्रका वैज्ञानिक पुन भन्छन्, “प्रशस्त कपडा पायौँ भने स्वदेशमा उत्पादित पिपिई देशभर पुर्‍याउन सक्छौँ ।”

पीपीई सहितका अत्यावश्यक स्वास्थ्य सामग्रीको देशैभर अभाव

 


Your Views
Related News