काठमाडौं । सरकारी तथा सार्वजनिक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावको लागि खुशीको समाचार छ । उनीहरुले मासिक ९९ रुपैयाँमा असीमित फोन र इन्टरनेट सेवा प्रयोग गर्न पाउने छन् । साथै, नेपाल टेलिकमको सीम नहुनेले सित्तैमा सीम पाउने छन् । यी सुविधा सँगै सरकारी स्कूलले चलाउने अनलाइन कक्षाको लागत सस्तो हुने भएको छ ।

प्रत्येक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकलाई कम्पनीको क्लोज यूजर ग्रुप (सीयूजी) मा आबद्ध गरी मासिक जम्मा रु. ९९ मा क्लोज्ड ग्रुपभित्र असीमित कुराकानी गर्न सकिने नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बताए ।

साथै, भ्वाइस सेवा, शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइट चलाउन ५ जिबी डाटा सेवा र बल्क एसएमएस सुविधा समेत उपलब्ध गराइने छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइट (www.learning.cehrd.edu.np) मा कक्षा १ देखि १० सम्मको सबै पाठ्यक्रम र पाठ्यसामग्रीहरु उपलब्ध हुनेछ । मासिक ९९ रुपैयाँमा भ्याट, टीएससी, ओटी कर थपिने नेपाल टेलिकमले जनाएको छ ।

सो प्रिपेड सिमकार्डबाट शिक्षक–विद्यार्थी र अभिभावकबीच असीमित कुराकानी गर्न, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेब पोर्टल निशुल्क चलाउन र शैक्षिक प्रयोजनका लागि बल्क एसएमएस पठाउन सकिने छ ।

कर्पोरेट युजर ग्रुप बनाउने प्रयोजनका लागि सार्वजनिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भएका प्रत्येक घरधुरीलाई एउटा सिमकार्ड तथा सो विद्यालयका प्रत्येक शिक्षकको सिमकार्डको फोन नम्बर संकलन गर्ने, प्रत्येक विद्यालयका यी फोन नम्बरलाई सीयूजी सेवामा आवद्ध गराइने छ । यो सेवा वापतको शुल्कमा नेपाल टेलिकमलाई हुने घाटामा नेपाल सरकारले अनुदान दिने छ । यस सेवाको लागत नेपाल सरकार, प्रयोगकर्ता र सेवा प्रदायकले साझेदारीमा व्यहोर्ने व्यवस्था गरिएको नेपाल टेलिकमले जनाएको छ ।

यदि कुनै विद्यालयका विद्यार्थी, शिक्षक र परिवारको एक सदस्यसँग नेपाल टेलिकमको सिम नभएको अवस्थामा माग बमोजिम कम्पनीले सिम निःशुल्क उपलब्ध गराउने छ । यो सेवा अन्तर्गत प्रत्येक विद्यार्थी र शिक्षकले निःशुल्क प्राप्त गर्ने सिमकार्डका लागि शिक्षक र विद्यार्थीको नागरिकता र परिचय पत्रको फोटोकपी, अभिभावकको नागरिकताको फोटोकपी र एकप्रति फोटो उपलब्ध हुनुपर्दछ । विद्यार्थीले सिमकार्ड उनीहरुकै वा अभिभावकको नाममा पनि लिन सक्नेछन् ।

विद्यार्थी वा अभिभावकलाई उपलब्ध गराइने ‘पाठशाला सीयूजी सिम’ विद्यालयले रितपूर्वक भरिएको फाराममा स्थानीय निकायबाट सिफारिश लिई नजिकको नेपाल दुरसञ्चार कम्पनीको कार्यालयबाट एकमुष्ट लिन सक्नेछन् । त्यसैगरी कम्पनीले प्राविधिक दृष्टिकोणले सम्भव भएसम्म सहुलियत दरमा टोल फ्रि नम्बर समेत उपलब्ध गराउने छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले इन्टरनेट सेवा नपुगेका सार्वजनिक विद्यालयहरुको गाउँपालिका सहितको नामावली संकलन गरी पठाए पश्चात् नेपाल टेलिकमले विद्यालयमा वैकल्पिक माध्यम वायरलेस ब्रोडब्यान्ड प्रविधिबाट इन्टरनेट सेवा उपलब्ध गराउन अध्ययन गरी पाइलटिङ गर्ने र उक्त स्थानहरुमा आफ्नो कार्ययोजना अनुसार मोबाइल र एफटीटीएच विस्तार गर्नेछ ।

नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम विद्यालय जाने बालबालिकाहरुलाई आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सिर्जना गरी सिकाइमा सहजीकरण गर्ने कार्यमा सहयोग पु¥याउनका लागि नेपाल टेलिकमले निकै सस्तो दरमा सेवाहरु उपलब्ध गराउने भएको छ ।

यस अन्तर्गत नेपाल टेलिकमले शिक्षा तथा मानव स्रोत विकास केन्द्र सँग समन्वय गरी सरकारी र सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीबीच सिकाई सम्पर्क कायम गराउने प्रयोजनका लागि कम्पनीको प्रिपेड मोबाइल ‘पाठशाला सीयूजी सिम’ निःशुल्क उपलब्ध गराउन लागेको हो ।

READ MORE NEWS

पल्सर एनएस २०० एफआई र एबीएस भेरियन्ट मात्रै किन्न पाइने, यस्तो छ दशैं अफर

काठमाडौं । बजाज मोटरसाइकल नेपालमा अग्रणी कम्पनीको रुपमा स्थापित रहेको छ । हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपालमा बिक्री गर्दै आएको पल्सर एनएस २०० निकै सफल मोडलमा पर्छ ।विभिन्न गत बर्षदेखि पल्सर एनएसलाई दुई भेरियन्टमा बजारमा बिक्री गर्दै आएको छ । केही महिना अघिसम्म पल्सर एनएसको ४ भेरियन्ट उपलब्ध रहेकोमा कम्पनीले दुई भेरियन्टको बिक्री भने बन्द गरेको हो ।

कम्पनीले अब पल्सर एनएस २०० एबीएस र २०० एबीएस/एफआई भेरियन्ट मात्रै बिक्री गर्ने भएको छ । कम्पनीले पल्सर एनएस २००, पल्सर एनएस २०० एफआई भेरियन्टलाई आफ्नो वेभसाइटबाट हटाएको छ ।नेपाली बजारमा सर्वाधिक रुचाइएको एनएस २०० को एबीएस र एफफाई भर्सनले निकै राम्रो चर्चा पाउन सुरु गरिसकेको छ । यो पल्सर एनएस २०० सिरिजकै सबैभन्दा महंगो भेरियन्ट हो ।

बजाज पल्सर एनएस २०० एबीएस/एफआई भेरियन्टको मूल्य ३ लाख ५८ हजार ९०० रुपैयाँ रहेको छ भने २०० एबीएस भेरियन्टको मूल्य ३ लाख ३८ हजार ९०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ । एफआई इन्जिनयुक्त मोडलको मूल्य कार्बुरेटर भेरियन्टको तुलनामा २० हजार महंगो रहेको छ । इन्जिन बाहेक अन्य सबै फिचर दुबै भेरियन्टमा समान रहेको छ ।कम्पनीले अहिले दशैं–तिहार लक्षित योजना संचालन गरिरहेको छ । कम्पनीले ल्याएको नयाँ योजनामा १० हजार नगद छुट वा शून्य प्रतिशत व्याजदर वा २० प्रतिशत डाउन पेमेन्ट भनेको छ ।

यसको मतलव मोटरसाइकल किन्ने ग्राहकले यी तीन मध्ये कुनै एक अफर छनोट गर्न सक्ने छन् । १० हजार रुपैयाँ नगद छुट लिन पुरै रकम नगद तिरेर मोटरसाइकल किन्नु पर्ने छ । शून्य प्रतिशत व्याजदरको लागि सुरुमा ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ भने बाँकी रकम १७ किस्तामा तिर्नु पर्ने हुन्छ ।एकै पटक धेरै रकम डाउन पेमेन्ट गर्न नसक्ने ग्राहकले २० प्रतिशत रकम डाउन पेमेन्ट गरेर एनएस २०० किन्न सक्ने छन् । तर, यसरी किन्नेले व्याजमा छुट वा नगद १० हजार रुपैयाँ छुट दुबै प्राप्त गर्न सक्ने छैनन् ।

यस्तो छ मोटरसाइकल

मोटरसाइकलमा फ्युल इन्जेक्टेड एसओएससी फोर भल्भ लिक्वीड कुल्ड ट्रिपल स्पार्क इन्जिन लगाइएको छ । यसले ९७५० आरपीएममा २३.१७ बीएच पावरका साथै १८.३ एनएम टर्क उत्पादन गर्छ । यसमा मोडलमा ६ स्पीड गियरबक्स रहेको छ ।

यसको लम्बाई २०१७ एमएम, चौडाई ८०४ एमएम र उचाइ १०७५ एमएम रहेको छ । यसमा ८०५ एमएमको सिट हाइट रहेको छ भने, १५६३ एमएमको ह्वीलवेश र १६७ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।यसको फ्रन्ट साइडमा ३७ एमएमको टेलिस्कोपिक फ्रन्ट फर्कसँगै एन्टीफ्रिक्शन ब्रुशर र रियरमा निट्रोक्स मनोशक याब्जर्बर सस्पेन्सन लगाइएको छ । यस्तै, फ्रन्टमा २८० एमएमको पेटल र रियरमा २३० एमएमको डिस्क ब्रेक लगाइएको छ ।

यसको टपस्पिड क्षमता प्रतिघन्टा १३६ किलोमिटर रहेको छ भने, यसले प्रतिलिटर ३५ किलोमिटर माइलेज प्रदान गर्ने जनाइएको छ ।यसमा एनालग तथा डिजिटल स्पिडोमिटर, टेकोमिटर, एनालग ट्रिपमिटर, क्लक फ्युल गज, पास लाइट, एच फोर ब्ल्यु टिंङ्ग हेडलाइट, एलइडी टेललाइट तथा एक्जुलरि लाइटको विशेषता दिइएको छ ।मोटरसाइकलमा एक्जुलरि लाइट, इलेक्ट्रीक लाइट, पीलन फोरेष्ट, स्प्लिट सिट, पिलन ग्राब रेल लगायतका विशेषता समेटिएको छ ।

 

 


Your Views
Related News