बाल संगठन परिसरमा बालमन्दिरका बालबालिका राखिने

१३ असोज, काठमाडौं । सरकारले नक्सालस्थित नेपाल बाल संगठनको परिसरका दुई विद्यालय सारेर बालमन्दिरका बालबालिका राख्ने निर्णय गरेको छ ।

हाल बाल संगठनको परिसरमा सञ्चालन भएका आदर्श आधारभूत विद्यालय र केन्द्रीय बहिरा उच्च माविलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्ने र त्यहाँका संरचना मर्मत सम्भार र नयाँ संरचना निर्माण गरेर बालमन्दिरमा रहेका बालबालिकाको आवास बनाउने निर्णय आइतबारको मन्त्रिपरिषद बैठकले गरेको हो ।

बैठकले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र नेपाल बाल संगठनसँग समन्वय गरेर ती दुई विद्यालय सार्ने जिम्मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई दिएको सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

सरकारले पुराना संरचना मर्मत सम्भार र नयाँ संरचना बनाउन १ करोड ५० लाख रुपैयाँ बाल संगठनलाई अनुदान पनि दिएको छ ।

मन्त्रिपरिषद बैठकले बाल संगठन स्वामित्वको उक्त जग्गामा बालबालिकाको आवास तथा अन्य पूर्वाधार विकासका लागि गुरुयोजना बनाउने निर्णय पनि गरेको छ । उक्त गुरुयोजना नेपाल बाल संगठनले तयार गरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पेश गर्नुपर्नेछ ।

READ MORE NEWS

६ महिनापछि विद्यालय खुल्दा विद्यार्थी फुरुङ्ग

१३ असोज, काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७, महादेवस्थानस्थित प्रभात माध्यमिक विद्यालयले गत असारमा अनलाइन कक्षा सञ्चालनका लागि विद्यार्थीहरूको लगत संकलन गर्‍यो । इन्टरनेट र मोवाइल-ल्यापटप भएका विद्यार्थी संख्या एउटा कक्षामा ६/७ जना भन्दा बढी भएनन् ।

‘हाम्रा विद्यार्थीसँग पनि इन्टरनेट र डिभाइस भएन, हामीले किनेर दिन पनि सकेनौं’ विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद रुपाखेती भन्छन्, ‘कुनै विकल्प नभएपछि चाहेर पनि विद्यार्थीलाई पढाउन सकेनौं ।’

निरन्तरको लकडाउन र निषेधाज्ञा कारण हात बाँधेर बस्नुको विकल्प थिएन । सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै चन्द्रागिरि नगरपालिकाले सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन अनुमति दियो । त्यतिमात्रै होइन, नगरपालिकाले शिक्षक-विद्यार्थीमा संक्रमण देखिइहाले उपचार गर्छौं भनेर आडभरोसा समेत दियो ।

असोज १ गतेदेखि विद्यालय सञ्चालनमा आयो । प्रधानाध्यापक भन्छन्, ‘६ महिनापछि विद्यार्थीहरू उफ्रेको देख्दा मन पनि चंगा हुँदोरहेछ ।’

८५० मध्ये ५५० विद्यार्थी भर्ना भइसकेका छन् । उनीहरू पालैपालो विद्यालय जान्छन् । बिहान १० बजे र १२ बजे गरी दुई सिफ्ट सञ्चालन भएको छ ।

विद्यार्थीलाई एक हप्ताभरिलाई पुग्ने गृहकार्य दिएर पठाउने गरिएको प्रधानाध्यापक रुपाखेतीले जानकारी दिए ।

 

विद्यालयमा प्रवेश गर्दा ज्वरो नाप्ने, मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । एउटा बेन्चमा एकजना मात्रै विद्यार्थी बस्छन् । माथिल्लो कक्षामा भने एउटा बेन्चमा दुई जनासम्म विद्यार्थी राखिएको जनसंख्या शिक्षक रेखा खनालले जानकारी दिइन् ।

कपडाको मास्क लगाएर आउने विद्यार्थीलाई विद्यालय नै सर्जिकलको मास्क उपब्ध गराएको शिक्षक खनाल बताउँछिन् । जोखिमका बावजुद विद्यार्थीको भविष्य हेरेर पढाइलाई निरन्तरता दिएको उनको भनाइ छ ।

भर्ना भएका विद्यार्थीहरू सबैले पाठ्यपुस्तक प्राप्त गरिसकेको रुपाखेती बताउँछन् ।

प्रधानाध्यापक रुपाखेती भन्छन्, ‘अन्य विकल्प नभएपछि शैक्षिक सत्र खेर जान नदिन सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेका हौं ।’

प्रभात माध्यमिक विद्यालय एउटा उदाहरण हो । यसरी स्थानीय सरकारसँग अनुमति लिएर कक्षा सञ्चालन गर्ने सामुदायिक विद्यालयहरूको संख्या ठूलो छ ।

गोरखाको बोर्लाङस्थित सरस्वती मावि, सुर्खेतको वीरेन्द्रनगर-९, स्थित कोपिला माविलगायतले पनि विद्यालय सञ्चालन गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने जिल्ला समन्वय इकाइमार्फत विद्यालय सञ्चालन गरे कारबाही गर्ने चेतावनी दिइरहेको छ ।

विद्यार्थीलाई पढाए कारबाही गर्ने लमजुङ प्रशासनको चेतावनी

१३ असोज, काठमाडौं । लमजुङमा कोरोना महामारीकै बीच केही सामुदायिक तथा संस्थागत विद्यालय खुल्न थालेपछि प्रशासनले विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विपरित सामुदायिक तथा संस्थागत विद्यालयहरुले विद्यार्थीहरुलाई भौतिक रूपमा उपस्थित गराई पठनपाठन सुरू गरेपछि जिल्ला प्रशासन कार्यालय लमजुङले विद्यालय सञ्चालनमा रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले आइतबार एक सूचना निकालेर अर्को सूचना नआउँदासम्म शैक्षिक संस्था सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

विद्यालय सञ्चालन गरी संक्रमण फैलिन गएमा त्यसको जिम्मेवारी सम्बन्धित विद्यालय नै हुने र उनीहरुलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।

बेशीसहर, सुन्दरबजार, मध्यनेपाल नगरपालिकालगायतका क्षेत्रमा समुदायस्तरमा संक्रमण देखिएको अवस्थामा विभिन्न पालिकामा विद्यालय खुलेपछि प्रशासनले संक्रमणको जोखिम कायमै रहेका कारण विद्यालय सञ्चालन नगर्न भनेको हो ।

जिल्ला प्रशासन कार्यालय लमजुङले निकालेको सूचनाः


Your Views
Related News