काठमाडौँ । अस्वस्थकर जीवनशैलीका कारण मुटुरोगको जोखिम बढेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएको अहिलेको अवस्थामा मुटुरोगीका समस्या झनै थपिएका छन्।

मानिस आफ्नो स्वास्थ्यलाई भन्दा खानपानले गर्दा मुटुरोगको सिकार हुने गरेका छन् । स्वस्थ व्यक्तिले पनि मीठो, मसालेदार, चिल्लो, स्वादिलो खाना निरन्तर रूपमा खाँदै जाँदा विस्तारै नसर्ने रोगको सिकार हुने गरेका छन् ।

नसर्ने रोगमध्ये प्रमुख रूपमा मुटुरोग पर्दै आएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले मानिसको आहार, व्यवहारले मुटुरोगको जोखिम बढाउने बताए ।

चुरोट, खैनी, गुट्खा जस्ता पदार्थ नियमित सेवन गर्नाले मुटु रोगको सम्भावना बढाउने जानकारी दिँदै उनले यी वस्तुमा हुने निकोटिनले मुटुका धमनीलाई साँघुरो बनाउने र विस्तारै मुटुसम्बन्धी रोग लाग्ने बताए ।

रक्तचाप बढ्नु खतरा
अस्वस्थकर खानपान तथा चुरोट बिँडीजस्ता पदार्थ नियमित सेवन गर्नाले मुटुलाई बढी बल परेर रक्तचाप बढ्न जाने उनले बताए । अत्यधिक खानपिन र शारीरिक निष्क्रियताबाट विश्वका एक अर्ब मानिस बोसोका कारण ‘ओभरवेट’ समस्यामा परेको अनुमान छ ।

सामान्यतया एक जना स्वस्थ मानिसको बडी मास इन्डेक्स (आईबीएम) १८.५ देखि २४.५ बीचमा हुनुपर्छ। योभन्दा बढी उचाइ र मोटाइमा आधारित शारीरिक नाप वा ३५ इन्चभन्दा मोटो कम्मर भएका महिला र ३४ इन्चभन्दा बढी कम्मर भएका पुरुषलाई ‘ओभरवेट’ मानिन्छ । ‘ओभरवेट’ महिला–पुरुष रक्तचाप र मधुमेह रोगको जोखिममा हुन्छन्।

डा. रेग्मीले शारीरिक श्रम नगर्नेले व्यायामबाट मुटुरोगको जोखिम घटाउन सक्ने बताए । व्यायामले कोलस्टेरोललाई सन्तुलनमा राख्नका साथै रक्तचाप, सुगर र स्ट्रेसलाई पनि नियन्त्रित गर्ने भन्दै यसबाट फाइदा हुने उनले बताए।

मुटुसम्बन्धी कुनै पनि रोग गम्भीर स्वास्थ्य अवस्था भएकाले त्यसलाई बेवास्ता गर्दा घातक परिणाम निम्तिन सक्ने बताउँदै उनले आफूलाई रक्तचाप, हाई कोलस्टेरोल, मधुमेह वा अन्य किसिमका समस्या भएको जस्तो लाग्नासाथ चिकित्सककहाँ गई उपचार गर्नुपर्ने बताए।

READ MORE NEWS

मुटुको बाइपास सर्जरी भनेको के हो?

शल्यक्रियाद्वारा मुटुमा रगतको आपूर्ति चालू राख्न वैकल्पिक बाटो बनाउने प्रक्रियालाई ‘कोरोनरी आर्टरी बाइपास सर्जरी’ भनिन्छ। एन्जियोप्लास्टीको प्रक्रियाबाट धमनीले रगत आपूर्ति जारी राख्ने सम्भावना नभएमा मुटुको बाइपास शल्यक्रिया गर्नुपर्ने हुन्छ।

साधारणतः अलि धेरै ठाउँमा धमनी बन्द भएमा वा धमनीका शाखाहरु छुट्टिने ठाउँमा तथा धमनीको लामो भागमा रोकावट भएमा कोरोनरी बाइपास शल्यक्रिया गर्नुपर्ने हुन्छ।

यस प्रक्रियाअन्तर्गत बिनाकुनै रोकावट मुटुमा रगतको प्रवाह होस् भनेर बन्द भएको धमनीको सट्टा अर्को वैकल्पिक बाटो बनाइन्छ। यसका लागि चाहिने नली बिरामीको शरीरबाट नै लिइन्छ। यस्तो सेवा सञ्चालन गर्न अब्बल जनशिक्त सहितको अप्रेसन थिएटर चाहिन्छ। मुटुलाई खोलेर गरिने यस्तो सर्जरीलाई ‘ओपन हार्ट सर्जरी’ पनि भन्ने गरिन्छ।

ओपन हार्ट सर्जरीमा के गरिन्छ ?

ओपन हार्ट सर्जरीका क्रममा मुटु र फोक्सोलाई पूर्ण रुपमा बन्द गराई ‘हर्ट लङ मेसिन’द्वारा मुटु र फोक्सोको काम गराउनुपर्ने हुन्छ । यस्ता हार्ट लङ मेसिन महँगो पर्ने हुँदा यो सेवा धेरै स्वास्थ्य संस्थामा विस्तार हुन ढिलाइ भएको हो । मुटु, फेक्सोसहित बिरामीको रक्तचाप, शरीरको तापक्रम लगायत विभिन्न काम उक्त उपकरणद्वारा गराई बिरामीको मुटुको शल्यक्रिया गरिन्छ।

कोरोना भाइरस र मुटु रोग : किन र कसरी जोखिमपूर्ण?

नेपालमा पनि कोरोना भाइरसको जोखिम बढेसँगै हरेक समूहका मानिसले यसबाट बच्न विभिन्न सावधानी अपनाउन थालेका छन्।

विश्व स्वास्थ्य संगठनले ६० वर्ष उमेर कटेका वृद्धवृद्धा र दीर्घ रोगी (मुटुका रोगी, उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वास आदि) का बिरामी कोरोनाको उच्च जोखिमको समूहमा राखेको छ। जसमध्ये मुटुका रोगी पनि उच्च जोखिममा पर्छन्। उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले कोरोना संक्रमणको उच्च जोखिममा पर्ने चिकित्सक बताउँछन्।

मुटु रोगी कोरोनाको संक्रमणका किन र कसरी उच्च जोखिममा पर्छन्? कसरी सतर्कता अपनाउने लगायत विषयमा स्वास्थ्यखबरकी कमला गुरुङले मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीसँग गरेको कुराकानीः

१. मुटु रोगीलाई कोरोना भाइरस संक्रमणको जोखिम कत्तिको हुन्छ?
–    मुटु रोगीका लागि कोरोना भाइरस संक्रमणको जोखिम बढी हुन्छ।
–    रोग प्रतिरोधात्मक क्षमता कम भएका, बालबालिका र वृद्धवृद्धा उच्च जोखिममा।

२. कस्तो खालका मुटु रोगीहरु बढी जोखिममा पर्छन्?
– मुटुको मासंपेसी कमजोर भएर राम्रोसँग पम्प गर्न नसक्ने मुटुरोगी
– मुटु सुन्निने, भल्भ सुन्निने रोग भएका मानिसहरु बढी जोखिममा
– कोरोनाको संक्रमणका कारण मुटु रोगीको मुटु फेल भएर मृत्यु हुन सक्छ

३. मुटु रोगीका लागि कोरोना संक्रमण किन र कसरी जोखिमपूर्ण हुन्छ?
– कोरोना भाइरसले मुुटुको मासंपेसीलाई कमजोर बनाउँछ।
– मुटु रोगीमा रोग प्रतिरोधात्मक क्षमता कम भएकाले समस्या बढाउने जोखिम

४. मुटु रोगीले कसरी सतर्कता अपनाउनु आवश्यक छ?
– मुटुका रोगीले स्वस्थकर जीवनशैली अपनाउनुपर्छ
– खानपानमा बढी ध्यान दिनुपर्छ र व्यायाम गर्नुपर्छ
– अत्यावश्यक बाहेक अस्पताल नजाने
– धेरै भीडभाड भएका ठाउँमा नजाने, सामाजिक दूरी कायम गर्ने
– साबुन–पानीले हात धुने र मास्क प्रयोग गर्ने
– मुटुका रोगीले निमोनियाको भ्याक्सिन लगाउन सुझाव


Your Views
Related News