१३ असोज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सँग ठगीमा संलग्नलाई पक्राउन गर्न सहयोग मागेको छ । नेपालमा प्रतिबन्धित नेटवर्किङ व्यवसाय सञ्चालन भइरहेको गुनासोका आधारमा विभागले अध्ययन गर्दै ठगीमा व्यक्तिलाई पकाउ गर्न सहयोग मागेको हो ।

विभागले गरेको प्रारम्भिक अध्ययनअनुसार २५ कम्पनी र ५० भन्दा बढी व्यक्तिलाई पक्राउ गर्न विभागले गत मंगलबार नाम र सम्पर्क नम्बरसहित सिआइबीमा पत्र पठाएको छ ।

केही नेपाली एवं विदेशी कम्पनी तथा व्यक्तिले गैरकानूनी रुपमा नेटवर्किङ शैलीमा व्यवसाय गरी नेपाल तथा विदेशमा रहेका नेपालीसमेतलाई आबद्ध गरी ठगी गरेको तथा पूँजी पलायन गरेको गुनासो उजूरी विभागमा प्राप्त भएपछि विज्ञसहितको समूहले थप अध्ययन गरेको थियो ।
विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार विभागमा आएका गुनासाका आधारमा केही व्यक्ति तथा कम्पनीलाई अनुसन्धान, जाँचबुझ तथा छानबिनसमेत भइरहेको छ । संलग्न व्यक्ति तथा कम्पनीका जिम्मेवार व्यक्तिलाई नियन्त्रणमा लिएर विभागमा उपस्थित गराउन विभागले सिआइबीसँग सहयोगको माग गरेको हो ।

विभागले कम्पनी रजिष्ट्रारको कार्यालयमा समेत पत्र पठाउँदै २५ कम्पनीका सञ्चालकको नामावली पठाउन पत्र पठाएको छ । सबैभन्दा धेरै गुनासो भारतीय कम्पनीबाट आउने गरेको विभागअन्तर्गतको वैदेशिक व्यापार नियमन शाखाका निर्देशक शिवराज सेढार्इँंले जानकारी दिनुभयो ।‘हामीलाई आएको गुनासोअनुसार हामीले प्रारम्भिक अध्ययन एवं अनुसन्धान गरेका थियौँ, अनुसन्धानबाट व्यवसाय सञ्चालन भएको पाएपछि व्यक्तिको नामावलीसहित सिआइबीमा पक्राउ गर्न अनुरोध गरिएको हो’, उहाँले भन्नुभयो ।

विभागले पठाएको पत्रमा वान कोइन नामको डिजिटल करेन्सीका गोबिन्द श्रेष्ठ, अशोक न्यौपाने र रत्न काजि श्रेष्ठ, एक्सेल टोकनका ज्ञानेन्द्र खड्का र कृष्ण कुमार महर्जन, क्यास कोइनका विजय शाह र दिनेश शाह, पाईनेटवर्कमा आवद्द परमानन्द श्रेष्ठलाई पक्राउ गरी विभागमा पेश गर्न आग्रह गरेको हो ।

वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ को दफा ३ मा इजाजतपत्र प्राप्त नगरी वस्तुको बिक्री वा वितरणसम्बन्धी कार्य गर्न नहुने तथा दफा ११ दफामा पिरामिडमा आधारित सञ्जालयुक्त (नेटवर्किङ) व्यवसाय गर्न नपाउने प्रावधान छ ।

READ MORE NEWS

सुपथ मूल्य पसल १५ गतेदेखि

काठमाडौं । नजिकिँदै गरेको दशैंतिहार लाई लक्षित गर्दै सरकारले असोज १५ गतेदेखि सुपथ मूल्य पसल खोल्ने निर्णय गरेको छ । सोमवार दिउँसो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो निर्णय गरेको हो । नेपाल सरकारको स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले दशैंतिहारलाई लक्षित गर्दै असोज १५ देखि आगामी मङ्सिर ६ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने भएका छन् ।

काठमाडौं उपत्यकामा खाद्य कम्पनीले ५ स्थान, साल्ट ट्रेडिङले ५ स्थान र दुग्ध विकास संस्थानले ३ स्थान गरी १३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार सुपथ मूल्य पसलमा खाद्य कम्पनीले चामल, दाल, कर्णालीको सिमी, फापर, खानेतेल, आँटा स्यानिटाइजर, इन्डक्शन चूल्हो र खसीबोकालगायत विक्री गर्ने छ । त्यसैगरी साल्ट ट्रेडिङले चिनी, नून र दुग्ध विकास संस्थानले घिउ, पनिरलगायत खाद्यवस्तु विक्री गर्ने भएका छन् ।

सम्भव भएसम्म यी तीनओटै कम्पनीले वस्तु विविधीकरणका लागि एकअर्काका उत्पादन तथा खाद्य सामग्रीसमेत साटफेर गरेर विक्री गर्ने योजना रहेको सुवेदीले जानकारी दिए ।

खाद्य कम्पनीले काठमाडौं उपत्यकाभित्र थापाथली, रामशाह पथ, लगनखेल, सूर्यविनायक, नक्खु गरी पाँचओटा विक्री केन्द्रमार्पmत खाद्यवस्तु विक्री गर्ने छ । कोरोना महामारीको त्रास कायमै रहेकाले भीडभाड कम गर्ने र भौतिक दूरीलाई ध्यानमा राख्दै सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर सुपथ मूल्य पसल सञ्चालन गरिने कम्पनीले बताएको छ । यसबाहेक खाद्य कम्पनीले अनलाइन अर्डरमार्फत पनि सामान उपलब्ध गराउने योजना राखेको छ ।

साल्ट ट्रेडिङले घुम्ती पसलसमेत सञ्चालन गर्ने निर्णय भएको छ । उपत्यकाबाहिर करीब १६ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय भएको बताइएको छ । कुनकुन जिल्लामा सञ्चालन गर्ने भन्ने बारेमा भने मन्त्रालयले केही दिनभित्र नै टुंगो लगाउने भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक महाप्रबन्धक पंकज जोशीले चाडपर्वका समयमा हुने अनावश्यक मूल्य वृद्धिको समस्या रोक्न र बजार मूल्य हस्तक्षेप गर्न सहुलियत मूल्य पसलले सहयोग गर्ने बताए । उनका अनुसार साल्टले कोटेश्वर, ललितपुर, भक्तपुर, सतुंगल र बनेपालगायत क्षेत्रमा आफ्ना विक्री केन्द्रबाट खाद्यवस्तु विक्रीको योजना बनाएको छ ।

संक्रमणको जोखिमलाई ध्यानमा राख्दै अघिल्ला वर्षहरूमा भन्दा भीडभाड कम हुने गरी व्यवस्था मिलाइने उनले बताए ।


Your Views
Related News