स्वदेशी मेटेरियल प्रयोग गर्दा लागत बढी पर्छ : उद्योगी , स्वदेशी प्याकेजिङ उद्योगलाई प्रोत्साहित गर्नुपर्छ : प्याकेजिङ उद्यमी

विराटनगर । सरकारले प्याकेजिङका लागि आयात गरिने सामग्रीमा दिँदै आएको महसुल धरौटीको सुविधा दिन रोकेको छ । यसमा प्याकेजिङ सामग्री उत्पादक कम्पनी र उद्योगीहरूबीच फरकफरक धारणा आएको छ ।

उद्योगीहरू नेपालमा पर्याप्त मात्रामा प्याकेजिङका सामग्री उत्पादन नहुने र उत्पादन गरिएका सामान पनि तुलनात्मक रूपमा महँगो पर्ने भएकाले त्यसले उत्पादन लागतमा समेत भार परेको बताएका छन् ।

क्वालिटी रिफाइनरी सञ्चालक विपीन कावराले भारतबाट १५ किलो जाने टिन आयात गर्दा भारतीय ७० रुपयामा आउने तर नेपालमा किन्दा यसको मूल्य १ सय ४२ रुपैयाँ पर्दै आएको बताए । कावराले १५ ओटा तेल उद्योगले अहिले प्याकिङ गर्ने टिन नपाउँदा समस्या परिरहेको जानकारी दिए । पहिले पाम आयल र अहिले भटमासको तेल निकासीमा टिनमा प्याकिङ हुँदै आएको छ ।

सरकारले आर्थिक ऐन २०७७ ले निकासी वा स्वदेशमै परिवत्र्य विदेशी मुद्रामा विक्री गर्ने उद्योगलाई महसुल धरौटीमा राख्न सक्ने सुविधा दिएको थियो । ऐनले गरेको व्यवस्थाअनुसार उद्योगहरूले ल्याउने कच्चा पदार्थ, स्वदेशमा उत्पादन हुने प्याकिङ मेटेरियलसहितका सहायक कच्चा पदार्थ महसुल धरौटीमा ल्याउन पाउने गरेको व्यवस्थालाई अहिले उद्योग विभागले रोकिदिएपछि उद्योगहरू रुष्ट बनेका हुन् ।

आयात गरिएकै प्याकिङ मेटेरियलमा तयारी उत्पादन निकासी गर्दा कागजातका आधारमा धरौटी रकम फिर्ता हुँदै आएको थियो । तर, अहिले विभागले छूटको सिफारिश रोकिदिएपछि भारतबाट तेल प्याकिङका लागि प्रयोग हुने टिनको आयात रोकिएको छ । नेपालमा उत्पादित टिनको गुुणस्तर कम हुने तथा भनेको समयमा उपलब्ध नहुने समस्या उद्योगीहरूले भोग्नु परिरहेको व्यवसायीको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले उत्पादन लागत घटाउन र निर्यात प्रोत्साहन गर्न ‘ड्यूटी ड्र ब्याक’ हुनुपर्ने बताए । उनले पासबुकबाट मुख्य कच्चा पदार्थ ल्याउने सुविधा यथावत् रहे पनि सहायक कच्चा पदार्थ ल्याउँदा रोकिएको ड्यूटी ड्र ब्याक पाउने व्यवस्था हुुनुपर्ने उल्लेख गरे ।

विदेशी मुद्रा आर्जन गर्ने उद्योगको उत्पादन लागत कम हुँदा बजारमा अरू मुलुकका उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने र बढी निकासी हुने भएकाले तत्काल सरकारले रोकिएको ड्र ब्याकको सुविधा सुचारु गर्न माग गरे ।

सहायक कच्चा पदार्थका रूपमा आउने प्याकेजिङ मेटेरियलमा उद्योग विभागको सिफारिशमा ड्यूटी ड्र ब्याकको सुविधा दिँदा नेपालमा उत्पादन हुने प्याकेजिङका सामग्री विक्री नहुने र उद्योगहरू नै धराशयी हुने भन्दै प्याकेजिङ सामग्रीका उद्योगीहरूले सुविधा खारेजीको माग गर्दै आएका थिए ।

यसै आधारमा सरकारले यो सुविधा खारेज गरेको बताइन्छ । स्वदेशमै रहेका उद्योगहरूलाई प्रोत्साहन गर्नुपर्नेमा भारतबाट प्याकेजिङका सामान आयात गर्ने गरी गरिएको व्यवस्था ठीक नभएको बाबा मेटल उद्योगका सञ्चालक सुरेश राठीले बताए । स्वदेशकै उद्योगबाट उत्पादित सहायक कच्चा पदार्थ किन्नलाई ठूला उद्योगीलाई सरकारले प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।

राठीका अनुसार भारतबाट टिन आयात गर्दा एउटा टिनको मूल्य नेपाल आइपुुग्दा १ सय २५ रुपैयाँ पर्छ तर, नेपालमा उत्पादित टिन भ्याटबाहेक त्यति नै मूल्यमा दिँदा उद्योगीहरूले महँगो भयो भन्ने गरेकाले स्वदेशी उत्पादनले बजार पाउन नै समस्या रहेको उल्लेख गरे । सुनसरी मोरङ औद्योगिक कोरिडोरका तेल, घिउ, खाद्यान्न, औषधि, निर्माण सामग्री उत्पादन गर्ने उद्योगलगायतलाई प्याकेजिङ मेटेरियल बढी मात्रामा प्रयोग गर्दै आएका छन् ।

READ MORE NEWS

जनरल इन्स्योरेन्सको आईपीओमा दोश्रो दिनमै ५.३४ गुणा बढी आवेदन

काठमाडौं । जनरल इन्स्योरेन्स नेपालको आईपीओमा सोमवार साँझसम्ममा ५ दशमलव ३४ गुणा बढी आवेदन परेको छ ।

५ लाख १७ हजार ६१३ जनाले १ करोड ४७ लाख १५ हजार ८७० कित्ताका लागि आवेदन दिएका छन्  ।विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार रू.१ अर्ब ४५ करोड ७८ लाख ७६ हजार बराबरको आवेदन परेको हो ।

दोस्रो दिनमा मात्रै ४ लाख जनाभन्दा बढीले कम्पनीको आईपीओमा आवेदन दिएका छन् । पहिलो दिनभने १ लाख जना आवेदकले कम्पनीको आईपीओ भरेका थिए ।
सर्वसाधारणको लागि विक्री खुला गरिएको कुल २७ लाख ३० हजार कित्तालाई आधार मान्दा ५ दशमलव ३९ गुणा बढी आवेदन हो ।

उक्त कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेकोले आगामी असोज १४ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ ।

जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आईपीओ विक्री खुला

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले ३० लाख कित्ता आईपीओ आइतवारदेखि विक्री खुला गरेको छ ।

कम्पनीले ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता कर्मचारीको लागि, १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।

आईपीओ निष्कासन बन्द मिति छिटोमा असोज १४ र ढिलोमा असोज २५ गतेसम्म रहने छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।
धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेकोछ । साथै आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सि–आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट आवेदन गर्न सक्नेछन् ।

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषत भन्दा तल रहेको देखाउँछ  ।

कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०१ दशमलव ७६ रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ७० करोड रहेको छ । आईपीओ निष्कासन बाँडफाँट पश्चात पूँजी  रू. १ अर्ब पुग्नेछ ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्नको लागि कम्पनीले भदौ २४ गते अनुमति पाएको थियो । हालसम्ममा कम्पनीले ३९ ओटा शाखा कार्यालयहरुबाट बीमा सेवा दिंदै आएको छ ।

गत आवको चौथो त्रैमासमा कम्पनीले रू. ५ करोड ६ लाख नाफा कमाएको छ । अघिल्लो आवको तुलनामा गत आवमा नाफा ३९ प्रतिशत वृद्धि भएको हो । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू. ३ करोड ६२ लाख नाफा कमाएको थियो ।

३० लाख कित्ता आईपीओ निष्कासनको तयारीमा रहेको जनरल इन्स्योरेन्सको वित्तीय अवस्था

जनरल इन्स्योरेन्स कम्पनी नेपालले ३० लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट हालै अनुमति पाएको छ ।

आईपीओ निष्कासन गर्नको लागि उक्त कम्पनीले बार्डबाट गत भदौ २५ गते अनुमति पाएको हो । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

गत आवको चौथो त्रैमासमा कम्पनीको नाफा ३९ प्रतिशत वृद्धि भएको छ । कम्पनीले सो अवधिमा रू. ५ करोड ६ लाख नाफा कमाएको हो । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू. ३ करोड ६२ लाख नाफा कमाएको थियो । हाल कम्पनीको चुक्तापूँजि रू. ७० करोड रहेको छ ।

३० लाख कित्ता आईपीओ निष्कासन गरी बाँडफाँट गर्दा कम्पनीको चुक्तापूँजि रू. १ अर्ब पुग्नेछ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ११४ दशमलव ६८ रहेको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडा कोषमा रू. ४ करोड ६६ लाख सञ्चित गरेको छ । सोही अवधिमा सम्ममा कम्पनीको बीमा कोषमा रू. ५ करोड १० लाख जम्मा भएको छ ।

उक्त कोषमा अघिल्लो आवको चौथो त्रैमाससम्ममा रू. २ करोड ८६ लाख थियो । कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. ५३ करोड ६९ लाख बीमाशुल्क आर्जन गरेको छ ।
अघिल्लो आवको सोही अवधिको तुलनामा बीमाशुल्क ६१ प्रतिशत वृद्धि भएको छ ।

अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू. ३३ करोड २५ लाख बीमाशुल्क आर्जन गरेको थियो । गत आवको चौथो त्रैमाससम्ममा उक्त कम्पनीले १ हजार ५६५ जनालाई रू. १९ करोड ५२ लाख दाबी भुक्तानी गरेको छ भने  ३५६ जनालाई रू. ३ करोड ९० लाख दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी रू. ७ दशमलव २३ रहेको छ ।


Your Views
Related News