कोरोनाभाइरसको महामारी विश्वव्यापी बनेसँगै नेपाललगायत विश्वमै अहिले फेरि आयुर्वेद, अझ विशेष गरेर जडीबुटीको चर्चा हुन थालेको छ । नेपालमा परापूर्वकालदेखि चल्दै आएको आयुर्वेदबारे बेलाबेला बहस हुने गरेपनि सामान्यतया जडीबुटीको प्रयोग कसरी गर्नेबारे आम नागरिकमा अनभिज्ञता देखिन्छ ।

अहिले कोरोना महामारीबाट बच्न रोग प्रतिरोधी क्षमता बढाउने भन्दै विभिन्न जडीबुटीको प्रयोग ह्वात्तै बढेको छ भने यसको व्यापार व्यवसाय पनि फस्टाएको छ । यो नेपाल र नेपालको आयुर्वेद चिकित्सा प्रणालीका लागि खुसीको खवर पनि हो ।
हाम्रो घर आँगनमा उपलब्ध, अझ भनौं हाम्रो भान्सामै उपलब्ध विभिन्न जडिबुटी तथा मरमसलाको सही तरिकाले मात्रा मिलाएर प्रयोग गर्ने हो भने यसका अत्यधिक फाइदा छन् तर यसको प्रयोग जथाभावी गरियो भने हानी पनि गर्न सक्छ ।
धेरैलाई भ्रम छ, एलोपेथिक वा रसायनयुक्त आधुनिक औषधीहरुका नकारात्मक असर बढी हुने गर्छ तर जडीबुटीको नकारात्मक असर हुँदैन । तर यो कुरा सत्य होइन । आधुनिक औषधीहरुको जस्तो व्यापक नकारात्मक असर नभए पनि जडीबुटीहरुको सेवनका नकारात्मक असर छैन भन्ने कुरा सत्य होइन । मात्रा मिलाउन सकिएन वा सही ढंगले त्यसको प्रयोग गरिएन वा आवश्यक मात्राभन्दा बढी सेवन गरियो भने जडीबुटीहरुले पनि फाइदाको सट्टा नोक्सानी गर्न सक्छ । यसको प्रयोग गलत तरिकाले भयो भने विभिन्न रोगमा हानी पुर्याउन सक्छ । त्यसैले यसमा आम नागरिक सचेत हुन जरुरी छ ।

सामान्य स्वास्थ्य समस्या अथवा रुघा खोकीलगायतमा घरेलु जडीबुटीको सेवन गर्ने गराउने परम्परा नेपाली समाजमा पुरानो नै हो । तर यसलाई जथाभावी प्रयोग गर्दा हानी गर्ने आयुर्वेदका चिकित्सकहरुले बताउँदै आएका छन् । जडिबुटीको प्रयोग कसरी र कुन अवस्थामा कति मात्रामा गर्नेबारे जानकारी राख्न अत्यन्तै अवश्यक छ । हामीले दैनिक जसो प्रयोग गर्ने मरमसलामा पनि रोग प्रतिरोधी क्षमता हुन्छ भन्नेबारे धेरै जानकार छैनन् ।

यसै सन्दर्भमा हाम्रो घर आँगनका जडीबुटीको प्रयोग कसरी गर्ने र यसको प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी के हुन् त भन्नेबारे मातातिर्थ आयुर्वेद औषधालयका प्रमुख तथा जनस्वास्थ्यविद् नारायण आचार्यसँग सोधेका थियौं । यसबारे उनको सुझाव यस्तो छ –

 

कुनै पनि जडिबुटीको प्रयोग अधिक मात्रामा गर्नु हानिकारक मानिन्छ । जडिबुटीको प्रयोग गर्दा वातावरणअनुसार मात्रा मिलाएर गर्नुपर्ने हुन्छ । यसले कुन रोगका रोगीले के खान हुने र के खान नहुनेबारे जानकारी राख्न अत्यन्त आवश्यक छ । रोगअनुसार जडिबुटीको प्रयोग आयुर्वेदिक चिकित्सकको सल्लाहअनुसार गर्नु उचित हुन्छ ।

जडिवुटीको प्रयोग औषधिको रुपमा र खानाको रुपमा प्रयोग गर्न सकिन्छ । खानाको रुपमा दैनिक प्रयोग गरिने भएपनि औषधिको रुपमा भने निश्चित समयसम्म गरिन्छ । सामान्यतया जडुबुटीलाई ७ देखि १४ दिनसम्म औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ । यसका लागि आयुर्वेद चिकित्सकहरुको सल्लाह वमोजिम प्रयोग गर्नु उचित हुन्छ ।

अहिले आफूखुसी जडिबुटीको प्रयोग ह्वात्तै बढेको छ । जस्तो बेसार, ज्वानो, मेथी, अदुवा, टिमुर, मरिचलाई खानामा मसलाको रुपमा प्रयोग गरिने भएपनि यसको मात्रा, वातावरण, रोगको अवस्थालाई खयाल गरेर मात्र प्रयोग गर्नु उचित हुन्छ । जस्तोः गर्मी बढी हुने स्थानमा यस्ता मसलाको प्रयोग कम गर्ने र चिसो स्थानमा यस्ता मसलाको प्रयोग नियमित गर्न सकिन्छ ।

तुलसी, टिमुर, अदुवा, ज्वानो जस्ता जडिबुटी रुघा, खोकी, ज्वोरो, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न र एन्टी भाइरल विरुद्ध प्रयोग गर्न सकिने भए पनि यसको सेवन मात्रा मिलाएर सात देखि १४ दिनसम्म गर्दा उपयुक्त हुन्छ ।

अहिले चर्चामा रहेको जस्तै बेसारको प्रयोग पनि मात्रा मिलाएर गर्नुपर्छ । धेरै मात्रामा प्रयोग गर्दा यसले पनि हानी गर्छ । बेसारमा कर्कुमिन नामक रसायन हुने भएकाले यसले रोगसँग लड्न सक्ने क्षमता बढाउछ । जस्तोः इन्फ्लुएन्जा भाइरस, हेपाटाइटिस बि, पारा इन्फ्लुएन्जा भाइरस टाइप ३, रेस्पिरेटरी सिनसाइटल भाइरसलगायत क्यान्सर, नाकको एलर्जी, घाँटीको संक्रमण, क्यान्सर, ढुसीजन्य संक्रमण, ब्रोन्काइटिस जस्ता समस्याका लागि यो उपयोगी मानिएको छ ।

हरेक दिन सुत्नु अगाडि एक कप दूधमा बेसार मिलाएर पिउँदा फाइदा हुन्छ । आयुर्वेदअनुसार बेसार सवै प्रकृतिका व्यक्तिले प्रयोग गर्न मिल्छ ।

त्यसैगरी अर्को चर्चामा रहेको जडिबुटीमा पर्छ गुर्जो । गुर्जोलाई एन्टीभाइरलको रुपमा पनि प्रयोग गर्ने गरिन्छ । शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन यसको प्रयोग गरिन्छ । मौसमी रुघाखोकी, ज्वरो, युरिक एसिड, उच्च रक्तचाप, मधुमेह, दम, एनिमिया, चर्म रोग, जण्डिसलगायतमा आवश्यकताअनुसार प्रयोग गर्दा फाइदा हुन्छ ।

गुर्जोलाई रसायनको रुपमा पनि लिइन्छ । यो नियमित तीन महिनासम्म खान सकिन्छ । नियमित खाँदा हाम्रो शरीरलाई चाहिने रसायन गुर्जोबाट प्राप्त हुन्छ । आयुरवेदमा हाम्रो शरिरलाई पुनर्ताजगी गर्नुलाई रसायन भनिन्छ । र रसायनको भरपूर मात्रा गुर्जोबाट प्राप्त गर्न सकिन्छ ।

गुर्जोले अमृतसमान काम गर्ने भएकाले आयुर्वेदले यसलाई अर्मिताम् को रुपमा लिने गरेको छ । गुर्जोलाई नियमित खानाको रुपमा पनि प्रयोग गर्न सकिन्छ जस्तोः गुर्जोको सुठोको चिया बनाएर पिउन सकिन्छ ।  र, औषधिको रुपमा २१ दिन वा तीन महिनासम्म प्रयोग गर्न सकिन्छ ।

मधुमेह र रक्तचापका विरामीले चिकित्सकको निगरानीमा यसको प्रयोग गर्नु उचित हुन्छ । किनकि गुर्जोलाई मधुमेहको औषधीको रुपमा प्रयोग गरिन्छ । त्यसैले, रगतमा सुगरको मात्रा कम भएका व्यक्तिले चिकित्सकसँग सल्लाह गरेर मात्र खानु पर्छ । र लामो समयसम्म गुर्जोको नियमित सेवनले रक्तचाप घटाउछ ।

जडिबुटीको प्रयोग कसरी प्रयोग गर्ने र यसका फाइदा बेफाइदाहरु कस्ता छन्?

–कोभिड संक्रमणमा प्रयोग हुने प्राय: जडिबुटीहरु नकारात्मक असररहित छन् ।

–गुर्जो, अश्वगन्धा, तुलसी, मरिच, सुठो, पिप्पली, दालचिनी, जेठिमधु, वेसार, अमला, घोडटाप्रे आदि जडिबुटीलाई घरायासी रुपमा तथा चुर्ण बनाएर प्रयोग गर्न सकिन्छ ।

–बेसारलाई मसला वा आहारको रुपमा तरकारीमा हालेर वा चिया जस्तो बनाई खाँदा कुनै असर गर्दैन ।

–जेठीमधु (यष्टिमधु)लाई अधिक मात्रामा एकल रुपमा प्रयोग गर्दा बान्ता आउन सक्छ ।

–हाल निकै प्रयोग भएको त्रिकटु पाउडर अलि गरम प्रकृतिको भएकोले पाइल्सजन्य समस्या हुनेलाई यसको अत्यधिक सेवनले हानी गर्न र सामान्य रक्तश्राव हुन सक्छ ।

–माथिका जडिबुटीहरुलाई सवै या यथासम्भव उपलब्धता अनुसार बरावर भागमा मिसाएर (सुठो, मरिच र पिप्पलीलाई आधा भाग मात्र) विहान र वेलुका काँढा बनाएर खादा रोगसँग लड्ने क्षमताको बृद्धि गर्दछ ।

–यी जडिबुटीले शरिरमा स्फुर्ती बढाउने, निद्रा लगाउने, भोक लगाउने कार्य पनि गर्दछन् ।

–यी जडिबुटीहरुको नराम्रो असर नरहे तापनि साना बच्चाहरुलाई दिनु परेमा औषधिको मात्रा घटाउनु पर्दछ ।

–आयुर्वेद मतानुसार रोग प्रतिरोधात्मक क्षमता बढाउन शरीरको इम्युन मजबुत हुनुपर्दछ र त्यो बढाउन पाचन क्षमता (अग्नि)को महत्वपूर्ण भूमिका रहन्छ । अग्निलाई हाम्रो शरीरको उर्जाको रुपमा लिइन्छ ।


Your Views
Related News