परमाणु बम खराब भए पनि त्यही सूत्रबाट अथाह ऊर्जा निकालेर मानव जीवनलाई समृद्ध बनाउने काम त भएकै छ।

सन् २०१८ नोभेम्बरमा चीनको सिन्जेनस्थित साउथर्न विज्ञान र प्रविधि विश्वविद्यालयका वैज्ञानिक हे जियाकुई र सहयोगीले एक जिन सम्पादन गरिएको बच्चा सिर्जना गरे। उनीहरूले बच्चा बन्न सुरु गर्दाको अवस्थामा वंशाणु यताउता गरेर बच्चालाई एचआईभी, हैजा र विफरविरुद्धको प्रतिरोध क्षमता भएको बनाएका थिए। हङकङको सम्मेलनमा यसको घोषणा हुनेबित्तिकै संसारभर पक्ष र विपक्षमा तरंग उठ्यो। पक्षपातीले वंशाणुगत रोगबाट छुटकारा पाउने राम्रो उपाय भने विपक्षीले यसले प्रकृति खल्बल्याएर सभ्यतालाई क्षति गर्ने तर्क गरे। विपक्षीको दबाब बढेर जियाकुई र सहयोगीलाई चीन सरकारले पछि कानुनी कारबाही नै गर्‍यो।

प्रदर्शनमा विविधता भए पनि सबै धर्मले ठूलो शक्तिले चराचरको नियन्त्रण गर्छ भन्ने मान्यता राख्छन्। सबै परिचालन गर्ने यो शक्तिलाई चुनौती दिने मानवीय कार्य ठीक होइन भन्छन्। विज्ञानवादीले नैतिकतालाई मानिसको बाँच्ने रणनीति हो, धर्मसँग यसको सम्बन्ध छैन भने पनि धर्मका उदात्तपन्थी नैतिकता धर्मको कार्य क्षेत्र ठान्छन्। सबै मानवीय गतिविधिलाई नैतिकताको दृष्टिबाट हेर्नुपर्छ भन्दै यसविपरीतका चिज बेठीक हुने तर्क गर्छन्। यो जिन सम्पादनको घटना विज्ञान र धर्मबीचको द्वन्द्वको परिणति हो।

कोरोनाको यो व्याधिमा राजनीतिज्ञलगायत सबै वैज्ञानिक आविष्कारको मुख ताकिरहेका छन्। औषधि लिन वा खोप लगाउन धर्मभिरु पनि अघिल्लो पंक्तिमा उभिनेमा शंका छैन। विज्ञानले नै यो संकट पार लगाउने छ।

धर्म र विज्ञानबीचको यस्तो द्वन्द्व नौलो होइन, सनातनदेखि नै यी दुवै सदा तनावमा छन्। जब घार्मिक मान्यतालाई विज्ञानले तथ्यका आधारमा बेकामे परिदिन्छ तब नै यी दुईबीच द्वन्द्व सुरु भइहाल्छ। सोह्रौं शताब्दीमा तात्कालिक मान्यताविपरीत सौर्यमण्डलको केन्द्रविन्दु पृथ्वी होइन सूर्य हो भनेर कोपर्निकसले भन्नेबित्तिकै धर्मगुरु आक्रोशित हुँदै कोपर्निकसले समाजलाई भ्रमित गर्ने काम गरेको भनी चर्को विरोध गरेका थिए।

विज्ञानको विरोध धर्ममा मात्र सीमित छैन; परिवर्तन मन नपराउने वा यसबाट वर्चश्व आफ्नो गुम्ने आकलन गर्ने सबै विरोध गर्छन्। यद्यपि पछिल्लो वर्गको विरोध धर्मको जस्तो तन्नामा फैलिएको हुँदैन; घोच्ने ठाँउमा मात्र सीमित हुन्छ। अठारौं शताब्दीको बेलायतमा कपडाको तानका लागि हातको सट्टा स्वचालित पुतलीको आविष्कार हुँदा मिल मालिक विरोधमा उत्रिएका थिए।

अठारौं शताब्दीदेखि तर्कका आधारमा कुनै चिजको व्याख्या गर्ने प्रचलन बलियो बन्दै गएपछि द्वन्द्व झन् सतहमा आयो। विज्ञानको बाटोमा लाग्नेलाई धर्मगुरुले अपमान गर्ने; उनीहरूको आविष्कारलाई बेठीक भन्ने र मानिसलाई विज्ञान होइन भगवान्प्रति विश्वास गर्न आग्रह गर्ने काम गरे। नराम्रोजति सबै विज्ञानको हर्कतको भनेर व्याख्या गरे। विज्ञानले व्याख्याको सामथ्र्य नराखेका चिज देखाएर मानिसलाई विज्ञानविरुद्ध भड्काइयो। तर्क त जे गर्न पनि सकिएला तर जब धर्मधीशको स्वार्थमा विज्ञानले अवरोध गर्‍यो, उनीहरूको सत्ता वा शक्तिलाई कमजोर बनायो, तब उनीहरू धर्मको आडमा विरोध गर्थे।

विज्ञान सत्य र तथ्यको खोजी हो। प्रकृतिको रहस्योद्घाटन यसको कार्य क्षेत्र हो। विज्ञानका लागि प्रकृति खालि उजागर हुन बाँकी रहस्यको पोकोसिवाय केही होइन। यस क्रममा विज्ञानले धर्मले अलौकिक मानेको शक्तिलाई लौकिक बनाइदिन्छ। धर्मभिरुलाई अप्ठेरोमा पारिदिन्छ। प्रकृतिको उद्घाटन गर्ने काम सदावहार मानवीय गतिविधि हो; विज्ञानको मात्र क्षेत्र भने होइन। पछिल्लो समय विज्ञानको विकासले यसलाई तीव्रता मात्र दिएको हो। विज्ञानले रहस्य खोल्ने काम मात्र गर्दैन; यसलाई दोहोर्‍याउन योग्य पनि बनाइदिन्छ। विधिकै आधारमा स्थापित तथ्य पनि विज्ञानले विस्थापन गरिरहेको हुन्छ।

विज्ञानले समाजलाई कहिल्यै स्थिर रहन दिँदैन। जति बढी विज्ञानको विकास हुन्छ उति नै समाज अस्थिर हुन्छ र नयाँ सन्तुलनमा जानुपर्ने हुन्छ। विज्ञानको विकासको गतिले नयाँ सामाजिक सन्तुलनको गति नियन्त्रित हुन्छ, बढ्दा बढ्छ, घट्दा घट्छ। अस्थिरता मानिसलाई मन पर्दैन। जबकि परिवर्तन र नयाँ सामाजिक सन्तुलनले नै समाज आजको विकसित अवस्थामा आइपुगेको हो। परिवर्तन नचाहने समाज इतिहासको गर्तमा गइसके।

धर्म भनेको आस्था वा विश्वास हो। यसमा तर्क, वितर्क र विरोधको कुनै स्थान हुँदैन। धर्म मान्नेलाई औचित्य खोज्न वर्जित गरिन्छ। धर्मगुरु वा ग्रन्थप्रति नै नतमस्तक हुनुपर्छ। यसविपरीत विज्ञानले तर्क, वितर्क र शंकालाई नै विकासको आधार मान्दछ। दुईबीचको तनावको चुरो यही हो।

अचम्म विज्ञान र धर्म दुवैले सत्यको खोजीलाई आफ्नो अभीष्ट मान्छन्। वैज्ञानिकविना परीक्षणको सत्यलाई स्वीकार्दैनन् भने धार्मिक जनपरीक्षणभन्दा पनि अनुभूत चिज नै सत्य हो भन्छन्।

यिनीहरू संसारका सबै रहस्यको व्याख्यालाई विशिष्ट शक्तिसँग जोड्छन्। विज्ञानका लागि रहस्य भनेको जान्न बाँकी चिज मात्र हो। उनीहरू व्याख्या गर्न बाँकी चिजको सजिलो व्याख्याको माध्यम मात्र हो धर्म भन्छन्।

मानिस–मानिसबीच प्रत्यक्ष सम्पर्क गरेर नियन्त्रण गर्न सक्ने क्षमता ५० जनामा मात्र सीमित हुन्छ। धेरै मानिसलाई अनुशासनमा राख्न धर्म सम्प्रदाय आदिले मद्दत गर्छ। धर्म समाज नियन्त्रणको प्राथमिक लगाम थियो र अझ पनि छ। निश्चित धर्म वा सम्प्रदायका मानिसमा एकै किसिमका मूल्यमान्यता हुन्छन्। नेपाल र अन्यत्रका हिन्दुमा धेरै फरक हुँदैन।

एकथरी धर्मको अविष्कार नै समाजलाई अनुशासनमा राख्न भएको हो भन्छन्। हुन पनि राज्य र नियम–कानुनको व्यवस्था त पछिल्लो एक हजार वर्षपछिको नवप्रवर्तन मात्र हो। अझ पनि नियम–कानुनले खाली छोडेको ठाउँ सामाजिक र धार्मिक मान्यताले नियन्त्रण गरिरहेको हुन्छ। दार्शनिक टल्सटायले भगवान् त हुँदैन तर यो कुरा मेरो नोकरलाई चाहिँ नभन्नु है, त्यो भाँडिन्छ भनेर त्यसै भनेका थिएनन्।

धर्म प्राथमिक सामाजिक गतिविधि हो। सामाजिक जीवनमा यो मिहिन तरिकाले घुलेको हुन्छ। विज्ञानको कुरा त जान्ने, बुझ्ने र ज्ञान पिपासु भएपछि मात्र थाहा हुने हो। जन्मनैबित्तिकै समाजले बच्चालाई यो वा त्यो धर्मको भनी पहिचान दिन्छ, जबकि बुझेर व्यवहार देखाउन सक्ने अवस्थामा ऊ हुँदैन। परनिर्भरताका कारण बाबुआमाको संस्कार उसको मानसपटलमा घुसेको हुन्छ। सधैं दुरुस्त दोहोर्‍याइरहे व्यवहारले वंशाणुको काम गर्छ। बाल्यकालको मूल्यमान्यतापछि परिवर्तन भएन भने पुस्तान्तरण हुँदै जान्छ।

विज्ञान एक किसिमको विद्रोह हो यथास्थितिविरुद्धको। विद्रोह गर्ने साहस कमैमा हुन्छ। बढी घर्मभिरु समाजमा त यो झन् दुरुह हुन्छ। एक वैज्ञानिक अनुशासनको हिसाबले धार्मिक हुन सक्दैन। बलबुता छँदा त मानिस येनकेन आपनो मान्यतामा टिक्छ। जब परनिर्भरता बढ्छ र वरपरको समाज आवश्यक हुन्छ तब सामाजिक देखिन उसले मन नलागेका चिज पनि अपनाउँछ। यही कारणले धेरै वैज्ञानिक जीवनको उत्तरार्धमा धार्मिक हुँदै जान्छन्। यो कमजोरी देखाएर धर्मभिरु आखिर विज्ञानले परास्त हुनैपर्छ भन्छन्।

धर्मले यथास्थिति स्वीकार्न सिकाउँछ। वशमा नभएको कुराप्रति गुनासो नगर भन्छ। विज्ञानले सदैव परिस्थितिलाई नियन्त्रण गर्ने कोसिस गराउँछ, जोखिम कम गर्न अग्रसर गराउँछ। कोरोनामा धर्मभिरु मानिसलाई हतास नहुन र पछि सबै ठीक भइहाल्छ भन्दैछन्। मर्नु र बिरामी पर्नु धर्मभिरुका लागि खाली भगवान्को लीला मात्र हो। तर वैज्ञानिक यो परिस्थितिलाई नियन्त्रणमा लिन कोरोनाविरुद्धको औषधि वा खोपको आविष्कारमा लागेका छन्, यसको अन्वेषण र परीक्षणमा छन्।

विज्ञान र धर्मको द्वन्द्वमा अन्ततः विज्ञानको जित हुँदै आएको छ। प्रत्येक विज्ञानका उत्पादन कालान्तरमा सबैले स्वीकार गरेकै छन्। फेरि आविष्कारलाई खराब बनाउने काम वैज्ञानिकभन्दा अरूबाट भएको छ। अणुबाट अथाह शक्ति निस्कने सूत्र आइन्सटाइनले दिए पनि आणविक बम बनाउने राजनीतिक निर्णयको उनले घोर विरोध गरेका थिए। भौतिक सुविधा बढाउने विज्ञानका वस्तु अँगाल्न त धर्मगुरुलगायत कसैमा पनि संशय देखिँदैन, उपभोग गरी नै हाल्छन्।

कोरोनाको यो व्याधिमा राजनीतिज्ञलगायत सबै वैज्ञानिक आविष्कारको मुख ताकिरहेका छन्। औषधि लिन वा खोप लगाउन धर्मभिरु पनि अघिल्लो पंक्तिमा उभिनेमा शंका छैन। विज्ञानले नै यो संकट पार लगाउने छ। विगतका ठूला रोगव्याधि वा अरू संकटमोचन विज्ञानले नै गरेको हो। आजको सात अर्बभन्दा बढीको जनसंख्या र ६ हजार वर्षभन्दा बढी समयको सभ्यता विज्ञानकै जगमा अडेको छ।

भगवान्बाहेक मनोविज्ञान, समाजीकरण र आन्तरिक वा आत्मिक सुख, शारीरिक सुरक्षा आदि पक्ष पनि धर्ममा पाइन्छ। धर्मका यी पाटा विज्ञानसँग तनावमा हुँदैनन्। ठूलो शक्तिको अस्तित्वसँग मात्र विज्ञान द्वन्द्वमा हुन्छ।

ठूलो शक्तिको इच्छा र प्रभावले सबै कुरा नियन्त्रित हुन्छ। मानिस खालि यो शक्तिको गोटी मात्र हो भन्ने धार्मिक धारणाले यथास्थिति स्वीकार्न बाध्य पार्छ। बदल्ने मानव प्रयासलाई समेत निरुत्साहित पार्छ। त्यसकारण यसले विकासमा अवरोध गर्छ। यसविपरीत विज्ञानले यथास्थिति बदल्न सिकाउँदै परिस्थितिलाई काबु गर्दै विकासलाई अगाडि बढाइरहन्छ। मानव सभ्यतालाई थप राम्रो बनाउँछ।

ठूलो शक्तिलाई मान्ने वा नमान्ने व्यक्तिगत कुरा होला तर धर्मका अरू पक्ष र विज्ञानको रहस्योद्धाटन गर्ने जाँगर र विधि अँगाल्न सक्दा मानिस जीवन बढी समृद्ध हुनेमा दुईमत छैन। यसबाट विकास पनि अनुशासित ढंगबाट अगाडि बढ्छ। परमाणु बम खराब भए पनि त्यही सूत्रबाट अथाह ऊर्जा निकालेर मानव जीवनलाई समृद्ध बनाउने काम भएकै छ त।


Your Views
Related News