सर्लाही नगरपालिकास्थित झलनाथ खनाल प्रतिष्ठान र सर्पदंशविरुद्धको खोप/इन्जेक्सन उत्पादनका लागि सो प्रतिष्ठानलाई वियिोजन गरिएको ७२ करोडको बजेटले ठूलै चर्चा पाएको छ अहिले। जिउँदा पूर्वप्रधानमन्त्री झलनाथ खनालका नाममा खोलिएको प्रतिष्ठानको पाँच सदस्यीय सञ्चालक बोर्डको अध्यक्षमा सर्लाहीका नेकपा अध्यक्ष छन् भने झलनाथ संरक्षक। झिँगा भन्किएको खोरमा राखिएको एउटा गोमन सर्प देखाएर सर्पदंशविरुद्धको खोप उत्पादनको योजना राखेको स्वास्थ्य प्रतिष्ठानको प्रचार र औचित्यमा प्राविधिक/विज्ञता तथा अन्य तयारीको अभाव प्रस्ट देखिन्छ।

सर्पदंशविरुद्धको खोप उत्पदनको विषय र चर्चा भने नौलो होइन, पहिला पनि यस विषयमा कुरा भएकै हो नेपालमा। यसै विषयमा २०७१ कात्तिक २२ (८ नोभेम्बर २०१४) को ‘द काठमाडौं पोस्ट्’ मा पंक्तिकारको एउटा लेख पनि छापिएको थियो, ‘ओन्स बिटन’ शीर्षकमा। त्यसबेला भारतनिर्भर सर्पदंशको औषधि आयातमा रोक लाग्न सक्ने सम्भावना भएकाले सो लेख लेखिएको थियो। तराई मधेसमा १२०० जतिको संख्यामा सर्पदंशको घटना हुने र करिब दुई सयजतिको मृत्यु हुने आकडा थियो। धेरैजसो बिरामीको मृत्यु समयमा ‘एन्टिस्नेक भेनम’ को इन्जेक्सन नपाएर हुने गरेको तथ्यांक छ। नेपाली सेनाको झापा, चारआलीस्थित ब्यारेकले सर्पदंशको उपचार धेरै वर्षदेखि गर्दै आएकाले सो ब्यारेक सर्पदंश उपचार केन्द्रका नाममा प्रख्यात नै थियो र छ पनि। सर्पदंशको घटना तराई भावरमा मात्र सीमित नभएर काठमाडौं उपत्यकामा समेत बढ्न थालेको थियो सोही समयमा।

नेपालमै सम्भाव्यता भएको र आफ्नै क्षमतामा गर्न सकिने ‘एन्टिस्नेक भेनम’ उत्पादनमा अब पनि ढिलाइ गर्ने हो भने देश र जनताप्रति अन्याय हुन्छ।

त्यसबेला प्रकाशित विभिन्न लेख–रचनामा ‘एन्टिस्नेक भेनम’ इन्जेक्सन उत्पादन केन्द्र स्थापनाका लागि करिब ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो। यस्तो केन्द्रबाट हुने उत्पादनले नेपाललाई चाहिने आवश्यकताबाहेक अन्य मुलुकमा निर्यातसमेत गर्न सकिने अवस्था रहन्थ्यो। ‘एन्टी स्नेक भेनम’ इन्जेक्सन उत्पादन केन्द्र स्थापनाका लागि आवश्यक पर्ने कच्चा पदार्थ भनेको घोडा र विषालु सर्प हुन्, जो नेपालमै उपलब्ध छन् भने इन्जेक्सन बनाउने मसिनरी बाहिरबाट झिकाउनुपर्छ। आवश्यक प्राविधिक तालिम गराएर तयार पार्न सकिन्छ। यसमा सबभन्दा खर्चिलो र समय लाग्ने कुरा हो– घोडा फार्मको स्थापना र विकास। यसका लागि धेरै जमिन, तबेला निर्माण, घोडा संकलन, घोडा प्रजनन र घोडासम्बन्धी दक्ष जनशक्ति र भेटनरी तथा दानापानीलगायत अन्य व्यवस्थापन आवश्यक पर्छ। त्यसपछि ‘एन्टिस्नेक भेनम’ उत्पादनका लागि ‘म्यानुफ्याक्चरिङ प्लान्ट’ को स्थापना जो एकपटकको मुख्य लगानीपछि निरन्तर सञ्चालन तथा मर्मत खर्च मात्र भए पुग्छ। त्यस्तै विषालु सर्पको फार्म (ब्रिडिङसमेत) स्थापना, विकास र सञ्चालन हो।

अन्त्यमा, उत्पादन केन्द्रको सर्वपक्षीय व्यवस्थापन। त्यसबेलाका लेख–रचनामा ज्ञाताले घोडाको व्यवस्था पनि मनाङ र मुस्ताङमा र सर्पको फार्मको व्यवस्था चितवन र बर्दिबासमा गर्न सकिने भनी सुझाएका पनि थिए, भला विस्तृत अध्ययनको पाटो बाँकी नै थियो।

यी सबै पक्षमाथि चिन्तनमनन गर्दै पंक्तिकारले चितवनस्थित सैनिक घोडा फार्म ‘स्टड फार्म’ को किन सदुपयोग नगर्ने भनी लेखमा विचार पस्किएको थियो। चितवन भरतपुरस्थित सम्पूर्ण पूर्वाधारसहित सैनिक घोडा उत्पादन फार्म ‘स्टड फार्म’ २०४२ सालदेखि सञ्चालनमा छ। यसको सदुपयोग गर्न सकियो भने अति नै सस्तोमा ‘एन्टिस्नेक भेनम’ उत्पादन गर्न सकिन्छ। चितवनमै वा अन्यत्र पनि विषालु सर्पको फार्म (ब्रिडिङसमेत) स्थापना गर्न सकिन्छ। चितवनमै ‘म्यानुफ्याक्चरिङ प्लान्ट’ समेत स्थपना गरी ‘एन्टिस्नेक भेनम’ उत्पादन केन्द्रको स्थापना गर्नु उपयुक्त हुन सक्छ। स्थापित सैनिक स्टड फार्मको सदुपयोग गर्न सकिएको खण्डमा एन्टिस्नेक भेनम उत्पादन केन्द्रको स्थापना मितव्ययी मात्र नभई उत्पादनसमेत चाँडो गर्न सकिन्छ। घोडा फार्मका लागिबाहेक सर्पको फार्म र ‘म्यानुफ्याक्चरिङ प्लान्ट’ का लागि धेरै जमिन आवश्यक नपर्ने भएकाले सेनाको ‘स्टड फार्म’ लाई प्रयोगमा ल्याउन सके अन्य पूर्वाधार पनि चितवनवरपर बनाउँदा सञ्चालन र व्यवस्थापनमा समेत सहज हुन सक्छ।

सैनिक ‘स्टड फार्म’ बाट उत्पादन हुने घोडामध्ये सेनाको उपयोगमा नआउने र अन्य कारणबाट समेत काम नलाग्ने भएका घोडाको सदुपयोग भई खेर जाने घोडाबाट समेत ‘एन्टिस्नेक भेनम’ उत्पादनमा मद्दत पुग्छ। पशुले मानवको ज्यान जोगाउनमा सहयोग पुर्‍याउँछ भने जनावर अधिकारकर्मी पनि खुसी नै हुनेछन्।

जेएनके प्रतिष्ठानले गर्ने काम धेरै छन् र हुन सक्छन् तर जनताका करबाट जम्मा भएको देशको राजस्व राजनीतिक कार्यकर्ताको पालनपोषण र मोजमस्तीका लागि खर्च गर्नु भनेको राष्ट्रको दोहन र परोक्ष भ्रष्टाचार नै हो। नेपालमा राष्ट्रिय आविष्कार केन्द्रजस्ता संस्थाले सरकारबाट सुको दाम नपाउने तर जेएनके प्रतिष्ठानले सर्पदंशविरुद्धको खोप उत्पादनका नाममा सर्प पाल्न करोडौं रुपैयाँ पाउने कदापि न्यायोचित र स्वीकार्य हुन सक्दैन। भोलिका दिनमा सर्प मरे, घोडा बाटैमा हराए र उत्पादनका लागि मेसिन ल्याउनुको औचित्य भएन भनी जग्गा खरिद र सुरुको व्यवस्थापनमा रकम सकिएको भनी कर्मचारीका लागि तलब दिन भनी थप बजेटको माग भयो भने अचम्म नमान्दा हुन्छ।

यसैले नेपालमै सम्भाव्यता भएको र आफ्नै क्षमतामा गर्न सकिने ‘एन्टिस्नेक भेनम’ उत्पादनमा अब पनि ढिलाइ गर्ने हो भने देश र जनताप्रति अन्याय हुन्छ, चेतना जागोस् सम्बन्धित निकायको।

READ MORE NEWS

यस वर्षको पद्‍मश्री पुरस्कार रद्‍द


Your Views
Related News