काठमाडौं–भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरण जडानका लागि आवश्यक दक्ष प्राविधिक ल्याउन नेपाल सरकारले अनुमति दिएको छ।

नेपाल सरकारले ३५ चिनियाँ प्राविधिकलाई नेपाल आउनु अनुमति दिएको आयोजनाका प्रमुख इन्जिनियर प्रवेश अधिकारीले जानकारी दिए। जसमा १० देखि ११ जनाले भिसासमेत प्राप्त गरेर नेपाल आउने क्रममा रहेको उनको भनाइ छ।

३५ प्राविधिकमध्ये पहिलो लटमा आउनका लागि भिसा प्राप्त गरिसकेका १० प्राविधिक भने सेन्ट्रल एसी जडानका लागि आउने अधिकारीले बताए। त्यसबाहेकका २ टीम रनवे तथा ट्याक्सी–वेको लाइटिङ जडान र र  टर्मिनल भवनका सेन्ट्रल एसीबाहेकका उपकरण जडान गर्ने प्राविधिक छन्।

९५ प्रतिशत उपकरण आइपुगे 
कोरोना संकट सुरुभएसँगै आउन नसकेको उपकरण पनि नेपाल आइसकेको अधिकारीले बताए। अधिकारीका अनुसार ९५ प्रतिशत उपकरण विमानस्थल निर्माणस्थलमा ल्याइसकिएका छन् भने अन्य आउने क्रममा छन्।

ब्यागेज ह्यान्डलिङ उपकरण भने कोलकाता आइसकेको र त्यहाँबाट नेपाल आउने क्रममा रहेको अधिकारीले नेपाललाइभलाई जानकारी दिए। साथै रनवे लाइटको उपकरण पनि अक्टोबर २० सम्म आइपुग्ने तालिकासमेत आयोजना कार्यालयले पाइसेकेको अधिकारीले जानकारी दिए।

यी सबै काम विमानस्थल निर्माणको आइसिबी–१ अन्तर्गतको हो। अहिले विमानस्थल निर्माणमा ९२ प्रतिशत भौतिक प्रगति भइसकेको छ। आइसिबी–१ अन्तर्गतका काम चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले गर्दै आएको छ।

आइसिबी–१ अन्तर्गत ३ हजार मिटर रनवे, प्यारालल ट्याक्सी–वे, प्यारालल ट्याक्सी–वे जोड्न ‘एग्जिट–वे’, खोला फर्काउने, टर्मिनल भवन, टावर कन्ट्रोल भवन, प्रशासनिक भवन, अग्नि नियन्त्रण कार्यालय र जेनेरेटर भवन निर्माणको काम रहेको छ। अहिले भौतिक संरचना निर्माणको काम सकिएसँगै उपकरण जडानको काम भइरहेको छ।

यो आयोजना सन् २०१५ मा सुरु भई सन् २०१७ को डिसेम्बरमा सम्पन्न हुने अपेक्षा गरिएकोमा उक्त अवधिभित्र नसकिएपछि संशोधित कार्यतालिकाअनुसार ३१ डिसेम्बर २०२० मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। यो आयोजनाको कूल लागत ३० अर्बभन्दा बढी भइसकेको छ।

विमानस्थल निर्माणका लागि जग्गाको मुआब्जा वितरणमा मात्रै २३ अर्बभन्दा बढी खर्च भएको छ।

यसैगरी विमानस्थल सञ्चालनका लागि आवश्यक आइएलएस (इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम), सञ्चार उपकरण, मौसम मापन लगायतका उपकरण जडानको काम पनि अहिले रोकिएको छ। यो आइसिबी–२ अन्तर्गतको काम हो।

READ MORE NEWS

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा नेपाल एयरलाइन्सलाई दिने तयारी

काठमाडौं– सरकारले भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ) सेवा सरकारी स्वामित्वको राष्ट्रिय ध्वजबाहक नेपाल एयरलाइन्सलाई दिने तयारी गरेको छ।

विमानस्थल सञ्चालनको तयारी भएसँगै सरकारी स्वामित्वको नेपाल एयरलाइन्सलाई दिने प्रत्रिया सुरु भएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।

विमानस्थल सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई दिने प्रक्रियाबाट पछि हटेको प्राधिकरणले ग्राउन्ड ह्यान्डलिङका लागि सरकारी स्वामित्वको नेपालएयरलाइन्सलाई सिधै दिने तयारी गरेको हो।

काठमाडौं विमानस्थलमा पनि व्यावसायिक ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी पाइरहेको नेपाल एयरलाइन्सलाई उड्डयन प्राधिकरणले बिना प्रतिस्पर्धा भैरहवामा पनि दिने गरी नेपाल एयरलाइन्स र मन्त्रालयसँग छलफल थालेको पोखरेलले जानकारी दिए।

तर, विमानस्थल कहिलेबाट सञ्चालनमा आउँछ भनेर भन्न सकिने अवस्था छैन। अहिले भौतिक संरचना निर्माणका काम सकिएपनि उपकरण जडानको काम हुने सकेको छैन। उपकरण जडान कोरोना संक्रमण सुरु भएसँगै रोकिएको छ भने जडानका लागि आवश्यक प्राविधिक पनि आउन पाएका छैनन्। जसका कारण विमानस्थल सञ्चालन मिति तय गर्न सकिएको छैन।

अन्तिम पटक समय थपेर डिसेम्बर २०२०को डिसेम्बरसम्म निर्माणको काम सम्पन्न गर्ने गरी जिम्मा निर्माण कम्पनीले पाएको छ। तर, उक्त समयमा पनि विमानस्थलको निर्माणको काम सम्पन्न हुने अवस्था नरहेको प्राधिकरणको भनाइ छ।

सरकारले भने यसै आर्थिक वर्ष भित्र व्यवसायिक उडान सुरु गर्ने योजना अगाडि सारेको छ। विमानस्थल आयोजनाको भौतिक निर्माणको काम सम्पन्न हुनै लाग्दा प्राधिकरणले सञ्चालनका लागि आवश्यक अन्य तयारी गर्ने क्रममा ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी नेपाल एयरलाइन्सलाई दिने सहमति  गर्न लागेको हो।

भूमिस्थ प्रबन्धको काम नेपाल एयरलाइन्सलाई नै दिने गरी प्राधिकरण र नेपाल एयरलाइन्स बीच पहिलो चरणको सहमति भएको पोखेरलले जानकारी दिए।
विमानस्थल सञ्चालन प्राधिकरणले नै गर्ने भएपछि अहिलेसम्म नेपाल एयरलाइन्सलाई दिने निश्चित भएको उनको भनाइ छ।

नेपाल एयरलाइन्सको राम्रो आम्दानीको रुपमा ग्राउन्ड ह्यान्डलिङ सेवा रहेका छ। काठमाडौं विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवाबाट नेपाल एयरलाइन्सले वार्षिक ४ देखि ५ अर्बको आम्दानी गर्दै आएको छ।


Your Views
Related News