अनि समाइरालाई केटाजस्तै बनेर हिँड्नु नपर्ने भयो


समाइरा श्रेष्ठ अहिले २१ वर्षकी भइन्। उनी अरु जस्तै साधारण मान्छे हुन्। तर समाजले उनलाई सामान्य मान्छेको रुपमा स्वीकार गर्दैन। कारण हो हेर्दा उनी केटा जस्तै देखिन्थिन् तर उनको स्वभाव भने केटीको जस्तै थियो।

काठमाडौँमा जन्मिएकी समाइरा बच्चा बेलादेखि नै आफू केटा जस्तै देखिए पनि स्वभाव सबै केटीको रहेको बताउछिन्। सुरुमा समाइरा आफैँलाई पनि थाहा थिएन आफू के हुँ भन्ने ? ‘मलाई प्रकृतिले नै यस्तो बनाइदियो।’ समाइरा आफ्नो अनुभव सुनाउँदै भन्छिन्, ‘सानैदेखि मलाई लाग्ने गथ्र्यो म अली फरक छु। तर मलाई थाहा थिएन त्यो फरक के हो।’

समाइराको शरीर केटाको जस्तै थियो। तर उनको व्यवहार, बोल्ने शैली केटीको जस्तै थियो। स्कुल पढ्दा उनका केटा साथीहरू धेरै थिएनन्। उनी केटी साथीहरूसँग नै बस्थिन्। ‘मेरो फरक स्वभावका कारण केटाको जस्तै शरीर भए पनि केटाहरूले गर्ने जस्तो बदमासी कहिल्यै गरिन्। पुरुषसँग मलाई लाज लाग्थ्यो,’ उनी भन्छिन्।

आफू सरल स्वभावको भएपनि विद्यार्थी जीवनमा उनलाई कहिल्यै र कसैले पनि सरल व्यवहार देखाएनन्। ‘अरुभन्दा फरक भएकै कारण म धेरै पटक हिंसामा परेकी छु।’ उनी दुखेसो पोख्छिन्, ‘साथीहरूले मलाई गिज्याउने छक्का, हिजडा भन्ने गर्थे अझ त्यो भन्दा धेरै हिंसा शिक्षकहरूले नै गर्थे।’

साथीहरू आफ्नो नजिकै नपर्ने, र अपराधीलाई जस्तै व्यवहार गर्ने गरेको उनी सम्झिन्छिन् ‘यस्तो व्यवहार देखाउँथे, मानौं अरुभन्दा केही फरक स्वभावको हुनु नै मेरो अपराध हो। शिक्षकले मलाई बिना कारण नै पिट्थे, गाली गर्थे।’
यस्तै तुच्छ व्यावहारकै कारण ७ कक्षामा पढ्दै गर्दा एक पटक आत्महत्याको प्रयास समेत गरेको सुनाइन समाइराले।

उनलाई कयौँ पटक आत्महत्याको सोच त आउँथ्यो। आफू फरक किन भएँ भनेर सधैं तनाव हुन्थ्यो। आफ्ना आमाबुबालाई अरुले छक्काको आमा, हिजडाको बुबा भन्दा उहाँहरूलाई कस्तो महशुस हुन्छ होला भनेर सोच्थिन् उनी। यस्ता कुरा सम्झँदै गर्दा बाच्ने इच्छा नै हराएर जान्थ्यो। तर चाहेर पनि उनले आफूलाई परिवर्तन गर्न सक्दिन थिइन्। किनकी यो उनको यो स्वभाव प्राकृतिले नै दिएको थियो।

समय सधै उस्तै रहेन। समाइराले आफ्नो सोचलाई बलियो बनाउन थालिन्। सबैभन्दा पहिले आफैंलाई चिन्नुपर्छ मैले भन्ने जस्तो लाग्न थाल्यो उनलाई। ‘सजिलो थिएन आफैँलाई स्वीकार गर्न। मेरो जीवनको सबैभन्दा ठूलो चुनौती नै त्यही थियो।’ उनी भन्छिन्, ‘पहिले आफूलाई स्वीकार गर्नु थियो र दोस्रो आफ्ना परिवारलाई आफ्नो वास्तविकताबारे बुझाउँनु थियो।’

त्यसैले समाइराले आफू केही फरक भएपनि सामान्य मानिस नै हो भन्ने कुरा दिमागमा सेट गर्न थालिन्। २/३ वर्ष लाग्यो आफ्नो फरक अस्तित्वलाई स्वीकार गर्न।

२०७६ को भदौ ३० गते समाइराले आफ्नो जन्मदिन फरक तरिकाले मनाउने विचार गरिन्। आफ्नो फरक परिचय सबैमाझ खुलाउने विचार गरिन्। समाइराका बुबा व्यापारी हुन्। समाइराको जन्मदिनमा बुबा काठमाडौँ बाहिर थिए। समाइराले आमालाई नै सेयर गर्ने निधो गरिन्। आफूले जन्माएको छोराले म छोरा होइन भन्दा आमाको मनमा के पर्ला भन्ने डर थियो उनलाई। जे त होला भन्ने सोचेर उनले आमालाई वास्तविक कुरा भनिन्।

समाइराको कुरा सुनेर  सुरुमा उनकी आमा चकित परेकी थिइन्। समाइराले भनिन्,‘आफूले जन्माएर, हुर्काएको लक्का जवान बनाएको छोरोले घरमा बुहारी ल्याउँछ र आफ्नो वंशलाई अगाडि बढाउँछ भन्ने सपना पालेर बसेकी थिइन् आमा।

उसले आज म छोरा होइन भन्दा आमाको मन कति तिल्मिलायो होला । झन् नेवार समाजमा त यस्तो कुरालाई सामान्य रुपमा स्वीकार गर्नु निकै कठिन कुरा हो।
यस्ता कुरा आफन्तहरूलाई कसरी बुझाउने ? अनेकौँ कोणबाट समस्या थियो उनकी आमालाई। ‘तर पनि उहाँले मलाई प्रेमभावमा तिमी जे छौ ठीक छौ, तिमी हाम्रो सन्तान हौ भनेर हौसला प्रदान गर्नुभयो।’ समाइरा  सुनाउँछिन्, ‘त्यो मेरा लागि निकै खुसीको क्ष्कण थियो।’ अब बुबाले यो सुनेर कस्तो प्रतिक्रिया देलान् ? यही चिन्ता थियो उनलाई।

केही दिनपछि बुबा काठमाडौँ फर्किए। उनले निकै साहस गरेर यो कुरा बुबालाई सुनाइन्। अनि प्रश्न गरिन ‘अब समाज र आफन्तले मलाई के भन्लान्  बुबा?’ त्यसपछि बुबाले यस्तो प्रतिकृया दिए, उनी आफैँ छक्क परिन्। उनले अपेक्षा नगरेको प्रतिक्रिया बुबाबाट आयो।  बुबाले समाइरालाई नै प्रश्न गरे, ‘तँलाई कसले जन्मायो ? कसले हुर्कायो ? कसले ठूलो बनायो ? हामीले होइन ? तँलाई समाजले पालेको छ ? त मलाई यति भन् की २० वर्षको हुँदासम्म आफ्नै अस्तित्व लुकाएर कसरी बाचिस् ? दिनदिनै केटा भएको यत्रो नाटक कसरी गरिस् ? पहिला नै किन भनिनस् ?’

समाइराको खुसीको सीमै रहेन। उनको बुबाले खुसी साथ स्वीकार मात्र गरेनन्, उनलाई ‘एलजीबीटीआइक्यू कम्युनिटी’मा लैजाने निधो गरे। समाइरा पुराना दिन सम्झिन्छिन्, ‘गर्न पनि कति नाटक गर्नुपथ्र्यो मैले। हरेक बिहानबाट नाटकको सुरुवात हुन्थ्यो। स्वर बोल्ड बनाउनु पर्ने, केटाको जस्तै लुगा लगाउँनु पर्ने। आफु जे होइन त्यो बनेर देखाउनु पर्ने।’

‘एलजीबिटीआइक्यू सोसाइटी’ को बारेमा बुबाले नबताएसम्म समाइरालाई केही थाहा थिएन। समाइराको बुबाले नेपालमा नीलहिरा समाज छ जसले ‘एलजीबिटीआइक्यू सोसाइटी’को हक अधिकारका लागि काम गर्छ भन्ने जानकारी दिए।

‘आफ्नो बारेमा भनेको भोलिपल्टै बुबाले मलाई नीलहिरा समाजमा लैजानु भयो।’ उनले ती दिन सम्झिइन्, ‘त्यहाँ पुग्दा आफूजस्तै धेरै मान्छे भेटेँ।’

सुरुमा त्यहाँ पुग्दा उनलाई निकै डर लाग्यो। सोचिन् ‘ल म यिनीहरूजस्तै हुँ र ?’
उनी सुनाउछिन् ‘मलाई यस्तो किन लाग्यो भने त्यति बेलासम्म म केटाकै पहिरनमा केटा नै भएर हिड्ने गर्थेँ। त्यहाँ केटाजस्तो देखिने तर केटीको ड्रेसअप गर्ने अनि केटीजस्तै देखिने तर केटाको ड्रेसअप गर्ने धेरै थिए।’उनीहरूका बानी, व्यवहार पनि अनौठा।

समाइराले आफ्नो जस्तै समस्या भएका अरु कोही मान्छे देखेकी र भेटेकी थिइनन्। यसबारे केही कुरा गरेकी थिइनन् कसैसँग पनि। त्यहाँ पुगेपछि आफूजस्तै मान्छेसँग कुरा गर्न थालिन्। उनीहरूको अनुभवहरू सुन्न र आफ्नो सुनाउन थालिन्।  ‘अनी मलाई सबै कुरा सामान्य र सुन्दर लाग्न थाल्यो’ समाइरा भन्छिन्।

उनी नीलहिरा समाजको पुस्तकालयका कितावहरू पढ्थिन्। यसबाट उनले यौनिक विविधता अन्तर्गत पनि आफू ट्रान्सजेन्डर महिला भएको निर्क्योल गरिन्। समाइराले २, ३ महिना आफ्नै बारेमा खोज गरेर बिताइन्। आफू सबैमाझ खुल्न थालेको केही समयपछि नै चिकित्सकसँग परामर्श गरेर जेन्डर ट्रान्सफर गर्ने योजना बनाइन्। यसका लागि उनलाई परिवारको ठूलो साथ, सहयोग रह्यो। आवश्यक रकम जुटाएर जेन्डर ट्रान्सफर गरेर तेस्रोलिङ्गी महिला बनिन्। अहिले समाइराको जेन्डर ट्रान्सफर भएको ९ महिना भइसकेको छ।

उपचारका क्रममा सुरुका दिनमा हर्मोनहरूमा परिवर्तन गराउँदा उनलाई निकै गाह्रो भएको थियो। फरक महशुस हुन्थ्यो। तर अहिले उनको स्वास्थ्य स्थिति सामान्य हुँदै गएको छ।

आफूहरू जस्तालाई स्वीकार नगर्ने समाजलाई धेरै योगदान दिने मन छ उनलाई। उनी कादम्बरी कलेजमा बीएसडब्लू अध्ययन गरिरहेकी छिन्। पेशागत रुपमा एक मोडल पनि हुन्।

उनी ‘एलजीबिटीआइक्यू सोसाइटी’का लागि मात्र नभएर सबै मानव जातीको हक निम्ति लड्न चाहन्छिन्।

केही  महिना अगाडिको कुरा हो। समाइरा मध्य बानेश्वरको एक क्याफेमा महिला साथीहरूसँग कफी पिउँदै थिइन्। उनले घटना सुनाइन् ‘अगाडि एउटा पत्रिका थियो। त्यसमा ‘क्वारेन्टिनमा महिलाको बलात्कार’ भन्ने समाचार थियो। यो देखेर टाउको फनफनी घुम्यो। मेरो साथीहरूलाई देखाएँ। तर ती महिला साथीहरूले  यति सामान्य तरिकाले लिइदिनु भयो की, मानौ रेप एकदम सामान्य कुरा हो। कुनै ठूलो अपराध होइन।’ बलात्कृत महिलालाई स्वीकार गर्ने समाज र परिवार छैन हाम्रो देशमा भन्ने सम्झिँदा निकै पीडा भयो उनलाई।

अब ती महिला समाजको अपहेलनासँग कसरी लड्लिन ? यस्तै कुरा सोचेर तीन दिनसम्म पिरोलिएको उनी बताउछिन्। ‘यो कुरा कहाँ गएर निकाल्नु जस्तै भयो। त्यही बेलामा ‘इनफ इज इनफ’को सत्याग्रहबारे सामाजिक सञ्चालबाट थाहा पाएँ।’ उनले भनिन्।

सत्याग्रहमा बसेकालाई भेट्न जाँदा उनीहरूले उठाएका मुद्दासँग समाइराको पनि विचार मिल्यो। उनी ‘इनफ इज इनफ’सँग जोडिएर सत्याग्रही बन्न पुगिन्।
सत्याग्रहमा बसेका बेला पत्रकारहरू समाचार र अन्तर्वार्ताका लागि आउँथे। जब मैले आफ्नो परिचय खुलाउँथे कतिले त कुरै गर्दैनथे। नराम्रो दृष्टिकोणले हेर्थे। नरमाइलो लाग्थ्यो।’ उनले गुनासो गरिन्।

यौनिक विविधता भएका व्यक्तिलाई विभेद गर्नु, समाजमा अस्वीकार गर्नुमा नेपालको शिक्षा प्रणालीलाई दोष दिन्छिन् उनी। ‘हाम्रो शिक्षा प्रणाली नै गलत छ। कहिल्यै यौनजन्य विषयमा खुलेर पढाइँदैन। हाम्रा कोर्समा नेपालको जनसंख्या राखिएको छ। त्यसमा महिला र पुरुषको संख्या मात्रै उल्लेख छ। तर त्यसमा यति चाही ‘एलजीबिटीआइक्यू’ मा पर्ने मानिस छन् भनेर समावेश गरिएको हुँदैन। धेरैलाई यो के हो नै थाहा छैन। अनी कसरी सम्मान गरुन् त यौनिक विविधता भएको मानिसलाई ?’ उनी प्रश्न गर्छिन्।  गलत कुरा सिक्ने र सिकाउने क्रम बन्द नभएसम्म समाजको सोच परिवर्तन नहुने उनको ठहर छ।


Your Views
Related News
POPULAR
Recently
           

About Us

Powered by " Naya Nepal Media Pvt. Ltd. "

Reg No : In Progress..

Director and editor

Aaditya Nepal : 9810040243