डोटी – डोटीमा राणाकालमा निर्माण गरिएका सयौं धर्मशाला तथा दरबार उचित संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् ।

सम्बन्धित निकायले संरक्षण तथा संवर्द्धन गर्न नसकेका कारण ती धर्मशाला तथा दरबारहरु भत्किन थालेका हुन् । यतिमात्र नभएर सरकारी उदासीनताका कारण यहाँका कतिपय धर्मशाला त व्यक्तिले आफ्ना निजी काममा समेत प्रयोगमा ल्याएको स्थानीयबासी बताउँछन् ।

जिल्लाको शिखर नगरपालिका, दिपायल सिलगढी नगरपालिका, जोरायल गाउँपालिका, सायल गाउँपालिका, बडीकेदार गाउँपालिका लगायतका विभिन्‍न गाउँपालिकाका राणाकालमा निर्माण गरिएका सयौं धर्मशाला अहिले उचित संरक्षण तथा मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएका छन् ।

गाडी सञ्चालन नभएको समयमा बटुवाहरुका लागि विश्राम गर्नका लागि राणाकालीन अवस्थामा निर्माण गरिएका धर्मशालाहरुमा अहिले सरकारी तथा स्थानीय स्तरबाट उचित संरक्षण र मर्मतका लागि पनि पहल नभएको जोरायल गाउँपालिका-३ का स्थानीयबासी दिनेशबहादुर मल्लले बताउनुभयो ।

उहाँले भन्नुभयो,’गाडी नहुँदा बटुवाहरु बास बस्नका लागि बनाइएका धर्मशालाहरु अहिले पालिकाले संरक्षण नगर्दा भत्किन थालेका छन्, यसको संरक्षण तथा जगेर्ना गर्न जरुरी भएको छ ।’ सरकारी सम्पत्तिका रुपमा रहेका धर्मशाला वर्षौंदेखि व्यक्तिले प्रयोग गर्ने तथा केही भत्किन थालेका भए पनि सम्बन्धित निकायले संरक्षणका लागि कुनै पहल नचालेको स्थानीयवासीको आरोप छ ।

तराईबाट पहाड आउने तथा पहाडबाट तराई जाने बटुवाका लागि डोटीको जोरायल गाउँपालिका तथा शिखर नगरपालिकाको नापानी, तेलेलगायत ठाउँमा निर्माण गरिएका राणाकालीन धर्मशाला अहिले कतिपय जीर्ण बनेका छन् । कतिपय भैंसी गोठालाले आफ्ना खर्क बनाएको पाइएको जोरायल गाउँपालिका-५ का स्थानीयबासी निरोज विष्टले बताउनुभयो ।

शिखर नगरपालिका-१ नापानी भन्ने ठाउँमा तत्कालीन स्व.राजा वीरेन्द्रको पालामा बनेको सिलेटले छाएको एकतले पक्की धर्मशालामा एकजना कर्मचारी भर्ना गरी विगतमा बटुवाले गाईगोरु बाँधेको र मान्छे सुतेको पैसा लिने गरिएको र त्यही रकमबाट निज कर्मचारीलाई तलब खुवाउने गरिएको थियो ।

अहिले नगरपालिकाले वनभोज खाने स्थल ‘पिकनिक स्पट’ बनाउने भन्दै कर्मचारी हटाइएपछि याे धर्मशाला व्यक्तिले निजी बनाएको स्थानीयबासी बताउँछन् । यसरी निजी रुपमा प्रयोगमा ल्याउँदा पनि कसैले किन व्यक्तिगत बनाएको भन्नेसम्म आवाज नउठाएको शिखर नगरपालिका-१ का श्याम बोगटीले बताउनुभयो ।

डोटीसहित यहाँका अन्य अछाम, डडेल्धुरा, बाजुरा, बझाङ, कालीकोट र सुर्खेत जिल्लामा तराईबाट आवतजावतका लागि छोटो तथा सजिलो बाटो डोटी भएका कारण पनि तत्कालीन राणाकालमा डोटी जिल्लामा सबैभन्दा बढी धर्मशाला निर्माण भएको दिपायल सिलगढी नगरपालिकाका पूर्वनगरप्रमुख घनश्याम पाठकले बताउनुभयो ।

सदरमुकाम सिलगढीको ‘मल्लोढोका’ नामले चिनिने राणाकालीन दरबार पनि संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । राणाकालीन गौँडा रहेको समयमा लामो समयसम्म बडा हाकिमको निवासको रुपमा प्रयोग भएको थियो ।

डोटीको दिपायल सिलगढी नगरपालिका- ६ नाचन्थलीमा रहेको याे दरबार राणाकालमा वडा हाकिमको निवासका रुपमा प्रयोग हुँदै आएकामा राणाशासन पछिका धेरै वर्षसम्म जिल्ला पञ्चायत लगायतका विभिन्न सरकारी कार्यालयले प्रयोग गर्दै आएका थिए ।

सिलगढीका स्थानीयबासी सिद्धराज श्रेष्ठका अनुसार दरबार र यस वरपर रहेको कुल ४६ रोपनी जग्गा त्यतिबेलाको १० हजार रूपैयाँ खरिद गरिएको भन्ने सुन्नमा आए पनि कुन वर्षमा कति रुपैयाँमा खरिद गरिएको हो भन्ने तथ्य जानकारी भने कसैसँग पनि छैन । विसं १९९० ताका डोटीमा गौँडा रहेको यहाँका बूढापाका बताउँछन् ।

दरबारमा ४० वटा कोठा रहेका छन् । दरबारको वरिपरि सुसारे निवास, मनोरञ्जन घर, पूजा घर, कोत गार्डसमेत रहेकामा अहिले ती घरहरुका भग्नावशेषमात्र बाँकी रहेका छन् । अहिले यस दरबारलाई सरकारी स्तरबाट विभिन्न प्रयोजनका लागि पटक-पटक खरिद गर्ने प्रयास गरिएको पनि बताइन्छ ।

पछिल्लो पटक डोटी क्याम्पसमा कृषि विषय अध्यापन कार्य सञ्चालनका लागि दिपायल सिलगढी नगरपालिकाले यस दरबार र आसपासको जग्गा खरिदका लागि प्रयास गरिएको भए पनि रकममा कुरा मिल्न नसकेको नगर उपप्रमुख शिवराज खड्काले बताउनुभयो ।

यी ऐतिहासिक धरोहरको संरक्षण र सुधार गर्न सके पर्यटकको आकर्षण पनि बन्न सक्ने स्थानीयबासी तथा दिपायल सिलगढी नगरपालिकाका निमित्त कार्यकारी प्रमुख खेमराज गुरुङले बताउनुभयो ।

READ MORE NEWS

कोरोनाको लखेटाइ र चियोचर्चामा मेयरहरु

काठमाण्डाै – “चिरिबाबुलाई त ज्वरो नै आएको रहेछ…” बिहान झिसमिसेमै मर्निङवाक गर्दै गरेका ललितपुर कांग्रेसका अध्यक्ष मदनबहादुर अमात्य आफ्ना साथमा रहेका मित्रगणलाई हिँड्दाहिँड्दै भन्दै हुनुहुन्थ्यो ।

नगरप्रमुख चिरिबाबु महर्जनलाई कोरोना भनिने काेराेना भाइरसको सङ्क्रमण पुष्टि भएको समाचार आएदेखि ललितपुर महानगरपालिकाका घर-घरमा यही चर्चा र चासो छ ।  स्वस्थ रहनका लागि पाको उमेर पुगेकालाई बिहानी हिँडाइ अत्यन्तै उपयोगी भएकाले काठमाण्डौ उपत्यकाका सबैजसो स्थानमा बिहान झिसमिसेमै हिँड्नेहरुको ठूलो जमात् क्रियाशील छ ।

शहरी शिक्षित तथा उच्च र मध्यम वर्गका साथै विशेष जिम्मेवारीका साथ समाजका विभिन्न ओहोदामा आसीनहरुको ठूलो जमातका लागि बिहानी हिँडाइ विश्वसनीय सूचना आदान-प्रदानको अत्यन्तै भरपर्दो र आत्मीय माध्यम रहँदै आएको छ ।

बिहानी हिँडाइमा जानेहरु बडो फूर्तिला हुने गर्दछन् । उनीहरु मास्क पनि लगाउँदैनन् । राजधानी खाल्डो भित्रका महानगर तथा नगरवासीहरुमा एउटा बहसको विषय यो पनि छ कि मास्क लगाएपछि श्वासप्रश्वासमा समस्या आउँदछ, त्यसैले बिहान स्वच्छ वातावरणमा हिँड्दा मास्क आवश्यक छैन । यस सन्दर्भमा कुरामा सत्य तथ्य के होला, सुझावसहित विशेषज्ञबाट स्पष्ट कुराको जानकारी आएमा त्यस्ता बिहानी हिँडाइमा जानेहरुलाई उपयोगी हुने देखिन्छ ।

बिहानी हिँडाइमा जानेहरु पहिले जस्तै ठाउँ-ठाउँका मन्दिर-मन्दिर गएर देवी-देवताका दर्शन गर्ने काममा कमी आएको छ । धेरैजसो मन्दिरहरु बन्द नै छन् भने केही खुलेकामा पनि देवी-देवताहरुलाई सामाजिक दूरी कायम गर्दै छुन र ढोग्न नहुने गरी बार लगाइएका छन् । त्यसले गर्दा भेटी आम्दानीमा कमी आएको भन्दै पुजारीहरुको गुनासो सुनिन थालिएका छन् । अहिले पीडितका पङ्क्तिमा तिनीहरु पनि अग्रपङ्क्तिमा देखिन्छन् ।

यतिबेला काठमाण्डौ उपत्यकाभरिकै मेयर, उपमेयर र वडाध्यक्षहरु क-कसलाई कोरोनाको सङ्क्रमण भयो र उहाँहरुको अवस्था कस्तो छ, उहाँहरु कहाँ-कहाँको आइसोलेशनमा बस्नुभएको छ, के कस्ता सुविधा पाउनुभएको छ भन्ने कुराको चासो आमनागरिकमा व्यापक मात्रामा बढेको पाइन्छ । उहाँहरुलाई आएको ज्वरोको डिग्री हिजो बेलुकी कति थियो भन्ने पनि बिहानी हिँडाइमा चर्चा हुने गर्दछ ।

कोरोनाकै आतंकबीच काठमाण्डौको लगनचोकमा फूटपाथ पसल हटाइएपछि स्थानीयलाई बिहान तरकारी किन्न अलिक असुविधा भएको गुनासो सुनिन थालेको छ ।  महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका टोलबासी लकडाउनदेखि यता तरकारी साथै अत्यावश्यक सामाग्री खरीद गर्न अलि परका पसलहरुमा पुग्नु पर्ने अवस्था छ ।

कोरोना कहरलाई कारण देखाउँदै काठमाण्डौका फुटपाथमा पसल राख्न नदिने लहर चल्न थालेपछि प्रत्येक टोलहरुमा तरकारी पसलहरु खोज्दै साना गल्लीतिर हिँड्नुपर्ने अवस्था छ ।

आफ्नै टोलबासी मेयर भएकाले हरेक कोणबाट ढुक्क रहेका लगन टोलबासीबीच बिहानी हिँडाइ र सूचना आदान-प्रदान हिजोआज विकेन्द्रीकृत भएका छन् । कोही अलि पर रहेको खाद्य सामाग्रीका होलसेलतिर, कोही ज्याबहालतिर र कोही ब्रह्मटोलतिर भेटिन्छन् ।

त्यस्तो भेटमा “तारेमाम्” को सम्बोधनपछि सबैभन्दा पहिलो प्रश्न नै “विद्याको स्वास्थ्य” बारेमा हुने गर्दछ । गएका हप्ताहरुमा मेयर शाक्य संक्रमित भएर होटल सोल्टीको आइसोलेसनमा बस्नुभएको चर्चा लगन टोलमा जत्तिकै सुरुचिपूर्वक शायदै अन्त कतै सुन्न पाइन्थ्यो ।

कति-कति लाख अझ करोडसम्म खर्च गरेको चर्चा भएको लगन टोलबासीका लागि भने पीसीआर परीक्षण केही दिनअघि मात्रै आइपुगेको छ । पीसीआर परीक्षणका लागि व्यक्ति छनोट गर्दा पनि मेयर शाक्यको टोलमा आइसोलेशनमा बस्नेहरुका क्षमताबारे चर्चा व्यापक थियो ।

कोरोनामुक्त भएर घरमै फर्किएको समाचारपछि मेयर शाक्यको सु-स्वास्थ्यको कामना गर्ने ठूलो जमात अहिले काठमाण्डौको चोक-चोक र गल्ली-गल्लीमा स्यानिटाइज गर्ने कार्य नगरिएकोमा गुनासो गर्दैछन् । कोरोना सङ्क्रमणको हल्लासँगै गएको चैत महिनामै बरु गल्लीगल्लीमा स्यानिटाइज गदै महानगरपालिकाका ट्याङ्करहरु कुदाइएका थिए । अहिले त्यस्तो काममा पनि सुस्तता देखिँदैछ ।

ललितपुर जिल्लामा रहेका तीनवटा नगरकै मेयरहरु यतिबेला कोरोना सङ्क्रमित भएका समाचार आइरहेका छन् । महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ नगरभित्रकै आइसोलेशनमा बसेर आफ्नो स्वास्थ्यबारे दिनहुँजसो सामाजिक सञ्जालमार्फत् आफैँ अपडेट गराउँदै अन्य नगरबासीलाई पनि हौसला दिँदै हुनुहुन्छ ।

गोदावरी नगरका मेयर गजेन्द्र महर्जन पनि सङ्क्रमित भएपछि ललितपुरका तीनवटै नगर प्रमुखहरुलाई कोरोनाले लखेटेकोमा चिन्ता व्याप्त छ । उपत्यका मेयर फोरमले नै यो अवस्थालाई ठूलो चुनौतीका रुपमा लिएको विज्ञप्ति प्रकाशित गरेको छ । यसकारण अहिले जनमानसमा कोराना सङ्क्रमणको चर्चा मेयरस्तरमा व्यापकता पाइरहेको छ ।

सङ्क्रमित नागरिकलाई दिइने सेवा सुविधाबारे टोखा नगरपालिका अन्तर्गत वडा नम्बर २ को नयाँ बनेको आइसोलेशन सामुदायिक अस्पताल चर्चा पनि हुने गरेको छ । सङ्क्रमितलाई राम्रो बस्ने र खाने व्यवस्थासहित नगद प्रोत्साहनले मेयर प्रकाश अधिकारी, उप-मेयर ज्ञानमाया डङ्गोल र वडाध्यक्ष दीपकराज जोशीहरुको चर्चा हुने गरेको छ ।

उपत्यकाका अन्य नगरपालिकाका केही उपमेयरहरु पनि कोरोना संक्रमित भएको खबर आएका छन् । वडाध्यक्षहरु त कतिकति, धेरैजसोले त आफू सङ्क्रमित भएको कुरा गोप्य नै राखेर “क्वरेण्टीनमा छु” भनिरहेका छन् ।

मध्यपुर थिमिका एकजना वडाध्यक्ष सङ्क्रमित भएको सूचना अर्कै वडाध्यक्षले विज्ञप्ति प्रकाशित गरेर सार्वजनिक जानकारी गराएको नयाँ प्रयोग थियो । यसरी समाजमा को सङ्क्रमित भनेर थाहा पाउने माध्यम पनि अनौठो तरिकाले परिवर्तन भैरहेका छन् । कतै पार्टीबाटै विज्ञप्ति प्रकाशित गरिरहेका छन् भने कहीँ वडा कार्यालय, सामाजिक संघ-संस्थाहरुले पनि सार्वजनिक जानकारी गराइरहेका छन् ।

यसो हुनुमा सङ्क्रमितहरुका नाम सकभर गोप्य राख्ने प्रवृत्ति नै प्रमुख कारण देखिन्छ । सङ्क्रमण पुष्टि भएकाले पनि आफू सङ्क्रमित भएको भनेर सकेसम्म अरुलाई थाहा नहोस् भन्ने चाहना राखेर गोप्य राख्ने गरेका प्रष्ट छ ।

त्यसले गर्दा एकले अर्कोमा सङ्क्रमणको अवस्था नजानिँदो तरिकाबाट बढिरहेको हुन सक्ने अनुमान सहजै गर्न सकिन्छ । गएकाे महिना कोरोना सङ्क्रमणमा पर्नुभएकी वाग्मती प्रदेशकी उप-सभामुख राधिका तामाङको घर क्षेत्र रहेको काठमाण्डौ उपत्यका जोडिएको नुवाकोटको शिवपुरी गाउँपालिकाको प्रमुख बजार मानिने थानाभञ्ज्याङ्ग पुग्दा त्यहाँ मास्क लगाएका मानिस नगण्य थिए ।

“कोरोनाको डर छैन यहाँ?” भनेर सोध्दा स्थानीयवासीको जवाफ थियो, “यहाँ कोरानाबाट सङ्क्रमित अहिलेसम्म भेटिएको छैन ।” स्वच्छ वातावरण भएका पहाडी क्षेत्रका बासिन्दामा अझै कोरोना सङ्क्रमणको डर नपुगेको देख्दा शहरमा कोरोनाको आतंकबाट पीडितहरुलाई आश्चर्य लाग्नु स्वाभाविकै थियो ।


Your Views
Related News