युवामा देखिएजत्तिकै प्रतिक्रिया देखियो

कोरोना विरूद्ध अमेरिकी बायोटेक कम्पनी मोडर्नाले बनाएको खोपले असरदार देखिएको छ।

खोप बढी उमेरका मानिसहरूका लागि कति सुरक्षित भनेर गरिएको सुरूवाती अध्ययनले सो खोपले उनीहरूको शरिरमा भाइरसलाई तटस्थ गराउँदै लाने देखाएको छ।

यसको स्तर युवा उमेरका मानिसहरूमा जत्तिकै प्रभावकारी देखिएको रोयटर्सले जनाएको छ।

समाचारका अनुसार खोपको दुष्प्रभाव अन्य फ्लुविरूद्ध दिइने उच्चमात्राको खोप जत्तिकै छ।

न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनका अनुसार सो खोप बढी उमेरका मानिसहरूका लागि प्रभावकारी र सुरक्षित रहेको देखाएको छ। प्रौढ उमेरका मानिसहरू कोरोनाका उच्च जोखिममा रहने गरेका छन्।

‘खोजहरू आस्वस्थ हुने खालका छन् किनकी उमेरसँगै मानिसहरूको रोगप्रतिरोधी क्षमता कम हुँदै जान्छ’, डा. इभान एन्डरसनले भने।  उनी एट्लान्टास्थित इमोरी युनिभर्सिटीका प्रमुख शोधकर्तामध्येका एक हुन्।

यो मोडर्नाले बनाएको खोपको पहिलो चरणको परीक्षणको विस्तृत अध्ययन हो। सुरूमा यसको परीक्षण १८-५५ वर्षका मानिसहरूमा गरिएको थियो। परीक्षणका क्रममा ५६ वर्षदेखि ७१ वर्ष भन्दा माथि उमेरका ४० जनालाई क्रमशः २५ तथा १०० माइक्रोग्रामका दुई मात्रा खोप दिइएको थियो।

समग्रमा २८ दिनको अन्तरमा प्रौढ उमेरका मानिसहरूलाई दिइएको १०० माइक्रोग्रामको खोपले उनीहरूमा प्रतिरोधी क्षमता झण्डै युवा उमेरका मानिसहरूमा भएजस्तै पाइएको थियो।
कम्पनीले हाल उच्च मात्राको खोपको तेश्रो चरणको परीक्षण व्यापक मात्रामा गरिरहेको छ।

खोपका कारण मानिसहरूमा हल्का देखि मध्यम किसिमको टाउको दुखाइ, थकान महशुस हुने, शरिर दुख्ने, चिसो हुने र खोप दिइएको स्थानमा दुख्ने लगायतका समस्या देखिने गरेको अध्ययनले देखाएको छ।

यस अध्ययनका दुई जना सहभागीमा भने गम्भीर प्रतिक्रिया देखिएको थियो।

जसमध्ये एक जनामा सानो मात्राको खोप लिएपछि १०२.२ डिग्री फरेनहाइट ज्वरो देखिएको थियो भने अर्का व्यक्तिमा थकान देखिएको थियो जसका कारण अस्थायीरूपमा उनी आफ्नो नियमित काम गर्न असमर्थ बनेका थिए।

सामान्यतया यस्ता दुष्प्राभावहरू खोप लिए लगत्तै देखिने र हराउने गर्छन्।

READ MORE NEWS

विपक्षीविरूद्ध खनिए मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार कृषि कानुनको विरोधमा उत्रिरहेका विपक्षी दलविरूद्ध खनिएका छन्।

कुनै दल विशेष नाम नलिइ मोदी विपक्षीहरू विरूद्ध खनिएका हुन्।

‘आज जब केन्द्र सरकारले किसानहरूलाई उनीहरूको अधिकार दिदैं छ, तब यी मानिसहरू विरोधमा उत्रिएका छन्’, उनले भने।

विपक्षीको कदमप्रति असन्तुष्टि व्यक्त गर्दै मोदीले किसानले पूजा गर्ने सामान र उपकरणमा आगो लगाउँदै उनीहरूले किसानको अपमान गरिरहेको बताए।

देशको केन्द्रीय राजधानी नयाँ दिल्लीमा कृषि कानुनको विरोधमा सोमबार ट्याक्टरमाथि आगो लगाएर विरोध जनाइएको थियो। यो विरोध प्रदर्शन गर्नेहरू युथ कांग्रेस भएको बताइएको छ।

मोदीले किसानहरूले आफ्ना उत्पादन खुल्ला बजारमा नबेचुन् भन्ने विपक्षीको चाहना भएको आरोप लगाए।
यसैगरी मोदीले केही मानिसहरूले विरोधका लागि मात्र विरोध गरिरहेको बताए।

‘देशका किसान, श्रमिक र देशको स्वास्थ्यसँग जोडिएका ठूला सुधारहरू भएका छन्। यी सुधारबाट देशका श्रमिक सशक्त हुनेछन्, नौजवान सशक्त हुनेछन् र आज देशले केही मानिसहरूले विरोधका लागि मात्र विरोध गरिरहेको देखिरहेको छ’, भारतीय राज्य उत्तराखण्डमा नमामी गंगे परियोजना अन्तरगतको ५२१ करोड भारतीय रूपेयाँ लागतको परियोजना उद्घाटन गर्दै मोदीले भने।

‘डिजिटल भारत अभियान, जनधन बैंक खाताले कसरी मानिसहरूलाई धेरै सहयोग गरेको छ। जब हाम्रो सरकारले यो काम सुरू गरेको थियो तब यी मानिसहरूले यसको पनि विरोध गरेका थिए। देशका गरिबको खाता खुलोस्, उनीहरू पनि डिजिटल लेनदेन गरून् भन्ने हाम्रो कुराको उनीहरूले सँधै विरोध नै गरे’, उनले थपे।

त्यसैगरी मोदीले विपक्षीले राम मन्दिरको भूमिपूजाकोसमेत विरोध गरेको बताउँदै विपक्षी ‘न किसानसँग न जवानसँग’ भएको आरोप लगाए।

अयोध्याधामका लागि माडी नगरपालिकाले छुट्यायो १०० बिघा जग्गा

चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ।

मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो।

नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा नं ८ र ९ सिमानामा अयोध्यापुरीधाम निर्माणका लागि हालको अयोध्यापुरी उद्यानको १०० बिघा जग्गा छुट्याइएको बताए।

‘सो जग्गामा प्राविधिक अथवा अन्य कारणले समस्या भए वडा नं ८ को दक्षिण अयोध्यापुरीमा पनि करिब ५० बिघा जग्गा प्रयोगमा ल्याउन सकिन्छ‘ उनले भने।

यस्तै वडा नं १ को पाण्डवनगर, वडा नं ७ को देवेन्द्रपुर दक्षिण शनिमन्दिर क्षेत्र र वडा नं ९ को गणेशकुञ्जमा समेत जग्गाको व्यवस्था गर्ने निर्णय भएको ढकालले बताए।

अयोध्याधाम निर्माणका लागि गुरुयोजना निर्माण भएको भन्दै उनले डिपिआर निर्माण छिट्टै अघि बढ्ने बताए।

‘प्रधानमन्त्रीको निर्देशनबमोजिम नगरपालिकाले अयोध्याधाम निर्माणका लागि सहजीकरण र व्यवस्थापनको काम निरन्तर गरिरहेको छ’ उनले भने।

काम तीव्रताका साथ अघि बढाउन सरकारले बजेटको व्यवस्था गर्नुपर्ने उनले बताए।

माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोले निजी जग्गाहरु उपलब्ध गराउन स्थानीय सबैजना तत्पर रहेको बताए।

अयोध्याधाम निर्माण हुने भएपछि सबै माडीवासी उत्साहित भएको उनको भनाइ छ।

माडी–७ का केही स्थानीयवासीले धाम निर्माणका लागि करिब १५ बिघा जमिन निःशुल्क दिने घोषणा गरिसकेका छन्।

अयोध्याधाम खोज तथा अनुसन्धान समिति माडीका संयोजक नारदमणि पौडेलले कार्यपालिकाको बैठकको निर्णय स्वागतयोग्य रहेको बताए।

जमिनको टुङ्गो नलागेका कारण काममा अवरोध हुने अवस्थामा कार्यपालिकाको निर्णयले काम अगाडि बढाउन सहज भएको र केही दिनमै अयोध्याधाम निर्माणको चरणमा प्रवेश गर्ने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा भगवान् राम नेपालकै माडीको अयोध्यामा जन्मिएको तथ्य प्रमाण रहेको भनेपछि यस विषयले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा चर्चा पाएको थियो।

माडीका जनप्रतिनिधिलाई भेटेर प्रधानमन्त्री ओलीले अयोध्याधामको निर्माण थाल्न निर्देशनसमेत दिएका थिए।


Your Views
Related News