काठमाडौ । सुरेन्द्र खड्का (गोल्डेन्स उद्भास) बारिमा टमाटर टिप्दै आफैले सृजना गरेको ‘अर्को एउटा कुरु क्षेत्र’ कविताका हरफहरु वाचन गर्दै थिए ।
‘अब तिम्रो ह’तिया’र हलो चम्कियोस कुरु क्षेत्रको मैदानमा अब सन्खकोस गरौ एक यु’द्द म’रुभू’मि’को बि’रु’द्धमा’
‘अर्को एउटा कुरु क्षेत्र’ कविता लेखिसके पछि सुरेन्द्र खड्का अर्थात गोल्डेन्स उद्भास कृषि कर्ममा होमिएको थिए । अंग्रेज़ी साहित्यका विद्यार्थी , नेपाली साहित्यमा क्रियाशिल ब्यक्ति अनि पेशाले ब्यवसायिक कृषक यहीँ हो उनको परिचय ।

खड्का ब्यवसायिक रुपमा २०६९ बाट कृषि कर्म गर्दै आएका छन् भने उनले सुरुवातका दिनहरूमा ब्यवसायिक च्याउ खेती गरेको थिए । इजरायली प्रबिधिलाई नेपालमा प्रयोग गर्दै कृषिमा आधुनिकीकरण गर्दै आएका खड्काले विभिन्न उपकरण समेत आफैले बनाएका छन् ।
जानकी गाउँपालिका वडा नम्बर ३ ठट्टेनपुरमा ब्यवसायिक टमाटर खेती गर्दै आएका ३१ वर्षिय सुरेन्द्र खड्का टमाटर खेतिबाट यो बर्ष २० लाख रुपैयाँ खुद आम्दानी गर्ने योजना बुन्दै छन् , – ‘लागत जति लागिसक्यो , अब खासै लगानी छैन र यहीँ हिसाबले उत्पादनमा कुनै कमि नआए करिब २० लाख जति नाफा हुन्छ कि ‘ खड्काले बताए ।
जानकी गाउँपालिकामा साढे सात बिगाहा क्षेत्रफलमा टमाटर खेती गर्दै आएका खड्काले गाई फर्म र गड्यौला मलको लागी पनि काम गर्दै आएका छन् । सुरुवातमा च्याउ खेतीबाट ब्यवसायिक कृषिमा होमियका खड्कालाई धेरैले अझैपनी च्याउ खेती गर्ने भनेर नै चिन्ने गर्छन् । च्याउ खेती गर्दा च्याउ रेस्टुरेन्ट बनाउने योजना मनमा बुन्दै गरेका खड्का अहिले भने ‘भेजिटेबल पार्क’ बनाउन कस्सिएका छन् ।
‘मलाई च्याउ खेती गर्ने भनेर नै चिन्दछन , च्याउ रेस्टुरेन्ट बनाउछु भन्ने सोच थियो । तर त्यसमा अलि बढी लगानी हुने भएकाले मेरो सन्दर्भमा अलि उपयोगि भएन तर भेजिटेबल पार्कमा लगानी कम छ र सहज पनि रहेको छ । जसले गर्दा हाल तरकारी पार्कको लागि योजना बुन्दै छु । सम्भवत २०७७ को अन्तिम सम्ममा भेजिटेबल पार्कको रुपमा परिणत गर्ने सोच रहेको छ ‘ खड्काले आफ्ना योजनाहरु सुनाउँदै बताए ।
२०७७ भित्रमा तरकारी पार्क तयार गरिसक्ने अनि सुन्दर तरिकाले तरकारी फलाउने योजना बुन्दै कृषि कर्ममा लागेका खड्काले मल्टी लेयर फार्मिङ अर्थात बहु तह खेती गर्न समेत सुरु गरेका छन् ।
‘मल्टी लेयर फार्मिङ भनेको कम जमिनमा धेरै खेती गर्दै उत्पादन गर्ने र अनेक प्रकारका खेती गर्ने योजनालाई नै मल्टी लेयर खेती भनिन्छ। अहिले टमाटर उत्पादन हुँदै छ टमाटर उत्पादन हुँदै गर्दा , घिरौला लगाउँदै छौ । टमाटर पनि उत्पादन हुँदै गर्छ भने उता घिरौला पनि’ – खड्काले भने ।
वैदेशिक रोजगारमा टिकेको नेपाली अर्थतन्त्र र वैदेशिक रोजगार मात्रै एक विकल्प देख्ने युवाका लागी उनी एक उदाहरण हुन् । ब्यवसायिक रुपमा कृषि कर्ममा लाग्न सके जापान र अमेरिकालाई पनि जित्ने कुरा बताउछन् खड्का ।
नयाँ युवाहरूलाई ब्यवसायिक कृषिमा लाग्न प्रेरित गर्ने खड्काले कृषि कर्ममा आउने नयाँ युवालाई गाइड्लाइन दिन र आफ्नो अनुभवले सिकाएको कृषिका कुरा सदैब सिकाउन तयार रहेको समेत बताउछन् ।
READ MORE NEWS
भारतमा म:म बेचेर नेपाली युवा करोडपति !
कोलकाता (भारत) । भारतमा नेपाली चौकिदार मात्र छैनन् । ठूलो संख्यामा प्रतिष्ठित पदमा पुगेका छन् । केही ठूला व्यापारी ब्यवसायी बनेका छन् । जुन संख्या नेपालमा रहेका भारतियको भन्दा उच्च छ । त्यही जमातका एक पात्रको सफलताको कथा यहाँ प्रस्तुत गर्दैछौ । ‘नेपालको लोकप्रिय खाजा म:मलाई ब्रान्डका रूपमा स्थापित गर्न सके गज्जब हुन्छ ।’ यही सोचले भारतको कोलकातामा व्यापार थालेका नेपाली युवा विनोद हुमागाईं अहिले करोडपति बनेका छन् ।
‘वाउ म:म’ नामको उनको ब्रान्ड भारतमै सर्वाधिक रुचाइएको र विश्वसनीय ब्रान्ड बनेको छ । ३२ वर्षीय हुमागाईंले काभ्रे धुलिखेलको पुर्ख्यौली थलोबाट अध्ययन गर्नका लागि भारत छिरेका हुन् ।
केएफसी, म्याकडोनल्ड र पिज्जा हटजस्ता अन्तर्राष्ट्रिय ब्रान्डलाई कोलकातामा ‘वाउ म:म’ ले कडा चुनौती दिइरहेको छ । कोलकातामा मात्रै म:म बिक्रीका लागि उनका ७४ वटा आउटलेट छन् । भारतकै उत्तरप्रदेश, नयाँदिल्ली, केरला, कर्नाटक, उडिसालगायत ९ प्रदेशमा वाउ म:मका १ सय ६० आउटलेट छन् ।

भ्यालेन्टाइन डेमा कोलकाताका युवा–युवतीलाई चकलेट म:मको बिल्कुलै नौलो स्वादसहितको प्रणय दिवस विशेष व्यञ्जन बनाएका थिए । म:म स्टोरमा भेज र चिकेन मात्र नभई मसरुम र बर्गर म:मसहित १ दर्जनभन्दा बढी परिकारका म:म उपलब्ध हुन्छ । ‘ग्राहकले जुन फ्लेभरको म:मको स्वाद खोज्छन्, हामी त्यही स्वाद पस्कन तत्पर हुन्छौं,’ विनोदले भने, ‘कमर्सको विद्यार्थी भएकाले व्यवसायमा नयाँ प्रयोग गर्न कहिल्यै डराउँदिनँ, वाउ म:मको सफलताको रहस्य यही हो ।’
कोलकाता महानगरको मुख्य चोक र चौराहामा विनोदको ‘वाउ म:म’ का आउटलेट छ । कार चढेर उनी दैनिक आफ्ना अधिकांश आउटलेटहरूको अनुगमनमा निस्कन्छन् ।
२००८ मा कोलकाताकै सेन्ट जेभियर्स कलेजमा म्यानेजमेन्टमा स्नातक गरेपछि केही नयाँ गर्ने सोचले उनलाई म:म व्यापारमा सरिक भए । सहपाठी सागर दरियानीलाई उनले नेपालमा लोकप्रिय रहेको खाजा म:मको रेस्टुरेन्ट खोल्ने योजना सुनाए । सागरले पनि उनलाई साथ दिए । दुवैले ३० हजार रुपैयाँ लगानी गरेर कोलकाताकै बालट्रोनीमा एउटा सानो सटर भाडामा लिएर म:म पसल थापे ।

खानाका सौखिन कोलकाताका बंगाली समुदायले म:मलाई रुचाए । ग्राहकको थामी नसक्नु भीड हुन थालेपछि विनोदले आउटलेट विस्तार गर्दै गए । अहिले उनी २ सय ३० करोडको मार्केट भ्यालु भएको म:म ब्रान्डका मालिक बनेका छन् । कोलकातामा मात्रै अहिले उनका आउटलेटबाट दैनिक २ लाख प्लेट म:म बिक्री हुन्छ ।
झन्डै २ हजारलाई रोजगारी दिएका उनले सुरुमा काममा नेपालीलाई नै प्राथमिकता दिएका थिए । पछि नेपाली जनशक्तिले मात्रै धान्न नसकेपछि बंगालीलाई पनि रोजगारी दिएका छन् ।
भारतको थुप्रै राज्यका प्रमुख सहरहरूमा उनी आफ्नो आउटलेट विस्तारको योजनामा छन् । बंगलादेशको राजधानी ढाकाबाट पनि स्थानीय व्यवसायीहरूले त्यहाँ उनको वाउ म:मको आउटलेट खोल्ने साझेदारीसहितको प्रस्ताव गरेका छन् ।
३ भाइमा जेठा विनोदका माहिला भाइ दिनेशले नयाँदिल्लीमा बसेर वाउ म:मको व्यापार सम्हाल्दै छन् । कान्छा भाइ लालकृष्ण कोलकातामै एक स्थापित बहुराष्ट्रिय कम्पनीमा मार्केटिङ म्यानेजर छन् । त्यहाँ अनुभव लिएपछि उनी पनि म:मकै व्यापार सम्हाल्न आउनेछन् ।
अहिले भारतका सबै सहरमा कम्तीमा एक–एक वटा आउटलेट स्टोर स्थापना गर्ने महात्त्वाकांक्षी योजना उनको छ । ‘वाउ म:मलाई भारतको प्रत्येक कुनामा पुर्याउने योजनामा लागेको छु,’ उनले भने, ‘र, यो सम्भव पनि छ ।’ उनको व्यावसायिक सफलताको कदर गर्दै भारत सरकारले गत वर्ष उनलाई ५ लाख रुपैयाँ राशिसहित ‘यङ इन्टरप्रेनर’ अवार्ड दिएको थियो ।
भारतका गृहमन्त्री राजनाथ सिंहले उनलाई त्यो पुरस्कार दिए । छोराको व्यावसायिक सफलताबाट उनका बुवा नारायण हुमागाईं पनि खुसी छन् ।
‘भारतको कोलकाताजस्तो महानगरमा एउटा नेपालीको छोराले यत्तिको ठूलो सफलता हात पार्नु मेरा लागि मात्र होइन यहाँ बसेका ३ लाख प्रवासी नेपालीकै लागि गर्वको कुरो हो,’ नारायण भन्छन्, ‘मैले दु:खजिलो गरी छोराहरूलाई शिक्षादीक्षा दिएँ, उनीहरूको सफलता देखेर आत्मसन्तुष्टि मिल्छ ।