पिसाब शरीरको सामान्य प्रक्रिया हो । पसिनाजस्तै पिसाबका माध्यमबाट पनि शरीरका लागि अनावश्यक तत्वहरु बाहिर निस्कन्छन् । जसलाई महसुस भएको एकदेखि दुई मिनेटभित्र फ्याँक्नुपर्छ । पिसाब थैली भरिनेबित्तिकै स्नायुप्रणालीले त्यसको संकेत मष्तिष्कमा पु¥याउँछ र पिसाब फेर्न मन लाग्छ । यदि पिसाब थोरै  समय पनि रोकियो भने संक्रमण सुरुवात हुन्छ । पिसाब रोक्दा कस्ता समस्या निम्तन्छन् त ? थाहा पाउनुहोस् :

१. मानिसहरु पिसाब केही मिनेटका लागि या लामो समयसम्म रोकेर राख्छन् । तपाईं पिसाब कतिबेर राख्नुहुन्छ भन्ने कुरा पिसाबको  उत्पादनमा भर पर्छ । यसका अलावा तरल पदार्थको उपभोग या पिसाब थैलीको कार्यक्षमतामा भर पर्छ । जति बढी समय तपाईं पिसाब रोकेर राख्नुहुन्छ, तपाईंको पिसाब थैलीमा उति बढी ब्याक्टेरिया विकसित हुन्छ र स्वास्थ्य जोखिमको कारण बन्न जान्छ ।
२. पिसाबलाई एकदेखि दुई घण्टासम्म रोक्नाले महिला वा कामकाजी युवामा पिसाबसम्बन्धी समस्या देखिन थाल्छ । जसअन्तर्गत सुरुमा पिसाब थैलीमा पीडा हुन्छ। पिसाब जतिबेर रोकेपनि त्यस क्रममा मिर्गौलाबाट पिसाब थैलीमा जम्मा भइरहेको हुन्छ । हरेक एक मिनेटमा दुई  मिलिलिटर पिसाब थैलीमा पुग्छ, जसलाई प्रति एकदेखि दुई घण्टामा खाली गरिरहनुपर्छ । थैली खाली गर्न तीनदेखि चार मिनेटसम्म पनि ढिला ग¥यो भने पिसाब फेरि मिर्गौलामै फर्कन थाल्छ । यसको परिणाम पत्थरीको सुरुवात हुन सक्छ, किनकि पिसाबमा युरिया र अमिनो एसिडजस्ता हानिकारक तत्व हुन्छन् ।

३. कहिल्यै पनि पिसाब गरिरहेको बेलामा हठात् रोक्नुहुन्न । पिसाब लाग्नेबित्तिकै शौचालय जानुपर्छ । अन्यथा मुत्रमार्ग संक्रमण (युरिनरि ट्राक्ट इन्फेक्सन या युटिआई) हुने खतरा बढ्छ । पिसाब रोकिँदा यस्तो संक्रमण फैलन्छ । सामान्यतः महिलाहरुमा मुत्रमार्गमा संक्रमण बढी हुन्छ । यो जिवाणुजन्य संक्रमण हो, जसमा मुत्रमार्गको कुनै पनि भाग प्रभावित हुन सक्छ ।

४.इन्टस्र्टिशल सिस्टाइटिस : यो एक पीडादायी ब्लाडर सिन्ड्रोम हो, जसका कारण पिसाब थैली सुन्निन सक्छ र पीडा हुन्छ । इन्टस्र्टिशल सिस्टाइटिसबाट पीडित मानिसलाई पटक–पटक पिसाब लाग्छ । तर, पिसाब भने कम आउँछ । अहिलेसम्म यसको खास कारण पत्ता लाग्न नसकेपनि डाक्टरहरुका अनुसार यो जिवाणुको संक्रमणकै कारणबाट हुन्छ । यस्ता बिरामीहरु कोही त दिनमा ६० पटकसम्म पनि पिसाब गर्न जान्छन् । यसको पूर्णतः निमुल पार्ने उपाय छैन । तर, उपचारबाट लक्षण कम गर्न सकिन्छ ।

५.मिर्गौला फेल : पिसाबसंग सम्बन्धित हरेक प्रकारको संक्रमणले मिर्गौलामा नराम्रो असर पु¥याउँछ । शरीरमा युरिया तथा क्रियटिनिन दुवै तत्व बढ्नाले पिसाबबाट बाहिर निस्कन पाउँदैंन । जसको परिणाम ती तत्व रगतमा फैलन थाल्छन् । यसबाट भोक कम लाग्नु, बान्ता हुनु, कमजोरी हुनु, थकाई लाग्नु, सामान्यभन्दा कम पिसाब आउनु र शरीरका भागहरु  सुन्निनुजस्ता लक्षण देखा पर्छन् ।

६. पिसाबको रंग गाढा हुन्छ : लामो समयसम्म पिसाब रोक्नाले पिसाबको रंग अलि गाढा हुन्छ । यसरी गाढा हुने कारण पनि संक्रमण नै हो । केही खाद्यपदार्थको सेवनले पनि पिसाबको रंग गाढा हुन्छ । भिटामिन बीले पिसाबको रंग रातो बनाउछ ।

७. पिसाबथैलीको मांसपेशी कमजोर हुन्छ : यदि पिसाब लागेको तीनदेखि चार मिनेटसम्म पनि खाली गरिएन भने पिसाबको टक्सिक तत्व मिर्गौलामा फर्कन्छ, जसलाई रिटेन्सन अफ युरिन भनिन्छ । यसका अलावा पिसाब पटक–पटक रोक्नाले पिसाब थैलीको मांसपेशी कमजोर हुन्छ ।
READ MORE NEWS
मिर्गौला फेल हुने ९ कारण र ८ लक्षण

मिर्गौला रोग विभिन्न कारणबाट हुन्छ । यो सबै उमेर समूहकालाई हुने रोग हो। नेपालमा पछिल्लो समय मिर्गौला सम्बन्धी समस्या भएका बिरामीको संख्या बढिरहेको छ। राज्यले पछिल्लो समय मिर्गौलाको उपचारमा राम्रो सहयोगको व्यवस्था गरेको छ। यद्यपि मिर्गौला सम्बन्धी समस्या भएका र मिर्गौला फेल हुने बिरामीको संख्यामा उल्लेख्य रुपमा कमी आएको छैन।

मिर्गौला फेल हुने समस्या सबैभन्दा जटिल र घातक शारीरिक समस्या मध्ये एक हो। यसको समयमै पहिचान र उपचार हुन सकेन भने मानिसको अकालमै ज्यान जान सक्छ। सन् २००८ मा पहिलो पटक त्रिभुवन विश्ववद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भएपछि मिर्गौला फेल भएका धेरैले दोस्रो जीवन पाए। हाल वीर अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुर र निजी अस्पताल अन्तर्गत ग्रान्डी इन्टरनेसनल अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध छ। मिर्गौला प्रत्यारोपण महँगो र जटिल उपचारविधि हो। मिर्गौलाको उपचार विधिबारे बुझ्नुभन्दा पहिले हामीले मिर्गौलाले शरीरमा के काम गर्छ भन्ने कुरा बुझ्न जरुरी छ।

मिर्गौलाको काम

मिर्गौलाले शरीरको रगत शुद्धीकरण गर्ने काम गर्छ। हामीले खाना खाएपछि शरीरमा जुन ऊर्जा प्राप्त हुन्छ त्यस क्रममा निस्कने ‘बाइप्रोडक्ट’लाई सफा गर्नुपर्ने हुन्छ। त्यस्ता बाइप्रोडक्टलाई मेडिकलको भाषामा ‘नाइट्रोजिनस टक्सिन’ भनिन्छ। यस्ता टक्सिन शरीरभित्रै रहेमा मानिस बेहोस हुने र शरीरका विभिन्न अङ्गमा असर गरेर मृत्युसमेत हुन सक्छ। त्यस्ता टक्सिनलाई स्वस्थ मिर्गौलाले शरीरबाट बाहिर निकाल्ने काम गर्छ।

त्यस्तै मिर्गौलाले शरीरको पानी र लवणहरुलाई सन्तुलनमा राख्छ। मिर्गौलाले चाहिने मात्रामा मात्र पानी शरीरमा राख्छ र अनावश्यक भएमा शरीरबाट पिसाबकोरुपमा निकाल्ने काम गर्छ। यसले शरीरमा लवणहरुलाई सन्तुलित मात्रामा मिलाएर राख्ने काम गर्छ। मिर्गौलाले शरीरको पिएच अर्थात अम्लियपनालाई सन्तुलनमा राख्छ। मिर्गौलामा हुने एक विशेष प्रकारको हर्मोनले शरीरमा रातो रक्तकण बनाउन मद्दत गर्छ र हड्डी मजबुत राख्ने काम पनि गर्छ।

जब मिर्गौलाले काम गर्न छोड्छ वा मिर्गौलामा समस्या देखा पर्छ ,यसले गर्ने सम्पूर्ण काममा असर पुग्छ। मृर्गौलाले काम गर्न छोड्नु भनेकै मिर्गौला फेल हुनु हो। दुवै मिर्गौला फेल भएको अवस्थामा दुई तरिकाले उपचार गर्नुपर्ने हुन्छ। एउटा कृत्रिम तरिकाबाट रगतको शुद्धीकरण गर्नु जसलाई डायलाइसिस भनिन्छ। डायलाइसिस पनी दुई तरिकाको हुन्छ, हेमो डायलाइसिस र पेरिन्याटिकल डायलाइसिस।

त्यस्तै, दोस्रो तरिका मृर्गौला प्रत्यारोपण हो। मृर्गौला प्रत्यारोपण भन्नाले अर्को व्यक्तिको एउटा मिर्गौला झिकेर बिरामीमा जोड्नु हो। प्रत्यारोपणमा जोड्नुपर्ने मिर्गौला तल्लो पेटको दाहिने वा देब्रे भागमा राखिन्छ। यसका रक्तनली खुट्टातिर जाने रक्तनलीहरुसँग जोडिन्छ र पिसाब नलीलाई पिसाब थैलीमा जोडिन्छ। प्रत्यारोपण गरिएको मिर्गौला  बचाई राख्नका लागि आजीवन औषधि खानुपर्ने हुन्छ।

मिर्गौला प्रत्यारोपण गर्दा तल्लो पेटको दायाँ वा वायाँ भागमा जडान गरिने भएकाले बिग्रिएको मिर्गौलालाई निकाल्नु पर्दैन। तर, बिग्रिएको मिर्गौलामा संक्रमण भएको खन्डमा वा अत्याधिक सुन्निएको भए शल्याक्रिया मार्फत निकाल्नुपर्ने हुन्छ। मिर्गौला फेल हुन थालेपछि तुरुन्तै लक्षण नदेखीन सक्छ । ८० प्रतिशत मिर्गौलाले काम गर्न छोड्दा पनि लक्षण नदेखिन सक्छ। अन्तिम अवस्थामा लक्षण पत्ता लाग्नु नै यो रोगको मुख्य चुनौती हो। प्रत्यारोपण गर्नु मात्र गाह्रो कुरा होइन। त्यसपछि पनि मिर्गौलालाई र बिरामीलाई बचाई राख्नु  चुनौतीपुर्ण हुन्छ । मिर्गौला प्रत्यारोपणमा सबैको दाता नहुँदा धेरैले अकालमै ज्यान गुमाउनुपर्ने वाध्यता छ।

फेल हुने कारण

मिर्गौला फेल हुने कारणहरु धेरै छन्। त्यसमध्ये यी प्रमुख कारणबारे जानकारी राख्नु उचित हुन्छ।

१. क्रोनिक ग्लोमोरुलो नेफ्राइटिस

यो एक प्रकारको पिसाबबाट प्रोटिन चुहिने रोग हो। यसको समयमै उपचार गरिएन भने बिस्तारै यसले मिर्गौलालाई खराब गर्दै जान्छ।

२. मधुमेह

मधुमेह नियन्त्रणमा आउन नसके यसले साना रक्तनलीलाई खराब गर्छ। यसले विस्तारै आँखा, मुटु, मस्तिष्क लगायतका अङ्गमा असर पुर्‍याएजस्तै मिर्गौलालाई पनि खराब गर्छ।

३. उच्च रक्तचाप

मिर्गौला फेल हुनुको मुख्य कारण मध्ये उच्च रक्तचाप पनि एक हो। रक्तचाप नियन्त्रण भएन भने पनि यसले मिर्गौलामा गम्भीर असर गर्छ र दुवै मिर्गौला फेल हुन सक्छन्।

४. पत्थरी

मिर्गौलामा पत्थरी भएमा यसले मिर्गौलाको नियमित काममा बाधा पुर्‍याउँछ, जसले गर्दा मिर्गौला फेल पनि हुन सक्छ।

५. वंशाणुगत

केही व्यक्तिमा मिर्गौलाको रोग वंशाणुगत पनि हुने गर्छ। परिवारका कुनै सदस्यलाई मिर्गौला रोग भएमा अन्य सदस्यमा पनि मिर्गौला सम्बन्धी समस्या हुने सम्भावना बढी हुन्छ। वंशाणुगत समस्याका मुख्य कारणहरु विशेष गरी दुई प्रकारका हुन्छन्

(क) एडल्ट पोलिसिस्टिक किड्नी डिजिज

जिनमा गडबडी आएर मिर्गौलामा धेरै फोकाहरु बन्न थाल्छन्। ती फोकाले मिर्गौलाका तन्तुहरुलाई नास गर्छन् र मिर्गौलामा खराबी आउँछ। यसरी मिर्गौलामा समस्या ल्याउने एडल्ट पोलिसिस्टिक किड्नी डिजिज वंशाणुगत हुन्छ।

(ख) अल्पोर्ट सिन्ड्रोम

अल्पोर्ट सिन्ड्रोम पनि एक वंशाणुगत रोग हो। यसका कारण मिर्गौला खराब हुने मात्र होइन आँखा नदेख्ने र कान नसुन्ने समस्या पनि हुन्छ।

६. दुखाइ कम गर्ने औषधिको प्रयोग

दुखाइकम गर्ने औषधीको प्रयोगले मृर्गौलालाई खराब गर्छ । यस्तो खालको औषधीको सेवन गर्दा चिकित्सकको सल्लाह लिएर मात्र प्रयोग गर्नुपर्छ । अन्दाजका भरमा फार्मेसीबाट जथाभावी यस्ता औषधी प्रयोग गर्नाले धेरै मृर्गौला,मुटु र पेटमा असर गर्छ ।

७. एन्टिवायोटिकको प्रयोग

दुखाइकम गर्ने ‍औषधीको प्रयोग झै एन्टिवायोटिकको जथाभावी प्रयोगले पनी मृर्गौला असर गर्छ

८. पिसाबनलीमा अवरोध आएमा

पिसाबनलीमा विभिन्न कारणले अवरोध आउन सक्छ,कहीले काही मृर्गौलामा हुने पत्थरीका कारण पनी पिसाब नली अवरुद्ध हुन सक्छ भने कहीले काही पिसाब नलीमा हुने संक्रमणका,प्रोस्टेट ,ट्यूमर आदी कारण पनी अवरोध आउन सक्छ । पिसाबनलीमा निरन्तर अबरोध रहेमा यसले मृर्गौला खराब हुन्छ ।

९. मोटोपना भएमा

मोटोपना भएकाहरु मिर्गौला रोगको उच्च जोखिममा गनिन्छन् । मोटोपनाले शरीरमा उच्च रक्तचाप,मधुमेह बढाउँछ र अन्त्यमा मिर्गौला खराब हुन्छ ।

मिर्गौला रोगका लक्षणहरु

१. पिसाबको रङमा परिवर्तन आउनु। धमिलो हुनु वा पिसाब पोल्नु।

२. आँखाको डिल सुन्निनु।

३. खानामा रुची घट्दै जानु।

४. शरीर दुब्लाउँदै जानु।

५. दुवै तर्फका कोखाहरु दुख्नु।

६. खुट्टा सुन्निनु।

७.थकाइ लाग्नु ।

८.सास फेर्न गार्हो हुनु ।

रोकथाम

सकेसम्म रक्तचाप, पिसाब र रगतको बर्सेनि परीक्षण गर्नुपर्छ। यसो गर्दा मिर्गौला सम्बन्धी समस्या देखिएमा तत्काल चिकित्सकको परामर्श लिन सकिन्छ। खासगरी मिर्गौला खराब हुने उच्च जोखिमा भएका व्यक्तिहरु (उच्च रक्तचाप, मधुमेह र वंशाणुगत मिर्गौला सम्बन्धी समस्या भएका परिवार) ले नियमित परीक्षण गर्नु अनिवार्य हुन्छ। यस्तै ३० वर्ष पुगेका व्यक्तिले पनि रक्तचाप, पिसाब र रगतको परीक्षण गरिरहनुपर्छ। माथि उल्लेखित लक्षणहरु मध्ये कुनै पनि लक्षण देखा परेमा सम्बन्धित चिकित्सकको परामर्श लिनुपर्छ। मिर्गौलालाई स्वस्थ राख्न स्वस्थ आहार र नियमित शारीरिक व्यायम  गर्नुपर्छ। जथाभावी वा अनुमानका भरमा दुखाइ कम गर्ने औषधि वा एन्टिवायोटिकको प्रयोग गर्नु हुँदैन।

– प्रा. डा. दिव्यासिंह शाह, मिर्गौला रोग विशेषज्ञ, त्रिवि शिक्षण अस्पताल


Your Views
Related News