कोभिड-१९ (कोरोना भाइरस) को महामारीले विश्व अर्थतन्त्र उथुपुथुल भइरहेको बेला इटालीले आफ्ना एक तिहाई सांसद घटाउने भएको छ।

यही सेप्टेम्वर २० र २१ मा  भएको जनमत संग्रहमा दुई तिहाई जनताले सांसद घटाउने पक्षमा मतदान गरेका थिए।

मत परिणाम अनुसार ६३ प्रतिशत जनताले संसद कटौती गर्नुपर्नेमा मतदान गरेका थिए।

यो जनमत संग्रहसँगै सन् २०२३ सम्ममा इटालीको संसद संख्या ९४५ बाट घटाएर ६०० बनाउने जनअनुमति प्राप्त भएको छ।

करिब सबै मत गणना गर्दा करिव ७० प्रतिशत जनताहरू सांसद घटाउने पक्षमा मतदान गर्ने बिबिसीले आँकलन गरेको छ।

यस अनुसार अब इटालीको तल्लो सदनमा सांसदको संख्या ६६४ बाट घटाएर ४०० बनाइनेछ भन्ने सिनेटलाई २८१ बाट घटाएर २०० मा ल्याइने छ।  यो सँगै सांसद र सिनेटको जम्मा संख्या ९४५ बाट ६०० मा झारिने भएको छ।

संसदबाट अगाडि बढिसकेको यो विषयलाई जनमत संग्रहले समर्थन गर्नुपर्ने हुन्छ। यसले इटालीको संविधान संशोधन गर्छ। सन् २०२३ को चुनावअघि परिवर्तन हुनुपर्ने आवाज उठिरहेको छ।

यसैबिच विदेश मन्त्री लुइगी डी मैयोले जनमत संग्रहको परिणामलाई ‘ऐतिहासिक’ भएको दाबी गरेका छन्।

‘कम सुविधा र ३४५ कम सिटसहित हामी सामान्य संसद हुनेछौ’, उनले भने,‘यसबाट हाम्रो खर्चमा ठूलो बचत हुनेछ। संसदलाई सुव्यवस्थित बनाउँदा यसले १० वर्षमा १ अर्ब डलर युरो बचत हुनेछ।’

सरकारले आर्थिक सङ्कटका समय फजुल खर्च जोगाउनका लागि यस्तो निर्णय लिएकोमा जनताले समर्थन गरेका हुन्।

कुनै समय कोरोना संक्रमित अनियन्त्रित भएका इटालीको अस्पतालहरुमा अहिले कोरोनाका बिरामी नगन्य छन् । कोरोना भयावहले आक्रान्त बनेको उत्तरी लोम्बार्डीको मृत्युदर पनि झन्डै शुन्यमा झरेको छ ।  कुनैबेला कोरोना भाइरस नियन्त्रणमा विश्वकै खराब देशको नमुना बनेको इटाली अहिले संक्रमण नियन्त्रणमा विश्वको लागी ‘पाठ’ बनेको छ ।

कोरोना भाइरसबाट इटालीमा ३५ हजार ८ सय ७५ जनाको ज्यान गएको छ भने यहाँ ३ लाख १३ हजारमा संक्रमण देखिएको छ।

आफ्नै मौलिकता र पहिचान बोकेको इटाली युरोपको अर्थतन्त्रमा तेस्रो ठूलो रास्ट्र हो भने विश्वको १३औं राष्ट्रमा पर्दछ। जी ७ समूह (७ आर्थिक सम्पन्न र ब्यवस्थित राष्ट्रको समूह) र जी २० का संस्थापक सदस्य हो।

विश्वकै अर्थतन्त्रमा इटालीले ठूलो हिस्सा ओगटेको छ। यहाँ निर्माण भएका विश्व प्रसिद्ध बस्तुहरु जस्तै मेसिनरी, सवारी साधन, औषधिजन्य बस्तुहरु, फर्निचर, खाध्यान्न तथा लत्ताकपडाहरु विश्वभर निर्यात भइरहेको छ।

यद्यपी चीनले हालै विश्व बजार ओगटेका कारण इटालीका सयौं मौलिक पहिचान बोकेका उद्योगहरु बन्द भएका छन्।

दोस्रो विश्वयुद्वपछि इटालीले कृषि क्रान्तिलाई मुल आर्थिक ब्यवस्था नीतिमा रुपान्तरण गर्‍यो। फलस्वरुप आज पनि प्राय: सबै खाद्यान्न उपभोग्य बस्तुमा यो देश आत्मनिर्भर मात्र छैन विश्वका विभिन्न देशमा यहाँको उत्पादन निर्यात हुने गरेको छ।

दुधजन्य उत्पादनहरु, ओलिभको तेल पिठो, टमाटर, मकै, आलु, पास्ता, पिज्जा, वाइन  तथा विभिन्न तरकारीहरु यहाँ उत्पादन उपभोग तथा निर्यात हुने खाद्य तथा पेय पदार्थहरु हुन्।

विश्वको ईतिहास हेर्ने हो भने हरेक काल खण्डमा कतै न कतै इटालीको नाम जोडिएकै हुन्छ। अहिले यहाँका विद्यालय तथा विश्वविद्यालयहरुमा यहाँको इतिहास बारे अध्यन अध्यापन र अनुसन्धान गराइन्छ। यो देशको ईतिहास धेरै लामो छ र बिभिन्न काल खण्डमा गएको महाप्रलयहरु, महामारिहरु अनि ठूला ठूला भयानक घट्नाहरुका कारण भोकमरि तथा अनिकालको सामना गरिको कुराहरु उल्लेख भएका छन्। त्यसैले पनि यहाका जनतालाई यस्ता र यो भन्दा ठुला महामारीलाई कसरी ब्यबस्थित गर्ने भन्ने बारे पूर्व ज्ञान हुनसक्छ। भोकमरिको बेला जे जे भेट्यो त्यही खान थाले र आज तिनै चिजहरु विश्वभर इटालियन खानाको रुपमा प्रसिद्ध छन्।

सरकारको यस्तो निर्णयबाट निश्चयनै निकट भविश्यमा इटालीले आफ्नो गुमेको अर्थतन्त्रमा केही राहत महसुस गर्नेछ।

READ MORE NEWS

भैंंसीका पुच्छर बाँधेको त्यो दिन

विकटको ग्रामीण परिवेश। चञ्चले दिनहरु। नौ दस वर्षको उमेर परिणाम के निस्किन्छ सोच्ने शक्ति कहाँ हुनु। कुन धुनमा छिर्‍यो दिमागभित्र केही कुरा जिज्ञाशा पलाइहाल्यो। उपद्रब गर्नु गरिहाल्यो। जब नतिजा निस्किन्छ तब डरले लुगलुग काँप्नु या अरुमाथि नै दोष थुपार्नु शिवाय अरु के नै हुन्छ र। अधिकांश मान्छेको बाल्यकालमा घटेकै हुन्छन् केही न केही घटनाहरु। मात्र घटनाका प्रकृति फरक हुन्छन्। ठाउँ र मान्छे फरक हुन्। त्यसैले त सबैलाई यादगार बनिदिन्छ आआफ्नो वाल्यकाल।

चञ्चलताले भरिपूर्ण उमेर दुईटा भैंसी एउटा पूर्व अर्को पश्चिम मुख फर्काएर नजिकै सुतिरहेका बेला दुईटैका पुच्छर बाँधेछन्। सुर्काने गाँठो पर्न गएछ । एकछिनमा दुईटै भैंसी उठेछन् । आफ्नो बाटो लाग्न खोज्दा पुच्छर तानिन जादा प्याट्टै टुट्न गएछ एउटाको पुच्छर । तररर रगत बग्न थालेछ । आत्तिदै त्यहाँबाट भागेछन् तुङ्नाथ । घरमा दाइले सोद्धा आफु बच्ने उपाए खोज्ने हेतुले एक जना विश्वकर्माका छोराको नाम लिएर भनिदिएछन् –’उसले आँसीले काटिदियो ।‘ उनले दोष थुपारेको केटोले बेस्सरी पिटाइ खाएछ । गाउँको मुखियालाई घटना थाहा भैसकेको थियो । तिनै मुखियाका कारण निज विश्वकर्माको छोराले कुनै दण्ड सजाए तिर्नु परेनछ । उसलाई छुटाएर घर पठाएछन् । झुटो बोलेर अर्कैलाई फसाएकोमा निकै दुखित बनेछन् तुङ्गनाथ । उमेर बढ्दै  धेरै कुरा बुझ्ने पनि भए तर त्यो घटना सम्झिदा पछुतो लागिरह्यो उनलाई । अहिले पनि त्यो घटना त्यो दिन सम्झिदा आाखाभरि आँसु खेलाउछन् उनी । पश्चातापले डेरा जमाउछ उनको मनमा । बहुत ठूलो गल्ति गरिएछ । पाप बोकिएछ ।

परम्परा अनुसार हजुरबुवा बद्रीकेदारको तीर्थ यात्राबाट फर्किएपछि १९७३ सालमा उनको जन्म भयो । केदारमा तुङ्गनाथ देवताको दर्शन गरेर फर्किदा नाती हेर्न पाएको भन्ने कुरा मनमा खेल्न थालेपछि तिनै तुङ्गनाथ बाबाको वरदान सम्झी हजुरबुवाले उनको नाम पनि तुङ्गनाथ नै राखिदिएछन् । तुङ्गको अर्थ हुन्छ– अग्लो,उच्च,उन्नत,पर्वतको माथिल्लो भाग,शिखर,चुचुरो,टाकुरो । यस अर्थमा हेर्दा तुङ्गनाथलाई कर्णालीको भाषा,साहित्य र संस्कृतिको क्षेत्रमा अध्ययन,अनुशन्धान गर्नेहरु मध्येको शिखर नै मान्न सकिन्छ । बुवाबाजे समाजसेवी थिए । छ पुस्ता अघिका हजुरबुवा शङ्कर उपाध्याएको नाम टाढाटाढासम्म फैलिएको थियो । नाम चलेका र सबैले मानेका समाजसेवी थिए उनी । कनकासैनीको गुठ मिनाहा गर्नुका साथै मन्दिरमा चण्डिपाठ रुद्रीपाठ गर्नेलाई सरकारबाट पैसा दिने पहल गरे । सुरुमा मन्दिरका पुजारी उनकै पुर्खा थिए तर शंकर उपाध्यायले पुजारी भए लोभ बढ्छ, लोभ बढेमा सन्तानमा खराबि हुन्छ भन्ने सोचेर अरुलाई नै पुजारी बन्न दिए । तिनै हजुरबुवा शंकर उपाध्यायको कामको चर्चा गर्दै कुनै स्रष्टाले बनाइदिएछन् गीत । जुन गीत अहिलेसम्म पनि धेरै जसोको जनजिब्रोमा झुण्डिएकोछ ।
ऐलेइ मरे शंकर पाध्य ऐलेइ जुम्ला जाँत

पाँच तिर्नेले पन्ध्र तिरे जुम्ला बसाइ काँछ

यो प्रसङ्ग योगी नरहरिनाथले आफ्नो पुस्तक इतिहास प्रकाशन भाग २ भित्र समेटेका छन् । योगी नरहरिनाथका विषयमा उनीसँग जान्न मनलाग्छ मलाई र सोध्छु – योगी नरहरिनाथ थापाका सन्तान हुन् रे है ? सबैको इतिहास लेख्ने नरहरिनाथका वुवाको इतिहास सुनाउछन् तुङ्गनाथ – उनका वुवाले नाथकी श्रीमती ल्याए । त्यसरी उनीहरकी श्रीमति ल्याएपछि या त उनीहरुकै थर राख्नु पथ्र्यो हैन भने तिनीहरुले घरमा भएको सारा चिजबिच लुटेर लैजान्थे । यसरी लुट्ने क्रम पनि एकपल्ट मात्र हैन बारम्बार हुन्थ्यो । जसलाई स्थानीय भाषामा धाड पर्नु भनिन्थ्यो। त्यही धाडबाट बच्न नरहरिनाथका बुवाले पनि आफ्नो थर नाथ राखिदिए।

तुङ्गनाथका हजुरबुवाले चट्टान खोस्रेर सानोतिनो खाल्डो बनाउँदै गहत र पानी राख्दै दोस्रो दिन फोड्दै गरी वर्षौ लगाएर ढुङ्गा फुटाई कुलो बनाए। समाजको हितमा काम गरे। एक समाजसेवी परिवारका सन्तति तुङ्नाथले ७ वर्षको उमेरमा बुवा गुमाए । त्यसपछिका दिनमा अभिभाव बने दाई चिनप्रसाद उपाध्याय।

१२ वर्षको उमेरसम्म विगतमा अरुले झैं काठको पाटीमा मसिनो खाले माटो राखेर औंलाले कखरा लेख्ने कार्यमा अभ्यस्त रहे उनी । पछि २००९ सालमा कर्णालीमा चारवटा सरकारी विद्यालय खुले । जसमा ३ वटा जुम्लामा र एउटा हुम्लामा । उनले औपचारिक शिक्षा ग्रहणार्थ कोटघरमा रहेको विद्यालयको आँगनमा  पाइला सारे । पाँच कक्षासम्मको अध्ययन पछि रोकियो उनको पढाइ । पढाइ रोकिनुको कारण उनी आफै थिए ।

उनका दाइ चिनप्रसादलाई भाइलाई पढाउने नै थियो । तर तुङ्नाथ भने मस्त मौलाना बनिसकेका थिए । बिडी चुरोट सुर्ती खाने, राती राती सुटुक्क घरबाट निस्केर डेउडा खेल्न जाने काम उनको नित्य कर्म जस्तै बनिसकेको थियो । साँझ बिहान अँगेना छेउमा घरका अन्य सदस्यहरु सँगै बस्दा अघिल्लो रातको अनिदोको कारण झुप झुप निद्रा लाग्थ्यो अनि खानु पर्थ्याे उनले गाली। यसरी नै बिताइदिए चार वर्ष।

उनीसँगै पढ्ने साथीहरु धेरैजसो शिक्षक बनिसकेका थिए। उनका दाइले पढ भनेर दवाव दिन्थे। २०२१ सालमा एकदिन दाइले घोडा लिएर व्यापार गर्न गएको मौका छोपी उनले पनि नेपाल राष्ट्रिय प्रा.वि.मा शिक्षकको जागिर सुरु गरे। तलब पाइने भयो महिनाको ५० रुपैयाँ।

गाउँघरतिर पढेलेखेका मान्छे औँलामा गनिने त्यो समयमा सजिलै पाइन्थ्यो जागिर। एक दिन कक्षामा पढाइरहेको बेला विद्यार्थीले सोधेका सबै प्रश्नको उत्तर दिन नसकेपछि बल्ल खुल्यो उनको दिमागको बिर्को। सम्झे दाइले पढ भनेका कुरा। चटक्कै छोडे खेलमाल गर्ने आवारा पेशा पनि। त्यसैदिन मनमनै निर्णय गरे सुर्ती चुरोट बिडी केही नखाने भनेर। अनि खोजे एक जना अँगे्रजी पढाउने, अर्को गणित पढाउने मान्छे।

तिनैसँग छ सात महिना रातीराती झरो बालेर पढ्न थाले। धेरै कुराहरु सिके पनि। त्यसपछि बने हेडमास्टर अर्थात प्राधानाध्यापक। तलब पनि मासिक ९० रुपैयाँ पाइने भयो। २०२९ सालमा नयाँ शिक्षा लागु भयो। अण्डर एसएलसीलाई निकाल्छ भन्ने गाइगुइ सुन्नमा आयो। त्यही हल्लाले गर्दा उनले निकाल्नु भन्दा अगाडी छोडिदिन्छु ठानेर छोडिदिए जागिर पनि। तर त्यो हल्लामात्रै थियो कसैलाई निकालेन। २०१५ सालदेखि राजनीतिज्ञसँग पनि भैसकेको थियो उनको लसपस।

ने. का. का नेता भीमप्रसाद श्रेष्ठ उनको घरमा बास बस्न नै आउँथे। जुम्ला खलङ्गाबाट उनको साथीले एउटा प्रस्ताव नगरेको भए शायद उनी नेताहरुसँगै हिंड्थे होलान्। साथीको त्यो प्रस्ताव थियो विदेशीलाई गाइड गरिदिनु पर्ने। टेपरेकर्डर क्यामेरा कापि बोकेर कुइरेलाई साथमा लगेर पुगे उनी जुम्लाको सुनार गाउँ। जहाँ देवता जान्छ भनेर धामीहरु काँपिरहेको बेला फोटो खिच्न दिंदैनथे। धामी काँप्दा बोलेका कुरा रेकर्ड गर्न दिने त कुरै भएन।

त्यो विदेशीले अध्ययन गर्नु पर्ने विषय तिनै धामीहरुको बारेमा थियो। कम्ता चुनौतीपूर्ण थिएन काम। धमेलो चलिरह्यो। धामीहरुलाई काँप्न लगाई आफ्नो समस्या अवगत गराउने कार्यलाई धमेलो भनिन्छ। विगतमा अधिकांश मान्छेहरु धामी झाक्रीकै भर पर्थे। हाल पनि कैयौंले यिनै धामीझाक्रीलाई आस्थाका केन्द्र मानी समस्या समाधानको भरपर्दो गन्तव्य अपनाइरहेका छन् । दर्जनौ मान्छेहरु बसिराखेको ठाउँमा उनले विभिन्न जुक्ति लगाएर लुकीछिपी रेकर्ड गरेरै छाडे धमेलो । त्यो पनि ४५ मिनेटको चक्का पुरै फुलफिल। विदेशी प्रफुल्लित नहुने कुरै भएन।

त्यही चक्का सुनेर विदेशीलाई बताए उनले त्यसको अर्थ । त्यसपछिका दिनमा दुईचार पटक धामीलाई नै भेटे । अनि नयाँ उपाय निकाले । घन्ट,ध्वजा, दुईचार सय रुपैयाँ राखे चामलको थालमा । त्यसपछि त जे गर्दा नि हुने भैहाल्यो । त्यसपछि त्यो विदेशीलाई लिएर उनी पुगे बझाङ चैनपुरमा जहाँ मष्टोको अध्ययन गरे । त्यतिबेलै थाहा पाएछन् उनले इष्ट र कुलको बीचको भिन्नता ।  तुङग्नाथका अनुसार परम्परा अनुसार मान्दै आएको देवतालाई कुल देवता र धन, पुत्र आदि दिएर गुन लगाएको देवतालाई इष्ट देवता भनिन्छ । ती विदेशीले ६ वर्ष लगाएर पी.एच.डी.को अध्ययन गरे। जसबाट  तुङग्नाथले पनि सिके धेरै कुरा र घोत्लिन थाले उनी पनि कर्णाली क्षेत्रको भाषा, लोकसाहित्य र संस्कृतिका पाटाप्रति।

विगतमा मौलाना बनेर राती राती खेलेका गीतका भावपक्षले छुन थाल्यो मन मस्तिष्कलाई । प्यारा लाग्न थाले विगतका दिनहरु । हरेक मान्छेको विगत प्रिय बन्छ । गैसकेका दिनको याद नै साहारा बनिदिन्छ मूल्यवान भैदिन्छ विगत बुढेशकालमा । तर ती दिन फर्किदैनन् । मात्र रुवाउछ ती दिनहरुको यादले । झल्को लाग्छ त्यो प्रहरको अनि सपना देखिन्छन् कहिलेकाही ती विगतमा नजिक बनेका केही अनुहारहरु । सम्झिन्छन् ती पुराना डेउडाका पंक्ती पनि:

भोटको कोदाले ढुङ्गो कमिल्लीको चारो
दै (प्रिय मान्छे ) रुवाउने म छुटाउने आइग्यो सूर्जे तारो

तर सबै कुरा सबैसँग सबै ठाउँमा भन्न कहाँ मिल्छ र। अनि भनेर के नै पो हुने हो र। यस्ता तमाम कुराहरुले डेरा जमाउछन् अचेल उनको मनमा। जुन कुरा आउने छन् आगामी लेखमा।


Your Views
Related News