प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरूद्ध देशव्यापी आन्दोलन गर्ने तयारी गरेको छ।

आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकार भ्रष्टाचार तथा अनियमिततामा मुछिएको र कोरोनाभाइरस नियन्त्रण तथा रोकथाममा चुकेको भन्दै देशव्यापी विरोध गर्ने निर्णय गरेको हो।

असोज १९ गते बस्ने कांग्रेस केन्द्रीय समिति बैठकमा सरकारविरूद्ध देशव्यापी विरोधबारे छलफल गरी ठोस कार्यक्रम तय गरिने पनि कांग्रेसले जनाएको छ।

‘कोरोना नियन्त्रण तथा रोकथाममा सरकार चुक्यो। महामारीका बेला पनि भ्रष्टाचारका कुरा आइरहेका छन्। आम जनताको जीवन कठिन हुँदै गएको छ। बेरोजगारी बढेको छ,’ कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सेतोपाटीसँग भने, ‘यी विषयबारे छलफल गर्न संसद बैठक माग गर्न केन्द्रीय समिति र संसदीय दलमा छलफल गर्ने तथा केन्द्रीय समितिमा छलफलपछि देशैभरि विरोधका कार्यक्रम गर्ने निर्णय भएको छ।’

ठूला भ्रष्टाचार काण्डमा सरकार नै जोडिएकोले देशैव्यापी विरोध गर्न लागिएको कांग्रेसले जनाएको छ।

पदाधिकारी बैठकले पार्टीभित्र देखिएको आन्तरिक विवादबारे पनि छलफल गरेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलसहित २७ केन्द्रीय सदस्यले देउवाको कार्यशैलीविरूद्ध विरोध पत्र दर्ता गरेका थिए।

उक्त विरोध पत्रमा उठाइएका कुराबारे असोज १९ कै केन्द्रीय समितिमा लिखित रूपमा बुँदागत जवाफ पेश गर्ने सहमहामन्त्री पौडेलले जानकारी दिए।

‘वरिष्ठ नेताले प्रस्तुत गरेको ज्ञापन पत्रमा बुँदागत रूपमा छलफल भयो,’ उनले भने, ‘केन्द्रीय समिति बैठकमा त्यसबारे बुँदागत रूपमा प्रष्ट पार्ने काम हाम्रातर्फबाट हुन्छ।’

देउवाले महाधिवेशनका मुखमा विभागलगायत गठन गरेकोमा पौडेल समूहको विरोध छ। केन्द्रीय समिति बैठक बस्नु अगाडि नै आफूहरूले उठाएका एजेन्डामा सभापतिले जवाफ दिनुपर्ने पौडेल पक्षको माग थियो।

आजको पदाधिकारी बैठकमा महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादव उपस्थित थिएनन्। तर पूर्वउपसभापति गोपालमान श्रेष्ठ भने सहभागी थिए।

READ MORE NEWS

त्रिविको गोल्ड मेडल खरिद-बिक्री गर्ने तीन जनालाई विशेष अदालतले सुनायो यस्तो सजाय

त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ खरिद-बिक्रीमा संलग्न विद्यार्थी सुरेन्द्र कोइराला, केदार भट्टराई र परीक्षा नियन्त्रण कार्यालय बल्खुका कर्मचारी रामबहादुर कर्माचार्यलाई विशेष अदालतले जरिवाना र कैद सजाय सुनाएको छ।

daraz

मंगलबार विशेषका अध्यक्ष न्यायाधीश शिवराज अधिकारी, सदस्य न्यायाधीशहरू बालेन्द्र रूपाखेती र रवि शर्मा अर्यालको इजलासले परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको भन्दै उनीहरूलाई भ्रष्टाचारी ठहर गरेको हो।

एक वर्षअघि त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ खरिद–विक्रीमा संलग्न तीनै जनालाई अख्तियारले मुद्दा चलाएको थियो।

विशेषले कोइरालालाई १४ महिना कैद र ४ लाख ५७ हजार जरिवाना, भट्टराईलाई ११ महिना कैद र तीनलाख ५ हजार जरिवाना अनि कर्माचार्यलाई १ लाख ५५ हजार जरिवाना र ११ महिना कैद सजाय सुनाएको प्रवक्ता पुष्पराज पाण्डेले बताए।

भक्तपुर बहुमुखी क्याम्पसका आंशिक शिक्षक कोइरालाले आफूलाई इकोनोमिक्सको स्नातकोत्तर तहमा गोल्ड मेडल ल्याउने गरी अंक थपिदिन भन्दै १ लाख ५० हजार रुपैयाँ कर्माचार्यलाई दिएका थिए।

कोइरालाले आफ्ना साथी भट्टराईलाई अंक थपेर पास गराइदिन भन्दै ३ लाख रूपैयाँ कर्माचार्यलाई दिएको अख्तियारले पुष्टि गरेको थियो।

त्यसैले कर्माचार्य र कोइरालालाई ४ लाख ५० हजार घुस लिएको र भट्टराईलाई ३ लाख घुस दिएको भन्दै अख्तियारले मुद्दा लगाएको थियो।

कर्माचार्य र कोइरालाबाट  ४ लाख ५० हजार रूपैयाँ जफत गर्न त्यति नै रुपैयाँ जरिमाना तिराउन अख्तियारले माग गरेको छ। दुवैलाई ६ महिनादेखि डेढ वर्षसम्मको कैद सजाय हुनुपर्ने अख्तियारको माग थियो।

त्यस्तै, भट्टराईबाट ३ लाख जफत गर्ने, तीन लाख नै जरिमाना तिराउने र ६ देखि डेढ वर्षसम्म कैद सजाय गर्नुपर्ने अख्तियारको माग थियो।

कर्माचार्यले स्नातकोत्तर तहको इकोनोमिक्स, ग्रामीण विकास र समाजशास्त्रका संकायका १५ वटा पेपरमा कोइरालालाई ३ देखि ५० नम्बरसम्म थपिदिएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ। कोइरालालाई त परीक्षा नै नदिएको समाजशास्त्रमा समेत कर्माचार्यले नम्बर दिएको भेटिएको थियो।

कोइरालाबाट १ लाख ५० हजार लिएर २ सय २४ अंकसम्म थपिदिएको तथ्य खुल्न आएको अख्तियारले दायर गरेको अभियोगमा उल्लेख छ।

‘यसरी कोइरालाले पैसा दिएर अंक थप्न लगाई सन् २०१९ को दीक्षान्त हुँदा उनले गोल्डमेडल पाएको, ग्रामीण विकासमा प्रथम श्रेणी र समाजशास्त्रमा भने परीक्षा नै नदिई पास भएको देखिएको छ,’ अख्तियारको अभियोगपत्रमा उल्लेख थियो।

त्यस्तै कर्माचार्यले भट्टराईलाई स्नातकोत्तर तहको इकोनोमिक्सका ५ वटा पेपरमा १०÷१० अंकका दरले नम्बर बढाइदिएर प्रथम श्रेणीमा पास गराइदिएको अख्तियारको अभियोग छ।


Your Views
Related News