राजविराज : ‘छिट्टै घर आउनुस्’, गाउँले भाञ्जा राधेकृष्ण यादवको नम्बरबाट आएको फोन उठाएर हेलो भन्न नपाउँदै एकै सासमा उताबाट आवाज आयो। लगातारको वर्षाले खोलामा पानीको वहाव बढेर तटीय र होचा क्षेत्रका बस्ती जोखिममा परेका थिए। मौसम विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले पनि सप्तरीमा थप वर्षा हुने भन्दै सतर्क रहन आग्रह गरिरहेको थियो। सप्तरीको तिरहुत गाउँपालिका-२ मैनाकडेरी घर भएर विराटनगरस्थित मिल्स मावि रानीमा कार्यरत शिक्षक शिवनारायण यादवको मनमा बाढीले गाउँमा वितण्डा मच्चायो भन्ने लाग्यो। राधेकृष्णले फेरि भने, ‘बाढी होइन, छिट्टै घर आऊ।’

शिवनारायणको ध्यान खेतीपाती गरेर एक्लै घर धानिरहेकी श्रीमती ४७ वर्षीया दाइमनदेवी बिरामी परिन् होला भन्ने लागेर भने, ‘बिरामी परेको भए एम्बुलेन्समा चढाएर पठाउँ, म यता अस्पताल भर्नाको बन्दोबस्त मिलाउँदै गर्छु।’ इञ्जिनियर रहेका जेठा छोरा काठमाडौंमा कार्यरत र कान्छा छोरा भारतको दिल्लीमा सीए अध्ययन गरिरहेका छन्।


 घटनास्थल  

विराटनगरमा बिरामी आमाको हेरचाह गरेर बसेका शिवनारायणले सोधेको सोझो जवाफ नदिई राधेकृष्णले घर छ्ट्टिै आउँ भनेर एकहोरो भनिरहे। शिवनारायणको मनमा चिसो पस्यो, हतारिदै मोटरसाइकलमा घर आइपुगे। बस्तीदेखि दुई सय मिटरको दूरीमा रहेको उनको घर अगाडि गाउँलेहरुको भीड थियो। प्रहरीले घर घेरा हालेर कसैलाई जान दिएका थिएनन्।

आमा थला परेपछि भदौ २२ गतेदेखि शिवनारायण स्याहार गरेर विराटनगर बसेका थिए। यता श्रीमती घर धानेर एक्लो बसेकी थिइन्। २०६२ सालदेखि हराएका उनका माइला भाइ २०७० सालमा एकपटक सम्पर्क भएपछि पुनः बेपत्ता छन्। हेटौंडामा परिवारसहित बस्दै आएका कान्छा भाइ तेजनारायण निजी विद्यालयमा शिक्षक छन्। तेजनारायणसँग घरायसी विवाद रहेपनि घटनालगत्तै उनी पनि घर आएका छन्। श्रीमती दाइमनदेवीसँग फोनबाटै खेतीपाती, घरगृहस्थी, सुखदुखको कुराकानी हुने गथ्र्यो।

बिहीबार राति ९ बजेसम्म कुराकानी भएको बताएका शिवनारायणले शुक्रबार दिउँसो २ बजे फोन नउठेपछि रातभर फोन गरिरहे। दिउँसो घाँसपात, खेतीको काममा व्यस्त रहेकाले फोन नउठेको भन्ठानेका शिवनारायणले अक्सर राति कुरा हुने गरेको जानकारी दिए।

शुक्रबार रातभर घण्टी बजिरह्यो, तर फोन उठेन्। चिन्ताले जोगिनियाका एक नातेदारलाई खबर गरे। अविरल वर्षाका कारण बाटो हिलाम्मे भएर जान नसकिने तर बिहान उज्यालो भएपछि गएर बुझने खबर आयो। शनिबार बिहान उठनासाथ भाञ्जा मान्दै आएका गाउँकै राधेकृष्णलाई घर गएर बुझ्न भने। राधेकृष्णले ८-९ बजे सम्पर्क गराई दिने बताए।

त्यसपछि फोन सम्पर्क नलागेको राधेकृष्णको मोबाइलमा साढे एक बजे फोन लाग्यो। फोन लाग्नासाथ उताबाट एकै सासमा आवाज आयो, ‘छिट्टै घर आउनुस्।’

घर पुग्दा शिवनारायणको पुरानो फुसको भान्साघरसँगै रहेको शौचालय अगाडि हत्या गरिएको अवस्थामा दाइमनदेवीको शव थियो। नयाँ पक्की घरमा बसाईं सर्न पाएकी थिइनन्। घटनास्थल पुगेका वडा अध्यक्ष जयप्रकाश यादवले घाँटीमा डोरीले बाँधेर दबाइएको, कान काटिएको, आँखामाथि सुन्निएको र रगतले लतपतिएको अवस्थामा फेला परेकाले कर्तव्यबाटै हत्या भएको दाबी गरे।

इलाका प्रहरी कार्यालय कञ्चनरुपका डीएसपी नरेश सिंह र प्रदेश प्रहरी कार्यालय जनकपुरधामका डीएसपी ज्ञानकुमार महतो घटनास्थलमा खटिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी कृष्ण प्रसाईंले बताए। 

सप्तरीका एसपी राजेन्द्र धमलाका अनुसार शिवनारायणले आरोपित एकिन भएपछि पुनः कर्तव्य ज्यानको उजूरी दिने गरी अहिले सामान्य उजूरी दिएका छन्। शवको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार पोष्टमार्टमपछि अन्त्येष्टि गरिएको छ। हत्या भएकै ठहरका साथ अनुसन्धानमा जुटेको बताएका एसपी धमलाले आरोपित चाँडै पत्ता लाग्ने बताए। प्रहरीले अनुसन्धानका लागि गाउँका तीन जनालाई नियन्त्रणमा लिएको छ।

यसअघि खडक नगरपालिका-५ खरचुहियास्थित घरमा २०७५ फागुन १४ गते हत्या भएका ७५ वर्षीय सबुरी साह र उनकी पत्नी ६५ वर्षीया बेचनीदेवी साहको हत्यारा पत्ता लाग्न सकेको छैन। त्यसअघि राजगढ गाउँपालिकाको नर्घोस्थित झोहरा चोक नजिकै २०७२ पुस २० गते गोली प्रहारबाट हत्या भएका ४४ वर्षीय असई रमेश सुब्बाकै हत्यारा पनि पत्ता लागेको छैन्।

मृतकका पति शिवनारायण यादव। 

मृतक दाइमनदेवी यादव : तस्बीर : मनोहर पोखरेल

READ MORE NEWS

सांसद विकास कोषको फ्रिज बजेट पुनः रिलिज हुने


Your Views
Related News