नेपालमा काम गरिरहेका एम्नेस्टी इन्टरलेसनललगायत गैरसरकारी संस्थाहरूले मन्त्रिपरिषदबाट स्वीकृत गरिएका एसिड हिंसासम्बन्धी दुईवटा अध्यादेशलाई प्रमाणीकरण गरी कानूनको रूपमा जारी भएकोमा स्वागत गरेका छन्। १२ असोजमा राष्ट्रपति विद्या देवी भण्डारीले एसिड हिंसासम्बन्धी मन्त्रिपरिषदबाट स्वीकृत गरिएका दुईवटा अध्यादेशहरूलाई प्रमाणीकरण गरी कानूनको रूपमा जारी गरेकी थिइन्।

यी नयाँ कानूनले एसिडजन्य अपराधका पीडकलाई कडा सजायको व्यवस्था गरेको छ भने एसिडलगायत अन्य घातक पदार्थहरूको बिक्रीवितरणलाई नियमन गर्नका लागि केही प्रावधानहरूको व्यवस्था गरेको छ।

लामो समयदेखि एसिड हिंसाको अन्त्यका लागि अवाज उठाउँदै आएका गैरसरकारी संस्थाहरूले सरकारको यो कदमलाई सवागत गरेको र यसलले पीडितको अवाजलाई सरकारले सम्बोधन गरेको रूपमा लिएको बताएका छन्।

“एसिड हिंसासम्बन्धी कानूनी व्यवस्थामा परिवर्तन गर्नका लागि शुरूदेखि लड्दै आइरहनुभएका एसिड पीडितहरूका लागि यो सुखद क्षण हो। उहाँहरूको अथक वकालतका कारणले गर्दा नै सरकारले यस मुद्दालाई गम्भीरतका साथ लिएर आवश्यक कदम चालेको हो”, एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भने, “अब हामीले यी कानूनहरू प्रभावकारी रूपमा कार्यावन्यन भएको सुनिश्चित गर्नु आवश्यक छ।”

यही सोमबारबाट कार्यान्वयनमा आएको अध्यादेशले एसिडजन्य अपराधका पीडकलाई अधिकतम सजाय ८ वर्ष बाट बढाएर २० वर्षसम्म र १० लाखसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ। यस अध्यादेशले प्रमाण ऐन, २०३१ लाई समेत संशोधन गरी अदालतले लिन सक्ने प्रमाणको दायरालाई पनि फराकिलो पारेको छ। साथै नयाँ अध्यादेशले एसिड र अन्य घातक पदार्थ बिक्री गर्ने पसलहरूले अनुमतिपत्र लिनुपर्ने र १८ वर्ष माथिको व्यक्तिलाई मात्रै बेच्न पाउने प्रावधानको व्यवस्था गरेको छ।

“मुलुकी अपराध संहिता र अन्य केही ऐनहरूलाई संशोधन गर्ने गरी अध्यादेश आउनु आफैमा सकारात्मक कदम हुँदाहुँदै पनि एसिड हिंसाविरुद्धको विशेष कानूनको रूपमा अध्यादेश आउनु अझ सकारात्मक हुने थियो”, महिला, कानून र विकास मंचका कार्यकारी निर्देशक सविन श्रेष्ठले भने, “एसिड हिंसासम्बन्धी सजायमा दुवै आँखा जलेको वा दुवै कान जलेको वा दुवै स्तन जलेको वा अनुहार पूर्णरूपमा क्षति भएको भन्ने आधारमा एक थरी सजाय र जरिवाना एवं एउटा आँखा जलेको, एउटा कान जलेको, एउटा स्तन जलेको, अनुहार आंशिक जलेको भन्ने आधारमा कम सजाय र जरिवाना गर्ने व्यवस्था न्यायोचित देखिंदैन।”

जुरी नेपालका कार्यकारी निर्देशक मोहन लाल आचार्यले “पीडितको अवाजलाई सम्बोधन गर्नेगरी नयाँ अध्यादेशले केही मात्रामा सम्बोधन गरेको भएपनि एसिडजन्य अपराध नै हुन नदिनेतर्फका पहलहरूमा सरकारको उचित ध्यान जानु आवश्यक रहेको” धारणा व्यक्त गरे।

बर्न भायोलेन्स सर्भाईभर्स नेपालका कार्यकारी निर्देशक प्रतिक्षा गिरीले एसिड हिंसा जस्तै जघन्य अपराधको रूपमा लिन सकिने अग्निजन्य हिंसालाई पनि कानूनले सम्बोधन गर्नु आवश्यक रहेको बताए।

दुई साताअघि एम्नेस्टी इन्टरनेसनल नेपाल, बर्न भायोलेन्स सर्भाईभर्स नेपाल, महिला कानुन तथा विकाश मंच, न्याय तथा अधिकार संस्था (जुरी-नेपाल), कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) र ओरेक नेपालसमेत छ वटा गैरसरकारी संस्थाका प्रतिनिधिमण्डलले कानूनमन्त्री शिवमाया तुम्बाहाम्फेलाई सो कानूनमा हुनुपर्ने प्रावधानहरूका बारेमा एउटा सिफारिसपत्र बुझाएको थियो।

READ MORE NEWS

५० वर्षपछि देखियो यूरेसियन कर्ल्यू

यूरेसियन कर्ल्यू युरोप, उत्तर एशियालगायत एशिया र अफ्रिका महादेशको समुद्रको तटीय क्षेत्रमा बढी देखिने सुन्दर पक्षी हो।

यो पक्षी उत्तरी एशियाबाट दक्षिण एशियातर्फ प्रस्थान गर्ने क्रममा नेपालको हिमाली तथा पहाडी भेगमा हिउँदको शुरुका दिनमा आहाराका निम्ति केही दिन अडिन्छ। तर, तराईका सिमसार क्षेत्रमा लामै समय देखिन्छ।

‘द स्टेट्स अफ नेपाल्स बर्ड्सः द न्याशनल रेडलिष्ट सेरिज’ भोल्युम २ (सन् २०१६)’ पुस्तकका अनुसार, नेपालमा यूरेसियन कर्ल्यू पाइन्छ भन्ने जानकारी गराउने पहिलो अध्येता ब्रायन हज्श्न हुन्। उनको सन् १८४४ मा प्रकाशित लेखमा यससम्बन्धी जानकारी पाइन्छ।

हज्श्नको जानकारीका आधारमा भन्ने हो भने, उबेला काठमाडौं उपत्यकामै यो पक्षी मनग्य देखिने अनुमान गर्न सकिन्छ। तर, वितेको ५० वर्ष यता यो पक्षी उपत्यकामा यदाकदा मात्र देखिएको अध्ययनहरूबाट देखिन्छ।

सन् १९७६ मा आरएल फ्लेमिङ, आरएल जुनियर फ्लेमिङ र लैनसिंह बाङ्देल लिखित ‘बर्डस अफ नेपाल’ पुस्तकमा यो पक्षी काठमाडौं उपत्यकामा देखिएको जनाइएको छ। यसैगरी एच.एस. नेपालीले सन् १९८२ मा ‘लिष्ट अफ नेप्लिज बर्ड स्पेसिमेन्स, एण्ड नोट्स अन बर्डस् सिन इन नेपाल’ (अप्रकाशित) अभिलेखमा पनि यूरेसियन कर्ल्यू  काठमाडौंमा देखिएको जानकारी समावेश छ।

तस्वीरः बिमिता भण्डारी
संभवतः यी दुवै अनुसन्धानको आधार सन् १९७० वा त्यसभन्दा अघि यो पक्षी देखिएको अध्ययनमा आधारित हुनुपर्छ। त्यसको एउटा कारण के हो भने, विगत ५० वर्षयता युरासियन कर्लोलाई चरा विज्ञले काठमाडौं उपत्यकामा देखेका थिएनन्।

अति संकटापन्न
यसैसाता ९ असोजमा वन्यजन्तु फोटोग्राफर संजय था श्रेष्ठ, उमंग जंग थापा, उस्तब जंगल थापा, गोपी श्रेष्ठ, चुन्बा शेर्पा, पेम्बा शेर्पा, युविन शेर्पा र प्रेम खब्बुलेको समूहले भक्तपुरको मनोहरा खोलामा एउटा सुन्दर चरा विचरण गरिरहेको देखे। आफूले कहिल्यै नदेखेको यो चराबारे तथ्य पत्ता लगाउन उनीहरुले आफूहरुले खिचेका तस्वीर चराविज्ञ एवं जूलोजिकल सोसाइटी अफ लन्डन –जेडएसएल) नेपाल शाखा प्रमुख डा. हेमसागर बराललाई पठाए।

बरालको ठहर थियो–यो त्यही यूरेसियन कर्ल्यू नै हो।

यूरेसियन कर्ल्यू प्रायः यो समूहमै विचरण गर्छ। तर, भक्तपुरमा भने एउटा भाले मात्र देखिएको थियो। संजय था श्रेष्ठ र पेम्बा शेर्पाले यो चरा चरिरहेको तस्वीर खिचे, अरुले भने उडेको तस्वीर कैद गर्न सफल भए।

चितवनका विमिता भण्डारी र नारायण रिजालले गएको माघमा कसरा नजिकै पनि यूरेसियन कर्ल्यूको तस्वीर खिचेका थिए। त्यसअघि भदौको अन्तिम साता राधाकृष्ण श्रेष्ठले पनि चितवनमै यो चराको तस्वीर लिने अवसर पाएका थिए।

नारायण रिजालका अनुसार, चितवनमा यूरेसियन कर्ल्यू यताका वर्षहरुमा एक, दुई वटा देखिने गरेको छ। यो पक्षी विशेषतः बर्खायामको अन्तमा आउने ठूलो बाढीपछि खोला किनारमा रहेको छिपछिपे पानीमा विचरण गर्छ। ठूँडो लामो भएकाले छिपछिपे पानीमा सजिलै आहारा समाउँछ। खोला किनार बालुवामा पनि देखिन्छ।

तस्वीर: सञ्जय था
कोशी टप्पु वन्यजन्तु आरक्षका अनिश तिम्सिनाको अनुभवमा झण्डै दुईदशकअघि कोशी टप्पुमा एकसाथ डेढ सयको हाराहारीमा यूरेसियन कर्ल्यू देखिएको थियो। तर एक दशकयतादेखि भने हिउँदमा तीन चार वटा मात्र देखिने गरेको छ। प्रत्येक वर्ष देखिन्छ नै भन्ने पनि टुंगो छैन।

पोखराका वन्यजन्तु फोटोग्राफर मनशान्त घिमिरेले पोखरा वरपर यो चरा देखेका छैनन्।

बटुवा चरा
यूरेसियन कर्ल्यू कोशी टप्पु, चितवनलगायत ठाउँका निम्ति आगन्तुक पक्षी हो। अन्यत्रबाट आएका यी चरा एक ठाउँ विशेषमा दुई, तीन महीना अर्थात् एक सिजनजति बस्छन्। कोशी टप्पुमा यो पक्षी प्रायः हिउँदभरी देखिन्छ।

काठमाडौंका लागि भने यूरेसियन कर्ल्यू बटुवा अर्थात् ‘प्यासेज माइग्रेन्ट’ पक्षी मान्नुपर्छ। यी बटुवा चराका गन्तव्य अन्त कतै हुन्छन्, केही दिनका लागि मात्र खास ठाउँमा आहाराका निम्ति अडिन्छन्।

भक्तपुरमा देखिएको यूरेसियन कर्ल्यू साइबेरियाबाट नेपाल हुँदै दक्षिणअफ्रिकातर्फ पनि लागेको हुनसक्छ। फेरि कहिले साइबेरिया फर्कन्छ भन्ने टुंगो छैन। किनकि यसको उडान भर्ने बाटो बारे अहिले पनि वैज्ञानिकहरु प्रष्ट छैनन्।

तस्वीर: नारायण रिजाल
विश्व प्रकृति संरक्षण संघले यूरेसियन कर्ल्यूलाई संकटोन्मुख प्रजाति मानेको छ। नेपालको  लागि भने यो अति संकटापन्न पक्षी हो। यसको संख्या विश्वभर निरन्तर घट्दो छ। यसको प्रमुख कारण यो पक्षीको वासस्थान विशेषतः सिमसार क्षेत्र घट्नु नै मुख्य कारण बताइएको छ।

सुन्दर यूरेसियन कर्ल्यूलाई मारेर खाने चलन र विचरणस्थलमा मानिसको बढ्दो चहलपहललाई पनि थप कारण मानिएको छ।

नेपालमा सिमसार क्षेत्रमा भएको अतिक्रमण र दोहनकै कारण पहिले सयौंकाे संख्यामा देखिने यूरेसियन कर्ल्यू विस्तारै दुर्लभ हुँदै गएको हो। साइबेरियादेखि दक्षिणएशिया, अफ्रिकासम्म उडान भर्ने यो पक्षीले नेपाललाई माया मार्दै जानु पक्षीप्रेमीका लागि नरमाइलो अवस्था हो।

तस्वीर: सञ्जय था
हाँस समूहको आगन्तुक वा बटुवा पक्षीबाहेक हामीकहाँ साना आगन्तुक वा बटुवा पक्षीबारे खासै जानकारी पाइन्न। यूरेसियन कर्ल्यूबारे पनि जानकारी न्यून छ। यो पक्षी जस्तै अरु पक्षी प्रजाति अझैसम्म मनग्य पाइनु तर युरासियन कर्लो भने अति संकटापन्न हुनुको कारण के हो ? यसबारे थप अनुसन्धान हुनुपर्ने देखिन्छ।

आगन्तुक तथा बटुवा पक्षीहरुलाई पहिले झैं कसरी नेपालमा आकर्षित गर्न सकिन्छ? यसबारे सम्बन्धित निकायको ध्यान जानुपर्छ। अन्यथा, निकट भविष्यमै ‘नेपालमा यूरेसियन कर्ल्यू भन्ने सुन्दर चरा पनि पाइन्थ्यो’ भन्नुपर्ने अवस्था आउनेछ।

 


Your Views
Related News