काठमाडौँ । नेपाल चीनको महत्त्वपूर्ण मध्यको एक तातोपानी नाका आगामी असोज १९ गतेदेखि खुला हुने भएको छ।

नेपाली र चिनियाँ पक्षबीच मंगलबार मितेरी पूलमा भएको द्वीपक्षीय बैठकले लामो समयदेखि बन्द रहेको नाका असोज १९ देखि खोल्ने निर्णय गरेको हो।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले यहि असोज १९ गते (अक्टोबर ५ तारिख) देखि नाका सूचारु नयाँ पुस्ता डटकमलाई बताए।

ढकालले भने, “असोज १८ गतेसम्म आवश्यक सबै तयारी पूरा गर्ने र १९ गतेबाट स्वास्थ्यका सबै प्रक्रिया पूरा गरेर नाका सुचारु गर्ने निर्णय भएको छ।”

उनका अनुसार, सीमामा सामान लोड तथा अनलोड गर्नेसहित सम्बन्धितको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्नेछ।

मंगलबार भएको छलफलमा नेपाल र चीनपक्षको दुई पक्षीय बैठकमा चीनतर्फको ल्हासाको फरेन अफिसका डेपुटी डाइरेक्टर लि उलिन नेतृत्वको टोली र प्रमुख जिल्ला अधिकारी ढकालसहितका अधिकारीहरु सहभागी भएका थिए।

लामो समयदेखि नाका बन्द हुँदा व्यवसायीका डेढ सयभन्दा बढी कन्टेनरमा सामान थन्केको ६ महिना बितेको छ।

नेपालतर्फ पहिरो खसेका कारण असार २४ गतेदेखि नेपालकै आग्रहमा तातोपानी नाका बन्द गरिएको थियो।

READ MORE NEWS

पोखरामा चितवनलाई माथ गर्ने अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्दै

पोखरा । पोखरामा १८ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने, एक अर्ब ६० करोड लागत

गण्डकी प्रदेश सरकारले पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ।

साविक भरतपोखरी गाविस हाल पोखरा महानगरपालिका-३३ को पशुपतिघाटको १७४ रोपनी जमिन गतवर्ष नेपाल सरकारबाट प्रदेश सरकारलाई भोगाधिकारका लागि प्राप्त भएपछि सरकारले सो जमिनमा रंगशाला निर्माण प्रक्रिया अघि बढाएको हो।

क्रिकेट रङ्गशालाका लागि प्रदेश सरकारले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) समेत तयार गरिसकेको छ।

बिआरएस इन्जिनीयरिङ सोलुशन प्रालिले रङ्गशालाको डिपिआर तयार गरी प्रतिवेदन सामाजिक विकास मन्त्रालयलाई बुझाएको हो।

सरकारले गत वर्ष रङ्गशालाको डिपिआरका लागि रु ५० लाख बजेट विनियोजन गरेको थियो।

जमिन प्राप्त भएपछि सरकारले डिपिआर प्रक्रिया शुरु गरेकामा कम्पनीले हालै प्रतिवेदन बुझाएको थियो।

सो डिपिआरमा रङ्गशाला निर्माणमा रु एक अर्ब ६० करोड लागत लाग्ने उल्लेख गरिएको मन्त्रालयका खेलकूद विभाग महाशाखाका उपसचिव तेजप्रसाद काफ्लेले बताए।

सरकारले चालू आर्थिक वर्षमा क्रिकेट रङ्गशालाका लागि रु दुई करोड बजेट विनियोजन गरेको छ।

विनियोजित बजेटबाट यस वर्ष वातावरणीय प्रभाव मूल्याङ्कन, जमिन सीमाङ्कन तथा तटबन्धनलगायत काम गरिने मन्त्रालयले जनाएको छ।

उपसचिव काफ्लेले भने, “अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि डिपिआर बनाउने जिम्मा पाएको कम्पनीले प्रतिवेदन बुझाएको छ। यसवर्ष बजेट थोरै मात्र विनियोजन गरिएकाले जग्गाको संरक्षणका काम गर्दै रङ्गशालाका लागि स्रोत जुटाउन शुरु गर्दछौँ।”

गण्डकी प्रदेश सरकार गठन भएपछि सरकारको आव २०७४-७५ को पहिलो बजेट तथा कार्र्यक्रममा प्रदेशभित्र सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माणका लागि स्थान पहिचान गर्ने उल्लेख थियो।

त्यसपछिका बजेट कार्यक्रममासमेत सरकारले रङ्गशाला निर्माणलार्ई प्राथमिकतामा राखेको छ।

करिब १२३ रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने रङ्गशालामा १८ हजार दर्शक क्षमताको प्यारापिट बन्ने डिपिआरमा उल्लेख छ।

मैदानमा सात वटा पिच, भिभिआइपी कक्ष, भिआइपी कक्ष, खेलाडी कक्ष (प्लेयर बक्स), चेञ्जिङ रुम (कपडा फेर्ने कोठा), मिडिया कक्ष, पार्किङलगायत संरचना बन्नेछन्।

क्रिक्रेट रङ्गशाला पोखराको मुख्य बजारदेखि १० किमी टाढा र पृथ्वीराजमार्गबाट दुई किमिको दूरीमा रहेको छ।

पोखरामा पछिल्ला वर्षमा क्रिकेटका अन्तर्राष्ट्रियस्तरका प्रतियोगितासमेत सम्पन्न भएका छन्।

पोखरा रङ्गशालाभित्र रहेको क्रिकेट मैदानमा गतवर्ष १३औँ दक्षिण एशियाली खेलकूद (साग) को महिला क्रिकेट खेलाइएको थियो।

सो मैदानमा क्रिकेटका अन्य पूर्वाधार बन्न सकेका छैनन्। पोखरा प्रिमियर लिग (पिपिएल) का दुई संस्करणसमेत सोही मैदानमा सम्पन्न भएका थिए।

प्रदेश सरकारले बनाउन प्रक्रिया शुरु गरेको क्रिकेट रङ्गशाला निर्माणपछि पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिताको ढोका खुल्ने अपेक्षा गरिएको छ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि दुई मैदान अनिवार्य गरिएको छ। रासस


Your Views
Related News