काठमाडौं, असोज १४ । कोभिड–१९ का कारण स्थगित कक्षा–१२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भएपनि निर्णयमा ढिलाइ भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कोरोनाका कारण परीक्षा लिनसक्ने स्थिति नभएमा कुल १०० पूर्णांकमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा–११ को कुल प्राप्तांकलाई बाँकी ४० नम्बरमा गणना गर्ने वा परीक्षा नलिइ आन्तरिक मूल्यांकन र कक्षा–११ को प्राप्तांकलाई ५०/५० प्रतिशत मानी प्रमाणीकरण गर्नेलगायत विकल्पसहित गत महिना सुझाव दिएको थियो ।

उक्त सुझाव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा पुगेको भएपनि हालसम्म निर्णय नहुँदा अभिभावक र विद्यार्थी अन्योलमा छन् ।

तत्काल निर्णय नभएमा दसैंअघि उक्त परीक्षा हुने सम्भावना कम हुनेछ । दसैंपछि हिमाली जिल्लामा परीक्षा गराउन झन् कठिन हुनेछ ।

यस्तो स्थितिमा आन्तरिक मूल्यांकन र कक्षा–११ को नजितालाई ५०/५० प्रतिशत मानेर प्रमाणीकरण गराउने विकल्प बलियो हुनसक्ने जनाइएको छ ।

४० नम्बरका लागि अनलाइनमा परीक्षा गराउँदा खुला पुस्तक परीक्षा (ओपन बुक एक्जाम) हुने भएकाले यसको विश्वसनीयता र सबै स्थानमा अनलाइनको पहुँचको सम्भाव्यताबारे प्रश्न उत्पन्न भएका छन् ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा–१२ को परीक्षा बोर्ड परीक्षा भएको र यसको अन्तर्राष्ट्रिय समकक्षतासमेत हुनुपर्ने भएकाले कुनै न कुनैरुपमा परीक्षा गराउने पक्षमा आफूहरु रहेको केही दिनअघि राससलाई बताउनुभएको थियो ।

अनलाइन परीक्षा भएमा परीक्षाका लागि समय कति, परीक्षा केन्द्र कहाँ राख्ने, प्रश्न कसरी विद्यार्थीमा पुर्‍याउने, उत्तरपुस्तिका कसरी संकलन र मूल्यांकन गर्ने र नतिजा कहिलेसम्म प्रकाशन गर्नेजस्ता प्रश्न उत्पन्न भएका छन् ।

अनलाइनमा पहुँच नहुनेले सूचना प्रविधिका अन्य माध्यमलाई पनि प्रयोग गर्नसक्ने गरी पठनपाठन गराउन भने सरकारले गत भदौ १९ गते विद्यार्थी सिकाइ सहजीकरण निर्देशका–२०७७ जारी गरिसकेको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले मन्त्रिपरिषद्बाट निर्णय भइ नआएसम्म यसबारे केही भन्न नसकिने जनाउँदै दिइएका विकल्पबाटै निर्णय हुनसक्ने बताउनुभयो ।

गत वैशाख ८ गतेदेखि तोकिएको सो परीक्षा गत चैत ११ गतेदेखिको बन्दाबन्दीका कारण स्थगन भएको थियो । परीक्षामा कुल चार लाख ३२ हजार विद्यार्थीले आवेदन दिएका थिए ।

बोर्डले यही भदौ २६ गते सूचना प्रकाशन गरी कक्षा–१२ का परीक्षाका लागि आवेदन दिएका विद्यार्थी कोरोना महामारी वा अन्य कारणले अन्य जिल्लामा बसाइँसराइ भएको भए सात दिनभित्र विवरण उपलब्ध गराउन आग्रह गरिसकेको छ ।

यसअघि, माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा–१० को परीक्षा मन्त्रिपरिषद्कै निर्णयका आधारमा विद्यालयबाट आन्तरिक मूल्यांकन गराइ बोर्डले प्रमाणीकरण गरिसकेको छ भने कक्षा–११ को पनि सोही प्रक्रियाबाट प्रमाणीकरण हुने तय भएको थियो ।

शिक्षा ऐन (२०२८) को आठौं संशोधन २०७३ कार्यान्वयनमा आएपछि तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्को खारेज भइ राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएपछि बोर्डले परीक्षा सञ्चालन गर्दै आएको छ ।

READ MORE NEWS

भूकम्पले भत्किएका दरबारहरूको यसरी हुँदैछ पुननिर्माण

राष्ट्रिय पुननिर्माण प्राधिकरणले २०७२ सालको भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक दरबारहरूको मौलिकताको अधिकतम सुरक्षा हुने गरी पुननिर्माणको काम भइराखेको बताएको छ।

काठमाडौंका ऐतिहासिक सिंहदरबार, केसरमहल, बालमन्दिर, बबरमहल लगायतका दरबारहरूको प्रबलिकरण विधिमार्फत पुननिर्माणको काम भइराखेको प्रधिकरणले जनाएको हो।

२०७२ सालको भूकम्पबाट क्षति भएका सिंहदरबारको मूख्य प्रशासनिक भवनसहित काठमाडौंमा रहेका केसरमहल, बाल मन्दिर र बबरमहल दरबार विस्तारै उठने प्रक्रियामा छन। दरबारहरुमा रहेका ऐतिहासिक पुरातात्विक सम्पत्तिहरूको मौलिकतामा कुनै क्षति नहुने गरी राष्ट्रिय पुननिर्माण प्राधिकरणले प्रबलिकरण विधिमार्फत पुननिर्माण गरिरहेको छ। प्राधिकरणका अनुसार सिंहदरबारको मूख्य प्रशासनिक भवनको पूर्वपट्टीको भागको सम्पूर्ण कार्य आगामी मंसिर महीनाभित्रमा सम्पन्न हुनेछ।

यो भवनको पुननिर्माणको काम सम्पन्न भएपनि फायरफाइटिङ, इन्टेरियर, ल्याण्डस्केपिङ र सुरक्षा लागयतको काम भइराखेको प्राधिकरणका आयोजना उपनिर्देशक झप्पर सिंह विश्वकर्माले बताए। यो भवनको कुल लागत भ्याट बाहेक ५५ करोड ९४ लाख रपैयाँ रहेको छ। त्यस्तै सिंहदरबारको पश्चिमपट्टीको मोहडाको पुननिर्माणले पनि तिब्रता पाएको छ।

यो भवन पनि प्रबलिकरण विधिमार्फत पुननिर्माण भइराखेको हो। ऐतिहासिक महत्वका वस्तुहरूलाई जस्ताको तस्तै जोगाउने गरी पुरानै निर्माण सामग्रीकोे प्रयोग गरी पुरानै विधिमार्फत काम भइराखेको विश्वकर्माले बताए। यो भवनको कुल लागत भ्याट बाहेक ५० करोड रुपैयाँ छ भने हाल सम्म ३५ प्रतिशत प्रगति भएको छ। यो भवन ५ भदौ २०७८ भित्र सम्पन्न हुनेछ।

त्यस्तै काठमाडौंको केसरमहल दरबारको पूननिर्माण हालसम्म २० प्रतिशत सम्पन्न भएको छ। भ्याट बाहेक ५९ करोड ५० लाख रुपैयाँ बजेटमा पुननिर्माण हुन लागेको यो दरबार १२ मंसिर २०७८ भित्रमा सम्पन्न हुनुपर्नेछ। बबरमहल दरबारको निर्माण कार्यमा पनि २० प्रतिशत प्रगति भएको प्राधिकरणका आयोजना उपनिर्देशक विश्वकर्माले बताए। यो दरबारको कुल लागत भ्याट बाहेक ८६ करोड रुपैयाँ छ भने यसको पुननिर्माण २०७८ असार मसान्त सम्ममा सम्पन्न भइसक्नुपर्नेछ। यस्तै बालमन्दिरको पुननिर्माणमा पनि १५ प्रतिशत प्रगति भएको छ। भ्याट बाहेक कुल ५५ करोड रुपैयाँ लागतमा पुननिर्माण भइरहेको यो दरबार २०७८ मंसीर मसान्त सम्ममा सम्पन्न हुनेछ।

चारवटै दरबारको पुननिर्माण हुँदा ऐतिहासिक पुरातात्विक कलाकृतिहरू नबिग्रने गरी पुरानै निर्माण सामग्रीको प्रयोग गरिएको छ। सुर्कि, फलाम, चुना, काठ लगायतको प्रयोग गरेर पुरानै विधिबाट प्रवलिकरण गरिरहेको आयोजना उपनिर्देशक विश्वकर्माले बताए। पुननिर्माणको काम हुँदा राष्ट्रिय भवन निर्माण संहिताले मागेको सुरक्षा प्रत्याभुत हुने गरी प्रबलिकरणको काम भइरहेको पनि विश्वकर्माले बताए।

पुरानै शैलि, पुरानै निर्माण सामग्री, पुरानै पद्धति र पुरानै कलाकृतिलाई ‘जस्ताको तस्तै तर बलियो प्रशस्तै’ भन्ने सिद्धान्तबाट पुननिर्माणको काम भइरहेको उनले बताए। तर सिंहदरबारको पूर्वी मोहडाको पुननिर्माणमा भने छड र सिमेन्टको प्रयोग गरिएको छ। यसअघि २०३० सालमा आगलागिबाट क्षति भएपछि यो भवनको निर्माण सिमेन्ट र छडको प्रयोग भई गरिएको थियो। त्यसैले अहिले पनि पर्खालको भित्र र बाहिर ज्याकेटिङ प्रविधिमार्फत बाधेर प्रबलिकरण गरिएको उनले बताए।

दरबारहरूको पूननिर्माण तोकिएको समयमा सम्पन्न हुनेमा भने कोभिड–१९ का कारण चुनौति थपिएको छ। निर्माण सामग्रीको नियमति आपूर्ति श्रृङखलामा असर परेको र देश बाहिरबाट निर्माण सामग्री ल्याउन नसक्दा समस्या भएको प्राधिकरणका आयोजना उपनिर्देशक विशवकर्माको भनाइ छ।

यसबाहेक कोभिडकै कारण दक्ष कालिगढहरूको समेत अभाव भएको छ। तरपनि कालिगढहरूलाई अतिरिक्त काम गर्ने वातावरण तयार गरेर भएपनि समयमै सम्पन्न गर्ने योजनाका साथ काम गरिएको उनले बताए।

 


Your Views
Related News