प्रत्येकपटक मुटु धड्किँदा रक्तवाहिकामार्फत शरीरका सबै अंग र कोषिकामा रगत पुग्ने गर्छ । रगत शरीरमा प्रवाहित हँुदा यसले रक्तवाहिकाको भित्तामा दबाब दिन्छ जसलाई रक्तचाप भनिन्छ । रक्तचाप सिस्टोलिन र डायलोस्टिक गरी दुई किसिमका हुने गर्छन् ।

रक्तनलीको भित्तामा लगातार दबाब दिँदा रक्तचाप बढ्छ । समयसमयमा यस्तो भइरहने भए पनि कुनै लक्षणहरू अनुभव हँुदैनन् । तर, रक्तचाप बढ्दै गएमा हृदयाघात, स्ट्रोक, मुटु, मिर्गाैला आदि अंगमा समस्या देखिन थाल्छ । उच्च रक्तचापको समस्या भएका व्यक्तिले चिकित्सकसँग नियमित परीक्षण गर्नुपर्ने हुन्छ । यसरी चिकित्सकसँगको नियमित परीक्षणबाट रक्तचाप नियन्त्रण गर्न सजिलो हुन्छ । तर, कतिपय अवस्थामा चिकित्सकसँग नियमित सम्पर्क र परामर्श गर्न नसकिने पनि हुन्छ । यस्तो अवस्थामा घरमै पनि रक्तचाप परीक्षण गर्न सकिन्छ । तर, यस्तो वेला सजगता भने अपनाउनुपर्छ ।

रक्तचाप परीक्षण भने रक्तवाहिनीमा पर्ने दबाबको परीक्षण हो । जुन मिलिमिटर अफ मर्करीको आधारमा नापिन्छ । सामान्यतया रक्तचापको माथिल्लो नम्बर (सिस्टोलिक) र तल्लो नम्बर (डायस्टोलिक)मा नापिन्छ । जसले शरीरमा रक्तचापको सबैभन्दा माथिल्लो र तल्लो बिन्दु बताउँछ ।

– रक्तचाप मापन दैनिक एउटै समय र आराम गरिरहेको अवस्थामा नाप्नुपर्छ । सुरुवातीमा दुईवटै हातमा रक्तचाप नाप्न सकिन्छ ।

– रक्तचाप नाप्दा शान्त स्थानमा बस्नुपर्छ, ता कि मुटुको धड्कन सुन्न सजिलो होस् । साथै अत्यधिक चिसो कोठामा पनि बस्नुहुँदैन ।

– परीक्षण गर्नुभन्दा अगाडि केही समय आराम गर्नुपर्छ । करिब ३० मिनेट पहिलेसम्म धुम्रपान, क्याफिन र अल्कोहलयुक्त वस्तु प्रयोग गरेको हुनुहुँदैन ।

– यदि पूरा बाहुला भएको लुगा लगाएमा बाहुला माथि सारेर जाँच गर्नुपर्छ, अर्थात् सकेसम्म खुला छालामै रक्तचाप जाँच गर्नुपर्छ ।

– शरीरमा असर नपर्ने गरी आरामदायी बेन्च वा कुर्सीमा बस्नुपर्छ । शरीरलाई सीधा राख्ने र जाँच गर्दा सकेसम्म बोल्नुहँुदैन ।

यस्ता सामान्य चरणमा विचार गरेर घरमै स्वचालित रक्तचाप मेसिन वा स्फिगोमोमामोमिटरको माध्यमबाट परीक्षण गर्न सकिन्छ । रक्तचाप परीक्षण गर्ने मेसिनको प्रयोग सजिलै गर्न सकिन्छ । तर, बालबालिकाको सम्पर्कबाट भने टाढा राख्नुपर्छ ।

साथै सकेसम्म प्रयोग विधिबारे राम्रो ज्ञान भएका व्यक्तिहरूको सहयोग लिँदा राम्रो हुन्छ । वयस्कहरूमा सिस्टोलिक अर्थात् माथिल्लो बिन्दु १४० एमएमएचजीभन्दा तल र डायस्टोलिक अर्थात् तल्लो बिन्दु ९० एमएमएचजीभन्दा तल हुन आवश्यक छ । कतिपय अवस्थामा स्टिोलिक १२० एमएमएचजी र डायस्टोलिक ८० हँुदा पनि सामान्य मानिन्छ । यो अंकभन्दा माथि वा तल रक्तचाप देखिएमा चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ ।

यसकारण हुन्छ उच्च रक्तचाप

शरीरका विभिन्न भागमा रगत पु-याउने क्रममा मुटुले नलीहरूमा निरन्तर चाप दिइरहेको हुन्छ, त्यो नै रक्तचाप हो । सामान्य भाषामा भन्दा रक्तचाप भन्नाले रगतले रगतका नलीमा दिने चाप भन्ने बुझिन्छ । रक्तचाप कहिले बढी त कहिले कम भइरहन्छ । रक्तचाप बढेको अवस्थामा मुटु र रक्तनली लामो समयसम्म दबाब पर्छ । जसले गर्दा मुटुमा नकारात्मक असर पार्नुका साथै विभिन्न स्वास्थ्य समस्यासमेत निम्तिन्छन् ।

लक्षण

  •  अधिकांशमा उच्च रक्तचापका लक्षण देखा पर्दैनन् । तर, शरीरभित्र असर पु¥याइरहेको हुन्छ । थोरै प्रतिशतमा भने रिंगटा लाग्ने, चिढचिढापन हुने, मुटुको धड्कन र नाडीको गति बढ्ने लक्षण देखिन्छन् । त्यस्तै, कतिपयमा सास फेर्न गाह्रो हुने, नाकबाट रगत बग्ने र बेहोस हुनेजस्ता लक्षण देखापर्छन् ।

कारण

  •  सामान्यतया, अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, तनावयुक्त वातावरण तथा स्वास्थ्यप्रतिको बेवास्ताजस्ता कारणले रक्तचाप बढ्ने गर्छ ।
  •  कुनै बच्चामा जन्मजात नै नसा साँघुरो हुने समस्या भएमा उच्च रक्तचापको समस्या हुने गर्छ । त्यस्तै रक्तनली कडा भएर साँघुरो हुने समस्या भएमा समेत उच्च रक्तचापको जोखिम हुन्छ । रक्तनलीभित्र बोसो वा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न नसकेमा रक्तचाप बढ्छ ।
  •  खानामा नुनको बढी प्रयोग, मसालेदार खानेकुरा, मासु वा बोसोजन्य पदार्थ तथा चिल्लो, अमिलो र पिरो बढी खानाले रक्तचाप बढ्छ । त्यस्तै, पौष्टिक आहार कम खाने मानिसमा पनि उच्च रक्तचापको जोखिम बढ्छ ।
  •  धुम्रपान–मध्यपान गर्ने मानिसमा उच्च रक्तचाप हुने सम्भावना धेरै हुन्छ । साथै, अत्यधिक चियाकफीको सेवनले पनि रक्तचाप बढाउँछ ।
  •  तौल नियन्त्रण गर्न नसकेमा अर्थात् मोटोपनाको समस्या भएका मानिसमा पनि यसको जोखिम रहन्छ । त्यस्तै, अनिद्रा, मुटुसम्बन्धी रोग, हार्मोनमा गडबडी र लामो समयसम्म औषधिको सेवन पनि रक्तचापका कारण हुन् ।
  •  मिर्गाैला, कलेजो, रगत तथा फोक्सोसम्बन्धी रोगका कारण रक्तचाप बढ्ने गर्छ । साथै, वंशाणुुगत गुणका कारणसमेत रक्तचाप बढ्छ ।

बच्ने उपाय

  •  उच्च रक्तचापका लक्षण हत्तपत्त देखिँदैन । त्यसैले, यसका रोगीमध्ये अधिकांशको ज्यानै जाने खतरा हुन्छ । तसर्थ, निरोगी मानिसले पनि नियमित रगत परीक्षण गराइराख्नुपर्छ ।
  • स्वस्थ जीवनशैली अपनाउनुपर्छ । खानपानमा ख्याल, नियमित व्यायाम, धूम्रपान तथा मद्यपानबाट टाढा रहनुपर्छ । तौल तथा तनाव व्यवस्थापन गर्नुपर्छ । लामो समयसम्म औषधिको सेवन गर्दा ध्यान दिने गरेमा उच्च रक्तचापबाट बच्न सकिन्छ ।
  •  मिर्गौला, मुटु, प्यांक्रियाज, कलेजो र फोक्सो, आदिमा आएको खराबीले पनि उच्च रक्तचाप हुन सक्छ । तसर्थ, यस्ता समस्या समयमै पत्ता लगाएर उपचार गर्नुपर्छ ।

Your Views
Related News