कोरोनाभाइरसविरुद्ध रुसमा निर्मित खोप ठूलो परिमाणमा नेपाल ल्याउने सहमति भएको समाचार विदेशी सञ्चारमाध्यमहरूले प्रकाशित गरेपछि बल्ल नेपालका सरकारी अधिकारीले त्यसबारे थाहा पाए।

मङ्गलवार आएको समाचारबारे भोलिपल्ट प्रतिक्रिया दिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपाल सरकारले नभनी खोपहरू भित्र्याउन नमिल्ने बताए।

उनी भन्छन्, “यसबारे हामीलाई थाहा छैन। नेपाल सरकारले नभनी ल्याउन मिल्दैन। बाहिर क-कसले के-के सम्झौता गर्छन् त्यो हामीलाई कसरी थाहा हुन्छ?”

हाल तेस्रो चरणको परीक्षणमा रहेको खोपलाई नेपाल भित्र्याउने भनेर सम्झौता गरेको ट्रिनिटी फर्मास्युटिकल्सका निर्देशकले उक्त सम्झौता ‘विशुद्ध व्यावसायिक’ भन्दै खोप प्रयोगका लागि सुरक्षित रहेको प्रमाणित भएपछि मात्रै त्यसलाई नेपालमा भित्र्याउने आफूहरूको सोच रहेको बताएका छन्।

तर निजी कम्पनीले गरेको सहमतिका आधारमा खोप नेपाल भित्रिएला त? कोरोनाभाइरसको खोपको विषय सरकारले तय गर्ने नीतिले निर्धारण गर्ने सरकारी अधिकारीको प्रतिक्रिया छ।

तीन करोड जनसङ्ख्या रहेको नेपालमा देशको ९० प्रतिशत भन्दा बढी मानिस लक्षित खोप एउटा निजी कम्पनीले भित्र्याउन लाग्दा त्यसबारे आफूहरू बेखबर रहेको नियामक निकायहरूले बताइरहेका छन्।

स्पुत्निक ल्याउने सहमतिबारे के छ प्रतिक्रिया?

अब उक्त सम्झौता अब के हुन्छ त भन्ने प्रश्नमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले भने, “अहिलेसम्म खोप नै विकास भएको छैन, खोप बन्यो भने हेरौँला। अहिले नै त्यसबारे कुरा गर्ने बेला भएको छैन।”

खोपलगायत विभिन्न औषधिहरू नेपालमा ल्याउन अनुमति दिने जिम्मेवारी पाएको औषधि व्यवस्था विभागले सुरक्षा मापदण्ड सुनिश्चित नभईकन कोभिड-१९ विरुद्धको खोपलाई नेपाल ल्याउन सकिने प्रतिक्रिया दिएको छ।

विभागका सूचना अधिकारी सन्तोष केसी भन्छन्, “त्यत्रो ठूलो सङ्ख्यामा खोपहरू मगाउने भनिएपछि आम रूपमा प्रयोग गर्नका लागि हो भनेर बुझ्न सकिन्छ। सम्बन्धित देशमै त्यस्तो अनुमति पाएको छैन। त्यसैले उक्त खोप ल्याउने अनुमति दिन मिल्दैन।”

उनले थपे, “या त रुसको नियामक निकायले आम रूपमा खोप लगाउन मिल्छ भनेर स्वीकृति दिनुपर्‍यो। त्यसपछि उहाँहरूले सहायताबाट ल्याउने कि कसरी ल्याउने सरकारसँग छलफल गरेर हामीसँग स्वीकृति लिनुपर्छ। यदि परीक्षणका लागि ल्याउने हो भने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग अनुसन्धानका लागि समन्वय गरेर त्यताबाट ल्याउन पाउनुहुन्छ।”

तर पछिल्लो समयमा रुसी खोपको नेपालमा परीक्षण गर्ने विषयमा आफूहरूसँग छलफल नभएको परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले बताए।

उनी भन्छन्, “अहिले तेस्रो चरणको क्लिनिकल परीक्षणको अवस्थामा रहेको उक्त खोप परीक्षणबाहेक अन्य कुरामा झिकाउन मिल्दैन। कुनै एउटा कम्पनीले अर्को कम्पनीसँग कुरा गर्न सक्छ तर नेपाल सरकारले स्वीकृति नदिई खोपहरू ल्याउने अवस्था देख्दिनँ।”

कस्तो सम्झौता भएको हो?

रुस सरकारले सन् २०११ मा बनाएको सार्वभौम सम्पत्ति कोष रसियन डाइरेक्ट इन्भेस्टमन्ट फन्ड (आरडीआईएफ) र नेपालमा औषधि र खोपको आपूर्ति गर्ने भनिएको काठमाण्डू सीतापाइलामा रहेको ट्रिनिटी फर्मास्युटिकल्सबीच सहमति भएको विवरण मस्कोमा सार्वजनिक भएको थियो।

 

आरडीआईएफले निकालेको विज्ञप्तिमा विभिन्न ५० देशले स्पुत्निक-भी खोपका लागि आवेदन दिएका र अहिलेसम्म मेक्सिकोलाई ३.२ करोड, ब्रजिललाई ५ करोड, भारतलाई १० करोड र उज्बेकिस्तानलाई ३.५ करोड मात्रा आपूर्ति गर्ने सहमति भएको उल्लेख छ।

त्यसमा हालसम्म स्पुत्निक खोपको परीक्षणले कुनै नकारात्मक असर नदेखिएको भन्दै अहिले ४०,००० स्वयंसेवकमा परीक्षण भइरहेको उल्लेख गरिएको छ। उक्त परीक्षणको नतिजा अक्टोबर वा नोभेम्बर महिनाभित्र प्रकाशन भइसक्ने पनि उल्लेख गरिएको छ।

रुसको स्वास्थ्य मन्त्रालयले कोभिड-१९ को खोपका रूपमा स्पुत्निकलाई दर्ता गरिसकेको भए पनि अन्य देशका वैज्ञानिकहरूले त्यसप्रति आशङ्का व्यक्त गर्ने गरेका छन्।

आफ्नी छोरीले पनि उक्त खोप लगाएको बताएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अघिल्लो साता राष्ट्रसङ्घको महासभामा स्पुत्निक खोप ‘सुरक्षित, विश्वसनीय र प्रभावकारी’ रहेको बताएका थिए।

गएको अगस्ट महिनामा नै रुसले कोरोनाभाइरसको खोप प्रयोग गर्न स्वीकृति दिएपछि प्रभावकारिताको प्रमाण सार्वजनिक नगरी त्यस्तो कदम चालेको भन्दै मस्कोको आलोचना भएको थियो।

तर गएको सेप्टेम्बर महिनामा मेडिकल जर्नल द लान्सिटमा प्रकाशित प्रतिवेदनमा खोप परीक्षण भएका सबैमा भाइरसविरूद्ध लड्ने प्रतिरोधात्मक प्रणालीको विकास भएको र कुनै गम्भीर नकारात्मक असर नदेखिएको उल्लेख छ।

सम्झौता गरेको कम्पनी के भन्छ?

ट्रिनिटी फर्मास्युटिकल्सका निर्देशक किशोर अधिकारी हालसम्म परीक्षणमा रहेका खोपमध्ये रुसी खोप सफल हुने सम्भावना धेरै देखेर आफूहरूले त्यसलाई झिकाउन पहल गरेको बताउँछन्।

 

उनले काठमाण्डूस्थित रुसी दूतावासको सहयोगमा अहिले प्रारम्भिक तहको सहमति मात्रै भएको भन्दै तेस्रो चरणको खोपको परीक्षण सफल भइसकेपछि मात्रै त्यसलाई झिकाउने प्रकिया थालिने बताए।

उनी भन्छन्, “नेपाल सरकारसँग कुरा गर्नलाई यो विषय परिपक्व भइसकेको छैन। खोप सफल भइसकेको जब दस्तावेज आउँछ, त्यसपछि मात्रै त्यसपछि मात्रै हामी औषधि व्यवस्था विभागमा जान्छौँ।”

“उक्त प्रक्रियाबाट अनुमतिपत्र प्राप्त गर्ने हो। अहिले हाम्रो माग यति छ भनेर हामीले भनेका हौँ। भोलिका दिनमा खोप बनेर उत्पादन हुने अवस्था आयो र त्यसपछि हामीले मगाउनुपर्‍यो भने हामी पछि पर्छौँ भनेर अहिले नै सहमति गरेको हो।”

उनले उक्त खोप सफल भए त्यसलाई व्यवसायको हिसाबले नेपालमा विक्री गर्न मिल्नेगरी आफूहरूले बाटो खोल्न खोजेको बताए।

READ MORE NEWS

कोरोना भाइरस: नेपालमा चिनियाँ, रुसी र अन्य खोप निर्माताको चासो तर परीक्षण गरिएको छैन

नेपालमा नयाँ खोपको परीक्षण अनुमति दिने संस्था स्वास्थ्य अनुसन्धान परिषद्‌मा थुप्रै विदेशी खोप निर्माता कम्पनीहरूको तर्फबाट कोरोनाभाइरसको खोप परीक्षणका निम्ति चासो देखाइएका छन्।

तर आर्थिक व्ययभार अनि स्वास्थ्य सुरक्षा जिम्मेवारीको पाटोबारे स्पष्ट हुन नसकिएकाले हालसम्म कसैलाई परीक्षण अनुमति नदिइएको परिषदका कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले बीबीसीलाई बताएका छन्।

कसले दिए चासो?

अहिले खोपको दौडमा अगाडि परेको देखिएका रुसी, चिनियाँ तथा अन्य खोप निर्माताहरूले चासो देखाएको डा ज्ञवालीले बताए।

“तर खोपको क्लिनिकल परीक्षण गराउन सामान्य चासो मात्र नभई कम्पनीको प्रायोजन तथा अन्य सुरक्षाका विषय स्पष्ट नभइञ्जेल अघि बढ्न सकिँदैन,” उनले भने।

यसअघि चिनियाँ कम्पनीको खोपलाई नेपालस्थित उद्योगमा कार्यरत चिनियाँ कामदारहरूमा लगाउनेबारे चर्चा चलेका थिए।

तर त्यो पनि अहिले अघि नबढेको डा. ज्ञवालीले सुनाए।

“उनीहरूले यो सरल होला भन्ठानेका होलान् तर खोपको परीक्षण निकै जटिल हुन्छ। हामीले उनीहरूलाई खोप निर्माता कम्पनीको अनुमति लिएर आउन भनेका थियौँ। त्यसपछि उनीहरू अलमलमा परेका छन्,” उनले भने।

उनका अनुसार यस्तो परीक्षण गर्नु अघि कम्पनीको मापदण्ड स्पष्ट पारिनुपर्छ।

“कुनै कम्पनीको खोप परीक्षण गर्न तपाईँले पाउनुहुन्छ तर त्यसका निम्ति सो कम्पनीका सबै मापदण्ड तथा प्रोटोकल पालना गर्नुपर्छ। त्यसलाई हाम्रा वैज्ञानिकले हेरेर ठीक छ भनेपछि मात्र परीक्षण गर्न पाइन्छ।”

कतिपय विज्ञहरूले भने परीक्षणका बेला सहभागी हुने मौका भएमा सफल खोपको आपूर्तिबारे देशको दाबी बलियो हुने भन्दै उचित प्रक्रिया अवलम्बन गरेर सहकार्य गरिनुपर्ने बताउँदै आएका छन्।

‘प्रमाणित खोपको पनि अध्ययन जरुरी’

विदेशमा कुनै खोप प्रमाणित रूपमा प्रभावकारी देखिएपनि त्यसको नेपालमा प्रयोग थालिहाल्नु अगाडि संक्षिप्त अध्ययन भने गर्नु राम्रो हुने परिषदका कार्यकारी प्रमुख डा. ज्ञवालीले बताए।

“उत्तम के हुन्छ भने बाहिर प्रमाणित भएको भएपनि यहाँको भौगोलिक अवस्था वा मानिसहरूको आनुवंशिक हिसाबले छोटो अध्ययन गर्नु पर्छ,” उनले भने।

कोरोनाभाइरस

केही समयअगाडि राष्ट्रसङ्घको बालबालिकासम्बन्धी निकाय युनिसेफले प्रभावकारी खोप बजारमा आउनेबित्तिकै नेपालसहित निम्न आय तथा निम्नमध्यम आय भएका ९२ वटा देशका निम्ति खरिद सहजीकरण गरिदिने जनाएको थियो।

युनिसेफले ‘कोभ्याक्स सुविधा’को तर्फबाट ती देशहरूका निम्ति खोप खरिद गरी आपूर्ति गर्ने जनाएको छ।

कोभिड-१९ सम्बन्धी विभिन्न खोप निर्माताहरूले बनाइरहेका विभिन्न खोपको अनुसन्धान, विकास, उत्पादनमा सघाउ पुर्‍याउन तथा तिनको मूल्य निर्धारण गर्ने विश्वव्यापी मञ्चको रूपमा कोभ्याक्स गठन भएको हो।

यसमा सहभागी सबै देशले खोपको विकास हुनेबित्तिकै त्यसमा समान पहुँच पाउने जनाइएको छ।

हाल कुन खोप कुन चरणमा?

अहिले विश्वभरि एक सयभन्दा धेरै खोपहरू विभिन्न चरणका परीक्षणमा रहेका छन्।

धेरै जसो प्रिक्लिनिकल भनिने परीक्षण चरणमा छन् जुन चरणमा जनावरहरूमा यसको सुरक्षा र प्रभावकारिता हेरिन्छ।

खोप राख्ने भाँडा

सेप्टेम्बरको मध्यसम्ममा पहिलो चरणमा २७ वटा खोप रहेको, दोस्रो चरणमा १४ वटा रहेको, तथा तेस्रो चरणमा ९ वटा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा जनाइएको छ।

पहिलो चरणमा सुरक्षा तथा डोज वा मात्रा परीक्षण गरिन्छ भने दोस्रो चरणमा सयौँ मानिसमा विस्तारित सुरक्षा परीक्षण गरिन्छ।

त्यस्तै तेस्रो चरणमा भिन्न उमेर समूह तथा जातीय समूहका हजारौँ मानिसमा व्यापक सुरक्षा र प्रभावकारिता परीक्षण गरिन्छ।

तेस्रो चरणमा रहेका चर्चित खोपमध्ये अक्सफोर्ड विश्वविद्यालय-एस्ट्राजेनेका, रुसको गामालेय तथा चिनियाँ खोपहरू छन्।

केही अन्तर्राष्ट्रिय समाचारमा आएका विवरणअनुसार तीमध्ये पाँचवटालाई भने प्रारम्भिक तथा सीमित प्रयोगका निम्ति सम्बन्धित देशमा अनुमति दिइएको छ।

तिनमा चीनको क्यानसाइनो बायो, साइनोभ्याक, साइनोफार्म वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स, र साइनोफार्म बेइजिङ् इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स तथा रुसको गामालेय रहेका छन्।

गत साता एकजना खोप लगाएका व्यक्तिमा समस्या देखिएपछि अक्सफोर्डको खोप परीक्षण केही समय रोकिएर फेरि थालिएको थियो।

सामान्यतया एउटा सफल खोप निर्माण गर्न वर्षौँ मात्र नभइ दशकौँ लाग्ने गरेको थियो।

तर यसपटक विश्वमा अभूतपूर्व रूपमा देखापरेको महामारीका कारण धेरै देशका धेरै वैज्ञानिकहरूले दिनरात खोप निर्माणमा मेहनत गरिरहेका छन्।

धेरै विज्ञहरू ठान्छन् कोरोनाभाइरस विरुद्धको खोप व्यापक रूपमा उपलब्ध हुन कम्तीमा सन् २०२१ को मध्यसम्म लाग्न सक्छ।


Your Views
Related News